डिठ्ठा रामबहादुर कोठामा छिरेको न्यानो घामले ढाड सेकाउँदै आफ्नो कुर्सीमा बसेर आखिर आदर्श के रहेछ भनेर गम्दै थिए। यो अदालतमा काम गरेको पनि धेरै वर्ष भइसक्यो। पहिला पहिला अदालतमा जागीरे छु भन्दा कत्रो मान मर्यादा हुन्थ्यो। गाउँघर छरछिमेक जताततै अड्डाको हाकिम सरह गरिने व्यवहारले उसको साँच्चिकै छाती फुलेर आउँथ्यो। तर अब बिस्तारै यो मान मर्यादा पनि हेमन्त ऋतुमा रुखबाट पात झरेझैँ खस्किँदै जान थालेको देख्दा भित्रैदेखि नमीठो अनुभूति हुन्छ उनलाई। आफूले त कुनै नराम्रो काम गरेको जस्तो लाग्दैन। तर एकजनाले गरेर के अडिन्थ्यो र? सबैले त्यस्तै सोचिदिए पो मर्यादित चलन बस्थ्यो अदालतमा पनि। आजकाल त न्यायधीश श्रीमानहरु पनि रंगी विरंगी आउन थालेका छन्। न्यायाधीशको सम्झना गर्ने बित्तिकै ‘ट्रिङ्ग ट्रिङ्ग’ घण्टी बज्यो।
‘श्रीमान!’ भन्दै रामबहादुर हाजिर भए न्यायाधीशज्यूको चेम्बरमा। श्रीमान शरदचन्द्र चम्रेलज्यूको चेम्बरमा पस्दा भिन्नै खालको अनुभूति हुन्छ रामबहादुरलाई। श्रीमानको टेबलमा फाइलहरूको एउटा थुप्रो थियो। कुर्सी पछाडि र दायाँ बायाँ भित्ताका दराजहरूमा विभिन्न विधाका किताबै किताब थिए। उहाँ भन्दा पहिलेका श्रीमानहरु ती दराजमा थोरै किताब तर आफ्ना व्यक्तिगत उपलब्धिका चीजहरू धेरै राख्थे।
‘आज के विषयमा मिसिल बनेको छ? ल्याउनुस त,’ श्रीमानको आदेश थियो।
‘श्रीमान! हजुरबाटै त्यो अधिकृतहरुको बढुवाको पेशीको सक्कली फाइल पेश गर्ने आदेश भएको थियो। त्यही सक्कली फाइल र बढुवा अंकको तुलनात्मक विवरण छ। श्रीमान!’ रामबहादुरले टेबलमाथि खाली ठाउँ खोजेर फाइल राखे। रामबहादुर त्यस कार्यालयका पाका र विश्वासिला डिठ्ठा हुन्। मुद्दाको मिशिल तयार गर्नमा पोख्त भएकाले श्रीमान चम्रेलज्यु रामबहादुरलाई विश्वास गर्छन् र माया पनि।
अधिकृत तहभन्दा माथिका पदको बढुवाको काम कारवाही केन्द्रीयस्तरमा हुने भएकोले प्राय: सबै बढुवाका मुद्दाहरु यसै अदालतमा आउने गर्छन्। यस भन्दाअघि फरक प्रकृतिका मुद्दा श्रीमान चम्रेल्ज्युको इजलासमा आएका थिए। उनले मुद्दाका प्रकृति हेरेर फैसला गरेका थिए। ती फैसलाहरुले रामबहादुरलाई प्रभावित पारेका थिए। तर श्रीमान चम्रेलज्युले अब यो बढुवासम्बन्धी मुद्दाको फैसला कसरी गर्छन् भन्ने कुराले पोलिरहेको थियो रामबहादुरलाई। किनभने यसअघि यस्तै प्रकृतिका विभिन्न मुद्दाहरुमा श्रीमानज्यूहरुबाट भएका फैसलाहरुले निर्बाध रामबहादुरलाई अनेकपटक विचलित तुल्याएका थिए।
श्रीमानले सरकारी मन्त्रालयबाट प्राप्त सक्कली फाइलमाथि आँखा दौडाए। फाइलको माथिल्लो सतह समतल नभएर उबड़खाबड भएको जस्तो लाग्यो। ‘यो बढुवाको प्रक्रिया छ महिनाभन्दा बढी त भाको छैन। अनि! यो वर्षौं पुरानो फाइल जस्तो उबडखाबड किन? आजसम्म यस्तो उबड़खाबढ भएको फाइल त कहिल्यै पनि देखेको थिएन। पानीले भिजाए कि क्या हो?’ श्रीमानको कौतुहलता बढ्दै गयो।
फाइलामाथि यसो हात डुलाए। फाइलको मध्यभागतिरको ठाउँमा ऊँचा भएको पाए। दुई तीनवटा डल्लो जस्तो बस्तुले फाइललाई उबड़खाबत बनाएको जस्तो लाग्यो। डल्लोको एक छेउबाट औंलामाथि लगे तर अर्को छेउबाट औंला त गुटुङटुङ आफैँ तल झर्यो। फेरि औंला डल्लोको मास्तिर लगे तर अर्को छेउबाट औंला फेरि पनि गुटुङटुङ तल झर्यो। कौतुहलता झनै बढ्यो। फाइल खोलेर हेरे। फाइल भित्र नत्थी भएका कर्मचारीहरूका कार्य सम्पादन मुल्याङ्कन अर्थात् कासमु फारामहरुमा सेतो रंगका डल्लाहरू टाँसिएका रहेछन्। सेता कागजका पन्नामा यस्ता सेता रङ्गका धाडिएका किर्ना जत्रा डल्लाहरू कहाँबाट आए? उनी चकित परे।
उनले आफ्नो दिमागलाई झटकारे र झल्याँस्स भए! यस्तो रङ त टाइप गर्दा गल्ती भएपछि टाइपिष्टले एकपटक टिपेक्स भन्ने सेतो पोछा लगाएर सच्याउँदा मात्रै देखिन्छ। यहाँ त फाराममा कासमुको अंक लेख्ने ठाउँमा ढाडिएका किर्ना जत्रा टिपेक्सका डल्लाहरु थिए। अधिकृत कर्मचारीको मूल्याङ्कन गर्दा तीन तहका हाकिमहरूबाट मूल्याङ्कन हुन्छ। जहाँ जहाँ यी तीन हाकिमहरूको सही छाप थियो, त्यहीँ त्यहीँ टिपेक्सका डल्लाहरु थिए। ‘यत्रो डल्लो बन्नलाई कति पटक टिपेक्स लगाए होलान् त?’ आफैँले आफैँलाई प्रश्न गरे श्रीमानले।
पाँच जनाको बढुवा हुने ठाउँमा एघार जना आकाङ्क्षीहरुको बढुवा अङ्क तुलना गरेको विवरण हेरे श्रीमानले। टुकाराम भट्टको नम्बर बढाउन टिपेक्सको यत्रो डल्लो बनाइएको हो भन्ने थाहा पाउन कुनै आइतबार कुर्नु परेन। उसलाई बढुवा गराउन अरु राम्रा र सक्षम अधिकृतहरुलाई कासमुमा करिब करिब फेल गराइएको देखियो।
श्रीमानले बढुवाको असली कासमुको अङ्क हेर्न सक्कली फाइल सरकारी मन्त्रालयबाट मगाएका थिए। तर सक्कली अङ्क त टिपेक्सको डल्लो भित्र हराइसकेको थियो। टिपेक्सका डल्लाहरू एघारै प्रतिस्पर्धीको फाराममा थिए। त्यसैले यो काम कुनै एक जनाले गरेको हुनुपर्छ भनेर समाउने ठाउँ थिएन। यस्तोमा को पीडक र को पीडित हो भन्ने थाहा पाउने र कसरी पीडितलाई न्याय दिने?
श्रीमानलाई पहिलो पटक नेपाली कर्मचारीतन्त्र प्रतिको विश्वास डगमगायो। कर्मचारीको आदर्शप्रति शंका उत्पन्न भयो। पञ्चायतकाल सकिएको झण्डै एक दशकपछि पनि यस्तो कार्य? यस कार्यले त पञ्चायतकालीन हुकुम प्रमाङ्गीको झल्को दिलायो। यस्ता कमसल खालका कर्मचारीलाई ढाडिएको किर्नाे जत्रो टिपेक्सको डल्लोले बढुवा गर्नै पर्ने किन?
यस्ता तरिकाले चोर ढोकाबाट बढुवा हुने कर्मचारीले कस्तो खालको सेवा पुर्याउलान् देश र जनतालाई? अझ यसरी बढुवा भएको कर्मचारीको अन्तर्गत भएर बढुवा नहुने कर्मचारीले काम गर्दा कति मानसिक तनाव बेहोर्नु पर्ला? यही तनावले उनीहरूको कार्य क्षमतामा कति ह्रास आउला?
बढुवा नहुने कर्मचारीलाई त्यो बढुवा हुने कर्मचारीको क्षमता, दक्षता र योग्यता त थाहा भैहाल्छ। अनि ती बढुवा नहुनेहरुको कसरी कर्मचारीतन्त्रप्रति विश्वास हुन्छ त? शायद यिनै र यस्तै कुकर्म र प्रवृत्तिले गर्दा राम्रा र दक्ष कर्मचारीहरु सरकारी जागीर छोडेर अन्य गैर सरकारी क्षेत्रमा जाँदै छन्। कुनै कुनै त देश नै छोडेर विदेशमा चम्किला तारा बनेर देशको नाम ऊँचा गराएका छन्। यस्तै सोच्दासोच्दै श्रीमानको आँत कुँडियो। भावविभोर भए।
श्रीमान चम्रेलज्यूले पक्ष र विपक्षका वकिलको तर्क वितर्क सुन्न मुद्दाको पेशी तोके। इजलासमा दुबै वकिलहरुको तर्क वितर्क सुनेपछि यस्तो मुद्दालाई कसरी किनारा लाउने भन्ने कुराले श्रीमानको टाउको खान थाल्यो। यस्तोमा बढुवाको विपक्षी वकिलको ‘कर्मचारीको आदर्श’को तर्कले श्रीमानको मनलाई शान्ति मिलेको थियो।
वादी र प्रतिवादी वकिलका तर्क वितर्कको बोझ लिएर आफ्नो चेम्बरमा फर्केपछि श्रीमानले घण्टी बजाए ‘ट्रिङ ट्रिङ’।
‘श्रीमान!’ भन्दै राम बहादुर फेरि हाजिर भए।
‘यो टुकाराम भट्टको नालीबेली पत्ता लगाउन सक्नुहुन्छ?’ अप्ठेरो मान्दै सोधे श्रीमानले।
‘म कोशिश गर्छु श्रीमान।’
सामाजिक विचलनको यस युगमा लागेर खोज्यो भने कुरा फुस्काउन र कुरा पत्ता लगाउन गाह्रो छैन। त्यसैले यस्ता मुद्दाका संभावित जाल झेलका दाउपेचको स्पष्ट अनुमान गर्न सक्थे रामबहादुरले। त्यसमा पनि उपत्यकाको अदालतमा काम गरेको धेरै वर्ष भइसकेकोले उनको सम्पर्कको घेरा ठूलै थियो। जसबाट टुकारामको दाउपेच थाहा पाउन रामबहादुरलाई गाह्रो भएन। राम बहादुरले भोलिपल्टै श्रीमान समक्ष बेलिबिस्तार लगाइदिए।
‘ए त्यसो भए हाम्रा सरकारका टाउके आफ्नो जिल्ला जाँदा बासै बसी मार्सीधानको भात खाँदा रहेछन् टुकारामको घरमा। त्यही मार्सिधानको भातको कमाल पो रहेछ त।’
‘श्रीमान!’ भन्दै सहमतिमा टाउको हल्लाए रामबहादुरले।
श्रीमानले आफ्नो फैसला कर्मचारीको आदर्शलाई आधार बनाए। पहिलो निर्णयमा टिपेक्स लगाउने प्रवृत्तिलाई अंकुश लगाइदिए। टिपेक्स लगाउनेलाई कारवाही गर्नु भन्यो भने टाइपिष्टलाई फसाएर माथिका चोखा भै हाल्छन्। त्यसैले ‘आइन्दा टिपेक्स लागेको कुनै पनि मूल्याङ्कनलाई नै खारेज गर्नुपर्ने, नत्र विभागीय कर्मचारीलाई कारबाही गर्नुपर्ने,’ भन्ने फैसला सुनाए। ‘यसरी टिपेक्स लगाई एउटा कर्मचारीको आदर्श लुटिदा यसको असर त्यस्ता कर्मचारीको व्यक्तिगत, सामाजिक, र व्यावसायिक क्षेत्रमा पर्दछ। साथै यस्तो दुष्कर्मले सिङ्गो प्रणालीप्रति नै अविश्वास र वितृष्णा पैदा गर्दछ। यसैले यो बढुवालाई खारेज गरी नयाँ मूल्याङ्कन गरी बढुवा गर्नू’ भनी बढुवा समितिको नाममा आदेश दिए।
यो निर्णयले रामबहादुरको मनलाई भित्रैदेखि गदगद तुल्यायो। यस भन्दाअघि यस्तै बढुवाका मुद्दामा फैसला हुँदा श्रीमानज्यूहरु अधिकांश समय कुनै न कुनै रुपमा प्रभावित भएको देख्दा उनलाई खिन्नता हुन्थ्यो। यो फैसलाले श्रीमान चम्रेलज्यू साँच्चै निश्कलंक, निष्पक्ष र न्याय सिद्धान्तमा आधारित न्याय दिनसक्ने न्यायाधीश हुनुहुन्छ भन्ने रामबहादुरले सुनेको कुरा सही साबित भयो।
आज उनलाई असीम उत्साह र उमंगले अंगाल्यो। कर्मचारीतन्त्रमा एउटा पद्धतिको शिलान्यास भै झण्डै लुटिइन लागेको आदर्शलाई बचाइएको जस्तो लाग्यो। खस्कँदै गइरहेको अदालतको मर्यादालाई अड्याउन एउटा मसिनो त्यान्द्रोको निर्माण भएको पनि भान भयो। खुशीले गला अवरुद्ध भयो। गह भरिएर आयो। श्रीमानप्रति धेरै श्रद्धा बढेर आयो। आज सही मानेमा न्यायिक सिद्धान्तमा आधारित भएको फैसलाले लुटिएको आदर्श फेरि फिर्ता भएको अनुभव भयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।