नेपाल प्रज्ञा प्रतिष्ठानले कविता महोत्सव गर्न थालेको ५५ वर्ष पूरा भइसकेको छ । राजा महेन्द्रले २०१४ सालमा रोयल नेपाल एकेडेमी स्थापना गरेका केही वर्षपछि कविता उत्सव गर्न थालिएको हो । २०२२ सालमा प्रथम पटक थालिएको उत्सवमा त्यस बेला राजा स्वयंले नै कविताको विषय दिने गर्थे ।
पहिलो कविता उत्सवमा राजा महेन्द्रले ‘नैतिकता’माथि कविता लेख्न विषय तोकेका थिए । सो कविता उत्सव २०२२ साल असार ९ मा सम्पन्न भएको थियो । यस महोत्सवमा भैरव अर्याल प्रथम भएका थिए भने वानीरा गिरी द्वितीय भएकी थिइन् । गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव तीन जना तृतीय भएका थिए ।
त्यस एतिहासिक क्षणलाइ साहित्यपोस्ट डटकम र नेपाल प्रज्ञा प्रतिष्ठानले पुनः स्मरण गराउने प्रयास गरेको हो । आउनुहोस्, इतिहास बनेको त्यस क्षणको साक्षी बन्दै पुरस्कृत कविताहरूको आश्वाद लिऔँः
प्रथम कविताः
आराधना-नैतिकताको
भैरव अर्याल
ढुंगा मुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी
प्रिय, म तिमीलाइ भेट्न हिँडेको, सँगमा एउटा हिमालय बोकी
सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय-जहाँ प्रतिबिम्बित छ मेरो अन्तर
पक्का छ मलाइ, यो त्यो हिमालय-जहाँ प्रतिध्वनित छ तिम्रो स्वर
तिम्रै स्वरमा सुसेली मिलाइ मैले समाजको गरेँ शिलान्यास
यै छेउछाउमा फुलाउन चाहेँ मानवताको लालीगुराँस
सिर्जनाको एउटा रथी म सारथी तिमीलाइ रोज्दै आएँ
यै हिमालको किरण-पुञ्जमा तिमीलाइ मैले खोज्दै आएँ
तर म डाँफे भै छुन छुन खोज्छु तिमी भैदिन्छ्यौ, यति-का डाम
पस्छ चीसो अनि काँतर मनमा मानूँ हिमालयले छेक्दछ घाम !
तर हिमाल केवल शीत-रास होइन, यसको महत्त्व सङ्ल्याइमा छ
हिमाल कसैको परखाल होइन, यसको मूल्य छ अग्ल्याइमा छ
तिम्रो मेरो परिचय यहीँ भो परिणय-वेदी यहीँ नै बन्छ
यै हिमालयमा तिम्रो मेरो भन्न नसकिने साइनो पर्छ
तर मेरा भूलहरू दोहोरिरहन्छन् तिम्रो अन्तर्ध्वनि नबुझेर
तिमी पर-पर तर्किरहन्छ्यौ मेरो अहंमा लट्पटिएर
के तिमी पुतली बल अनि छलकी नामर्दीकी मृगतृष्णा ?
यही शङ्कामा ढुन्मुनिदैमा पाछिन्छ मुटु यो हिरोशिमामा
भैगो, अब सब व्यतीत भूलहरू बिर्सी अलिकति पलक उघार
सती-वियोगी म महादेवलाइ पार्वती भै पुनः देऊ सुसार
यो विषालु अणुको ग्याँसमा निस्सास्सिएको मेरो आँतमा
लौन ! चलाऊ हिमको सिरसिर, ग्रह-ग्रह चाल्छु म तिम्रो साथमा
तिम्रै अनुराग पराग बनेमा हिमको चहकमा महक म भर्छु
तिम्रो मेरो एकाकारमा नूतन जगतको सृजन गर्छु ।
द्वितीय कविताः
नैतिकता
वानीरा गिरी
औँला चुसी हाँसिरहेको नानी
नतर्सियोस् आवाजले- बन्दूकको
यहाँ सैनिकको नैतिकता जिम्मेवारी बन्दछ ।
यी नेपालका-
वन, जङ्गल, बगैँचा-बगैँचामा फुलेका फूल
कोमल माटोमा झर्न पुगून्
कि नेपाल-आमाको मुटुको ढुकढुकी सुन्नलाइ
अनि झरे तापनि नैतिकता सार्थक बन्दछ ।
यो एक झोला-
नून, तेल, दाल, चामलमा
खर्च भइरहेको एउटा जिन्दगी
ढुङ्गा र माटोसित खेलिरहेका दुइटा हात
कलम र कागजसित जिस्किरहेको दाहिनो हात-
एउटा नैतिकतापूर्ण आधार चाहन्छ
एउटा व्यापक व्यक्तित्व चाहन्छ
एउटा अग्लो धरहरा चाहन्छ
कि उक्लन सकोस् मास्तिर-
झूट र मिथ्याको जालबाट
विश्व-नैतिकता चियाउनलाइ ।
तृतीय कविताहरूः
नैतिकता
गोविन्द भट्ट
बूढो गुनासो गर्छ- अचेल नैतिकता गो खै कता-कता
हाम्रो उमेरसँगै हाम्रा चालचलनहरू भए बेपत्ता
नौलो युगको तन्नेरीकै धाक-रवाफ छ जतातता
पुरानो नेपालका पुराना जनता, नयाँ नेपालका नयाँ जनता ।
छल र ढाँट हुन् साउने खोला, सत्यको समुद्र सधैँ बहन्छ
मानव-द्रोही भएर मान्छे कहिलेसम्मन् बाँचिरहन्छ ?
सुन्दरताको देश छँदा छँदै, कुरूपताले के मन छुन्छ ?
यिनै प्रश्नको उत्तरमा नै इतिहास हाँस्छ, इतिहास रून्छ ।
हरेक युगको आफ्नै लक्ष्य, हरेक युगको आफ्नै बाटो
हरेक युगको आफ्नै झाँकी, हरेक युगको आफ्नै सातो
कहिले धर्ति हुन्छ अँध्यारो, कहिले फेरि सेतो-रातो
हरेक युगले लड्नै पर्छ, अरू आउन्नन् उसको साटो
कोही भन्छ मगज तताइ-आध्यात्मिकता ! आध्यात्मिकता !!
कोही भन्छ पेट ठटाइ-जय भौतिकता ! जय भौतिकता !!
खै को नकली, खै को सकली, के हो पुरानो, के मौलिकता !
“गरेर शोषण अन्त सबैको पोषण गर्नु नै हो नैतिकता !”
नैतिकता
रत्नदेव शर्मा
जड हो- तेज, तारा, पानी आकाश, धरती, समुद्र
भरिभराउ सजिसजाउ आफ्ना आफ्ना कोठाभित्र
चेतन मनको स्पन्दन झन् म किन नचम्कनु सीमामा
किन नरच्नु मानिसको त्यो हरफ लिपिमा सीमाना
कलमभन्दा मसीभन्दा टाढाको म भावोद्गार
ब्रह्माज्यूको वरदान खोसी रचेँ मैले कैयन् संसार
आफैँमाथि धावा बोल्ने गर्ने आफैँ संरक्षण
कस्तो कस्तो रचना मेरो द्वन्द्वहरूका बाधा-उल्झन
गर्न सकिने गर्न नहुने अनगिन्ती छन् कर्म यहाँ
बोल्न सकिने बोल्न नहुने वाक्य वचन छन् धेर यहाँ
तर्साउन हुने हान्न नहुने थुप्रै छन् हतियार यहाँ
दुत्कार्य नहुने लड्नै पर्ने हुन्छन् कहिले रणमैदान यहाँ
तैपनि काला करतूतहरूको फटफटाउँछ त्यो गिद्ध-बथान
छेक्ताछेक्तै रोक्तारोक्तै पनि त्यो उम्की नाघ्रदछ बन्धन
जति टाढा होस् धरतीदेखि सिनुमै तिनका आँखा घुम्छन्
नैतिकताको हार छ यहाँ विवेक मेरा लाचार छन्
ठिंगुरो हाली कोक्य्राएर छाडा नछोडी कुप्रवृत्तिलाइ
कीट फलामका च्यूरा खाइ धरापदेखि बची बचाइ
बाँच्नु छ मैले भित्री बलको गढ किल्ला यो धीत इमान
दूर गगनको तारा हाँक्न अझै हुन प्रकट जीवन महान्
नैतिकताको खोज
श्यामदास वैष्णव
रात र दिनमा, घाम जूनमा
खोजेँ मैले नैतिकता
हाँसो आँसुलाइ मथ्दै
सिँगार्न खोजेँ कविता !
महाभारतको युग आयो
देखायो आफ्नो रमिता
रामराज्यको चहल-पहलले
दर्शायो आदर्श-वादिता !
आइन् मेरा समक्ष कुन्ती
गतिविधि देखेँ अनगिन्ती
अनि सीताको आयो जन्ती
अनि द्रौपदी पनि झल्किछन् ती ।
कृष्ण-चरित्र पनि ता हेरेँ
हेरेँ सबको आध्यात्मिकता ।।
००० ०००
नैतिकता ! नैतिकता !!
पसल-पसलमा खोजेँ मैले
हल-चलमा खोजेँ मैले
लड्डु लडाइ झिल्ली झार्ने
देखेँ धेरैको क्षमता
रम्दछ जोगी आफ्नै धुनमा
रंगिन्छ भोगी आफ्नै पनमा
सबका छन् आफ्नै सत्यता ।
समुद्र-मन्थन भो तब स्मृतिमा
देव र दानव आए
सबले आफ्नो चालामाला
एकेक गरी बताए
दानवहरूको पौरख-बल
देवहरूको जुक्ति र छल
देवहरूले अमृत पाए, दानव जिल्ला खाए,
शिवकन जहर चढाए
देखेँ मैले मधुता, कटुता !
अनि विश्वयुद्ध पनि ता देखेँ
शान्त, क्रुद्ध पनि देखेँ
जित्नेको फुङ्कारमा, हार्नेको हाहाकारमा
देखेँ मैले विचित्रता !
के हो ? के हो ? – नैतिकता !
म भएँ यता न उता !
ठम्याउन पो गाह्रो भो,
रहस्य झन् – झन् साह्रो भो !
बिलखबन्द भै सुत्न गएछु
निद्रामा पो बित्न गएछु, भएछु आफैँ बेपत्ता !
००० ०००
यस्तैमा कोही बुज्रुग आयो
उसले हाँस्दै सम्झायो-
“नैतिकता हो नियमबद्धता
देश र काल परिस्थिति हेरी
आफ्नो मनमा सबकन बेह्री
बन्दछ स्थिति, ली पवित्रता
हुन्छ त्यही नै नीतियुक्तता”
तैपनि चित्त बुझेन मेरो
रहस्य भित्र सुझेन मेरो
तन ब्युँझी ठानेँ, मनले झट्ट,
बोलेँ मुखले यस्तो चट्ट-
“नैतिकता हो- इमानदारिता
अझ हो यो सच्चा निश्छलता ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।