व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको ‘कत्ति धुनु गधाहरुलाई ?’ भन्ने हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छ । यो सङ्ग्रहको नाम बडो रोचक किन छ भने यसले गधाहरु धुने काम गर्दागर्दा दिक्क लागेको भन्ने जनाउ त दिन्छ, तर धुने काममा हार खाएर गधा धुन छोडेको वा छोड्नु पर्छ चाहिँ भन्दैन। त्यसैले धोएरै गधा गाई त नबन्ला नै, तर पनि कुनै पनि जिम्मेवार नागारिकले गधा धुने कर्म गर्न छोड्नु भने हुँदैन । यो गर्नैपर्ने कर्म हो । तर समस्या के भने, सुन्दा खासै अप्ठेरो काम हो जस्तो नलागे पनि तपाईँको लगनशीलता र इच्छा मात्रैले यो कर्म गर्न सम्भव छैन । खासगरी सार्वजनिक रूपमा गधा धुन सबै मान्छेहरुले सक्दैनन् ।  गधाप्रति बफादार पङ्क्ति यो कर्मको सबैभन्दा ठूलो बाधक हो । यो मर्त्यलोकमा ती बफादार सिपाहीका अनेक दुःख छन्, र ती बिचरा आफ्ना आफ्ना बाध्यताको भूमरीमा तैरिरहेका छन् । ती सिपाहीले गधालाई गधा ठानी दिँदैनन्, बरु गधालाई आफन्त- आफन्तजस्तो प्रिय अभिभावक जस्तो, स-सानो भगवान-भगवान जस्तो ठानेर बसेका हुन्छन् । यो लेख तीनै सिपाहीहरुमा समर्पित छ ।

यो विषयमा थप लेख्नुअघि गधाको खास प्रादुर्भाव हुने र तीनलाई धुनै पर्ने कारणबारे चर्चा गरौं । कुनै विशिष्ठ कार्यकुशलता वा व्यवस्थापकीय क्षमता भएको कारणभन्दा पनि, आफ्नै पार्टीभित्र गुट बनाएर पार्टीभित्रकै सहयोद्धा कामरेडलाई सिध्याउने कर्ममा विकास गरेको दक्षता, जोकरीय शैलीको वाकपटुता र  इतिहासको कुनै कालखण्डमा लामो समय जेल बसेको कर्मको ब्याजस्वरुप प्राप्त  भएको नेतृत्व- यी मिश्रणहरु कच्चा पदार्थको रूपमा जस्तोसुकै उन्नत प्रणालीमा राखे पनि त्यसको उत्पादन गर्ने केही  थान असक्षमहरु नै हुन् । ती असक्षमहरुलाई सामान्य जनजिब्रोले गधा भन्न सहज मानेको पाइन्छ । यी असक्षमहरु सक्षमहरुलाई पाखा लगाएर चाप्लुसीमा पारङ्गत नालायकहरुको सानो झुण्डभित्र बस्न रुचाउँछन् । नातावाद र कृपावादलाई सबैलाई देखाएरै प्रश्रय दिन्छन्, नीति, नियम र कानूनमा हेरफेर गरेरै भ्रष्टाचार गर्दछन् र गराउँदछन् । तस्कर र माफियाहरुसँग खुलेरै मोल मिलाई गर्छन्, हत्या र बलात्कारजस्ता सङ्गीन आरोप लागेका आफ्ना नेता कार्यकर्ताको बचाउमा हाकाहाकी काँध थाप्छन्, र प्रत्येक कृत्यमा यिनले लोकतन्त्र र सभ्य समाजको हुर्मत मात्रै लिन्छन् । यस्ता असक्षमलाई तिमी यो कारण असक्षम हौ भनेर ऐना देखाइदिने मानिसहरु सामाजलाई चाहिएको हुन्छ । यसरी ऐना देखाएर सम्झाइ बुझाइ गर्ने कर्मलाई सामान्य जनजिब्रोले गधा धोएको भनेको पाइन्छ।

यसरी हेर्दा गधा धुलाई बिल्कुल‌ निष्काम कर्म हो । मातृभूमिको निःस्वार्थ सेवा गर्नुबाहेक यसको अन्य कुनै स्वार्थ हुँदैन । तर ‍एउटा कर्मठ योद्धा झैँ सेवामा दत्तचित्त भएर आफ्नो निष्काम कर्म गर्न खोज्दा गधाका सिपाहीहरु तिनको आफ्नो पैतृक अंश, दाइजो पेवा नै चुँडेर लगेजस्तो गरेर बोली भुइँमा खस्न नपाई तपाईँतिर जाइलागेर तपाईँलाई राम्ररी गधा धुन दिए पो ! यो एकबारको जुनी गधाकै मतियार भएर त के बिताउनु हाओ ‌!

योगेन पौडेल

सरसर्ती हेर्दा तीन प्रकारका गधा रक्षकहरु भेटिन्छन् । पहिलो प्रकारका रक्षकहरुले गधालाई गधा भनेर चिनेका हुन्छन् । यिनीहरु पढे लेखेका, बौद्धिक क्षमता प्रशस्त भएका, तर्कशील हुँदाहुँदै तर्कशास्त्री बनिसकेका महा-मानिसहरु हुन्छन् । यिनीहरू कुनै सार्वजनिक घच्चीको पद पड्काइसकेर त्योभन्दा ठूलो आयोगको आयुक्त, राजदूतजस्ता पदको आकाङ्क्षी हुन्छन् । र, पद प्राप्त भए अनुभव र योग्यताको आधारमा जिम्मेवारी राम्ररी पूरा गर्ने क्षमता पनि भएका हुन्छन् । तर, समस्या के भने, ती पद प्राप्त गर्न यिनीहरुलाई गधाहरुको आशिर्वाद चाहिन्छ । त्यसैले कुनबेला चुप्प बस्ने र कुनै बेला गधाको प्रतिरक्षामा उत्रने भन्ने राम्रो लेखाजोखा राखेर कम्प्युटरको किबोर्ड युद्ध लड्न यी युद्धका कमाण्डरहरु तत्पर बसेका हुन्छन् । गधाहरुबाट स्वभाविक ढङ्गबाट हुने र सीधै देखिने ठूलो मुर्ख्याँइँमा यिनीहरु मौन बस्छन् । त्यो मूर्खता हो भनेर सार्वजनिक रूपमा मूर्खताको विरोध गर्ने नैतिक साहस यिनीहरूमा हुँदैन । त्योबेला यिनले मौसमको कुरा गर्छन्, कथा, कविता साहित्य सेयर गर्छन्, हाँसो मजाक, चुड्किलाहरु, खाना बनाउने रेसिपी, पकवानका फोटोहरु सेयर गर्छन् । तर गधाहरुको आफ्नै मूर्खताले गधा-आसन धर्मराएको जस्तो देखियो भने यिनले आफ्नो इज्जत, प्रतिष्ठा, ख्याति नै च्याँखे दाउमा राखेर गधाको प्रतिरक्षामा उत्रन्छन् । यो यिनको शैली यिनको जीवनयापनको अविभाज्य अंग हो ।

दोश्रो मध्यम दर्जाका रक्षकहरुको निमित्त सामान्य ‘मानवीय’ कमजोरी भएरै पनि गधाहरु उच्चतम् विलक्ष्ण प्रतीभा भएको प्राणीहरु हुन् । विद्यार्थी कालमा राजनीति गरेका मानिसहरू, पार्टी राजनीतिमा लागेर जिन्दगीको कालखण्ड बिताएका मानिसहरू यो श्रेणीमा देखिन्छन् । पञ्चायत विरुद्धको आन्दोलन, लोकतन्त्र बहाली गर्ने आन्दोलन, गणतन्त्रको आन्दोलन सबै आन्दोलनमा निष्ठापूर्वक लागेर, महिना महिनामा पार्टीलाई लेवी बुझाएर एउटा जिन्दगी नै राजनीति र पार्टी भनेर बिताएका मानिसहरु यो श्रेणीमा पर्दछन् । यिनीहरूले जिन्दगीको उर्वर कालखण्ड एउटा दर्शन, सिद्धान्त पढेर, त्यसलाई विश्वास गरेर बिताएका हुन्छन् । एउटा जिन्दगी नै सिद्धान्त सिद्धान्त भनेर छेउछाउ, गाउँ समाजलाई फलाकेरै बिताएको हुनाले त्यो सिद्धान्त यिनीहरुको निमित्त प्रतिष्ठाको विषय बनेको हुन्छ । दिलोज्यान लगाएर आफू जिन्दगीभर भिडेको सिद्धान्तको रक्षा निमित्त भिड्नु यिनको ध्येय हुन्छ । तर हुन्छ के भने, सिद्धान्त रक्षाको बागडोर गाधाले सम्हालेको हुन्छ । त्यसो हुनाले सिद्धान्त रक्षाको निमित्त पहिले गधा रक्षा यिनको प्राथमिक कर्तव्य हुन आउँछ । अब तपाईं बुझ्नूस्, यिनको बुझाइमा गधाको आलोचना आफूले जिन्दगी बिताएका सिद्धान्तको आलोचना । आत्मसम्मानको रक्षाको निमित्त गोर्खालीले गर्धन त थाप्छ, जाबो गधा धुन खोज्ने फिस्टेहरु यिनले ह्याकुलाले थिचेर दबाउँछन्।

तेस्रो वर्गका गधा रक्षकहरु हान्ने गोरुजस्ता हुन्छन् । गधालोचना वा समीक्षा यिनीसँगै वा यिनको कानमा पर्न सक्ने दूरीमा गर्नुभो भने तपाईँ भौतिक आक्रमणको जोखिममा हुनुहुन्छ भन्ने बुझ्नूस् । गधाहरु व्यक्तिगत इच्छा दबाएर दिन रात देशसेवामा छन् भन्ने यिनलाई लागेको हुन्छ । आफ्नो पनि पालो विस्तारै आउँछ, र कामरेडले हेरिहाल्छन् विस्तारै भन्ने सोचाई रहने हुनाले गधाहरुसँग तत्कालीन व्यक्तिगत ठूलो अपेक्षा पनि हुँदैन । गधाहरु क्रान्तिकारी अवतारमै रहेको बेलामा  छापामार अवस्था वा भूमिगत अवस्थामा पुलिसले खेदेको बेला लुकाएर यिनले तिनलाई हप्तौं भात खुवाएर पालेका हुन्छन् । त्यसैले  यिनलाई लाग्छ, गधाहरुसँग यिनको आन्द्रो जोडिएको छ । बिहानभरि काम गरिसकेर पुरानो हिरो साइकलमा चोक पुगेर चिया खाँदै छलफल गर्दा त्यो चिया पसलको सभाले गधामा त्यही पुरानो क्रान्तिकारी छवि भएको निर्णय गर्दछ । गधाले मारेको अनैतिक छलाङ यिनको आँखाले देख्दैन, गधाले चढेको बेइमानी र छलकपटको सगरमाथा तिनको दिमागले सोच्न सक्नेभन्दा धेरै अग्लो हुन्छ । यो वर्ग, तर्क, विवेचना, समीक्षाभन्दा एक तहमाथि उठेको हुन्छ । व्यवहार त्यही अनुरुप गर्नु उत्तम हुन्छ, जोगिएर हिँड्नु ठीक हुन्छ ।

मुख्य कुरा के हो भने लोकतान्त्रिक मुलुकमा कसैले गधा धुँदाधुँदै फेला पारियो भने इमान्दार बनेर सकेसम्म गधा धुन सघाउनु पर्छ, के थाहा कुनै बेला गधा फुत्त गाई पो बन्छ कि ! सकिन्न भने पनि यो मेरो गधा हो यी गधा बस्ने गोठप्रति मेरो अगाध आस्था रहिआएको छ, गधालाई सम्मान गर्न सिक भनेर गधाको प्रतिरक्षा गर्न आउनु त्यत्ति ठीक होइन । गधाहरु मिलेर नीति नियम बनाएरै  गधाको गोठको रक्षार्थ औपचारिक र अनौपचारिक रुपमा, सुरक्षा, प्रशासन, न्यायालय, सञ्चारका अनेकौं पत्र राखेर आफूलाई पूर्ण सुरक्षित राखेकै छन् । नागरिक स्तरबाट उठाइने प्रश्नहरू, विरोध र असन्तुष्टिका आवाजहरू दबाउन यी पात्रहरु यथेष्ट रूपमा सञ्चालित भएकै हुन्छन् । विरोध गरिने झिनामसिना स्वतन्त्र आवाजलाई भुइँमै खस्न नपाई हावामै आक्रमणमा उत्रनुचाहिँ अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकारको अपमान हो । त्यसैले कमरेडहरु, आउनूस् मिलेसम्म गधा धुने गरौँ ।