हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा यस महिना‘जिजीविषा’ले बाजी मारेको छ । महिनाको सुरूमा आएको अभिनेत्री मनीषा कोइरालाको पुस्तकले पुस महिनाभरि आधिपत्य जमाएको हो । नेपाली बजारमा दसैँ-तिहार वरपर पुस्तकको बिक्री उत्कर्षमा पुग्छ । दसैँ तिहारपछि पुस्तक बिक्रीलाई ‘देश देशावर’ले धानेको थियो भने अहिले देश देशावरको स्थान जिजीविषाले लिएको देशभरिबाट प्राप्त रिपोर्टले देखाएको छ ।
साहित्यपोस्टले गएको अशोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दै आएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्टसेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।
गएको महिना अत्याधिक बिक्री भएको व्यवसायी जीवा लामिछानेको पुस्तक देश देशावर यो महिना सूचीको तेस्रो स्थानमा झरेको छ भने गत महिना दोस्रो स्थानमा रहेको चिन्तक तथा विचारक आहुतीको पुस्तक जातवार्ता यो महिना प्राप्त रिपोर्टका अनुसार पाचौँ स्थानमा झरेको छ । त्यस्तै गएको महिना तेस्रो सूचीको तेस्रो स्थानमा रहेको बाबुराम भट्टराईको अर्थ राजनीतिक विमर्श यो महिना दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै रविन्द्र भट्टराईको सेयर बजारसम्बन्धी पुस्तक सेयरबाट कडोरपति सूचीको चौथो स्थानमा पर्न सफल भएको छ ।
विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।
त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले चौथो महिनाको सूची प्रकाशन गरेको हो ।
पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः
१. जिजीविषाः
नेपाली मूलकी बलिहुडकी सफल अभिनेत्री मनीषा कोइरालाको पुस्तक जिजीविषा साहित्यपोस्टको बेस्ट सेलरको सूचीको पहिलो स्थानमा परेको छ । अभिनेत्री कोइरालाको किताबको चर्चा धेरै अघिदेखि भए पनि बजारमा यसै महिनाको सुरूमा आएको हो । मनिषा कोइरालालाई क्यान्सर रोग लागेपछिका अनुभूति यस पुस्तकमा समेटिएका हुनाले पनि यस पुस्तकमा पाठकको विशेष रूची रहेको छ ।
२.अर्थ राजनीतिक विमर्शः
नेपाली राजनीतिमा सबैभन्दा बढी प्रशंसक र सबैभन्दा बढी आलोचक कमाएका नेता हुन्, डा. बाबुराम भट्टराई । सामाजिक सञ्जालहरुमा यिनले लेखेका टिप्पणीहरुमा पनि यसको छनक पाइन्छ । यिनै राजनीतिकर्मीले लेखेको पुस्तक अर्थ राजनीतिक विमर्श पुस्तक पुस महिनाको दोस्रो बढी बिक्री हुने पुस्तक बनेको छ । २२ वटा लेखहरुको संगालोका रुपमा आएको यो पुस्तकभरि वैकल्पिक शक्तिको आवश्यकता र यसको महत्त्वबारे प्रकाश पारिएको छ । गत महिना यो पुस्तक सूचीको तेस्रो स्थानमा रहेको थियो ।
३. देश देशावरः
सफल व्यवसायी एवं लेखक जीवा लामिछानेको पुस्तक ‘देश देशावर’गएको महिना मंसिरमा साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम स्थानमा रहेको थियो । पुस महिनामा भने यो पुस्तक दुई स्थान तल झरेर सूचीको तेस्रो स्थानमा पुगेको छ ।
यसअघि लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ बजारमा आएको थियो । उक्त पुस्तक पनि दुई वर्षअघि त्यस वर्षको बेस्टसेलर पुस्तक मध्येको एक बनेको थियो । नेपालमा ५ हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलरको उपाधि दिने गरिन्छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रसिद्ध व्यवसायी भएका कारण पनि लामिछानेलाई त्यसको लाभ प्राप्त भएको देखिन्छ । नियात्रामा फरक भूगोलको यात्रा भित्रका ज्ञान सरल भाषामा दिएका कारण उनको पुस्तक पाठकहरुले रुचाएको देखिन्छ ।
४. सेयरबाट कडोरपतिः
रविन्द्र भट्टराईको सेयर बजारसम्बन्धी पुस्तक सेयरबाट कडोरपति पुस महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा आएको छ । सेयर बजारमा आएको उछाल तथा युवा पुस्तामा बढ्दो सेयर बजारसम्बन्धी चासोको कारण यो महिना यस पुस्तकको बिक्री सुखद् रहेको अनुमान गरिएको छ ।
५. जातवार्ताः
गएको महिना सूचीको दोस्रो स्थानमा रहेको आहुतिको पुस्तक जातवार्ता यस महिना पाँचौँ स्थानमा पुगेको छ । विश्वभक्त दुलालबाट समाजमा अपहेलित भएका ‘आहुति’ राजनीतिकर्मी र लेखक हुँदै गर्दा प्रसिद्धि कमाएका छन् । उनको ‘गहुँगोरो अफ्रिका’ प्रसिद्ध पुस्तकमध्ये पर्दछ । इन्जिनियरिङ् पढ्दै गर्दा कम्युनिस्ट राजनीतिमा लागेका आहुति माओवादी शान्तिवार्तामा आएपछि सार्वजनिकरुपमा चिनिन थालेका हुन् । उनका कविता र राजनीतिक लेख निकै रुचाइन्छन् । यसैबीचमा आएको ‘जातवार्ता’मार्फत् उनी लगतार बेस्टसेलरमा पनि उक्लिएका छन् ।
६. कुमारी प्रश्नहरूः
युवा, युवामा पनि विशेष नारी संवेदना तथा युवतीहरूका आवाज पत्रपत्रिकामा लेखेर चिनिएकी दुर्गा कार्कीको कथासंग्रह कुमारी प्रश्नहरू पुस महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको छैटौँ स्थानमा पर्न सफल भएको छ । दुर्गा कार्की युवापुस्तामा राम्रो रूचाइएकी लेखक भएकी हुनाले पनि उनको पुस्तकको खोजी भएको हो ।
७. महारानीः
गएको असोज र कार्तिकमा निरन्तर सूचीको पहिलो स्थानमा रहेको चन्द्रप्रकाश बानियाँको मदन पुस्कार विजेता उपन्यास महारानी गएको मंसिर महिनामा सूचीको आठौँ स्थानमा पुगेको थियो । जुन यो महिना एक स्थान माथि उक्लिदै सातौँ स्थानमा रहेको छ । सुरूका दुई महिनासम्म बिक्रीको मानक खडा गरेको थियो यस उपन्यासको बिक्री तेस्रो महिनादेखि केही सुस्तताको देखिन्छ । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको छ ।
८. क्रान्ति प्रतिक्रान्तिः
अघिल्लो महिना छैटौँ नम्बरमा परेको ‘क्रान्ति प्रतिक्रान्ति’ पुस्तक यो महिना आठौँमा झरेको छ । प्रकाशन भएको महिना निकै सुस्त गतिमा बिक्री भइरहेको यो पुस्तकलाई दोस्रो महिनादेखि बेस्ट सेलर बनाउने काम भने नेपाल कम्युनिस्ट पार्टीका नेता विष्णु रिजालले गरेका हुन् । उनले पुस्तकको चर्को आलोचना गरेर कान्तिपुरमा लेख लेखेपछि राजनीतिक कार्यकर्तामा यो पुस्तकप्रति चासो जागेको बिक्रेताहरुको भनाइ छ ।
९. नेपाल विद्याः
गत महिना बजारमा आएको केदार वाशिष्ठको खोज तथा अनुसन्धानमा आधारित पुस्तक नेपाल विद्या पुस महिनाको यो सूचीको नवौँ स्थानमा पर्न सफल भएको छ । यस पुस्तक भाषा तथा बुद्धकालीन लिपिको अध्ययनको आधारमा तयार गरिको हुनाले पनि प्रभुद्ध वर्गले यस पुस्तकलाई रूचाएका छन् ।
१०. सम्बन्धहरुः
प्रकाशन भएदेखि नै चर्चामा रहेको विजयकुमारको पुस्तक ‘सम्बन्धहरु’ चौथो महिना पनि बेस्टसेलरको सूचीमा परेको छ तर पहिलो दुई महिना दोस्रो लहरमा रहेको यो पुस्तक तेस्रो महिना आइपुग्दा पाँचौँमा झरेको थियो भने चौथो महिना दशौँ स्थानमा पुगेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।