नीलम कार्की निहारिका नेपाली साहित्यका लागि सुपरिचित नाम हो । निहारिकाले देशको दुई प्रतिष्ठित पुरस्कार, पद्मश्री ‘चिरहरण’का निम्ति र मदन पुरस्कार ‘योगमाया’का निम्ति प्राप्त गरिसकेकी छन् । याेगमाया र चिरहरणका साथै कार्कीका बेली, अर्की आईमाई, माैन जीवन, नियतिकाे खेल, कागजमा दस्तखत, त्रिचालीस कथा लगायत कृतिहरू प्रकाशित छन् । 

सामान्यतयः नीलम कार्की निहारिका परिवारसहित अमेरिका बस्छिन् । तर आफ्नो कलमले भने नेपाली समाज, संस्कृति तथा इतिहासको उत्खन्न गर्छिन् । प्रस्तुत छ, उनै निहारिकासँग साहित्यपाेस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे अन्तरङ्ग कुराकानीकाे सम्पादित अंशः

नीलमजी नमस्कार, नयाँ पुस्तकको तयारीमा हुनुहुन्छ रे ! पाठकले कहिलेसम्ममा पढ्ने पाउलान् ?

हजुर, हो । “द्रौपदी अवशेष” लेखिसकेँ । । अब केही महिना भित्र प्रकाशनमा आउने छ । नयाँ वर्ष २०७८ सम्म पक्कै पढ्न पाउनु हुने छ ।

यो पुस्तक पनि इतिहासको आख्यानीकरण नै हो ?

म इतिहासमै लेख्दै थिएँ । तर यो कोभिडको विश्व महामारीको कारण म केही पनि लेख्न नसकेर बसेको थिएँ । अहिले लेखेको उपन्यास वर्तमान समाजको ऐना हो । अझ भन्दा, हामीसँग सांस्कृतिक विविधता छ । यस्तै एक संस्कृतिको आख्यानीकारण हो, द्रौपदी अवशेष । यस उपन्यासमा बहुपति विवाह पद्धतिबारे पाठकले पढ्न पाउनु हुने छ ।

नीलम कार्की निहारिका

तपाईँ घरि घरि इतिहास, धर्म तथा संस्कृतिकै उत्खनन्तिर किन ?

हामीसँग भएको र गर्व गर्ने कुरा भनेकै यो हो कि हामी बहुजातीय, सांस्कितक, बहुभाषीक र बहुधार्मीक छौँ । संस्कृतको जगेर्ना र सम्मान गर्नु पर्छ । मैले त्यही गरेकी हुँ । हामीसँग लेख्नुपर्ने सांस्कृतिक तथा ऐतिहासिक पक्षहरू कति रहेछन् कति, हामीले लेख्नै पर्ने विषयहरू जति पनि रहेछन् । विशेषत पछिल्लाे समय “द्रौपदी अवशेष”मा काम गर्दा मैले हाम्राे साहित्यले नदेखेकाे दूरदराजका अनेक पक्षकाे बारेमा धेरै थाहा पाएँ ।

नेपाली समाजमा धर्म, आस्था तथा विश्वासमाथि प्रश्न उठाउनु ठूलो जोखिम मोल्नु हो । तर तपाईँले चिरहरणमार्फत् प्रश्नमात्र उठाउनु भएन, एक हिसाबले नेतृत्व नै गर्नु भयो, किन ?

गलत व्यख्या हुनु हुँदैन, र सबैको आस्थालाई सम्मान हुनुपर्छ भन्नेमा म सधैँ सचेत छु । मैले द्वापर युगको कथालाई आजको व्यथासँग जोड्ने, हेर्ने काम गरेकी हुँ । नारी भएको हुँदा ती नलेखिएका मनोविज्ञान देख्ने/देखाउने काम पनि गरेको हुँ ।

हरेक मानिसले अवलम्बन गरेको धर्म या सामाजिक संस्कृतिमाथि प्रहार गर्नु अमान्य हुन्छ । तर आख्यानीकरणको माध्यमबाट पनि संस्कृति सम्वर्द्धनमा सघाउन सकिन्छ । मैले प्रयास यतिमात्र हो । र अहिलेको उपन्यास पनि समाज र संस्कृतिमा केन्द्रित छ ।

पारिजातबाट तपाईँसम्म आइपुग्दा चार जना महिलाहरुले मदन पुरस्कार पाउनुभयो । तर नेपाली साहित्यमा महिला हस्ताक्षरको कुरा गर्दा पारिजातबाट एकैपटक तपाईँमा आइपुग्छ । यो ग्याप किन रह्यो ?

लेखन कार्य महिला सर्जकहरूले पनि निरन्तर गर्दै आउनुभएको छ । उहाँहरूले राम्रा राम्रा सिर्जनाहरू पनि नेपाली साहित्यलाई दिनुभएको छ छ । तर महिलालाई लेख्न तुलनात्मक रुपमा पुरुषको दाँजोमा चुनौतिपूर्ण छ । किन चुनौतिपूर्ण ? भन्ने कारण सहितको जवाफ सर्वविदितै छ ।

तर पुरस्कार पाउनु र सदाबहार प्रभाव पार्न सक्नु फरक कुरा रहेछन् है ?

पुरस्कार पाइसकेपछि निश्चयरुपमा पाठकको लेखकप्रतिको अपेक्षा बढेको मैले पनि अनुभव गरेको छु । तर पुरस्कार पाउँदैमा राम्रो लेखिने भन्ने पनि होइन । आफूले सक्ने गर्दै जाने हो । हिजोभन्दा आज अझ राम्रो गरौँ भन्ने ध्येय त लेख्नमा मात्र होइन हरेक क्षेत्रमा हुन्छ नै।

तपाईँलाई पनि चिरहरणले एकाएक चर्चाको शिखरमा पुर्यायो । योगमायाले पाठकको मन मनमा स्थापित गरायो । अबको पुस्तकले तपाईँको नामको ब्राण्डको वजन थेग्न सक्ला त ?

यो सत्य हो, चिरहरण र योगमायापछि धेरै पाठकले मेरा पहिलाका पुस्तक पनि पढ्न मन गर्नु भयो । अनि हामीले अगाडि नै छापिएका तीन कथासंग्रहका कथा तथा अन्य छवटा प्रकाशित तर पुस्तकमा नपरेका कथा थप गरेर एकै ठाउँ भेलागरि ४३ कथाहरुको संग्रह बजारमा ल्यायौँ ।

अहिले, योगमाया आएको तीन वर्षपछि मैले यो उपन्यास लिएर आएको छु । हुन त मैले इतिहासमा नै अर्को उपन्यास लेख्दै थिएँ, त्यसलाई थाँती राखेर यो प्रकाशनमा आउँदै छ । मैले आफ्नो बेस्ट गर्ने हो । नामको ब्राण्डको वजनले पुस्तक बेच्ने होइन, पुस्तककै नामले पुस्तक चिनियोस् भन्ने मेरो उद्देश्य रहन्छ । आमाबुबालाई सन्तानको नामले चिनिदा गर्व अनुभव भएजस्तै- ‘मेरो पुस्तक’ भन्नुभन्दा त्यो पुस्तकको लेखिँदा ‘म’ भन्न पाइयोस् ।

नेपालका दुई प्रष्ठित पद्यश्री र मदन पुस्कार दुवै तपाईँले पाइसक्नु भएको छ । अबको पाइला कता ?

मेरो पाइला लेखन यात्रामै हिँडिरहन्छ । तर म गन्तव्य तय गरेर हिँड्न सुरु गरेको यात्री होइन । हिँड्दै जाँदा काहीँ न काहीँ पुगिन्छ भन्नेमा चाहिँ विश्वास राख्छु । अँ, मेरो प्रयास पाठकको हृदयसम्म पुग्नसकूँ भन्ने सधैँ रहन्छ ।

अन्त्यमा, तपाईँको मदन पुस्कार प्राप्त कृति योगमाया अंग्रेजीमा अनुदित हुँदैछ भन्ने सुनेको हो । खास कुरा के हो ?

हो, हुँदैछ । समालोचक तथा अनुवादक महेश पौड्यालले गर्दै हुनुहुन्छ । तर केही समय लाग्छ प्रकाशनमा आउन ।