शहरको एक कोठाभित्र बसेर गाउँलाई नियाल्दा गाउँमा व्यतित मनोरम र हृदयहारी स्मृतिचित्रले वर्तमानलाई त्यतापट्टि डोहोर्याइ रहन्छन् जहाँ मिनेट मात्र होइन, घण्टौँसम्म कुनै मन त्यतैपट्टि रमाइरहन सक्छ । त्यो पुरानो तर आलो स्मृतिमा हराएर तन्द्रारुपी यात्रामाझैँ
जोडजोडले पैताला चाल्दै हर महत्वपूर्ण पयरको अनुभूति भइरहन्छ । साँच्चै भन्ने हो भने गाउँका यादहरु दसी वा वास्तविक याद हुन् जुन जीवनभर रातको बत्ति बनेर सुनसानमा आइरहन मन पराउँछन् । किनकि, त्यहाँ प्राकृत प्रकृयामै घटित कार्य हुन्छ । ती स्मरणवाटिकामा एउटा तस्विर खिचिक्क भइरहँदा, त्यसको वरपर, दायाँवायाँ राता, हरिया, पहेँला, निला आदि पोतिएका अनगिन्ती सरस रंगहरुबाट मानिस उम्कन सक्दैन । ऊ त्यतै बगिरहन्छ । बगिरहन्छ । त्यस्तै भएको छ प्रेमबिनोदको आजको रात पनि ।

उसले यतिखेर राजधानीको एक कोठाबाट घरलाई सम्झिरहेछ । उसको घर मध्य नेपाल, चितवन । उसले हजुरआमा र आमाबुबासँग त भर्खरै कुराकानी गरेर सकेको छ तरपनि उसलाई घरको अर्को सन्तान समनझैँ रहेको प्राणीले अतिव सताइहेको छ । एक सदस्यरुपी प्राणीको चित्र, उसको आवाज, उसको मूक चेहरा, सम्पूर्ण रुपमा उसको दुई दशकको यात्रा एक साक्षीको रुपमा ताजा स्मरण बनेर दगुरेर आइरहेछ । एक प्राणी जो उसको वाल्यकालको साथी बनेको थियो, जोसँग उसले बढो उमंगसँग दुई दशक विताएको थियो । आखिर मानिस दुई दशक विताएको प्रणीबाट भौतिक रुपमा टाढा भएपनि मनमस्तिष्कदेखि कसरी अल्पिन सक्ला र ? ऊ बोल्न सक्दैन्थ्यो तर बुझ्न सक्थ्यो । पढ्न सक्दैन्थ्यो तर बुद्दिविवेकले काम गर्थ्यो । उसले ढाट्न, छल्न, ठग्न जान्नु त परको कुरा । ऊ निकै इमान्दार थियो । के यी यावत कुराहरु कुनै जनावरबाट सम्भव होलान् र ?

प्रेमबिनोदले त्यस प्रणीलाई शुरुवातमा ‘काले’ को संज्ञा दिएको थियो । काले उसका लागि यति मायावी थियो कि बरु घरका अरु सदस्यलाई ऊ बिर्सन सक्थ्यो तर उसलाई होइन । जब ऊ आठ वर्षको हुँदो हो उसले त्यस कालेलाई विध्यालबाट फर्किदा एउटा गुरुङ्को घरबाट ल्याएको थियो । उसका साथीहरुले पनि एक-एक वटा काखीमा च्यापेर बढो मुस्किलसँग आफ्नो घरघरमा ल्याइपुर्याएका
थिए तर भोलिपल्टै तिनीहरुले त्यस कुकुरको छाउरीलाई त्यहीँ गुरुङ्गको घरमा पुर्याइदिएका थिए, आमाबुबाको ठाडो आदेशमा ।

यतातिर प्रेमबिनोदको घरमा भने उसले निकै संघर्ष गर्नुपर्यो । तत्क्षण प्रेमबिनोदको ‘बा’ बाट त्यसलाई घरमा ल्याउन र पाल्न इन्कार गरियो ।
‘अति तुच्छ प्राणी, ती माथि छाउरी’ भन्दै भोलि नै जहाँबाट ल्याएको त्यहीँ पुर्याइदिने भन्दै त्यो साँझ तमासा भयो । तर प्रेमबिनोदको एकोहोरो
वालसुलभ ढिपीअगाडि कसैको केही पनि चलेन । ऊ डाको छाडेर रोयो ।अत; त्यो कालेले त्यस घरमा हुर्कने सौभाग्य प्राप्त गर्यो । यस्तो सौभाग्य जुनसुकै कुकुरका दुधे छाउरीहरुले गाउँघरमा अझैसम्म पनि पाउँदैनन । उनीहरुको अल्पायुगमै हत्या हुनेदेखि लिएर मायाविहिन भएर कुनै सडकको किनारमा धिपधिप बत्तिझैँ आफ्नो प्राण त्याग्नु पर्ने हुन्छ वा अन्जानमा द्रुत सवारी साधनको धक्कामा एकैचोटि पेलिएर इहलिला समाप्त पार्नुपर्ने हुन्छ । यदि त्यसो भएन भने गल्लीको जिन्दगी त छँदै छ जो चरम भोकमारी र हेयताबाट गुज्रिदिन्छ ।

उसले दिन प्रतिदिन त्यो अल्पस रातो र पूर्ण बेसारे रंगको छाउरीलाई खेलाई रह्यो, सुम्सुम्याइ रह्यो । त्यसलाई कसैले कतै लग्ने हो कि वा हराउने पो हो कि भन्ने भयले शुरुताका उसलाई विध्यालय नजाऊँजस्तो पनि भयो । त्यो कलिलो उमेरमा प्रेमबिनोदको सम्पूर्ण माया त्यो कुकुरको छाउरीउपर यसरी पोखियो कि एक सखारहुँदै बादलविहिन आकासबाट घामको कलिलो प्रकाश जसरी मध्यान्हसम्म बढोत्तरित
भएर जान्छ । उसले कालेलाई आफ्नो भागको खाना अरुको आँखा छलेर दिन्थ्यो । घरमा रहँदा त्यसबाट टाढा जाँदैनथ्यो । काले पनि ऊ जहाँ जान्थ्यो लड्दै र घिस्रिदै त्यहीँ पुग्थ्यो । काले प्रेमबिनोदको मुखमा हेरिरहन्थ्यो । ऊ पनि कालेको छेउमा बसेर विध्यालयको गृहकार्य सक्थ्यो । सिसाकलम उसको मस्तकमा राखेर कालेलाई जिस्क्याइ रहन्थ्यो । गर्न हुने नहुने सबै कुरा प्रेमबिनोदले कालेलाई गर्थ्यो । काले
घ्यार्र-घुर्र गर्दै रिसाउँथ्यो । यद्दपि काले धर्ती थियो । कहिलेकाहीँ मात्र जोडले चिच्याउँथ्यो, प्रेमबिनोदले उसलाई औँधि रिस उठाएको बेला । यसरी प्रेमबिनोदको खेल्ने साथी भनौँ या सहयात्री, हप्तादिन नबित्दै त्यो काले भइसकेको थियो । यसबाट न प्रेमबिनोदलाई टाढिँन सहज थियो, न त त्यो दुधे कुकुरको छाउरी कालेलाई नै ।

अर्कोतिर, घरमा छाउरी हुर्किदै गएको देखेर प्रेमबिनोदका बा झिँझिँरहेका थिए । अरु सदस्यहरुलाई त्यो प्राणीप्रति दयाको भाव
थियो किनकि त्यो अबोध थियो । विशेषत; हजुरआमा र आमालाई उसको त्योउपरको प्रेम देखेर बीचमा कुनै धाजा हाल्न मन पटक्कै थिएन । यद्दपि अन्तरहृदयभित्र हजुरआमा पनि चाहन्थिन् कि नातिले खेलाएको प्राणी छाउरीभन्दा छाउरो होस् । यदि छाउरी बढे पहिले पहिले पहाडमा जस्तै असरल्ल कुकुरका सन्तान हुर्किन्छन् र सबैलाई पाल्न सकिदैन । त्यसकारण, उनीहरुले कलिलो उमेरमै जिन्दगीभर आमाबाट छुट्नुपर्छ । यदि बाँचे भने त ठीक छ, तर मरे भने घरका मानिसलाई पाप लाग्ला । हजुरआमा नातिलाई जतिखेरै जिस्काउँदै सोध्थिन्, ‘ए नाति, तँलाई यो कुकुरको छाउरीको बढी माया लाग्छ कि मेरो ?’ तर ऊ सिधै प्रतिकृया दिनुको सट्टा दगुरेर कालेसामू पुग्थ्यो र घुतुमुन्ने छाउरीलाई दुइ हातले छातिमा बोक्थ्यो । नातिको प्राणीप्रतिको अतिव प्रेम देखेर उनले आफ्ना पतिलाई भन्दै थिइन, ‘छाड्दिनुस् अब, यहीँ हुर्कियोस् । सार्है रहर गर्यो नातिले ।’ तर बा फन्किने गर्थे ।

विक्रमको २०५५ साल, माघको दोस्रो हप्ता । उनका बाले मध्यान्ह हजुरआमाको अब्यक्त चाहानालाई सम्बोधन गर्दै त्यस छाउरीलाई उतै पुर्याइ एक भकुल्ले डागो वा छाउरो ल्याए र यथास्थानमा राखिदिए । सायद यो चलाखि गर्न उनकी हजुरआमाले पो बाटो देखाइन कि ! त्यो छाउरो दूरुस्तै रंगको थियो र निकै सुडौल र मोटो । सम्पूर्ण रुपमा मातृवात्सल्य पुगेर खेलाई खेलाईरहूँ जस्तो तर त्यो दिनैभर कराइरह्यो क्वाई क्वाई गर्दै । यसकारण उनकी हजुरआमाको हृदय चसक्क भएर आयो । आफ्नो आमासँग उसले तीन हप्ता मात्र विताउन पाएको थियो । छाउरा छाउरीका लागि २१ दिन पनि निकै मान्नुपर्दछ । कहाँ सबै कुकुरका छोराहरुले तीन हप्ता जन्म दिने आमासँग बिताउन पाउँछन् र ! कसैले न कसैले उनीहरुलाई आमाबाट छुटाएर लगिहाल्छन् घरको पहरेदार बनाउन ।

त्यो साँझ जब प्रेमबिनोद स्कूलबाट घर आइपुग्यो र हतारिदै काले भन्दै कालेसमिप गयो । अचानक त्यसको रुपरंग र जिउको ढाँचा देखेर केही असजिलो भयो तर जब उसले त्यसलाई छोयो, ऊ निकै सजिलो र सञ्च मानेर भुईँमा पल्टियो र आवाज निकाल्न छाड्यो । यदि त्यस छाउरोले उसको स्पर्श पाउँदा तर्सिने वा डराउने गरेको हुन्थ्यो त कालेभित्र शंकाका बिजहरु एक पछि अर्को उम्रन्थे होला । फलस्वरुप, ऊ आमा वा हजुरआमासामू पुगेर अनेक पृच्छाहरु गर्थ्यो होला । तर त्यो त भएन त्यहाँ । सहजतामाथि झन् सहजता थपियो छाउरोको जिउडाल र रुपरंगले ।

भोलिपल्ट एक जना आगन्तुक आएर प्रेमबिनोदको कुकुरप्रतिको अगाध माया र साथीत्व देखेर एक नाम राखिदिए, ‘अबदेखि यसलाई काले नभन्नू, पप्पी भन्नू, पप्पी ।’ प्रेमबिनोदलाई त्यो नाम शुरुमा त मन पनि परेन । निकै अप्ठ्योरो लागेथ्यो तर घरका सबैले पप्पी भनेर बोलाउन थालेपछि उसलाई पनि बानी परेछ । अत; उसले काले नभनेर पप्पी भन्न थाल्यो । दिनप्रतिदिन पप्पीले सबैबाट माया पायो र मायामा हुर्कँदै र बढ्दै गयो । घरका सम्पूर्ण सदस्यबाट, छरछिमेकबाट र आगन्तुकबाट एक सदस्यको रूपमा ऊ स्थापित भयो । पप्पी ठूलो हुँदै गयो । उसले भुक्ने आवाज महिनैपिच्छे फरक र शक्तिशाली सुनिन थाल्यो । भोजनको समयमा भान्साकोठाको तोरणद्वारमा बसेर कुर्थ्यो र सबैबाट भातको डल्लो पाउँथ्यो । प्रेमबिनोदले दुधभात दिन्थ्यो । उसले खान बस्दै गर्दा पप्पीका लागि भनेर खाना छुट्याउँथ्यो । उसको त्यसो गर्ने आदत नै बनेको थियो । परिवारले उसलाई सम्झाउँने गर्थे, ‘अन्तिममा दिउँला पप्पुलाई, त्यो दिएको चैँ खा न ।’ तर, अहँ उसले पप्पीलाई आफ्नो गाँस नै काटेर दिन्थ्यो । निकै आतुर पप्पीले व्यग्रताका साथ आँखा नझिम्काई तारन्तार खाना कुर्थ्यो ।

गाउँमा प्रेमबिनोद जहाँ जान्थ्यो पप्पी पछिपछि लाग्थ्यो । कहिलेकाहीँ त प्रेमबिनोदलाई डर लाग्थ्यो । डर यो मानेमा कि यदि पप्पी तल्ला वा माथ्ला गाउँ गयो भने अरुले टोक्लान् र मार्लान् । यहि कारणले पनि टाढा जानुपर्दा ऊ लुकेर जाने गर्थ्यो तर पप्पीले देखिहाल्थ्यो र पछ्याउथ्यो । फलस्वरुप, ऊ फर्केर आउँनुपर्थ्यो । धेरै पटक यस्तै भएको थियो । ऊ स्कूल जाँदा पप्पीलाई पातलो साङ्लोमा बाधेँर जाने गर्थ्यो । ऊ झोला बोकेर फर्केर हेर्दै हेर्दै जान्थ्यो । पप्पी निकै जोड गर्थ्यो साङ्लोबाट फुत्किनलाई । साङ्लो चुडाऊँलाझैँ गर्थ्यो । पछि विध्यालयबाट आउँदा उसलाई लिन भनेर हो या आइपुग्ने बेला भयो भनेर हो, पप्पी आफैँ माथिमाथि सम्म पुगेर कुर्थ्यो । अनि, जब उसलाई देख्थ्यो हुत्तिएर उसको सामू पुगि पुच्छर हल्लाउँथ्यो र यता र उता, वरिपरि घुम्थ्यो । यो कार्य ज्यादै आश्चर्यजनक र चाख लाग्द देखिन्थ्यो ।

उसको सामू हुँदा पप्पीले बाँकी सबै अपरिचितलाई भुक्थ्यो । अन्य कुकुरहरु आएभने त यति तेजले भुक्थ्यो कि उसलाई नभुक भन्नुपर्थ्यो वा प्रेमबिनोदले खेदाउन बाध्य हुनुपर्थ्यो । द्रुत गतिका मोटरबाइकलाई भुक्दै परसम्म पछ्याउँथ्यो । सायद पप्पी चाहन्थ्यो, ‘बाइकवालाले मेरो पनि ख्याल गरिदिउन् र आस्ते आस्ते अगाडि बढुन ।’

पप्पी जतिखेरै तदारुक अवस्थामा रहन्थ्यो । ऊ आफ्नो जिउडालमा एक पनि मख्खिलाई बस्न दिदैनथ्यो । यसरी पप्पी जति दिन बित्दै गयो, त्यति नै आकर्षक हुँदै र बन्दै गयो । एक समय यस्तो आयो कि उसको ढसरा वा वाक्लो ज्यान बढ्दो उमेर र चढ्दो जवानीको बीचमा परेर
च्यापियो । फलस्वरुप, केही महिना ज्यान लिन सकेन । घरमा अन्य चौँपाय भएकाले पनि उसले प्रशस्त खान त पाउँदैनथ्यो । तर दिएको
खाना ऊ यसरी खान्थ्यो कि उसले एक सितो पनि बाँकी राख्दैन्थ्यो । ऊ छरछिमेकमा विहानसाँझको खाना खाने बखत टुप्लुक्क पुग्थ्यो तर रातमा आफ्नै घर आउँथ्यो ।

ऊ राति सुनसानमा जोडजोडले भुक्थ्यो जब गाउँका अरु कुकुरहरु भुकेको सुन्थ्यो । ऊ अनौँठा मानिसहरु उपर झम्टिन्थ्यो तर टोक्दैन्थ्यो । वरपर घुमेर भुक्दै झम्टिन्थ्यो । यस्तो अवस्थामा जब प्रेमबिनोदले ‘नभुक-नभुक’ भन्थ्यो अनि चुपचाप लाग्थ्यो र लुसुक्क पर्थ्यो ।

ऊ कहिल्यै पनि भान्सा कोठा भित्र पसेन । एक दिन प्रेमबिनोदले आफू भित्र बसेर भान्साकोठामा बोलायो तर उसले आफ्नो रेखा कहिल्यै पनि पार गरेन । बरु पुच्छर हल्लाईरह्यो । प्रेमबिनोदले उसलाई घर घुम्न पनि सिकाएको थियो । उसले आफ्नो हातको चोरी औँलोलाई गोलाकार रुपमा घुमाइदियो भने पप्पी फुर्तिका साथ एक फन्को घर घुमेर टुप्लुक्क आउँथ्यो । उसले आफ्ना अगाडिका खुट्टा माग्यो भने सरलक्क हातमा राखिदिन्थ्यो । नबस्न आग्रह गर्यो भने ऊ जुरुक्क उठेर पर जान्थ्यो । यस्ता असाधारण बानीहरु उसका थिए जुन आगन्तुकलाई दंगदास बनाउने । उसको अर्को फरक आदत थियो । धेरैजसो कुकुरहरुसँग बिरालाको सम्बन्ध राम्रो हुँदैन तर ऊ पछिल्लो समय बिरालोसँग खेल्थ्यो । प्रेमबिनोदको घरमा एक सेती बिरालो थियो जोसँग प्रेमबिनोदको निकटता हुन पाएन ।

आज विक्रमाब्ध २०७५ साल, प्रेमबिनोदले पप्पीका यस्तै यस्तै कुराहरु सम्झिरहेको छ । उसले स्नातक तहमा सफलता पाएर थप अध्यायनका लागि राजधानी आएको दुइ बर्ष भएको छ । २०५५ सालको पप्पी आज बिस वर्षको भएको छ । पोहोर साल ढेड वर्षमा घरमा
पुग्दा पप्पीले एकै चोटि चिनेर पुच्छर हल्लाएको थियो । त्यो बखत प्रेमबिनोदलाई कतिखेर घर पुगेर पप्पीको मुख हेरुँहेरुँ भएको थियो । ऊ बुढो भएको रहेछ । ज्यानबाट रौँहरु पातलिएका थिए । बीचबीचमा अंगुर आकारका काला दागहरु देखिन्थे । रोगीझैँ हिँडाई पनि निकै सुस्त सुस्त । त्यो रौनक र सान उसमा थिएन जस्तो त्यो बेला थियो । उसको गति देखेर प्रेमबिनोदको मन भक्कानिएर आएथ्यो र उसले टुसुक्क बसेर पप्पीको मस्तकमा हातले थप्थपाएको थियो । यसो गर्दा पप्पीका आँखा घरी प्रेमबिनोदउपर, त घरि अन्त कतै घुमिरहे । हेर्दा हेर्दै उसले पप्पीका आँखाहरु रसाएको देख्यो । पप्पी जुरुक्क उठेर पुच्छर हल्लाउदै फुत्त उठेर अन्त हिँड्यो । प्रेमबिनोदले उसलाई पछ्याईरह्यो तर
पप्पी नजिक आउँन मन गरेन । टाढा टाढा गयो । आखिर पप्पी किन प्रेमबिनोदबाट यसरी टाढा भाग्यो ?

प्रेमबिनोदले उसलाई दुधभात दिन भनेर भरे साझँसम्म पर्खिरह्यो तर आएन । उसको खाना खाने थालिमा राखेर निराश मुद्रामा सुतेथ्यो । भोलिपल्ट विहान त्यो खाना थिएन । सायद उसले राति खायो । तर उसले कसरी खायो ? कसलाई सम्झेर खायो ? कसले राखिदिएको भनेर खायो ?

यहीँ बखत प्रेमबिनोदको फोनको घण्टी बज्यो । उसले उठायो । घरबाट उसले नयाँ समाचार पायो । आउँदो बुधबार उनीहरुको परिवार गाउँबाट शहर बसाइ सर्ने भए रे । उनीहरुको यो अपर्झटको निर्णय थियो । हुन त पहाडबाट मधेस, दुर्गम मधेसबाट सुगम मधेस वा सहरी इलाकातिर बसाईँ सर्नेहरुको क्रम चलिरहेछ । उनीहरुको परिवार पनि चलेको चलनअनुसार अगाडि बढ्ने भए । तर, जब प्रेमबिनोदले यो खबर पायो, ऊ गलेर खत्रक्क भयो । सुकेर खण्डहरसरह भयो । मानौँ उसको बातन बन्द भयो ।

पप्पीको गत हाल सम्झेर छटपटाउन थाल्यो । एकैचोटि उसभित्र बेदनाको पहाड चुलिएर आयो । उसले घुटुक्क पानी पियो र फेरि
यथास्थानमा आएर पल्टियो । उसलाई आफू जन्मथलो छोडेर जाँदै छु भन्ने विछोडको चिन्ताभन्दा पप्पीको जीर्ण हाल, उसको दृघकालीन परिवारविहिन अवस्था, र गाउँमा अरु सबैबाट हेपिदाको क्षण सम्झन थाल्यो । उसलाई यो आश्चर्य लाग्न थाल्यो कि ‘आखिर पप्पी किन मदेखि टाढिँयो ? मलाई चिने पनि किन उसले त्यो बखत मेरो नजिक नजिक आएर परिचित भई बसेन ? ऊ किन रिसायो ? अब
उपरान्त पप्पीसँग मेरो भेट होला र ?’ यस्तै कुराहरुको चाङमा परेर उसले मध्यरातमा एक सपना देख्यो जहाँ उसको परिवार पप्पीलाई छोडेर बसाईँ सरेर हिँड्ने क्रममा थिए ।

‘आकाश बादलले ढाकेको छ । कत्ला कत्ला बादलले निलो र सेतो नभमा छिद्र छिद्र पारेको विहान छ । घाम उदाउँने समय भएपनि धर्तीउपर मधुरो प्रकाश फिजिएको छ । घरको हालत चौपट छ । घामको झुल्कोसँगै सामाग्रीहरु असरल्ल आँगनमा निकालिएका छन् । चार पाँच जना कामदारहरु खटिएका छन्, कोठाचोठाबाट खाट, टेबुल, कुर्सि, दराज, तखता, बाकस आदि झार्न भनेर । गाउँका केहि मानिसहरु दुखेसो पोखिरहेछन् जोशी परिवारमाथि । जोशी दम्पती यता र उता अल्झिरहेछन् सामाग्रीको तलासमा । उनीहरु केही गर्न खोजिरहेका देखिन्छन् तर अहिलेसम्म महत्पूर्ण केही गरेका भने छैनन । सट्टामा बहूद आत्तिएका देखिन्छन् । सबैजना आउँदै भनिरहेछन्, ‘शहर पुगर हाम्लाई बिर्सिनु होला नि काका काकी ?’ प्रमबिनोदको मुख नै हेर्न नपाई जाने भयो ? प्रेमबिनोद आएको छ र ?’

यतापट्टी पर एकान्तमा एक बृक्षमुन्तिर पप्पी बसेको छ । पप्पीले सोचिरहेछ, ‘आज के भइरहेछ मेरो घरमा ?’ ऊ भुक्न सक्दैन अहिले ।
उसलाई हिजोदेखि झन् गार्हो अवस्था आइरहेछ । घरमा प्रशस्ती खान पाएको छैन । छरछिमेकमा जाऊँ भने पनि सबैका घरमा ऊजस्तै बसेका छन् । उसलाई माया गरेर खाना दिने मान्छे एक जनाले संसार छाडेर गइसकेका छन् । अनि बढी माया गर्ने मान्छे ऊबाट टाढा । यतिखेर उसको शरीरमा झिँगा, किर्नाहरुले राज गरेका छन् । आफ्नो बलबुतोले भ्याएसम्म आफ्ना अगाडिका दातले जिउलाई बङ्गाएर किटीकिटी टोकिरहेछ तिनीहरुलाई । ऊ घरि उठेर आफू बस्ने ठाउँमा पुग्छ । घरी बाटोपारी पुग्छ । घरी जोशी दम्पतीको छेवैमा पुग्छ । तर कसैबाट पनि नजर नलाईदा पुन फर्केर आफ्नै स्थानमा आइपुग्छ । यतिकैमा एउटा मालबहाक ट्रक आउँछ र सामानहरु त्यहाँ अपलोड गरिन्छन् । पप्पी जुरुक्क उठेर भुक्न थाल्छ । बुढो भइसकेको कुकुरले त्यसरी भुकेको देखेर जोशी परिवार पनि दंग पर्छन् । दामोदर जोशी भन्छन्, ‘यसले यसरी भुक्न सक्छ भन्ने मैले सोच्या थिइनँ बा !’ जोशीनी मनमनै भन्छिन्, ‘बिचरा के सोच्दो हो यसले आज, जान्छ भने त लग्नु पर्ला यसलाई गाडीमा हालेर ।’ त्यसपछि उनी उसको नजिक पुगेर भन्छिन्, ‘नभुक नभुक पप्पी ।’ त्यसपछि मात्र ऊ चुपचाप हुन्छ । उनको बोली सुनेपछि ऊ अलि चनाखो पनि हुन्छ । उठेर यता र उता गर्दै सरसामानको रेखदेख गर्छ । उमेरले ऊभन्दा तलका कुकुरलाई नजिक पर्न दिदैँन । गाउँका अन्य जवान कुकुरहरु बढिसकेका हुन्छन् । तिनीहरुसँग घार्र-घुर्र गर्दै आफ्नो घरमा शक्ति जमाउँन खोज्छ । ती कुकुरहरु पनि पप्पीको डरले टाढा टाढा जान्छन् ।

यसरी दुई गाडी मालबहाक ट्रक अब जाने तरखरमा हुन्छ । छरछिमेकीहरुले बढो दु:ख पोख्छन् । महिलावर्गहरु वियोगको क्षणमाझैँ रती बोल्न सक्दैनन् । पुरुषहरु भन्छन्, ‘गाउँ नबिर्सिनू, आउँदै गर्नू ।’ जोशीनी एक आँखर पनि बोल्न नसकेर गाडीभित्र पसेर साडिको सप्कोले आँशु पुच्छन थाल्छिन् । पप्पी गाडी अगाडि पर बाटोमा एक्कासि आउँछ । आफ्ना मालिक मालिक्नी गाडीभित्र चढेँको हेर्छ । ऊ एकोहोरो हेर्दैन । घरीघरी पल्याक पिलिक्क हेर्छ र फेरी भुक्न थाल्छ । उसलाई माया गर्ने जोशीनीलाई सायद ऊ हेर्न खोजिरहेछ । गाडी अब स्टार्ट हुन्छ र विस्तारै विस्तारै अगाडि बढ्छ । जोशी दम्पतीको आँखाभरी आँशु आउँछन् ।

त्यहाँबाट गाडी बिस्तारै अगाडी बढ्छ । बाटो किनारमा गएर गाडीलाई बाटो छाड्छ । उनीहरु हिँडेपछि पप्पी मरेसमानको मुद्रामा सुस्तरी फर्केर उहीँ बृक्षको मुन्तिर बस्न पुग्छ । भरे साँझमा युवा कुकुरको हुल आएर उसलाई झम्टिन्छन् र टोक्छन् । सकेजति त उसले प्रतिकार गर्छ तर नसकेपछि ज्यान नै छाड्छ ।

यतिकैमा प्रेमबिनोद सपनाबाट झसंङ्ग हुन्छ । घडीले विहान पाँच बजेको संकेत दिन्छ । त्यसपछि ऊ कलेज जाने तरखर गर्छ ।

कीर्तिपुर