प्रसङ्ग १

शिक्षण सेवामा लामो समय बिताउनु भएका एल.बी. क्षेत्रीले केही समयअघि नयाँ पुस्तक प्रकाशनकाे तयारीमा जुटेको थाहा पाएँ । सामाजिक सञ्जालमा राम्रै कुराकानी भइरहेका कारण उहाँबाट म प्रभावित थिएँ । उहाँका फेसबुकका पोस्टहरूमा कहिलेकाहीँ सामान्य वर्णविन्यासगत त्रुटि हुने गरेको देख्थेँ । उमेर र अनुभवले परिपक्व तथा आफूभन्दा अग्रज भएकाले रचनाको भावगत चर्चा गर्ने तर शुद्धाशुद्धिका बारेमा मैले खासै बोलिनँ । पुस्तक प्रकाशनमा जुटेको जानकारी पाएर मेसेन्जरमा उहाँलाई आवश्यक सम्पादनका लागि प्रस्ताव गरेको थिएँ । उहाँले पनि विशेष चासो लिएर मेरो सम्पर्क नम्बर लिनुभएको थियो तर सम्पर्क भएको छैन । उहाँले पुस्तकको तयारीमा के कति अगाडि बढनुभएको छ, जानकारी भएन । प्रायः अग्रजप्रतिको सम्मानस्वरूप, व्यक्तिगत रूपमा छापिने पुस्तकको सम्पादनका लागि प्रस्ताव गर्ने गरेको छु । त्यही इच्छित कुरा उहाँसमक्ष राखेको मात्रै हुँ ।

प्रसङ्ग २

एकताका भर्खरै नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत हुँदा गीतकार तथा कानुन व्यावसायी रमेश कोइरालाको वैदेशिक रोजगारी जानकारी पुस्तक सहकर्मीका नाताले सहयोगस्वरूप भाषिक सम्पादनका लागि पाएको थिएँ । म भाषा विशेषज्ञका रूपमा भन्दा पनि सिक्ने चाहनामा लोभिएर आवश्यक सम्पादन गरेँ भनी ढुक्क भएको थिएँ । तर छापिएर आएपछि अत्यधिक वर्णविन्यासगत त्रुटिहरू थिए । यस्तै त्यसको केही समयपछि इन्द्रेणी साहित्य समाजले दोलखाली समकालीन साहित्य पुस्तक प्रकाशन गर्ने भयो । समाजको संस्थापक अध्यक्ष भएको र नेपाली भाषामा नै स्नातकोत्तर भएकाले अरू सबै पदाधिकारीहरू (विष्णु सुवेदी, भोजराज न्यौपाने र श्रीबाबु कार्की लगायतका साहित्यकारहरू) भए पनि मलाई नै जिम्मेवारी दिइएको थियो । मैले सक्दो शुद्धाशुद्धि हेरेको थिएँ जस्तो लागेको थियो तर त्यसमा पनि वर्णविन्यासका कारणले नै खिरमा ढुङ्गा लागे झैँ भयो । यसमा भएका त्रुटिले मलाई धेरै सचेत हुन सिकायो तर लेखनमा निष्कृयप्रायः भएका कारण आफूलाई सुधार्ने उत्तिसारो मौका मिलेन । विस्तारै अध्यापनमा लागियो र सीमित साहित्यिक पाठहरूको कक्षा प्रयोजनार्थ विश्लेषण मात्रै गरेर जागिरे मेलो भयो तर भाषिक सम्पादन सीपको अपेक्षाकृत प्रगति हुन सकेन ।

प्रसङ्ग ३

चन्द्र खड्का

यो लेखको प्रसङ्गमा आएका उल्लेखित सान्दर्भिक कुरा जोडिन मात्रै आएका हुन् । यस लेखको खास सन्दर्भ भनेको लेखक र प्रकाशकका बीचमा रहेर निर्णायक भूमिका खेलिरहका अदृश्य सम्पादकका कुरालाई खोतल्ने प्रयास हो । मैले निकै पुस्तकहरू सम्पादन गरेको छु तर जानेर होइन, जानेको छु भन्नका लागि । धेरैले ‘तपाईंले त नेपालीमा डिग्री गर्नुभएको छ, मेरो किताब एकचोटि सरर हेरिदिनु पर्यो है’ भन्छन् । हार्न नसकेर गरिने त्यो पनि हतारमा उनीहरूले दिएको समयसीमाभित्र गरिसक्नुपर्ने कठोर अवस्था हुन्छ । ‘प्रेसमा जानै लागेको अवस्थामा छ, यसो सरर हेरिदिनुस् है, कति नै समय लाग्छ र ?’ यसरी भनिदिन्छन् कि म उनीहरूकै कृति कहिले मकहाँ आइपुग्ला भनेर कुरेर बसेको छु । अति तीव्र प्रतीक्षामा बसेको छु झैँ गरिदिन्छन् ।

प्रसङ्ग ४

सबै लेखकलाई एउटै घानमा हालेर भन्न मिल्दैन, किनकि धेरैको त भित्री मनले चाहेर मागेर म आफैँले सम्पादन गरिदिएको छु । गत महिना लेखक डी.बी. खड्काले एकै दिनमा तीन ओटा पुस्तक ‘सपना र सिर्जना’ कवितासङ्ग्रह, ‘लकडाउन (बन्दाबन्दी)’ गीति काव्यसङ्ग्रह, र ‘जुँगुदेखि मुगुसम्म’ (मनका कुरा, संस्मरण) सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रमपछि मलाई पठनका निम्ति पुस्तकहरू दिनुभएकाले पढेँ र हेरेँ । समय लिएर हेर्दा धेरै त्रुटि भएकाले मलाई दिएको भए बरु म हेरिदिन्थेँ भनी आत्मीय रूपले उहाँलाई भनेको थिएँ, कारण हामी एउटै परिवारभित्रका दाजुभाइ हौँ । सार्वजनिक हुनुअघि कार्यक्रममा निम्त्याइँदा मैले उहाँलाई ती पुस्तक सम्पादनका लागि नसम्झेकामा गुनासो गरेको छु ।

प्रसङ्ग ५

नियात्राकारका रूपमा बढी नाम कमाएका साहित्यकार युवराज नयाँघरेलाई मैले स्कूल पढ्दाताका (२०४९ सालतिर) पत्रकारका रूपमा चिनेको हुँ । रहरले कुनै समयमा उहाँको पुस्तक पढ्न माग्दा किनेर पढ्न आग्रह गरेकाले कुनै पुस्तक प्रदर्शनीमा नयाँघरेको पठन सिफारिसको कुरा नेपाली विषयका मेरा गुरु रमेश भट्टराईलाई भन्दा ‘समीक्षा गर्ने किताब पनि किनेर हुन्छ त ? लेखकले पो दिनुपर्छ, कहाँ किनेर अनि पढेर त्यत्रो समय र पैसाको लगानीमा अर्काका बारेमा लेख्ने ?’ भनेपछि मैले त्यसपछि किताब किनेर पढ्न लिएको छु तर समीक्षार्थ नै भनेर किनेको छैन । उक्त कुराले मलाई एकपटक सोच्न भने बाध्य बनायो । आफ्नो मिहिनेतको कमाइले पुस्तक किनेर घण्टौँ लगाई पढेर विश्लेषणार्थ पुनः चिन्तन मनन गरेपछि एउटा लेख तयार हुन्छ तर यसको लगानी कसरी उठाउने ? समीक्षा लेखन कार्य समाजसेवा हो र ?

समीक्षा लेखन गाली हो कि ताली ?

समीक्षालेखन कृतिको प्रकाशनपछिको सम्पादन नै हो । यद्यपि सम्पादन भनेको कृति पूर्णरूपमा तयार हुनुअघिको जटिल र अत्यावश्यक कार्य हो । समालोचक महेश पौड्यालले समीक्षण शैली र मूल्य–मान्यता वा अझ भनौँ साहित्यलाई बुझ्ने तरिका अलि फरक लाग्छ । कुनै समय एक सेमेस्टर अङ्ग्रेजीका मेरा गुरु भएकाले प्रायः अन्तक्रिया भइरहन्थ्यो । धेरैजसो कुरामा ‘म मलामी घटाउने कार्य गरिहेको छु ।’ भन्ने गरेकाले के भनेको होला ? जस्तो लाग्थ्यो र सोध्दा जवाफमा समालोचनामा ‘आलोचना’ मात्रै देख्नेहरूप्रतिको गुनासो रहेको मैले पाउने गरेको छु ।

समालोचना गर्ने भन्नेबित्तिकै प्रायः प्राध्यापकीय चस्माले हेर्ने गरिन्छ । यसका निश्चित ढाँचामा संरचनात्मक एकरूपता कायम गर्ने गरी विभिन्न मुखपत्रहरू वा साहित्यिक पत्रपत्रिकाहरूमा छापिएका समालोचना पढेको छु । समालोचक पौड्यालका धेरैजसो मैले पढेका समालोचनाहरूमा जीवनदृष्टिको खोजी वा दार्शनिकता वा समाजसापेक्षतामा हेरिने गरिएको पाएको छु । तसर्थ समालोचनाको मर्म बुझेकाले उहाँलाई ताली दिने र बाँकीले गाली गर्ने गरेकाले ताली र गाली दुवै मिल्ने विधागत लेखन समीक्षा वा समालोचनाझैँ लाग्छ ।

नेपालमा ‘व्यावसायिक प्रकाशन हाउस’ नै छैनन्

‘जिराे कटेज’ नामक पहिलो उपन्यासको पाण्डुलिपि लिएर लेखक टंक चौलागाईं रत्न पुस्तक भण्डार पुग्दा आफ्नो पुस्तक छाप्न असमर्थता जनाएकाले फिर्ता लिएर आउनुभयो । प्रकाशक गोविन्द श्रेष्ठ समालोचक हरि अधिकारीलाई देखाउँदा उक्त पुस्तक स्तरीय बनाएर प्रकाशन गर्न निकै मिहिनेत गर्नुपर्ने बताएकाले नछापेको स्वीकार गर्नुहुन्छ ।समालोचक अधिकारी आफू आफ्नो प्रकाशनका लागि काम गर्ने सम्पादक नभएर सल्लाह दिने शुभचिन्तक मात्रै भएको कुरा  बताउनुहुन्छ ।

‘खासमा हाम्रो प्रकाशन गृहमा कोही पनि सम्पादक छैन र राख्न सक्ने बजारीया हैसियत पनि छैन ।’ भन्दै श्रेष्ठ थप्नुहुन्छ– ‘नेपालमा व्यावसायिक प्रकाशन गृह नै छैन जससँग पुस्तक प्रकाशनका लागि चाहिने सबै पक्ष एउटै थलोमा व्यवस्थित हुन्छ ।’  नेपालको बिक्रीको बजार अवस्थालाई मध्यनजर गर्दा सय–डेढ सय पृष्ठको सम्पादन खर्च न्युनतम् पनि २०–२५ हजार हुन्छ । सम्पादकको मिहिनेत, लेखक र प्रकाशकसँगको समन्वयकारी भूमिकाका लागि दौडधुप आदिका लागि यो रकम पनि अपुग हुने तर्क प्रकाशक श्रेष्ठको रहेको छ ।

प्रकाशक श्रेष्ठसँग कतिपय नयाँ लेखक त आफूले सबै लगानी गर्छु तर तपाईंको प्रकाशन गृहबाट छापिदिनुपर्यो भन्दै आउने नवलेखकलाई सम्झाएर फर्काएका धेरै उदाहरण छन् । कहिलेकाहीँ दुईतर्फी रूपमा आआफ्ना कुराको प्रस्टता हुन नसक्दा पनि यस्ता समस्या आउने गरेका छन् । लेखकले आफ्नो लेखकस्व जसरी नि पाउँछ । सम्झौता वा सहमति नभई प्रकाशकले पनि काम गर्दैनन् । यदि साँच्चीकै कुनै लेखक प्रकाशकबाट ठगिएको अनभूत भए कानुनी बाटो अपनाउन सबैलाई सधैँ खुला हुन्छ भन्ने ठम्याइ प्रकाशक श्रेष्ठको छ ।

सम्पादक कसरी बाँचेका छन् त ?

मूलतः रङ्गकर्मीका रूपमा परिचित टंक चौलागाईँका एकपछि अर्को पुस्तक प्रकाशित भइरहे तापनि सम्पादनका अभावमा पुस्तक अपेक्षाकृत स्तरीय बन्न नसकेको सामाजिक सञ्जालमा एउटा पोस्ट आयो । त्यसमा राजकुमार बानियाँको प्रतिक्रिया पढ्न लायक थियो । दिमाग नै झङ्कृत गराउने गरी बानियाँको लेखक वा प्रकाशकप्रति सम्पादक निःशूल्क अनि हतारमा सेवा दिन बसेको स्वयम्सेवकको भूमिकामा कति दिन र कसरी बाँच्न सक्छ ? । राजधानी काठमाडौँमा परिवारसँग बसेर खान र बाँच्न सम्पादक निःशुल्क काम गरेर सम्भव छ ? यस प्रश्नको उत्तर तत्काल कसैसँग छैन । लेखकलाई पुस्तक प्रकाशनको हतारो छ अनि प्रकाशकलाई पुस्तकको लगानी उठाउने चिन्ता मात्रै छ । अनि सम्पादकको थप लगानी कसले बेहोर्ने ? पुस्तक स्तरीय बनाउन सम्पादकको आवश्यकता छ तर पेसागत रूपमा व्यावसायिक बनेर ढुक्कले बाँच्ने आधार सम्पादकलाई कसले बनाउँछ ? यस गम्भीर विषयप्रति धेरै कमको ध्यान गएको देखिन्छ ।

हाल अमेरिकाको ओहायो राज्यमा बसोबास गर्ने लमजुङका तीर्थराज अधिकारीसँग सामाजिक सञ्जालमा मेरो भेट भयो । सामाजिक सञ्जालमा मित्रता गाँसेको एक सातामा नै मुक्तकका अग्रज स्रष्टा तीर्थराज अधिकारीका पुस्तकको दुई छोटा समीक्षा मैले लेखेँ र अनलाइनमा प्रकाशित भए । पुस्तकमा भएका केही भाषिक कमजोरीहरूलाई मैले केलाएर सम्पादनपछि प्रकाशन गरिनुपर्ने सल्लाह दिएको थिएँ । संयोगले उहाँको तेस्रो मुक्तकसङ्ग्रह ‘जूनका टुक्राहरू’ नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा रहेको पुस्तक नेपाल मुक्तक प्रतिष्ठानबाट प्रकाशोन्मुख रहेछ र मलाई सम्पादनका लागि सामान्य आग्रह गर्नुभएको थियो । मैले सरसर्ती अध्ययन गरी केही सम्पादनका सामान्य प्रक्रिया गरी फिर्ता दिएँ तर आकस्मिक रूपमा अमेरिकी २ सय डलर पारिश्रमिक भनी पठाइदिँदा म अचम्मित भएको थिएँ । किनकि मैले जीवनमा कहिल्यै सम्पादन गरेबापत् नगद पाएको मलाई याद छैन ।

समीक्षक वा समालोचक सधैँ सही हुन्छन् त ?

कुनै पनि कृति गज्जब हुनेछ भनी समीक्षकले भनिरहँदा कतिपय सन्दर्भमा पाठकले सामान्य रूपमा लिएको पाइन्छ । अर्कोतिर जे.के. रोलिङको पहिलो पुस्तक कुनै पनि प्रकाशकले छाप्न नमानिरहेका बेला जब बाध्यकारी रूपमा प्रकाशित भएर बजारमा आयो । त्यसपछि ह्यारी पोर्टरका शृङ्खला क्रमशः आएर विश्व साहित्य बजारमा नयाँ आयाम थपेको धेरै पुरानो भएको छैन । यी र यस्ता प्रशस्त सन्दर्भ साहित्यका क्षेत्रमा नौलो होइन ।

नेत्र एटम पेसाले प्राध्यापक हुनुहुन्छ । सँगसँगै साहित्यकार अनि समालोचक परिचय पनि उत्तिकै रूपमा जोडिएको छ । उहाँले नाटकका अध्यापन सन्दर्भमा भनेको एउटा प्रसङ्ग सम्झन्छु । उहाँका अनुसार स्यामुअल बेकेटको ‘वेटिङ फर गोदो’ सन् १९५२ तिर प्रकाशनमा आएको थियो । प्रकाशनको सन्दर्भमा त्यहाँका दिग्गज सम्पादक/समीक्षकहरूले उक्त नाटकलार्इ अति निकृष्ट कृति भनी आलोचना गरिरहे । नाटकघरमा मञ्चन खातिर गए टिक्न नसक्ने तर्क गरे तर मञ्चनका लागि गएपछि लगभग वर्षैभरि नाटकघरमा अबिराम चलिरह्यो ।

सबै प्रकाशक नाफामुखी मात्रै छन् ?

केही दिनअघि बुलबुल प्रकाशनलाई लिएर लेखकले प्रकाशकबाट आफू ठगिएको कुरा गरे । यससँगै चन्द्र बानियाँको ‘महारानी’ मदन पुरस्कार विजेता भएर व्यापक चर्चा र पाठकको पठनीय सूचीको पुस्तक बनेको थियो । छोटो समयमा दोस्रो संस्करण आएको पुस्तकलाई भाषिक त्रुटिको आरोप एकातिर लाग्यो भने अर्कोतिर लेखक बानियाँको ‘उक्त पुस्तकको आम्दानीबाट भात खाएको छैन’ भन्ने अभिव्यक्ति आउनुले अनावश्यक नकारात्मक प्रतिक्रियाहरू जन्मिए । यस सम्बन्धमा उक्त शिखा बुक्सका पुष्पराज पौडेलको भनाइसँग मेल खाँदैन । लेखक बानियाँको अर्को एउटा पुस्तक प्रकाशोन्मुख रहेको र थप अर्को पनि लगभग अन्तिम तयारीमा आइसकेको पौडेल बताउनुहुन्छ । उहाँका अनुसार प्रकाशकले लेखककाे बिनासहमती काम गर्न सक्दैन । यही हो, सम्पादनमा एउटै व्यक्ति हुँदैन, बरु सम्पादकको फुर्सद वा अनुकूलता, रुचि र सबलता हेरेर सकेसम्म पुस्तकलाई राम्रो बनाउने प्रकाशकको ध्येय हुने र आफूले पनि निरन्तर त्यही गरिरहेको बताउनुहुन्छ पाैडेल ।

निष्कर्ष

यो लेखको उद्देश्य पुस्तकको समीक्षा गर्नु होइन । कसैको प्रशंसा वा आलोचना गर्न खोजिएको पनि होइन । कोरोना महामारीको प्रभावबाट भर्खरै उठ्न खोजेको साहित्यिक चहलपहल कम नहोस् भन्ने अभीष्ट मात्रै हो । लेखकका राम्रा कृृतिहरू मिहिनेत र नवीन सिर्जनात्मक प्रयोगका साथ पनि आऊन् । प्रयोगको नयाँ अभियान रु.२०२१।– मा प्रिमियम संस्करण भनी कुमार नगरकोटीको पुस्तक बुकहिल पब्लिकेसनबाट आउँदैछ । हेर्न बाँकी छ, यसले लेखक, प्रकाशक र पाठकबीचको त्रिकोणात्मक सम्बन्धलाई कसरी स्थापित गर्नेछ ? नेपाली साहित्यमा लेखक, प्रकाशक र सम्पादक मिलेर पाठकलाई स्तरीय साहित्य दिइरहून् अनि विश्व साहित्यमा पनि बजार विस्तार हुने अभ्यासको सुरुवात होस्, शुभकामना ।

धेरै पुस्तक बजारमा ल्याउने हतार गर्नुभन्दा पुस्तक प्रकाशनअघि स्तरीयताका लागि सम्पादन गरी पठनीय बनाउनु श्रेयस्कर हुन्छ । त्यसो भयो र स्तरीय पुस्तक बजारमा आएमा पठन संस्कारको विकास हुनेमात्र नभई असल समीक्षाको ढोका पनि खोलिदिन्छ । अनि असल समीक्षा भएमा पाठकलाई पुस्तक छानेर पढ्न सहज हुने वातावरण बन्नेछ भन्नेमा आशावादी हुन सकिन्छ ।