रातभरि जंगलमा डडाङडुडुङको भयो । आकासबाट पनि आगोका पर्रा छुटे । विस्फोट, आगोको मुस्लो, धुवाँले जंगलका जीवहरु भयभीत भएर आ-आफ्नो बासस्थानमा लुकेर बसे ।

बिहानपख बाघ, चितुवा, स्याल, ब्वाँसो आदि मांसाहारी जानवरहरु मानिसको आलो रगतको गन्ध थाहा पाएपछि ओडारभित्र बसिरहन सकेनन् । तिनीहरु बिस्तारै आ-आफ्नो बासस्थानबाट बाहिर निस्केर मानिसको लास खोज्न थाले । ठाउँठाउँमा तिनीहरुले रगत जमेको त भेट्टाए तर एउटा पनि लास भेट्टाएनन् ।

आफ्ना अनुभवी नाकहरुको सहायताले तिनीहरुले जंगलमा लास खोज्दै जाँदा एक ठाउँमा जमिनमुनि लास गाडेको चाल पाए । र्‍याल काढ्दै तिनीहरुले माटो खोस्रे र केही बेरपछि थुप्रै लास भेट्टाए ।

टन्न अघाएपछि तिनीहरु छक्क पर्दै बात मार्न थाले, “होइन यी मानिसहरुले आफूले नखाने भएपछि किन मान्छे मार्छन् होला हँ ! न त आफू खान्छन्, न त हामीलाई खान दिन्छन् । कस्ता मूर्ख मानिसहरु ! ”

साँचल, सानेपा
२०५८ फागुन ११

(स्रोत : नवयुग मासिक, वर्ष१३, अंक ११, असोज २०६० को अंकमा प्रकाशित)