खासगरी ९० सालको भुइँचालोको विषयमा र अलिकति त्यसभन्दा अघि गएका केही भुइँचालाको विषयमा ब्रह्मशमशेर जङ्गबहादुर राणा (वि.सं. १९६६–२०४४)ले लेखेको नेपालको महाभूकम्प भन्ने एउटा पुस्तक वि.सं. १९९१ मा छापिएको थियो । ९० सालभन्दा अगाडि गएका केही भुइँचालोको विषयमा उनले लेख्दा गल्ती हुन गएको विषयमा नयराज पन्त (वि.सं. १९७०–२०५९) बराबर कुरा गर्थे र नेपालको महाभूकम्प भन्ने त्यस पुस्तकको आफ्नो निजी प्रतिमा उनले केही संशोधन पनि गरिराखेका थिए । पछि मैले पनि त्यहाँ केही अशुद्धि भेट्टाउँदै गएँ । नेपालको खानी तथा भूगर्भविभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् २ जनाले मिली लेखेको, हिस्टर्इक्ल् अर्थ्क्वेक्स् अफ् नेपाल् अर्थात् इतिहासमा चढेका, नेपालमा गएका भुइँचालो भन्ने लेख २० वर्ष जतिअगाडि छापिएको थियो । टाकटुक पारी तयार पारिएको, २ पृष्ठको त्यस लेखमा पुरानै कुरा दोहर्याइएकोले नेपालको भुइँचालोको इतिहासमा त्यसको खास मूल्य थिएन ।
इत्यादि कारणले म भुइँचालोको इतिहासतिर तानिँदै गएँ । यसैले वि.सं. १८६५ जेठ २४ गते गएको भुइँचालोको विषयमा एउटा लेख सप्रमाण लेखी वि.सं. २०५५ मा पूर्णिमा ९५ पूर्णाङ्क (५१–५३ पृ.) मा छपाएँ ।
फ्रान्सको सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक् अर्थात् शास्त्रीय अर्थात् वैज्ञानिक अन्वेषणको राष्ट्रिय केन्द्रबाट वि.सं. २०५६ को हिउँदमा ३ महीनाको लागि त्यहाँ अन्वेषण गर्न मलाई निमन्त्रणा मिल्यो । त्यस अवधिभित्र सिद्धिने खालको विषय समात्नुपर्ने भएकोले मैले भूकम्पको इतिहासको सम्बन्धमा अज्ञात, अल्पज्ञात र कुज्ञात विषयमा प्यारिसमा काम गरेँ । त्यसबाट पुस्तिका नै बनाई छाप्न मिल्ने लेख तयार भयो । वि.सं. २०५७ वैशाख ८ गते काठमाडौँमा भएको, हिमालयक्षेत्रमा मानिस वातावरण र भूदृश्यसम्बन्धी विद्वद्गोष्ठीमा त्यस लेखको सारांश पढियो । पूर्णिमा पत्रिकाको पूरकको रूपमा अङ्ग्रेजीमा निस्कने आदर्श २ संख्या (२९–६० पृ.)मा पछि त्यही साल अ स्टेप् टुवर्ड्ज् अ हिस्टर्इक्ल् साइज्मिसिटि अफ् नेपाल् अर्थात् नेपालमा गएका भैँचालाको इतिहासतिर चालिएको एक पाइला भन्ने शीर्षकमा पूरै लेख छापियो । त्यस लेखको फ्रेन्च भाषामा सारांश सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक्द्वारा प्रकाशित इस्त्वार् ए दभनिर् दे पेइजाज् अँ इमालाया — रप्रेजँतास्योँ दे मिल्यु ए जेस्स्योँ दे रसुर्स् ओ नेपाल् ए ओ लादाख् अर्थात् हिमालयमा दृष्टिगोचरीभूत भूप्रदेशको इतिहास र भविष्य– नेपाल र लदाखको विभवको परिसर र निर्वहणको आलेखन भन्ने पुस्तक (१२२–१२४, ६१५ पृ.)मा कोँत्रिब्युस्योँ आलेत्युद् इस्तोरिक् दे सेइम्स् ओ नेपाल् अर्थात् नेपालमा गएका भुइँचालोको इतिहासको परिशीलनसम्बन्धी लेख भन्ने नाउँमा वि.सं. २०५९ मा प्यारिसबाट छापियो । ९० सालको भुइँचालोको सन्दर्भमा नेपालका अखवारमा छापिएका लेखमा ९० सालभन्दा अगाडिका भुइँचालोको विषयमा परेका गल्ती सच्याई लेखिएको मेरो एउटा लेख नेपालमा कहिले कहिले भुइँचालो गयो भन्ने विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि देख्दा भन्ने नाउँले वि.सं. २०६० मा पूर्णिमा १११ पूर्णाङ्क (१–७ पृ.) मा छापियो ।
दिनेशराज पन्तको नेपालमा भूकम्प भन्ने लेख विसं. २०६७ मा मिर्मिरे २९८ पूर्णाङ्क (१–८ पृ.) मा छापियो । त्यसमा मेरा लेखमा परेका भुइँचालोको विषयमा र उनले आफ्नो तर्फबाट खोजेका थप भैँचालाको विषयमा पनि लेखिएको छ ।
मेरो र दिनेशराज पन्त दुवैका लेखमा नपरेका, अरू ६ वटा भुइँचालोको चर्चा यहाँनिर गर्नुपरेको छ । भूकम्पले भत्किएको, चाँगुनारायणको मन्दिरको जीर्णोद्धार भक्तपुरका राजा राय मल्लकी नातिनी देवकीदेवी ठकुरिनीले गराएको कुरा ने.सं. ६२७ (वि.सं. १५६४) आषाढ शुक्ल तृतीयाको दिन त्यहीँ राखिएको सुवर्णपत्रमा कुँदिएको छ
(मोहनप्रसाद खनाल, चाँगुनारायणका ऐतिहासिक सामग्री २०१ पृ.) । वि.सं. १८४७ श्रावण शुक्ल अष्टमीमा र वि.सं. १८५५ मा वैशाख कृष्णद्वादशी, ज्येष्ठ शुक्लचतुर्थी, ज्येष्ठ शुक्लपञ्चमी र माघ कृष्णषष्ठीमा गएका भुइँचालो तात्कालिक पात्रामा टिपिएकाले थाहा भएका छन् (रामजी तेवारी, वि.सं. १८४३ देखि १८५९ सरम्मा पात्राका टिपोट, पूर्णिमा ५६ पूर्णाङ्क ११–१९ पृ.) ।
नेचर् जिओसाअइन्स् भन्ने विख्यात मासिक शोधपत्रिकाको ई.सं. २०१२ डिसेम्बर १६ तारीख अर्थात् वि.सं. २०६९ पौष १ गतेको अन्लाइन संस्करणमा नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाको नाउँ सबभन्दा अगाडि र त्यही केन्द्रका नापी अधिकृत डिल्लीराम तिवारीको नाउँ सबभन्दा पछाडि राखी अरू ४ जना विदेशीसमेतको नाउँमा प्राइमरि सर्फेस् रप्चर् अफ् द ग्रेट् हिमालयन् अर्थक्वेक्स् इन् १९३४ यान्ड् १२५५ अर्थात् वि.सं. १९९० र १३१२ मा हिमालय क्षेत्रमा ठूला भुइँचालो जाँदा सतहमा परेका चिरा भन्ने लेख पोस्ट गरियो ।
यही पौष ४ गतेको जनदिशा (३ पृ.)मा आठ सय वर्ष अघिको महाभूकम्प नेपाल फर्किने विज्ञहरूको अध्ययन भन्ने खबर छापिएको छ । ई.सं. १२५५ जून ७ तारीखमा गएको भुइँचालोबाट तीन खण्डको एक खण्ड मानिस मर्नुको साथै राजा अभय मल्लको पनि ज्यान गएको थियो, हजारौँ घर र मन्दिर ध्वस्त भए भनी त्यस खबरमा लेखिएको छ । फ्रान्स, सिंगापुर र नेपालका भुगर्भविद्हरूले गरेको अध्ययनको आधारमा त्यस भूकम्पको विषयमा विख्यात समाचार संस्था एएफपीले त्यो खबर प्रकाश गरेको कुरा जनदिशाबाट थाहा पाइन्छ ।
यही पौष ९ गतेको नेपाल समाचारपत्र (घ पृ.)मा आठ सय वर्ष अघिको भूकम्पको त्रास भत्रे लेख छापिएको छ । त्यस लेखमा ई.सं. १२५५ जून ७ तारीखमा गएको भुइँचालोको चर्चा खास गरी छ । त्यस भुइँचालोमा परी राजा अभय मल्लको समेत ज्यान गएको कुरा पनि त्यहाँ परेको छ । अरूले खोज गरी त्यस भुइँचालोको विषयमा तयार पारेको लेखको चर्चा नगरी सोमनाथ सापकोटालाई सन् १२५५ को सो भूकम्पको अध्ययनकर्ता भनी त्यस लेखमा उनलाई पगरी गुताइदिइएको छ ।
आफ्ना गुरुहरू अर्थात् फ्रान्सका भूकम्पशास्त्रविद्हरूको निर्देशमा सोमनाथ सापकोटाले त्यस भैँचालोको विषयमा भूकम्पशास्त्रको हिसाबले केही काम गरे होलान्, तर इतिहासको दृष्टिले त्यस भुइँचालोको परिशीलन र त्यहाँको मितिको परिवर्तन भने उनले गरेका होइनन् । इतिहासको दृष्टिले त्यस भुइँचालोको जसले परिशीलन गर्यो र त्यस मितिलाई ई.सं.मा जसले बदल्यो, त्यसको चर्चा नेचर् जिओसाइअन्स्, जनदिशा र नेपाल समाचारपत्र कुनैमा पनि छैन ।
ई.सं. १२५५ जून ७ तारीखमा गएको भुइँचालोको कुरा पक्कै पनि पुरानो इतिवृत्तको आधारमा लेखिएको हो । त्यस इतिवृत्तमा ई.सं.मा मिति त अवश्य हालिएको थिएन । त्यसलाई कसैले ई.सं. मा बदलेको थियो । नेपाली भाषाका जनदिशा र नेपाल समाचारपत्रमा त्यस भुइँचालोको मिति ई.सं.मा दिनुको तुक कति पनि देखिँदैन ।
त्यो भुइँचालो ने.सं. ३७५ आषाढ शुक्ल द्वितीयाको दिन गएको कुरा अहिले गोपालराजवंशावली नाउँले प्रख्यात इतिवृत्तमा छ । त्यसैको आधारमा मैले त्यस भुइँचालोको विषयमा आदर्शमा लेखेको हुँ । त्यो लेख अङ्ग्रेजीमा लेखिएकोले त्यहाँको मिति ई.सं.मा बदली ई.सं. १२५५ जून ७ तारीख भनी निर्णय गरिएको हो । नेपालीमा छापिएको अखवारमा पनि ई.सं.मा मिति नदिई गतेमा बदली दिएको भए धेरै राम्रो हुन्थ्यो । तर त्यो कष्ट कसले गर्ने ? भुइँचालोको विषयमा खोजी गर्ने भनी भित्रबाहिर सबैतिरबाट धन सोहर्नेहरूले यति विषयमा पनि ध्यान नदिने र अरूको कीर्ति हर्ने काम मात्र गरेको देख्दा कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१–२०२२)को सबैको अर्काकै गरम पसिनामाथि रहर भन्ने सूक्तिको याद अनायास हुन्छ ।
वि.सं. १९९० भन्दा अगाडि गएका, तात्कालिक आकर अर्थात् स्रोतमा चढेका भुइँचालोको सूची अब तल दिइन्छ—
(लक्ष्मीपति–नयराजसंग्रहमा जुन जुन सालका पात्रा छन्, तिनको आधारमा गते पनि यहाँ हालिएको छ ।)
१) विसं. १२८० पौषशुक्लप्रतिपदा
२) विसं. १३१२ आषाढशुक्लद्वितीया
३) विसं. १४०१ आश्विनशुक्लसप्तमी
४) विसं. १५६४ आषाढशुक्लतृतीयाभन्दा अगाडि
५) विसं. १७७१ अधिकआषाढकृष्णद्वितीया
६) विसं. १८२४ आषाढशुक्लप्रतिपदा आषाढ १७ गते
७) विसं. १८४७ श्रावणशुक्लअष्टमी भाद्र ५ गते
८) विसं. १८५५ वैशाखकृष्णद्वादशी वैशाख ३ गते
९) विसं. १८५५ ज्येष्ठशुक्लचतुर्थी ज्येष्ठ ९ गते
१०) विसं. १८५५ ज्येष्ठशुक्लपञ्चमी ज्येष्ठ १० गते
११) विसं. १८५५ माघकृष्णषष्ठी माघ १७ गते
१२) विसं. १८६५ ज्येष्ठशुक्लदशमी ज्येष्ठ २४ गते
१३) विसं. १८८२ कार्तिककृष्णत्रयोदशी कार्तिक २५ गते
१४) विसं. १८९० अधिकभाद्रशुक्लद्वादशी
१५) विसं. १८९१ आषाढशुक्लपञ्चमी आषाढ २९ गते
१६) विसं. १८९१ भाद्रशुक्लएकादशी भाद्र ३० गते
१७) विसं. १८९१ आश्विनकृष्णअष्टमी आश्विन १२ गते
१८) विसं. १८९१ आश्विनकृष्णद्वादशी आश्विन १५ गते
१९) विसं. १९१४ ज्येष्ठपूर्णिमा ज्येष्ठ २७ गते
२०) विसं. १९२३ अधिकज्येष्ठशुक्लनवमी ज्येष्ठ ११ गते
२१) विसं. १९३८ ज्येष्ठकृष्णचतुर्दशी
२२) विसं. १९३८ ज्येष्ठशुक्लपञ्चमी
नेपालको कमसेकम पन्ध्र सय वर्षको इतिहासमा विसं. १९९० भन्दा अगाडि २२ वटा मात्रै भुइँचालोगएको अवश्य पनि होइन । प्राचीन आकर अर्थात् स्रोत केलाउँदै गए यीभन्दा धेरै नै बढी भुइँचालोका अभिलेख पाउन सकिन्छ । तर यो काम कसले गर्ने ? यति थाहा भएको पनि खास गरी हामी संशोधन–मण्डलकाले खोजी गरेकोले नै न हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।