२०७६ चैत्र १ गते शनिबार

आज प्रा डिपी भण्डारी सरको निधन भएको सुन्दा गहिरो दुःख लाग्यो । विगत निकै समयदेखि उहाँसँग भेट हुन पाएको थिएन । उहाँ एक प्रशिद्ध विद्वान् हुनुहुन्थ्यो । पूर्वीय ज्ञानले भारी र अंग्रेजीको पनि त्रिविमा प्राध्यापक । पश्चिमी ज्ञानका समेत अद्वितीय विद्वान् ।

यता निकै वर्षदेखि उहाँलाई विस्मृतिको विमार पनि थियो । गर्दागर्दै शरीर मूढो लढेको थियो निकै वर्षदेखि । भाइ देवेन्द्र बारम्बार आइजाइ गर्थे । अघिल्लो महीनामा पनि भेटेको । उहाँको मृगस्थली र नीरो बासुरी बजाइरहेछ दुईटा कृति उच्चकोटीका निबन्ध संग्रह छन् । अरु पनि धेरै लेख्नु भो तर कलेक्शन भएको थाहा छैन । ज्ञाता भाइ भक्त हेमन्त विवश छन् ।

सुदूरपश्चिम क्षेत्रकै एक प्रतिनिधि पात्र डी. पी. सर । कति रसिक र आनन्दी, निस्फिक्री खालका दार्शनिक व्यक्ति हुनुहुन्थ्यो । म उहाँको कृपापात्र थिएँ र नै एक्लै एक्लै एक्लै (२०६१) र विश्वविद्यालयमा अग्नि पूजा (२०६२) उहाँले मेरा दुवै निबन्धसंग्रहमा भूमिका लेखिदिनुभएको थियो । मेरो संगत थियो । भाइको, दाजुको यस्तै ।

आज कतै नगै घरै बसियो । दिनभरि गर्दागर्दा अस्ति थालेको एक निबन्ध र डा. लोकबहादुर लोप्चनको दोर्जे सरको पदचाप शीर्षक नाटकको पनि अध्ययन शुरु मात्र गरेँ । दिनभरि एकान्तमा लेखिबसेँ । मध्य दिनमा मदन कार्की आए, कार्की किचन गौशालाका ७६ वर्षीय उनी भाइ हरिसित आए अनि आफ्ना कविताको पाण्डुलिपि बुझाएर गए । १० वर्ष अघि देखेको रहेछु उही कोट भिरेका थिए हरियो मिल्टेरी पाराको । सामान्य वस्त्र र पाको मुहार छ । उनले पहिलपल्ट एक कवितासंग्रह प्रकाशित गर्ने अठोट लिएका रहेछन् ।

दिनभरि त्यही गरेँ, पढेँ, लेखेँ । एकपल्ट सन्ध्यापख अञ्जना र म डुल्न निस्कियौँ, चाँदनीचोक पुगेर फर्कियौँ । गर्मी त्यस्तो छैन बरु बादल लाग्दा जाडो नै हुन्छ । पढाइ ता छैन परन्तु लेखाइ हुँदैछ । एउटा राम्रो निबन्ध थालेर पूरा गर्नमा त्यस्तै तीन दिन जति लाग्छ तर मेरा निबन्धको प्रकृति फरक छ । केही खोजमूलक, केही विश्लेषणात्मक, केही अभ्यास र अनुभूतिको कतै व्यङ्ग्य र हास्य मिसिएको सबै मेरा पर्सनल छन् निजात्मक कुरा ।

आसाममा यही अप्रिल महीनामा गर्ने भनिएको साहित्य सभाको सम्मेलन कोरोनाले गर्दा सर्ने भयो । अलिक पर जान्छ होला । सबै हाहाकार छ । जान नपाइने भयो । आजै चार हजारको सामान किन्यौँ । कलङ्कीको भाटभटेनी डिपार्टमेन्टल स्टोर पुगेर । कोरोना काललाई गरिएको संग्रहण ।

२०७६ चैत्र २ गते आइतबार

अलिकति गर्दागर्दै दिन जान्छ । पत्र–पत्रिकामा रचना नछापिएको निकै भएको छ । माग हुन्छन् तर तयार गर्ने समय छैन । लेख्न सक्ने र भ्याउने हो भने प्रत्येक महीना चार–पाँचवटा पनि छापिन्छन् । दैनिक साप्ताहिकहरु छोडेँ मैले; मासिक मात्रै, साहित्यिक म्यागेजिन मात्रै । ती पनि सधैँ चल्दैनन् अथवा विभिन्न पत्र–पत्रिकामा छापिरहेर मात्र पनि उपादेयता छैन रहेछ पुस्तकाकारमा जानुपर्छ । राम्रो पुस्तक नभएसम्म पछि कसैले खोज्दैन पढ्दैन, पढ्न पाउँदैन पनि । टुक्रा छपाएर लेखक छरिनछ मात्रै

अब म एकदम कस्सिएर लाग्छु भन्छु तर कसोकसो साना मसिनाले अल्झाउँछन्, झिना–झाँक्राले रोक्छन्, झुक्याउँछन् । बगिरहेको कुलाको पानीलाई पात पतिङ्गरले थुनेजस्तै रहेछ जीवन गति । तिनलाई पनि बग्ने पानीले ठेल्छ तर त्यतिन्जेलमा निकै समय चलिसक्छ । अथवा कहिले ता ठेल्न नसकेर कुलाको डिलै भत्किन्छ, पानी पोखिएर बग्छ ।
यस्तरी दिन व्यतीत भयो । काम ता गरिरहेँ । सन्ध्यापख घुम्न पनि निस्कियौँ । फर्केर घरैमा केही ससाना आवागमन भए । बिस्तारै बहने–पानी कुलो चलिरह्यो । भयंकर राम्रो निबन्ध लेखौँ लाग्छ, मुखमुख कविता आउँछन्, जान्छन् सुकेर ती उड्छन् । बेलुका सुत्नेबेलामा कति कति राम्रा राम्रा कुरा आएर भरिन्छन् बिहान फेरि ती अलप हुन्छन् । यस्तैमा भएपनि सचेत छ यो जिन्दगी र त यसलाई चलाइ नै रहेको छु । स्वास्थ्यले साथ दियो भने अब पन्ध्र–बीसवर्ष जति सक्रियतापूर्वक चलाइ नै रहन्छु । त्यसो त स्वास्थ्यलाई ठीक पारेर पनि चलाइ नै रहन्छु । मौसम ठीक छ आज ।

२०७६ चैत्र ३ गते सोमबार

बिहानै उज्यालो नभै अञ्जना र म तल कलङ्की नजिक खसीबजार पुग्यौँ । त्यहाँबाट बसमा बल्खू, त्यहाँबाट नेपाल यतायातमा चढेर पर जावलाखेल अनि अलिकति हिँडेर पुग्यौँ सम्यक डाइग्नोष्टिकको माथ्लो तला । खालि नै थियो— नं. १० मा पालो आयो । सानो टोकनले बतायो । त्यसपछि अञ्जनाको अनि मेरो कति टोक्री खून निकाले । तर बोलीचालि शिष्ट, व्यवहार राम्रो, भद्रतापूर्ण, सफाइ त्यस्तै, पैसा धेरै लिन्छन् त्यस्तै हो । आज दुवैको गरी रु. ५००० चढाइयो ।
त्यसपछि हिँडेर एकान्त कुना पुगी आरामदायी बसमा बल्खू अनि त्यहाँदेखि कीर्तिपुर यतायातमा नयाँ बजार । घर पुग्दा ८ः३० भयो होला । यसरी बिहानको साढे दुई घण्टा रु. पाँच हजार र अलिकति वाकिङ थपेर उपचार गर्यौँ । बाटाका दक्षिणकालीदेखिका मकै तीन घोगा रु ९० मा ल्यायौँ, मूलपानीको साग एक मुठो रु. ३० मा ।

घरमा आएर नास्ता खायौँ अनि म आफ्नो पुस्तकालयमा चढेँ । आज छविलाल उपाध्यायबारेको लेख फाइनल गरी पठाउनु थियो, आसाम । त्यसमा लागेँ, अलिकति लोपचन भाइको नाटक पनि हेर्न भ्याएँ ।

खाना अबेला खान बस्यौँ ११ मा । खाँदाखाँदै उता खिमानन्दजी आइपुगे । ‘यति चाँडै’ भन्ने ठानेँ । खाएर हेर्दा उनका हातमा हिमाली गुराँसको अंक ८३ रहेछ जसभित्र मेरो असार १३ अनि अनिताको ओल्गा तोकार्जुक (दुवै निबन्ध) रहेछन् । अरु पनि लेख रचना राम्रा छन्, छत्रमान सुब्बाको पनि आएछ कविता । गर्दागर्दै १२ः२० भो । खिमाजीकै गाडीमा बल्खू झरेँ । पर जावलाखेल फेरि पीपी रगत दिएर फिर्दा दुई बज्यो । अनि आज आसामका स्रष्टा छविलाल उपाध्यायको फाइनल गरेर पठाएँ असम । सीधै होइन, ज्ञानजी मार्फत । बेलुकीसम्म अरु गरेँ । अलिकति नेत्र शर्माको पीएचडी थिसिस पढेर सुतेँ ।

२०७६ चैत्र ४ गते मङ्गलबार

आज पनि दबाइ ओखतीमा जोडले कुधियो । १० बजे हिँड्यौँ दुवै तल सीता पेट्रोल पुगेर लक्ष्मीको ट्याक्सीमा ३०० तिरेर डा. भारी भेट्न वागमती किनार गयौँ । सबै प्रतिवेदन ठिक छ । फर्केर घर आउँदा चार घण्टा गयो ।

घरमा बिहान ता काम गरेकै हो । दिनमा दुई बजेदेखि फेरि काममा बसियो । बेलुकी रोकिने बेलासम्ममा अमेरिकी बैनी कमला प्रसाईंको चितामाथि लास शीर्षक नाटक पढेर लेखेर सकेँ । झण्डै लोकबहादुर लोपचनको दोर्जे सरको पदचाप जस्तै थीम भएको अर्थात् उताको पृष्ठभूमिमा उनै सामन्त दलाल शोषकहरु भएको विषयवस्तु छ । तिनलाई परास्त गरेको कल्पना छ ।

अन्त्यमा छोरा–छोरी आमा समेत परिवारै मर्छन् द्वन्द्व र भिडन्तमा भने उता साहूपट्टि मुख्य मान्छे मारिन्छ । केही प्रतिशोध छ । यो पनि नारीवादले समेत पढ्न हेर्न मिल्ने नाटक छ कसरी भने यसमा लोग्ने बिरामी प¥यो, गरीबीले ढाक्यो, ऋण माग्न जाँदा साहूले त्यही मौकामा सतित्व लुट्यो । अलिक ज्यादा भावुकता र आक्रोश गहिरो छ तर यो नेपालकै स्थिति हो ।

आज मेरो अर्थाेकै थियो । उता भृकुटीलाई नारीवादको विषयमा लेखको आवश्यकता छ, लिखत पाण्डेजीलाई ‘हुन्छ’ भनेको छु भने आफ्ना निजी कर्म गरेको मलाई थाहा छैन । धेरै दिन भो दुई निबन्ध ता लेखेँ । अरु लेख्नै पर्ने कति कुरा बाँकी छन् ।

उता दार्जेलिङकी स्रष्टा इन्द्रमणि दर्नालको निधन भो । यता डिपी सरको । दुवैका बारेमा लेख्नु पर्ने । पढ्न लेख्न भ्याए पो । पढ्न लेख्नमै व्यस्त छु तर विभिन्न । आज अनिता आएर एकछिन् बसिन्, केही करेक्शन गरेर गइन् । (त्यसपछि चैत्र ५ र ६ गतेका दैनिकी पाना खालि बसेछन्) ।

२०७६ चैत्र ७ गते शुक्रबार

घरमा भरदिन लेख्ने र करेक्शनका काम भए । थोरै लेख्न पनि कति धेरै मुश्किल हुन्छ । पढ्नु प¥यो विषयवस्तुमा भिजेर मात्रै लेख्न थाल्नु प¥यो । नारीवादमा छु । पाश्चात्य सिद्धान्त र चिन्तन लेख्ता पनि बेलाबेला क्रस रेफरेन्स दिनुपर्छ अर्थात् नेपाली र अन्यत्रका पनि प्रसङ्ग छुनु पर्दछ । त्यसै गर्दै लेखिरहेँ ।

बिहानैदेखि कस्सिएको थिएँ । त्यसो त धेरै बिहानै उठिनँ, पौने छमा मात्रै । बिहानभरि लेखेँ मात्रै । आज दिनभरि नै एम ए आर हबिबको पुस्तक अ हिष्ट्री अव् लिटरेरी त्रिटिसिजम् (२००७) पल्टाएर त्यसैबाट कति कुरा साभार गरेँ; नेपाली बनाएर । एक नवीन प्रकारले नारीवादी समालोचना चिनाउने लक्ष्य थियो ।

अघि ग्रिसेली सफ्फोदेखि मध्ययुग, पुनर्जागरण गर्दै १९८० सम्मको संक्षेपमा लेखिसक्ता रात प¥यो । अपराह्नमा अलिक मानिस आए— डा. विदुर वस्ती, फेरि अंग्रेजी सिक्ने उताकी ठूली छोरी (अस्मिता) गर्दागर्दा सुत्ने बेलासम्ममा अर्थाेक गर्न पाइनँ । आज काम पनि एक घण्टा जति हल्टु भयो होला जस्तो लाग्छ ।

दिउँसो पनि थप टाइप आउँछ, नारीवादको, करेक्शन गर्दै फेरि थप्तै, फेरि लेख्तै १८ बाट २२ पृ. टाइप पु¥याउन सकियो भनेपछि थुपै्र हो । टाइप गर्ने त मिलन आन्टी नै हो ।

बिहानै हङ्कङका दाजु गुरुङ आए । टाँकीको फूल नामक साहित्यिक कृति (कथासंग्रह) का लेखक । उनीसँग झन्डै एक घण्टे वार्ता भयो । सज्जन मान्छे । फोटा खिच्यौँ । उतातिर कोरोना छैन कि ? उनका भाइ पनि साथै थिए । केही पुस्तक कोशेली दिए, २४ तारिखबाट उतै (हङकङ) फर्किने भन्थे ।

३ः३० बजे नेत्र अंकल आए र ४ सम्म बसे । उनले टाँकीको फूलको एउटा रिभ्यू लेखी सुनाए । राम्रो तर छोटो अलिक अपूरा भो । बेलुकीसम्म बसे । कामको एक टुंगा भयो । २२ पृष्ठ जति सकेर नारीवादको छापेर मिलाएर राखेँ । भोलि यसमाथि अन्तिम कार्य हुनेछ ।

२०७६ चैत्र ८ गते शनिबार

राति ४ः२० देखि निद्राले छोड्यो । क्षणभंगुर मन दोधारियो । उठौँ कि सुताँै भयो, उठ्ने नै निर्णय गरेँ र वस्त्र धारण गरी माथि (पुस्तकालयमा) चढेँ ।

रात अन्धकार थियो । आकासमा बादल र आँधिले छोपेको, बतास निकै चिसो । वसन्त अझै पर होला किनभने ब्रश गर्दा, पानी उमालेर थर्मशमा भर्दा ४ः५० भयो तर पक्षीले गाउन थालेका छैनन् । चेरी फुलिसक्यो रातै, झर्नेबेला भयो, नस्पाति फुलिसक्यो सेतै, आरु बखडा झन् सेतै । भुइँभरि झरेर सेता टीकाले बाक्लै आकाशमण्डल जस्तो, सपनाहरु छरिए जस्तो तर कुनै पक्षीको गान शुरु भएको छैन अझै । यसपालि मौसम ढीला छ कि क्या हो ।

अस्तिको दिन ४ः२० मा ब्यूँझेर माथि चढेको अञ्जनालाई थाहा थियो । आज थाहा भएन होला । उता सुतेका सेवा–गिरिश नब्यूँझिउन् भनेर बिस्तारै गरेँ तर बिजुली मार्दा पिटिक्क आवाज गर्छ, बाहिर निस्कने ढोका खोल्दा लामो चुइँकिन्छ, आफैँ बन्द हुँदा पनि लामो चुइँकिन्छ ।

अनि लेख्न थालेँ । लेखेको लेख्यै नौ बज्दा एक निबन्ध पूरा गरेँ— कोरोना । भोलि यसको टाइप हुनेछ । जिउ भारी थियो । खपेँ । ११ मा खाना खाएर फेरि ध्यानमा बसेँ र चार बज्दा समकालीन साहित्य जगत्मा नारीवादको प्रसङ्ग शीर्षक २२ पृष्ठको लेख शुद्ध गरी सकेँ । एक घण्टा दुवै भ्रमणमा गयौँ त्रिवि परिशर । अञ्जनाले अडिरका पातमा पहेँला जाइफूल टिपिन् प्रातः पूजालाई । भोलि चढाउने होला । सेवा–गिरिश घुम्न गए हुन् । कान्तिपुरमा अभिसरको लेख पढेँ । केही फोन र व्यस्ततामा दिन गयो । राम्ररी स्मरणीय चालमा । आज कसरी भरदिन कर्ममै जोतिएँ र निकै मेलो पनि सर्यो ।

२०७६ चैत्र ९ गते आइतबार

हिजो रातिसम्ममा २२ पेज नारीवाद करेक्शन गरेर सकेँ तेस्रोपल्ट अनि आज बिहान ५ः२० मा उठेर पुस्तकालयमा चढेँ । वसन्तका पक्षीहरु अझै गाउन थालेका छैनन् प्रकृतिको के के संकेत होला । कोरोना भाइरसको अत्यन्तै ठूलो हल्ला र आतङ्क फैलिरहेको छ । सारा बन्द छ । निजी साधन हुनेहरु मात्र कुद्दैछन् ।

बिहान केर्खा घिमिरे भिनाजू बितेको खबर ग¥यो भाइ काइँलाद्वारा । दुःख लाग्यो लामो जीवन बाँचेर १०० वर्षमा जानुभो हाम्रा आदरणीय माइला फुपाजु । यस्तो समयमा । जान सकिँदैन यसै चित्त बुझाएँ अनि काममा लागेँ । बिहानैेदेखि लेख्ने लेख्ने लेख्ने । आज ‘फ्रान्सेली नारीवाद’ थपेँ र अरु आठ पेज जति लेख्न सफल भएँ । जसले गर्दा अब झण्डै पुग्छ होला । १२ बजे सम्म लेखेर एकछिन सुत्न झरेँ । आघा घण्टापछि फिरेँ, चिया, विष्कुट खायौँ । त्यसपछि फेरि अरु काममा लागँे करेक्शनतिर । समयबोध र उत्तरआधुनिकताबाट केही टपिकमा लेखिएको कुरा खोजेँ (छ पेज) अनि दुई काम फाइनल गरी प्रकाशकलाई आफ्नो बायो–डाटा पठाउनेमा लागेँ ।

साढे चारदेखि एकघण्टा हिँडँे । अञ्जना निस्किइनन् । आएर एकछिन् अस्मितालाई पढाएँ । अनि दुई इमेल पठाएँ । बखतले गर्दा नयाँ ल्यापटपमा पीडिएफ बनाउन सजिलो भो । खाना खाएर स्टडीमा चढेँ । बत्ती निकै बेर गयो । पानी पर्दैछ । साइरन सुन्दैछु । मन अलिक भयमा छ— अमेरिका पुगेकी सानी छोरी ऋचाको कुराले, बेलायती रक्ष राई कोरोना खन्नियो भन्दैछन्

जो गर्दछन् प्रभू गरुन छ लीला उनैको,
लाग्दैन जोर् प्रभू विसे अरु ता कसैको

काम थुप्रै छन्— डा. विदुर चालिसेले गरे, कृष्ण बजगाइँले, मधु केरुङले— कति छन् आफ्नाहरुको फोन यसरी आइरहन्छ ।

२०७६ चैत्र १० गते सोमबार

अचानक खतरा बढ्यो र संकटमा पुग्यो । आज सूचना आयो फ्रान्सदेखि एक युवती हजाइजहाजमा आएर नेपालमा ओर्लिइन्; जाँच गर्दा देखियो उनी कोरोना व्याधिले आक्रान्त रहिछन् । यतिखेर उनी टेकू अस्पतालमा छिन् । तिनले कतिलाई सारिन् होला— त्यसले काठमाडौँ आतङ्कित छ; अब रक्षित छैन । सेवा पनि डराइन्, ऋचा उता वाशिङ्टनमा पूरा क्वारेन्टाइनमा छिन्, विश्रुत, अमोघ, अरु छोरा भाञ्जा भतिजा, भाइ बुहारी कति हो कति हाम्रा सन्तान जस्तै पचास लाख नेपाली छन् बाहिरै, ती सम्झेर मन आत्तिन्छ । फेरि अर्काे मन भन्छ— जसो होला । शनिबारको कान्तिपुरमा छ ‘महाव्याधि’ भन्ने शब्दको प्रयोग, त्यो मन पर्यो ।

सबै त्रस्त छन् । प्रत्येक घरमा लुक्नु बाहेक उपाय छैन । तर दिनभरि घरैमा काम गरी बेलुका वाकिङ् गयौँ अञ्जना र म । मान्छे छन् बाटामा खासगरी साधनमा निकै नै । यस्तै छ । एक न एक छिन ननिस्किी पुग्दैन । झन् किनीखानेभन्दा पनि कमाइखाने श्रमिक वर्ग, अझ त्रस्त छ । हाम्रा भान्जे भाइहरु घिमिरे परिवारले यस्तो बेलामा कसरी पिताजीको किरिया गर्लान्, चिन्ता लाग्छ ।

सम्पर्क भएन दिनभरि, कम्ती भो— कलानिधि, डा. कुमार, हरि भाइ, अनिता, खगेन्द्र, मुक्ति, ज्ञानबहादुर, ऋचा यस्तै गरी त्यही २० जतिसँग बालेँ अनि बसिरहेँ । अञ्जना भीमबहादुर पाण्डेको ग्रन्थ उस बेलाको नेपाल पढ्दै थिइन् । सेवा ठूलै कितापमा छन् के हो । म भने यहीँ बसी दिनभरि रातिसम्मै नारीवाद विषयक लेखको फाइनलमा लागिरहेँ । ३२ पेज ए–फोर भयो, तर फाइनल गर्न कति गाह्रो छ ! बेलाबेलै समय र पुुस्तकको प्रयोगले लेखिएको कुरा छ । ती बीचको सम्बन्ध र संगति नमिल्ने डर छ । तर तीन कुरा प्रस्ट भए (क) नारीवाद स्थापनामा पाश्चात्य प्रयत्न, (ख) यसको बिस्तारै उत्तर–संरचनात्मक मैदानमा प्रवेश अनि (ग) नारीवादी दृष्टिले हेर्दा जगत्मा अझै अन्धकारको व्याप्ति । जीऊ गलेको छ त्यसै त्यसै । कोरोना ता होइन भन्ने छ । यो हावा नै त्यस्तै होला । बिहानी पख ब्यूँझेँ किन हो पक्षी गाउँदैनन् । रुखा काग मात्रै कराउँछन् ।