राती बाथको तोड परेको जति नै किन नहोओस्, मन-मस्तिष्कले जति नै सारङ्गीको धून निकालेको किन नहोस्, किस्तुनोफ्, जे भएतापनि बिहान अफिस् गयो र बेलैमा याचक र ग्राहकहरूको सेवा गर्न थाल्यो । अनुहार उसको सास्तिपूर्ण थियो, अनि कनिकुथि बोल्थ्यो शनै सास लिँदै, एउटा मृत जीव जस्तै गरेर ।

– तपाईँलाई के चाहियो ? – उसले सम्बोधन गर्‍यो एउटी याचिकालाई जो स्वयम् एउटा जीर्ण कोटमा थिई, अनि पछाडिबाट हेर्दा एउटा ठूलो गोब्रे कीराजस्तै लाग्थी ।

– हेर्नुहोस् न महाशय, – छिटो-छिटो बोल्न थाली याचिकाले, – मेरा पति, निजामति सेवाका एक जना कनिष्ठ अधिकृत श्यूकिन, पाँच महिना थलिए रोगले गर्दा, उनी घरमा आराम गर्दा अनि उपचार गर्दा नै उनलाई बिना कारण सेवाबाट निवृत्त गरिदिए, महाशय; पश्चात् जब उनी गए आफ्नो तलब लिन बश् चौवीस रूबल् र छत्तीस कापेइका काटिदिए उनीहरूले उनको तलवबाट ! केको लगि ? सोध्छु । अनि भन्छन्, उनले साथी-सहकर्मीहरूको खाताबाट लिएका थिए रे । कसरी हुन्छ यस्तो ? के उनले मेरो सहमति बेगर लिन सके होला ? यो हुनै सक्दैन, महाशय । अनि किन यस्तो ? म एक जना गरीब महिला, बहालवालाहरूबाट पालिएकी छु … । म अबला, अनाथ … । सबबाट हेलाँ मात्र सहन्छु म, कुनै पनि असल शब्द सुनेकी छैनँ कसैबाट पनि मैले … ।
याचिकाले यसो आँखा झिम्क्याई अनि हात हाली सिँगाने रुमालको लागि कोटतिर । कुस्तुनोफले उसबाट निवेदन लियो र पढ्न थाल्यो ।

– यो कसरी हुन सक्छ ? – कुम हल्लायो उसले । – केही पनि बुझ्दिनँ म त । स्पष्टत: तपाईँ सही ठाउँमा पर्नुभएन । तपाईँको याचना सारत: हामीकहाँ सम्बन्धित छैन । तपाईँले त्यो विभागमा सम्पर्क गर्ने कष्ट गर्नुहोला जहाँ तपाईँका पतिले सेवा गर्नुभएको थियो ।

– अनि, छ नि बा ! म पाँच ठाउँमा गैसकेकी छु र याचना-पत्र समेत लिएनन् यी सबै ठाउँमा ! – भनी श्यूकिनाले । – मेरो त सुद्धि नै हराइसक्यो ! अँ, धन्यवाद ! मेरा ज्वाइँ बारिस् मात्भेइछलाई, चिरायु बनाऊन् परमेश्वरले !‘ तपाईँ, छ नि, उनी भन्छन्, मम्मी ! तपाईँ किस्तुनोफकहाँ सम्पर्क गर्नुहोस् न: उनी प्रभावशाली व्यक्ति हुन्, तपाईँको लागि जे पनि गर्न सक्छन् … । मद्दत् गर्नुस् न, महाशय !

– हामी, श्यूकिना महोदया ! केही पनि गर्न सक्दैनौँ तपाईँको लागि … । बुझ्नोस् न तपाईँले; तपाईँका पतिले सैनिक तथा चिकित्सासम्बन्धी विभागमा सेवा गरेका थिए, अनि हाम्रो कार्यालय चाहिँ बिल्कूल निजी, वैपारिक हो; हाम्रो त यो बैँक हो । के नबुझ्ने यत्ति पनि !

किस्तुनोफले फेरि एक चोटि कुम हल्लायो, अनि फर्क्यो सैनिक पोशाकका एक जना महोदयतिर ।

– महाशय ! लेग्रो तानिन् श्यूकिनाले अनुनय-विनयको स्वरमा, – मेरा पति त बिरामी थिए, मसँग डाक्टरको प्रमाणपत्र छ ! यी यही हो, एक नजर लगाउनुहोस् कृपया !

– एकदम राम्रो, एकदम पत्याउँछु म तपाईँका कुरा, – जङ्गिएर भन्यो किस्तुनोफले, – परन्तु, दोहर्‍याएर भन्छु, यो हामीसँग सरोकारको कुरा होइन । अचम्म, हास्यास्पद झनै ! के थाहै नभएको होला र तपाईँका पतिलाई, तपाईँले कहाँ संपर्क राख्ने भनेर ।

– उनीलाई छ नि, महाशय ! केही पनि थाह छैन । उनी बारम्बार दोहर्‍याउँछन् एउटै कुरा: ‘तिम्रो काम होइन ! गेट आउट् ! – अँ, यहाँ सब … । अनि कस्को काम त ? उनीहरू सब मेरै काँधमा बसेका छन् नि त ! मेरैमा !

किस्तुनोफ पुन: श्यूकिनातर्फ फर्कियो अनि सैनिक-चिकित्सा विभाग र नीजी बैँकबीच के कस्तो फरक हुन्छ भनेर अर्थ्याउन थाल्यो । उसले ध्यानपूर्वक उसलाई सुनिरही, सहमतिस्वरूप टाउको हल्लाई अनि भनी:

– अँ, अँ, अँ … । बुझ्छु बा, बुझ्छु । यस्तो अवस्थामा, महाशय ! पन्ध्र रूपियाँ मात्र भएपनि मलाई दिने आदेश होस् । म सहमत छु सबै एकै चोटि नभए पनि ।

– उफ् ! – गहिरो सास फेर्‍यो किस्तुनोफले आफ्नो टाउको पछाडितिर धकेलेर ।

– बुझिदिनुस् न, यस्तो अनुरोध लिएर हामीकहाँ सम्पर्क राख्नु त्यस्तै आश्चर्यको कुरा हो, जस्तै पारपाचुकेको निवेदन दर्ता गर्नु, उदाहरणको लागि, औषधी पसलमा । तपाईँलाई पूरै भुक्तानी दिएनन्, हामी यसमा के ?

– महाशय ! म, एउटा अनाथप्रति, दया देखाउनुहोस्, – रोइन् श्यूकिना । म नारी एउटा असहाय, अबला… । मरेतुल्य दिग्दार छु म … । वहाल बस्नेहरूसँग न्याय-निसाफ गर्, पतिको बारेमा चिन्ता गर्, अनि दौड-धूप गर् घर-बेबहारको लागि, र ज्वाइँ पनि बेरोजगार … । अनि आफैँ पनि बल्ल-बल्ल खुट्टामा उभिएकी छु म … । पूरा रात सुतेकी छैनँ ।

किस्तुनोफले मुटूको ढुकढुकीको अनुभूति गर्‍यो । खिन्न अनुहार बनाएर र मुटुमाथि हात राखेर पुन: श्यूकिनालाई अर्थ्याउन थाल्यो उसले, परन्तु बोली भने उसको टुट्यो … ।

– होइन, सरी, म तपाईँसँग बोल्न सक्दिनँ, – भन्यो उसले र हात हल्लायो एउटा इन्कारको ।

– मलाई चक्करसमेत लायो । तपाईँ हामीलाई बोथोल्दै हुनुहुन्छ अनि बेकारमा समय खेरा फाल्दै हुनुहुन्छ । उफ् ! … आलिक्सेइ निकालायेभिछ्, – अर्थ्याइदिनुहोस् न तपाईँले, कृपया, श्यूकिना महोदयालाई !

किस्तुनोफ, सबै याचकहरूका कुराहरू सुनिसकेपछि, आफ्नो कार्य-कक्षमा गयो अनि दशौँ कागजातहरूमा हस्ताक्षर गर्‍यो । उता आलिक्सेइ निकालायेभिछ भने श्यूकिनासँग अझै भिड्दै थियो । आफ्नो कार्य-कक्षमा बसेर किस्तुनोफले लामो समयसम्म यी दुई जनाका स्वर, आलिक्सेइ निकालायेभिछको एकै खाले निरस, संयमित धोद्रो स्वर र श्यूकिनाको रुन्चे चिच्याहटी स्वर, सुन्दै थियो … ।

– म एउटी असहाय, अबला नारी हुँ, एउटी रोगी नारी हुँ म, – भनी श्यूकिनाले । हेर्दा, लाग्ला, म बलियी छु, यद्यपि राम्रोसँग छानवीन गर्ने हो भने म बलै खुट्टामा उभिएकी छु । कफी खाएकी थिएँ आज, कुनै पनि सन्तुष्टिबिना ।

तर आलिक्सेइ निकालायेभिछ विभागहरूबीचको भिन्नता र कागजात कहाँ-कसरी पठाउनेबारे अर्थ्याउँथ्यो । छिट्टै ऊ लखतारान भयो थाकेर अनि उसलाई पनि बदल्यो लेखापालले ।

– अद्भूत किसिमले घीन लाग्दी बूढिया ! – आफ्नो क्रोधको अभिव्यक्ति दियो किस्तुनोफले बेचैनीपूर्वक औँला भाँच्दै, अब उसको हात पानीको सिसी समात्न पुग्यो । मूर्ख, शिल्ली आइमाई ! उफ् … मुटु नै दुखेको छ !

आधा घण्टापछि उसले फोन गर्‍यो । आलिक्सेइ निकालायेभिछ टुप्लुक्कियो ।

– त्यहाँ के भएको हो तपाईँहरूको ? – किस्तुनोफले सोध्यो थकित भएर । अँ, कसैगरी पनि आर्थ्याउन सकिरहेका छैनौँ, प्योतर आलिक्सान्द्र्ईछ् ! हामी थकित भैसक्यौँ यो ताडनाले । हामी उसलाई आग्राका कुरा, ऊ हामीलाई गाग्राका कुरा … ।

– म … म सुन्न सक्दिनँ उसको बोलीसमेत … । बिरामी नै भैसकेँ म त … खप्नै सक्दिनँ ।

– पालेलाई बोलाउने, प्योतर आलिक्सान्द्र्ईछ ! उसलाई यहाँबाट हटाओस् बरू । होइन, होइन ! – भयभित भयो किस्तुनओफ । उसले त कोकोहोलो नै मच्चाउली । बरू, तपाईँले, मेरो बाबु, जसरी भए पनि अर्थ्याइदिनुहोस् उसलाई ।

कोही पाँच मिनेटपछि आलिक्सेइ निकालाइछ्को मोटो स्वर सुनियो । पौने घण्टाजति बित्यो यसपछि, अनि मोटो स्वरलाई बदल्यो लेखापालको एउटा तीखो आवाजले प्यारप्यार गरेर ।

– एकदम राम्रो, नीच कहीँकी ! – आफ्नो क्रोध थामेन किस्तुनोफले, आफ्नो कुम नचायो एउटा आक्रोसमा । – लाग्छ, फेरि शुरु भो मेरो बाथ … । पुन: माइग्रेन् … । नजिकैको अर्को कोठामा आलिक्सेइ निकालाइछ् पूरापूर शिथिल भएर अन्तत: टकटक्यायो औँलाहरूले टेबुल, अनि आफ्नो निधार ।

– एकै शब्दमा भन्नु पर्दा तपाईँको काँधमा टाउको छैन, – भन्यो उसले, – बरू यी, के … ।

– ठीकै छ नि, ठीकै छ … – दु:ख मानी बुढियाले । आफ्नी बूढीलाई ट्वक-ट्वाक पार् …। धेरै आजादी नदे आफ्ना औँलाहरूलाई … । रीसले चूर भएर उसलाई हेर्दै आलिक्सेइ निकालाइछले शान्त, दबेको स्वरमा भन्यो:

– गैहाल् यहाँबाट !

– के-ए-ए ? भुकिन श्यूकिना । अँ कसरी सकेको यसो भन्न ? म एउटी अबला, असहाय नारी; म दिन्नँ यस्तो अनुमति ! मेरा पति निजामति सेवाका कनिष्ट हाकिम ! जान्छु अब द्मित्री कार्ल्ईछ् वकीलकहाँ, अनि त रहने छैन तेरो यो जागीर पनि ! तीन जना बाहालवालालाई सजायँ दिलाइसकेँ, अनि तेरो यी उद्दण्ड बोलीको लागि तँ मेरो पाउमा पर्ने छस् ! म पुगुँला तेरो जनरलसम्म ! महाशय ! महाशय !

– गेट आउट यहाँबाट, अल्सर कहीँकी ! – फुँ-फुँ गर्‍यो आलिक्सेइ निकालाइछले । किस्तुनोफले ढोका खोल्यो अनि कार्य-कक्षतर्फ हेर्‍यो ।
– के भएको हो ? – सोध्यो उसले रुन्चे स्वरमा ।

श्यूकीना, गँगटा जस्तै राती, कोठाको बीचमा उभिएकी थिई अनि, आँखा यताउता घुमाउँदै हावातिर देखाउँदै थिई औँलाहरूले । उता बैँकका कर्मचारीहरू भने छेउछाउतिर उभिएका थिए उस्तै राता, सम्भवत: प्रताडित, अनि एक अर्कालाई हेर्दै थिए किंकर्तव्य-विमूढ भएर ।

– महाशय ! किस्तुनोफलाई झम्टिई श्यूकिनाले । यी यसले, यो नै … यी यसले (उसले आलिक्सेइ निकाइछ्लाई देखाउँदै थिई ।) आफ्नो निधारमा औँलाले ट्वाक-ट्वाक गर्‍यो, त्यसपछि टेबुलमा … । तपाईँले उसलाई मेरो मुद्दा छानवीन गर्न अह्राउनुभएको थियो, अनि ऊ चाहिँ हँसि-मजाक गर्दै छ ! म नारी अबला, असहाय … । मेरा पति निजामती सेवाका कनिष्ट हाकिम , अनि म आफू चाहिँ मेजरकी छोरी !

– ठीक छ, म्याडम, – दु:खले करायो किस्तुनोफ, – म छानवीन गरूँला … । कारबाही गर्ने छु … । जानुहोस् न … पछि ! …

– अनि कहिले पाउँछु त म, महाशय ? अहिले नै चाहिएको छ मलाई पैसा ! किस्तुनोफले थर-थर कामेको हात आफ्नो निधारतिर लग्यो, गहिरो सास फेर्‍यो अनि पुन: अर्थ्याउन थाल्यो:

– म्याडम, मैले तपाईँलाई भन्दै आएको हुँ । यहाँ बैँक हो, एउटा निजी, वैपारिक प्रतिष्ठान …।तपाईँ के चाहनुहुन्छ हामीबाट ? बुझिदिनुहोस् न ठण्डा दिमागले, तपाईँले हामीलाई बिथोल्नुभएको छ ।

श्यूकीनाले उसका कुरा अन्तसम्म सुनी अनि लिई एउटा गहिरो स्वास ।

– अँ, अँ, -सहमति जनाई उसले । – मात्र तपाईँ छ नि, महाशय ! एउटा कृपा गर्नुहोस्, मेरो आफ्नै बुवासमान बन्नुहोस्, रक्षा गर्नुहोस् … । आज्ञा दिनुहोस् मलाई पैसा दिन !

– किस्तुनोफका आँखा तिर्मिराए । उसले पूरा स्वास शरीरबाट बाहिर निकाल्यो, जति थियो उसको फोक्सोमा, अनि थ्याच्च थचारियो कुर्सीमा अडिनै नसकेर ।

– तपाईँ कति पाउन चाहनुहुन्छ ? – कमजोर बोलीमा सोध्यो उसले ।

– चौबीस रूबल छत्तीस् कापेइका ।

किस्तुनोफले खल्तिबाट पर्स् निकाल्यो, त्यहाँबाट पच्चीस रूबल् झिक्यो अनि त्यो श्यूकिनालाई दियो ।

– लिनुहोस् अनि … अनि जानुहोस् यहाँबाट ! श्यूकिनाले पैसा हाते रुमालमा बेरी, त्यसलाई लुकाई, अनि एउटा मीठो, शिष्ट, नखरमाउलो मुस्कानमा कच्याक-कुचुक्क पारी आफ्नो अनुहारलाई, सोधी:

– महाशय, मेरा पतिलाई पुन: जागीरमा प्रवेश गर्न मिल्दैन र ?

– म गइहाल्छु … विरामी छु … – भन्यो किस्तुनोफले एउटा पट्यार लाग्दो स्वरमा ।

– मेरो मुटुको ढुकढुकी डरलाग्दो भइरहेको छ ।

– उसको प्रस्थानसँगै आलिक्सेइ निकालाइछले निकितालाई ट्राङ्कुलाइजर लिन पठायो, अनि सबै जनाले बीस-बीस थोपाका दरले त्यो खाएर आ-आफ्नो काम गर्न थाले, उता श्यूकिना भने अरू दुई घण्टा नै अगाडिको कोठामा बसिरही, द्वारपालसँग गुड्डी हाँक्दै रही किस्तुनोफ कहिले फर्केला भनेर प्रतिक्षा गर्दै । अर्को दिन पनि आई ऊ ।

(प्रथम पटक वि.सं. २०७० मा आन्तोन छेखफका १५ छोटा कथाहरूमा प्रकाशित्)