‘म बोल्दै छु आज
म बोल्दै छु आज हिम्मत गरेर
के तिमी सुन्न तयार छौ ?
मेरो एकालाप….’
आजका दिनमा हाम्रा शासकहरूका रोदन, आलाप–विलाप र घोचपेच सडकमा छताछुल्ल भएर पोखिएका छन् । गरिब, दुःखी, महिला, विभेद र उत्पीडनमा पारिएकाहरूका आवाज सुन्न सरकार वा शासकहरूलाई फुर्सदै कहाँ छ र ? तर यसो भन्दै गर्दा दबाइएका आवाजहरू कलाका माध्यमले सुमधुर सङ्गीत भर्दै एकलाप गर्दैछन्– ‘छ पात्रको एकालाप’ नाटकमा ।
विश्वव्यापि कोरोना महामारीले शिथिल बनाएको मानवीय मानसिकता बिस्तारै सामान्यतर्फ फर्कने तरखरमा छ । साहित्य, कला, सङ्गीत यी शिथिल मानसिकतालाई ऊर्जा भर्ने सशक्त माध्यम हुन् । यी माध्यम पनि शिथिल भइराख्ने हो भने मानवीय गतिविधिहरू अघि बढ्ने कुरै भएन । सायद यही कुरालाई मध्यनजर गर्दै करिब दस महिना अघिदेखि सुस्ताएको रङ्गमञ्च माघ १ गतेबाट पुनः सक्रिय भइरहेका छन् ।
देशभरका रङ्गकर्मीहरूको छाता संगठन ‘थिएटर हब’ले देशव्यापि रूपमा साताव्यापि कार्यक्रमको खाका प्रकाशमा ल्याएको छ । त्यसैको प्रारम्भस्वरूप माघ १ गते बिहीबार शिल्पी थिएटरमा ‘छ पात्रको एकालाप’ नाटक मञ्चन भयो ।
व्यक्तिगत दूरी कायम गर्दै करिब पाँच दर्जन रङ्गमञ्चका नियमित दर्शक उक्त नाटक हेर्न उपस्थित भए ।
‘वर्षौंदेखि मनमा प्रश्नै–प्रश्नको चाङ छ । कसैले भन्न सक्छ मेरो अनुहार हेरेर म कुन जातको भनेर ?’ एक कलाकार उक्त नाटकमा जातको प्रश्न राख्छिन् । नाटकमा छालाको रङको प्रश्न छ । लैङ्गिक विभेददेखि अन्याय, अत्याचार र विकृतिहरूका विरुद्ध प्रश्नहरू एकपछि अर्को आउँछन्–
‘ज्ञानमा विभेद छ । अक्षर पनि छानेर दिइन्छ ।
काममा विभेद छ । अवसरमा विभेद छ ।
के एकथरी मानिसहरूका लागि मात्रै हो यो राज्य ?’
नाटकका यस्ता प्रश्नहरूले दर्शक गम्भीर नहुने कुरै भएन । शान्त तर गम्भीर दृष्टिले नै दर्शकहरू समर्थन जनाइरहेका हुन्छन् । सायद यस्ता प्रस्तुतिहरूले थेरापीकै काम गर्दा हुन् । त्यसैले पनि होला कोरोनाले नाटकघरहरू बन्द भएकै अवस्थामा पनि कैयौं नियमित नाटकका दर्शकहरूले ‘नाटक छ कि छैन’ वा ‘कहिलेदेखि छ’ भनेर बीचको कोरोना कालमा पनि फोन गरेर सोध्ने गरेको रङ्गकर्मीहरू सुनाउँछन् । कलाका यस्ता पवित्र मन्दिरहरूप्रति शाषकीय दृष्टि पर्न नसक्नु अवश्य देशकै लागि दुर्भाग्य पनि हो ।
घिमिरे युवराजको लेखन र निर्देशन रहेको ‘छ पात्रको एकालाप’ नाटकमा कोरियोग्राफी गरेकी छिन् कलाकार तथा नृत्य प्रशिक्षक पवित्रा खड्काले । अन्य पाँच कलाकारहरूमा संगीता उराँव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछाने रहेका छन् । समाजमा विद्यमान विविध विषयमा प्रश्नहरू रहेता पनि नाटक लैङ्गिक विभेदमै केन्द्रित रहेको छ । अन्त्यमा यी विभेद र शाषकीय प्रवृत्तिका रङहरूलाई अमृता प्रितमका यी अक्षरहरू (अभय श्रेष्ठको भावानुवाद)ले पनि सङ्केत गर्दा हुन्–
…टेबलमाथि हेर्नू,
केही रङहरू होलान्
रङ्गाइदिनु तिनले विधुवाको फरिया
जसको श्रीमानको रगतले रङ्गिएको छ सिमाना
झण्डामा बेरिएर जो ढलेको छ हिजो राति…।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।