केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाइधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका  थिए ।

बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो ।  पल्टन कवाज खेलिरहेका थिए ।

ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको  वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टिएको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले  जमिन छोला-छोलाजस्तो भयो ।

पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टिन लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो ।  धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।

सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे ।  धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने  कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो  परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।

सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।

खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र  बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।

भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।

आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामर्थ्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न  सकिँदैन ।

यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि  तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।

श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको  सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए- यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।

त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला  भएकाले घाइतेलाई औषधी पुर्‍याउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।

श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई- विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्‍यो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज  भयो ।

सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक  भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।

होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चुँचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका  पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्‍यो ।

छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ…मा… भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक  बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके ।  घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्‍यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले  नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्‍यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्‍यो, माघे झरी पर्ने डर छ, ओत छैन ।

लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी  गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्‍यो  तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।

स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।

भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए । दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान :

‘म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।’

वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टिको केही खबर छैन ।

महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।

मेजर जनरल ब्रह्मशमशेर जंगबहादुर राणा (१९६६-२०४४) को पुस्तक ‘नेपालको महाभूकम्प’ १९९१ चैतमा प्रकाशित भएको थियो । ब्रह्मशमशेर आफ्नो समयका कवि पनि थिए ।