आदि

भयवादको प्रारम्भिक धोषणा हङ्कङबाट टापु (सन् २००५, देश सुब्बाद्वारा सम्पादित) पत्रिकाका माध्यमबाट भएको थियो । वि.स. २०६५ साल साउन १८ गते भयवाद दर्शन राष्ट्रिय बहस धरानमा भई यहाँसम्म आइपुगेको छ । सम्भवतः नेपाल बाहिरको (प्रवेशाज्ञा चाहने) भूमिबाट नेपाली साहित्यमा घोषित पनि पहिलो नै वाद हुनुपर्छ ।

नेपाली बृहत् शब्दकोषले भयः कुनै सङ्कट वा अनिष्ट कुराको सम्भावनाद्वारा उब्जने र प्राणीलाई चिन्तित तथा व्याकुल बनाउने मानसिक स्थिति, डर, त्रास र वादः तत्वदार्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त, सार, कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क, विचार, बहस भनी अर्थ लगाएको छ । त्यस्तै बसन्तकुमार शर्माको नेपाली शब्दसागरले भयलाई अनिष्ट–कल्पनाद्वारा उब्जने मन व्याकुल र चिन्तित तुल्याउने मानसिक स्थिति, डर, त्रास र वादलाई महान् दार्शनिक वा तत्त्वदार्शीहरूले कुनै खास कुराको पत्तो लगाउन गरिने तर्क वा विचार भनेको छ । त्यस्तै भर्तृहरिद्वारा लिखित वैराग्य शतकममा भयका सम्बन्धमा भनिएको छ,

भोगे रोगभयं कुले च्युतिभयं वित्ते नृपालाद्वयं
माने दैन्यभमं बले रिपुभयं रूपे जराया भयम्
शास्त्रे वादिभयं गुणे खलभयं काये कृतान्ताद्वयं
सर्ववस्तु भयान्वितं भुवि नृणां वैराग्यमेवाभयम् ।

दीपक सुवेदी

(भोग, मोज, मस्ती गर्नेलाई रोगब्याधीको भय हुन्छ । सामाजिक, पारिवारिक इज्जत प्रतिष्ठा भएको व्यक्ति त्यसबाट गिरिएला वा च्यूत भइएला कि भनेर भयभीत हुन्छ । धनवानहरू धन हडप्देला कि भनेर भयभीत हुन्छन् । सम्मानितहरूलाई अपमानको त्रास हुन्छ । बल अथवा शक्ति हुनेहरूलाई शत्रुको डर हुन्छ । सौन्दर्यमा बूढेसकालको त्रास हुन्छ । शास्त्री ज्ञानीहरूलाई प्रतिद्वन्दीको त्रास हुन्छ । सदाचारीहरूलाई बदनामको त्रास हुन्छ । शरीरलाई मृत्युभय रहन्छ ।)

मध्य

आख्यानको रूप कथाका प्रकारका अनेक विधि हुन्छन्, तापनि समीक्षाशास्त्रमा यसको मोटामोटी प्रकारहरूको चर्चा गरिएको पाइन्छ । वास्तवमा कथाहरूको प्रकार छुट्याउने आधारहरूमध्ये रूचिक्षेत्र र रीति क्षेत्र मानिँदै आएको छ । एउटै कथामा पनि एकभन्दा बढी प्रकार अन्तर्गत पर्न सक्दछ । अथवा एउटै कथामा प्रकारको विभाजन खप्टिन सक्छ । कथामा विषयगत सीमा हुँदैन । लक्षणशास्त्र अनुसार महाकाव्य वा नाटकका लागि रस तथा नाटकका प्रकार तथा अन्य कतिपय कुराहरू तोकिएको पाउँदछाैँ, तर कथा त्यस्तो शास्त्रीय विधा होइन । यो स्वच्छन्द र उन्मुक्त छ । त्यसैले नेपाली साहित्यमा भयवादका आधारमा र संरचना अन्तर्गत कथाकारले प्रयोग गरेको पात्रको मनोवृत्तिका आधारमा केही (गुरूप्रसाद मैनाली, गोविन्द गोठाले, ईन्द्रबहादुर राई, विश्वेश्वरप्रसाद कोइराला, कृष्ण धरावासी, महेशविक्रम शाह, रोशन थापा ‘नीरव’, कुमार नगरकोटी, भागीरथी श्रेष्ठ, चंकी श्रेष्ठ, परशु प्रधान) कथामा भयको रूप र प्रयोग खोजी प्रयास गरिएको छ ।

लोकीय भय

…… बाबुबाजेको मानमर्यदा डुब्न लाग्यो ……. घर गृहस्थीको यति ठूलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान्न् ? स्वर्गमा बसेका पितृहरूले के भनिठान्लान् ? (कर्तव्य, गूरूप्रसाद मैनाली)

मनिसहरूको ठूलो सङ्ख्या मृत्युपछि स्वर्ग जान पाउँ, नरकमा जान नपरोस् भनेर अनेकौँ कामना गरिरहन्छन् । बाँचेका समयमा बाबुबाजेको मानमर्यादा जोगाइयो, राम्रो, अनुकरणीय कार्य गरियो भने स्वर्गको बाटो खुल्ला हुन्छ, नभए नरकको भन्ने विश्वासले गर्दा ऊ सँधै माथि उल्लेखित कर्तव्य कथाका पात्र मुरलीधरले बोलेको वाक्यांश जस्तै बोल्ने र उनको जस्तै चरित्र भएका हुन खोजिरहेका पाइन्छ । सुख, शान्ति र समृद्धिको कामनासँगै लौकिक भय पनि आइरहेकै हुन्छ ।

परलोकगमन भय

……. केहीबेर ऊ विचारशून्य भएर त्यसै बसिरह्यो, अनि झट्ट उसले मृत्यु त्यही मृत्युलाई सम्झ्यो । जुन उसले स्कूलमा पढ्ने सानो केटो छदाँ देखेको थियो । त्यो मृत्यु, त्यो मृत्युले छोपेको लास रानीपोखरीको किनारमा पडिरहेको थियो । उसले त्यो मुर्दालाई देखेर जीवनमा पहिलोपटक मृत्युलाई चिनेको थियो । ऊ त्यस मृत्युको वीभत्सताप्रति भय, त्रासले तानिएको थियो र उसले घण्टौँसम्म त्यसलाई हेरिरह्यो । त्यस मुर्दाको अनुहार ऊ अझै सम्झन्छ । त्यतिकै सजीवतापूर्वक सम्झन्छ, जतिको धेरै वर्षअघि ऊ केटाकेटी छँदा देखेको थियो (प्रेम र मृत्यु, गोविन्द गोठाले) ।

यो जीवनको उत्तरार्ध रूप हो । अनायसै मृत्युको चिन्ताले मान्छेलाई खाइदिन्छ । मृत्युको कल्पनाले मात्र पनि कमजोर हृदय भएका मान्छेहरूको मुटु कमाइदिन्छ ।

सम्बन्ध भय

“सानो बाबू, तिमीले बन्दुकको आवाज सुन्यौ रु हरे १।गाँउमा बन्दुकहरू पड्किन थालेका छन् । सम्भवत बन्दुकेहरू फेरि छिरे यस गाँउमा । ती बन्दुकहरू पड्किदै हाम्रो घरमा आइपुग्दा सम्मत् तिमी भागिहाल मेरो बाबू ।” आमा भय र त्रासले कापिरहेकी थिइन् (गाँउमा गीतहरू गुन्जिदैनन्, महेशविक्रम शाह) ।

…… बेलाबेला बुबा मेरो दृष्टिबाट हराउनुहुन्थ्यो । डराएर म बुबालाई बोलाउँथे । बुबाको सेतो कमेज देखेपछि मलाई ढुक्क लाग्थ्यो । बुबासँग रिस उठ्थ्यो । ….. अनेकपल्ट मैले पारि आवाज पुर्याएर बुबालाई डाकेँ । म एक्लै अग्लाअग्ला नचिनिएका रूखहरूको मनि बसेर रून थालेँ । (जयमाया आफूमात्र लिखापानी आइपुगी, इन्द्रबहादुर राई) ।

म र तिमी (तपाईं) बीचमा जहिले पनि प्रेम र युद्ध हुन्छ । आफ्नोपनको मोहले मान्छेहरूमा भय भैरहेको हुन्छ ।

जिजीविषा भय

यो अँध्यारो रात के को प्रतीक हुन सक्छ ? राज्यव्यवस्था । न्यायपालिका । प्रजातान्त्रिक रनभुल्याई । हिंसा । अन्याय । असुरक्षित भावना । नागरिक समाजमा व्याप्त अन्यौल । उपभोक्तावादको गिजा । आतङ्कवादको अभ्यास । आधुनिकताको फिला । भ्रष्टाचारतन्त्र । मूढग्रस्तता । अहम्को युद्ध । व्यक्ति, समाज, राष्ट्रको चारित्रिक क्षयीकरण । धर्मयुद्ध । कार्मयुद्ध । यो अँध्यारो समय । यो अन्तहीन कारात्रि केको प्रतीक हुन सक्छ ? (अन्धकार, कुमार नगरकोटी) ।

……. काम थिएन, परिवार थियो । आम्दानी थिएन, खर्च थियो । समाधान थिएन, समस्या थियो । शान्ति थिएन, देश थियो । संंविधान थिएन, नेता थिए । चुनाव थिएन, निर्वाचन आयोग थियो । पेट्रोल थिएन, मोटर थियो । रकम थिएन , लुटपाट थियो । बजार थिएन, महङ्गी थियो । यस्तै आदि इत्यादि ‘थियो–थिएन’ हरूबीच ऊ थियो । एक्लो थियो । केही विक्षिप्त, कही उदासीन । केही निराशयुक्त, केही हतासबद्ध । एक प्रकारले अर्धयको अदृश्य रोगले आक्रान्त रोगीजस्तो भएको थियो ऊ (स्वागत, रोशन थापा नीरव) ।

जीवन र मृत्युबीचको अँध्यारालाई उज्यालो बनाउन मान्छे जीवनभर दुःख गर्छ । मान्छे उठेदेखि ननिदाउन्जेलसम्मका प्रत्येक पल भयभीत भएर बितेका हुन्छन् । मृत्युको स्वरूप र अस्तित्वको भयले जीवनलाई ढाकेका छन् । त्यसैले यसमा मान्छेको देह विनाशका विविध स्वरूप, उपायहीनता र निराशाताको भय रहेको हुन्छ ।

कृत्रिम भय

….. जर्साब घोडामा सबारी भयो । केशवराज डरले थरथर कामिरहेका थिए । भनेजस्तो एकान्तको मौका पाएर डरले भकभकाउँदै उनले बिन्ती गरे, ‘प्रभु १ चस्माको दोष ……. माफ पाँऊ ।’ जर्साबले घोडा रोकेर नबुझी सोध्नुभयो, के को माफी रु ? केशवराजको सातो गयो । जर्साब कति रिसाउनुभएको रहेछ ! माफीसम्म दिन खोज्नुहुन्न । उनले चारैतिर अँध्यारो देख्न थाले । काम्न लागेका गोडाले भर दिएन । दुबै हातले कपाल समातेर उनी थुचुक्क बसे …… केशवराज एक्कासि ५० वर्षका बूढाजस्ता देखिन थाले । हिड्ँदा कम्मरमा हात लगाउनु पर्ने भयो । लट्ठीको आवश्यकता परेको उनले थाहा पाए (दोषी चस्मा, विश्वेश्वरप्रसाद कोइराला) ।

……… अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबर फोनको रिङ बज्दा पनि झ्वाटै फोन उठाउने आँट आएन …….. (रूपान्तरण, भागीरथी श्रेष्ठ) ।

…….. म सपनामा अक्सर डरलाग्दा कुराहरू देख्थे र उठेर रून्थेँ । सपनामा बाँस वा रूख काटेको देखिए त्यसलाई अपसकुन मानिथ्यो । मेरा सपनामा बारम्बार तिनै कुरा आउँथे ……… बाहिर चिहाउँदा सर्सराइरहेका मकैका पातलाई कसोकसो म हरियो बाँसमा लाश बाँधेको जस्तो देख्थेँ (तपाईं आमा हो ?, चंकी श्रेष्ठ) ।

वास्तविक वस्तु, समस्यासित टाढा रहेर हुने भय कृतिम भय हो । रूढिवादी अन्धविश्वासले मान्छेलाई भयभीत बनाउँछन् । यो वास्तविकता हुदैँन । यसमा शङ्का र भ्रम आउँछ । डोरीलाई सर्प देख्नु भ्रम हो । त्यही डोरीलाई सर्प पो हो कि भनेर हेर्नु शङ्का हो ।

बोध–अबोध भय
एक मध्यरात अचानक मेरो निद्रा खुल्यो श्रीमान् मोबाइलमा कसैसित लामो कुराकानी गर्दै हुनुहुन्थ्यो । एउटी नारीको स्पष्ट आवाजले मलाई कुनै खराब सपना देखेजस्तो लाग्यो …… भाेलिपल्ट डराइ डराइ मैले सोधेँ– राति कोसँग कुरा गरिरहनुभएको ? (घर–६, परशु प्रधान) ।

…… यसअघि नै हाम्रो परिवारमा दुईवटा नराम्रा दुर्घटनाहरू भइसकेका छन् । मभन्दा अघिका दुइटी दिदीहरूले आ–आफ्नै खुसीले विवाह गर्नुभयो । त्यसमा पनि एउटीको त घरबार नै भएन, साह्रै दुःख पाएकी छन् । अर्की दिदीको पत्तो छैन । आमाबुबाको ठूलो मनको घाउ छन् तिनीहरू । दुवै दिदीहरू आफ्ना खुसीले ‘पोइल’ हिँडेपछि गाँउमा आमाबुबालाई मुख देखाउनै गाह्रो भयो । आमा बारम्बार रूँदै मसँग भनिरहनुहुन्छ –‘छोरी अब तँ एउटीसँग भर छ मेरो । तैँले पनि गति छोडिस् भने म माइखोलामा फाल हानेर मरिदिन्छु ।’ (मैले इलाम छोडेँँ, कृष्ण धरावासी)

मान्छेले गर्ने धेरैजसो काम भयको कारणले गरेको भनेर बोध गरेको हुँदैन, यो अज्ञात हुन्छ, उसको लागि । भय अबोधको कारणले कतिपय घटना, दुर्घटना भैरहेका हुन्छन् । मान्छेमा भय बोधभन्दा अबोध बढी हुन्छ । शङ्कामा भय बोधभन्दा अबोध बढी हुन्छ ।

अन्त्य,

त्रास मानवको ठूलो शत्रु हो । त्रास र शङ्का भयका आधार पनि हुन् । यसमा मृत्युभय, ऐकान्तिकता र विसङ्गति हुन्छ । जसरी सूर्य आकाशमा लुकेर बस्न सक्दैन, त्यसरी नै चेतनशीलहरूमा भय लुकेर रहन सक्दैन । केहीको माध्यमबाट देखापर्दछ । यसमा सहनशीलताको ठूलो महत्व हुन्छ । यिनीहरूलाई कथाकारहरूले आफ्ना पात्रमा लोकीय, परलोकगमन, सम्बन्ध, कृत्रिम, बोध–अबोध भय आदिका रूपमा प्रकट गरेका छन् । अझ गुरूप्रसाद मैनाली, गोविन्द गोठाले, ईन्द्रबहादुर राई, विश्वेश्वरप्रसाद कोइराला, कृष्ण धरावासी, महेशविक्रम शाह, रोशन थापा ‘नीरव’, कुमार नगरकोटी, भागीरथी श्रेष्ठ, चंकी श्रेष्ठ, परशु प्रधानका कथाहरूमा प्रचुरमात्रामा पाइन्छ ।