उनी अर्थात् ‘प्रेरणा’; निशा र महेशकी प्रेरणा ।
निशाका आमाबुबाले छोरीलाई बिदा गरेर पठाएको पनि १ वर्ष बितिसकेछ, अनि उति नै वर्ष बितेछ उनीहरुले यस संसारबाट बिदा मागेको । अब निशा स्वयम् भागिदार थिइन् आफ्नो खुसी अनि दुःखको । मातापिताको आशिर्वादबिना विवाहको पहिलो वार्षिकोत्सव खल्लो लाग्ने नै भयो उनलाई । कहिले पेसा, कहिले स्वास्थ्य त कहिले व्यस्तताका कारण करिब ४ वर्ष लाग्यो निशा र महेशलाई परिवार बढाउन । आफूलाई संसारमा भित्र्याउन ४ वर्ष कुराएका आमाबुबालाई थप एक वर्ष कुराइन् प्रेरणाले ।
वैवाहिक सम्बन्धमा गाँसिएको ५ वर्षपछि मात्र डाक्टर महेश र वकिल निशा आमा-बुबा बन्न सफल भए।
हेर्दाहेर्दै आफ्ना कोमल पाइला अलिअलि गरेर सार्ने भइन् प्रेरणा । उनको तोते बोलीले सुनेर महेश र निशा उसै मख्ख पर्थे ।
जीवन नयाँ सुरूवात थियो त्यो दिन उनीहरुका लागि । महेशले केही समयदेखि प्रयास गर्दै आएको ‘वर्किङ भिसा’ स्वीकृत भएको थियो । महेश र निशा अन्योलमा थिए, यस कुरामा खुसी हुने कि दुःखी ? प्रेरणा भने बालसुलभ भावमा मुस्कुराउँदै थिइन्।
सबैभन्दा अन्योलमा त महेश परे । उनी न आफ्नो परिश्रममा पानी खनाउन सक्थे न त छोरीका कलिला औंला छाड्न नै सक्थे । तर अन्योलतालाई निकास पाउनु नै थियो । अन्त्यमा उनले १५ वर्ष पुरानो सपना नै चुने । बूढ्यौलीले छुँदै गरेका बा-आमा र ३० वर्षको उमेर काट्दै मात्र गरेकी निशालाई प्रेरणाको जिम्मेवारी सुम्पिएर उनी सपनाको उडान उडे ।
६ महिना बितिसकेछ महेशले आफ्ना सपनासँगै विदेशी भूमिमा पाइला टेकेको । १५ दिनमा २ पटक भिडियो कल अनि ३ पटक संवाद । बिरलै सम्पर्कमा आउँथे महेश, अनि चाडैँ नै सम्पर्कविहिन पनि भइहाल्थे । घरदेशबाट सात समुन्द्रपारिको परदेश, यता घाम त उता जुनेली रात; एक्लो अनि व्यस्त जीवन । सायद उनीसँग सुनाउनेभन्दा पनि लुकाउने कुराहरू धेरै हुँदा हुन् । उनको सपनाको महल बालुवाको हुँदो हो । छोरोले फोन गरेर सम्झेनभन्दा पनि व्यस्तता र फुर्सदको चाँजोपाँजो मिलेन भन्ने तथ्यमा ध्यान पुगेको थियो उनका परिवारको ।
रातको २ बजेको हुँदो हो, भर्खरै स्वप्नलोकमा छिरेकी थिइन् प्रेरणा । छोरीलाई सुताउने प्रयास सफल भएकोमा लामो सुस्केरा तानिन् निशाले । उनले ल्याम्प लाइट के निभाउन लागेकी थिइन्, डोर बेलको आवाजले उनलाई ध्यानाकर्षण गरायो । झसङ्ग भइन्, “यति राति को हुनसक्छ ?”
उनको मनसपटलमा कुनै सम्भावित अनुहार छाएन । उनी एकछिन अन्योलमा परिन्, “ढोका खोलु कि नाइँ ?”
डोर बेल निकैबेर बजेपछि उनले हतार-हतार आमा-बुबालाई उठाइन् अनि ढोका खोलिदिइन् । “को आएको रहेछ ?” भनी हेर्न सबैको नजर ढोकातिरै सोझियो । उनीहरुको आखाँलाई त्यो दृश्य पत्याउनै गाह्रो भयो । निकैबेरसम्म अडिग रह्यो उनीहरुको नजर ।
त्यो थकित झुसे अनुहार, निद्राले आहत् भएका आखाँ, चिसोले कठाङ्ग्रिएर राम्रोसँग झोला पनि नसमातेको हात महेशको हुन सक्छ भनेर उनीहरुले कल्पनासमेत गरेका थिएनन् । उनीहरु “अचम्मित” भन्दा पनि धेरै “स्तब्ध” भएका थिए ।
महेशको हातमा कफीको कप थमाउँदै नजरले नै प्रश्न गरिन् निशाले । अनि निशालाई पछ्याए उनका सासू-ससुराले । महेशले आफू लामो यात्रा गरेर थाकेको भन्दै पन्छिए । तर उनलाई थाहा थियो, भोलि नै भए पनि जवाफ त दिनुपर्ने नै छ ।
सूर्योदयसँगै उठेका महेशले दिन छोरीको मधुर मुस्कानबाट सुरु गरे । चम्चा र कपलाई घुमाउदै खेल्दै गरेकी प्रेरणालाई देखेर उनले एकपटक लामो सास फेरे । भर्खरै आफूलाई चिनेकी छोरीलाई छोडेर गएका महेशलाई परिचित नजरले हेरिन् प्रेरणाले । अलिअलि भए पनि
सम्झना रहेछ सायद उनलाई आफ्नो पिताको ।
आफूले बिताएको १० दिनको अवधि, आधाभन्दा बढी प्रेरणासँग बिताए उनले । अनि बाँकी पत्नी र आमा-बाबुसँग । उनी जति नजिक भए त्यो अवधिमा सायद ३२ सालसम्म यति नजिक भएका थिएनन् । एक छोरा, श्रीमान्, पिता सबैको एकमुष्ठ जिम्मेवारी निभाए उनले । उनको अचानक उपस्थितिलाई घरपरिवारको न्यास्रोको नाम दिए उनले । पत्याउन पनि त गाह्रो थिएन परिवारलाई । महेशको व्यवहारले स्वयम् स्पष्टीकरण दिँदै थियो यो कुराको ।
महेश जसरी देखा परे उसैगरि नै लुप्त भए । अचनाक । न उनी आउने खबर कसैलाई थियो न जाने खबर कसैलाई भयो । महेशले विमानस्थल पुगेपछि मात्र म्यासेज गरे निशालाई, “अफिसमा तुरुन्तै हाजिर हुनुपरेकोले बिदा नमागी जानुपर्यो । तिमीहरूको निद्रा खलबल गर्न मन लागेन, त्यसैले अहिले म्यासेज गर्दैछु ।”
सायद केही लेख्न मन थियो निशालाई तर उनले ‘स्वीच अफ’को बटन दबाइन् । अरु सदस्यलाई बानी परे पनी प्रेरणालाई भने बाबुको अनुपस्थिति स्वीकार गर्न असहज पर्यो । उनी बाबुलाई आफ्नो वरपर नदेखेर निकैबेर रुने गर्न थालिन् ।
….
प्रेरणालाई खाना खुवाउदै गरेकी निशालाई कसैको आगमनको भान भयो । साथी संगीता रहिछ्न् । एकाआपसमा हालचाल साटसाट गरेपछि कफी टक्राइन् निशाले । असहजताको भावमा कफी ग्रहण गरिन् संगीताले । उनी बोल्दा पनि अक्मकाइरहेकी थिइन् । निशा आफ्नो मिल्ने साथीको यो व्यवहार देखेर चकित भइन् । उनी प्रश्न गर्न चाहन्थिन् तर संगीता सम्भवतः जवाफ दिन चाहन्न थिइन् । त्यसैले उनको प्रश्न अगावै संगीताले निशाको हातमा केही थमाएर बिदा मागिहालिन् ।
निशालाई एकपल त परिस्थिति ठम्याउनै गाह्रो पर्यो। उनले संगीताले दिन नखोजेको जवाफ आफ्नो हातमा भएको कागजभित्र खोजिन् । उनी जति जति उनी कागजमा लेखिएका शब्द पढ्दै गइन्; उति उति अबुझ बनिन् ।
संगीताको हाउभाउको कारण बुझिन् उनले, तर महेशले ‘सम्बन्धविच्छेद’ माग्नुको न कारण बुझिन् न त आवश्यकता नै ।
महेश र निशाको सम्बन्ध पति-पत्नीको मात्र थिएन । उनीहरु मिल्ने साथी पनि थिए । उनी अमेरिका गएपछि थोरै दूरी बढे पनि कुनै मनमुटाव थिएन, न उनको १० दिनको बसाईमा कुनै असहजता । आफूलाई भन्दा परिवारलाई सर्वश्व ठानेर आफ्ना हरेक जिम्मेवारी निभाएकी थिइन् उनले । महेश र उनका परिवारले गुनासो गर्ने ठाउँ खालि राखेकी थिइनन् । एक प्रश्नको जवाफ खोज्न खोलेको पत्रले उनलाई फेरि प्रश्नहरूको खाडलमा धकेल्यो ।
महेशका आमा-बुबा दुवै राष्ट्रसेवामा तैनाथ थिए । सेनामा भर्ती भएका उनीहरुलाई भेटघाट गर्न र महेशको स्याहार गर्न धौ धौ पर्थ्यो । त्यसैले एकआपसमा सरसल्लाह गरेर छोरोको उज्वल भविष्यका लागि सानै उमेरबाट नै होस्टेलमा राखियो । महेशको होस्टेलको बसाई घरको बसाईभन्दा धेरै हुने गर्थ्यो वा भनौँ होस्टेल महेशको निम्ति घर नै थियो । जुन उमेरमा घर-परिवारको स्नेह, हजुरबुबा र हजुरआमाको माया पाउनु पर्ने थियो उनी कुनै अपरिचित ठाउँमा पराईसँग घुलमिल हुँदै थिए। बाआमालाई नै मुस्किलले भेट्ने गर्थे उनी । बूढा भएका हजुरबुबा र हजुरआमालाई देख्न त वर्ष नै कुर्नु पर्थ्यो उनले । घरपरिवारबाट टाढै रहेर महेशले १० पास गरी एम.बी.बी.एसका लागि बङ्गलादेश गए उनी । डाक्टर बनेर फर्केपछि भने २ वर्ष आमाबुबासँगै बिताए । तर २३ वर्षको दूरीलाई १-२ वर्षको मिलनले कसरी मेटाउन सक्थ्यो र ? उनी असहज महसुस गर्थे आफ्ना आमाबाबुसँग ।
यसपटक भने महेशले दूरी बनाए ।
माया र स्नेहको ओझेलमा परेका महेशलाई विवाहको लागि निशाप्रतिको क्षणिक आकर्षणले तानेको थियो । उनी निशासँग वार्तालाप गरिरहन्थे । निशाको आगमनले केही परिवर्तन अवश्य ल्याएको थियो उनको जीवनमा । जुन कुरा महेशका आमा बुबाले पनि महशुस गरेका थिए । उनीसँगको सम्बन्ध निकट बनाएका थिए महेशले वा उनी निकट भएको नाटक गर्दै थिए ? निशा अन्योलमा परिन् ।
निशा स्वयंले पनि दिनानुदिन सहजताको आभास गर्दै थिइन् । सायद त्यो भान क्षणिक हुँदो हो । जिम्मेवारीभन्दा पनि पैसाको मोलसँग अवगत महेशले अन्योलतामा अमेरिकाका लागि अप्लाई गरेछन् । अनि महेशले त्यसरी नै जिम्मेवारी निभाए जसरी उनका आमाबाबुले निभाएका थिए । मनबाट भन्दा पनि केही कागजका बीटाबाट । नजिक रहेरभन्दा पनि टाढा रहेर । आफ्नो कर्तव्य कम, गलत निर्णय फल बढी सम्झेर ।
सम्बन्धमा अन्तर कायम गर्दैगर्दा प्रेरणाको नादानीले भरिएको अनुहारले गल्ती बोध गराउँदै थियो उनलाई । त्यसैले आफ्ना जीवनका १० दिन मात्र भए पनि छोरीका लागि सुम्पिए उनले । उनी केवल प्रेरणाका निम्ति नेपाल आए । १० दिन मात्र नै भए पनि काँधमा जिम्मेवारी बोके । विवाहसँग जोडिएर आउने जिम्मेवारी थाहा पाएपछि उनलाई आफ्नो क्षमतामा सदैव कमी आएको महसुस हुन्थ्यो । महेश अवगत थिए कि यो निर्णय सबैका लागि गलत हुनेछ; खासगरी अबोध प्रेरणाका लागि । तर उनलाई आफूसँग जिम्मेवारी बहन गर्ने सामर्थ्य छैन भन्ने पनि थाहा थियो। उनी चाहन्थे कि प्रेरणाका लागि जिम्मेवारहिन बाबुभन्दा माया र स्नेहले हुर्किएकी आमाको साथ मिलोस् । त्यसैले महेशले माया र स्नेहबाहेक अरु सबै दिने निर्णय गरे । कुनै दिन निशा र प्रेरणाको नयनमा आफ्ना लागि नालायकीपनको आकृति देख्न चाहदैनथे उनी । उनी कठोर बनिन चाहन्थे बरु । आफूले नपाएको माया र साथ उनी पक्कै भर्न चाहन्थे प्रेरणाको जीवनमा । तर असक्षमताको भय बढी थियो उनमा ।
निशा अवाक् भइन् पत्र पढेर । उनलाई महेशसँग रिसभन्दा पनि धेरै गुनासो थियो । निशा महेशको ‘डरपोक’ र ‘कमजोर’ प्रवृतिप्रति आक्रोश पोख्दै थिइन् । उनका लागि महेश कुनै अपराधीभन्दा कम भएनन् । उनी जुन महेशसँग परिचित थिइन् त्यो त कुनै क्षणिक पात्र रहेछ । सकली महेशमाथि पोतिएको कुनै अज्ञात चित्र बने उनी ।
अचानक खेलिरहेकी छोरीमाथि नजर पुग्यो निशाको । उनका थामिएका आँसु अब बग्न थले । प्रेरणाको हाँसोले पनि पोल्न थाल्यो उनलाई । महेशको एक निर्णयले निशा मात्रै होइन प्रेरणा पनि प्रभावित हुनेछिन् भन्ने तथ्यले भित्र-भित्रै मार्यो उनलाई । अझ बढी त डर थियो- प्रेरणाको प्रश्न, “बाबा खै, मम्मा ?” मा के उत्तर दिने ?
“तिम्रो मामुले आँट र साहस भरिएको जीवनसाथी सम्झेर एक कमजोरसँग विवाह गर्नुभयो छोरी ।” भनेर उत्तर दिनसक्ने क्षमता थिएन निशासँग । उनीसँग आफ्नो पीडा पोखून् ? स्वर्गीय भएका आमा-बुबासँग वा छोरोलाई स्नेह र ममताबाट टाढा राखेर हुर्काएका सासू-ससूरासँग वा आफूसँग विवाह गरेको श्रीमान् पनि नचिन्ने श्रीमतीसँग वा यो समाजसँग जहाँ कागजबाट बनेका केही पैसाका बीटा भरपूर हुन्छन् जिम्मेवारी बहन गर्न ।
आज २० वर्ष बितेछ, निशाले आफ्नो सम्बन्धमा सम्बन्धविच्छेदका लागि सहमति जनाएको; देखावटी नाताबाट बाहिरिएको । कुनै बालपनको उमेरमा पलभरमै सोचेको छोरीको नाम “प्रेरणा” उनका लागि साँच्ची नै जिउने प्रेरणा बन्नेछ, यो उनले सोचेकी पनि थिइनन् । एक असल ‘आमा’ मात्र होइन, असल बुहारीको भूमिका पनि राम्रैसँग निभाइन् उनले ।
महेशसँगको कुराकानी उही कागजको नोटमै सीमित थियो । छोरीका लागि बाबुले पठाएको नोटका बीटा उनले बूढा आमा-बुबाप्रति छोरोको जिम्मेवारीका निम्ति खर्च गरिन् । खै किन हो कुन्नि ? ती नोट र प्रेरणाको सम्बन्ध कहिल्यै जोडिन दिइनन् । प्रेरणाका लागि महेश मात्र एक नाम थिए । निशाले आँट, माया, स्नेह, विश्वास, सक्षमता सबै भरिदिइन् प्रेरणाको जीवनमा । उनका लागि आमाबुबा सबै बनेर । तर वकिल भए तापनि आफैंका लागि न्याय दिलाउन सकिनन् उनले । “प्रेरणा”सँगै अनि “प्रेरणा”कै निम्ति अग्रसर रहनेछन् उनका कदम ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।