“संसारमा सबै एकल हुने भए मलाई मेरो कुनै केटा साथी नभएकोमा गुनासो हुने थिएन । तिमीलाई के लाग्छ ?”
उसले अङ्ग्रेजीमा बोलेका सम्वादहरु नेपाली भाषामा लेख्दा, उसले व्यक्त गरेका सबै भावहरु पूरै अनुवाद नभएजस्तो लाग्छ तर फरक-फरक मातृभाषा पृष्ठभूमिका भए पनि शब्दहरुबाहेक, भाव आदान-प्रदान गर्ने अरु कुनै माध्यम हुँदोरहेछ, प्रत्यक्ष कुराकानी गर्दा ।
मलाई के लाग्छ भन्दा पनि, मलाई के लाग्न पर्ने हो भनेर म सोचिरहेँ । उसका प्रश्नवाचक आँखाहरु लामो समयसम्म नकुर्ने देखेर मैले भने “संसारमा सबै विवाहित हुने भए विवाह भएकोमा पनि कसैलाई गुनासो हुने थिएन सायद । यो त आइन्सटाइनको सापेक्षतावादको नयाँ प्रमाण पो भयो त !” उसले मुन्टो उठाएर मलाई हेरी । उसले लगाएको प्रश्नवाचक चिह्न अझै झुन्डिरहेको थियो । मैले मेरा तर्कहरु अझै प्रस्ट पार्नुपर्ने भयो ।
“किनकि यसको अर्थ त हामी बीचमा कुनै सम्बन्ध विकसित हुनमा हाम्रो आवश्यकताले होइन कि अर्काको स्थितिले पो निर्देशित गरेको भयो ! त्यसैले यो निरपेक्ष होइन, सापेक्ष भयो ।”
हामी धेरै पटक दार्शनिक लाग्नसक्ने यस्ता सम्वादहरुमा अल्झिरहेका हुन्छौं । यस्ता अधिकांश विवादहरुमा हामी बिना निश्कर्ष नै टुङ्गिन्छौं अथवा हामी बीचमै अरु विषयतिर मोडिन्छौं ।
यस पटक उसले प्रसङ्ग मोडी, “आ–आफ्नै एक्लोपनले हो, हामीलाई नजिक बनाएको । हामी एक अर्काका लागि उचित पात्र होइनौँ तर हामी बीचमा कुनै सम्बन्ध विकसित हुँदै जानका लागि, हामी एकदम उपयुक्त समयमा भेटिएका थियौं ।”
उसले गरेको विश्लेषणमा सत्यता थियो तर ‘पात्र प्रमुख होइन’ भन्ने वाक्यांशले मलाई नमिठोसँग चिमोट्यो । प्रसङ्गलाई हल्का बनाउन मैले हाँस्दै भनेँ, “ठिकै हो, पात्र प्रमुख होइन समय प्रमुख हो । मेरो उपयुक्त समय कहिले आउने होला ?”
उसले मलाई नजिक तानेर हाँस्दै भनी, “तिमीले यसो भन्नुको नियत मैले बुझेकी छु ।”
शुक्रबार चाँडै कक्षा सकिने हुँदा विश्वविद्यालयबाट सिधै हामी घुम्न निस्किएका थियौं । साँझ ढल्किसकेको थियो । एक छिन टहलिएर हामी छुटियौं ।
… … … …
कुनै साथीको फेसबुक स्टाटस थियो यो- “मैले तिम्रो सोचाइ पढेँ तर अनुवाद गर्न सकिनँ ।”(आइ रिड योर माइन्ड बट क्यान नट ट्रान्सलेट इट ।) पढेर धेरैबेर घोरिएँ म । ऊ आफ्नो कोठा पुगिछ । इन्भिजिबल मेरो मेसेन्जर एउटा सन्देश आयो ।
“के तिमी त्यहाँ छौ ? (आर यू दिएर ?) ”
हामी दुवै मेसेन्जरमा इन्भिजिबल बस्ने हुँदा, हामी सधैँ माथिको सम्वादबाट कुरा सुरु गथ्यौँ । मैले एकछिन पर्खेर उत्तर लेखेँ ।
“छु ।”
उसले कुनै कुरा शुरु गरिन । हाम्रो च्याट त्यत्तिकै रोकियो । मैले पनि कुरा शुरु गर्न धेरै विषय खोजिहेरेँ तर केबाट कुरा थाल्ने नभेटेर म कम्प्युटरका किबोर्डहरु हेर्न थालेँ । देब्रेमा ए, एस, डी, एफ अनि दाहिनेमा जे, के, एल मेरा औंला तल थिए । अंग्रेजी वर्णमालाका बाँकी सबै अक्षरहरु पनि किबोर्डका आ–आफ्ना निर्धारित स्थानमा थिए । तर तिनलाई निश्चित क्रममा मिलाएर कुनै शब्द बनाउन म सकिरहेको थिइनँ । आफ्नै सोचाइ अनुवाद गर्न म सकिरहेको थिइनँ । एकछिनपछि मैले मेरो स्टाटस बिजी बनाएँ ।
लगत्तै उसले लेखी, “केमा बिजी भयौ अब ?”
मैले तत्काल उत्तर लेखेँ, “मैले ठानेँ कि हामी अब च्याट गर्न व्यस्त हुन्छौं ।”
“हा हा हा हा हा ।”
निर्जीव अक्षरहरुले ऊ जीवन्त हाँसी भन्ने जानकारी गराए । अक्षरहरुले सम्वेदना कति सजिलै छोपी दिन्छन् वा छरिदिन्छन् । तर आफैँलाई व्यक्त गर्न हामी त्यसैमा निर्भर छौं । अगाडि च्याटमा फेरि पनि केही कुरा भएन । मैले सुत्न भन्दाअगाडि उसलाई एउटा म्यासेज लेखेँ अनि उसको उत्तरको प्रतीक्षा नगरी कम्प्युटर अफ गरेँ ।
भोलि बिहान फोन गर्न उसलाई कारण हुने भयो ।
… … …
शनिबार परेकाले कुनै निश्चित काम थिएन । त्यसैले अल्छी गरेर अबेरसम्म सुतिरहेको थिएँ । कतै घुम्न जाने योजना बनाउने हो कि भनेर खाटमै पल्टिएर सोचिरहेको पनि थिएँ । उसलाई फोन गरौं गरौं पनि लागेको हो तर हिजो अन्तिम पटक मैले म्यासेज गरेकाले आज उसले पहिला फोन गर्नपर्छ भन्ने अडानमा थिएँ म । बेला-कुबेला यस्तो अचम्मको अहंमा अल्झिने बानी थियो मेरो । नभन्दै उसैको फोन आयो । मैले जे सोचिरहेको थिएँ, उसले त्यही प्रश्न गरी ।
“हिजो मेसेन्जरमा के लेखेर छाडेको ?”
मैले हिजो अन्तिममा उसको मेसेन्जरमा “हो, म त्यहाँ थिएँ (यस, आइ वाज दियर)” लेखेर छाडेको थिएँ । “कुरा गर्नु नै छैन भने तिमी त्यहाँ छौ (आर यु दिएर) भनेर किन सोधेको त ?” मैले थोरै भाउ खाने हिसाबले भनेँ ।
“मैले कुरा गर्ने विषय नै भेटिनँ,” उसलाई पनि मेरो जस्तै समस्या परेको रहेछ ।
“भेटेपछि मात्र कुरा आउँछ अब । आज के गर्दैछौ ?”
“किन र ?”
“म भर्खर उठेको, साह्रै भोक लागिराछ ।”
“मेन स्टेसन आऊ न त, कतै घुम्न पनि जाउँ अनि बहिरै ‘डोनर’ पनि खाउँला ।”
मलाई भोकभन्दा पनि उसकोमा जाने बेसी मन हो । मेन स्टेसनको टुर्किस रेस्टुरामा लिएरको ‘डोनर’ स्टेसन छेउको पार्कमा बसेर खाँदै गर्दा उसले सोधी, “तिमीलाई केटी साथी (प्रेमिका) किन चाहिन्छ ?” उसले जुन शैली र बिना प्रसङ्ग प्रश्न गरी, म उपयुक्त उत्तर खोज्न निकै अलमलमा परेँ । मैले हामीदेखि केही पर हरियो चौरमा पल्टेर मस्त चुमिरहेका जोडीतिर इसारा गर्दै भनेँ, “यहाँ बसेर एक्लै त्यो दृष्य हेर्न भन्दा छेउमा तिमी हुँदा त्यो दृष्य हेर्न मलाई सजिलो हुन्छ ।” मेरो उत्तर म आफैँलाई अनौठो लाग्यो । उसले के बुझी कोनी, चित्त बुझेजस्तो गरी भनी, “सप्ताअन्त्यमा कतै घुम्न जाँदा, साँझ पार्कमा टहलिन जाँदा, पार्टी जाँदा, शुक्रबार बेलुका डिस्को जाँदा हो, यस्तैयस्तै बेला मलाई पनि मसँग कोही केटा साथी भइदियोस् जस्तो लाग्छ ।”
… … …
मैले हाँस्दै भनेँ, “तिमी त छाता बोकेर पानीमा भिजिरहेछौ । तिमीले छाता उघारेपछि म चाहिँ कहाँ ओत लाग्ने नि ?”
ऊ भूतपूर्व भइनसकेको उसको केटा साथीसँग बिग्रिएको सम्बन्धको कुरा गरिरहेकी थिई । मैल पनि पार्कको हरियो चौरमा बसेर मेरा भूतपूर्व प्रेमिकाहरुको कुरा गरेँ । प्रेमी-प्रेमिका हुने यहाँको र मेरो देशको फरक सामाजिक दृष्टिकोणको कुरा गरे । अबेरसम्म हामी त्यतैतिर अल्मलियौँ । हाम्रा गफका प्रसङ्गहरु विविध रहे । तीन चार महिनाको हाम्रो चिनजान र लगातारको भेट तथा कुराकानीले हामी आफ्ना व्यक्तिगत कुराहरु पनि सजिलोसँगै साटासाट गर्न थालेका थियौं ।
गृष्मयाममा जर्मनीमा ढिलो घाम अस्ताउँछ । नौ बजे मात्र हामी ट्रेन स्टेसन फर्कियौं । हाम्रा बासस्थानहरु विपरीत दिशामा थिए । ट्रेन स्टेसनको डिस्प्लेमा मेरो ट्रेन उसको भन्दा पाँच मिनट अगाडि थियो । ट्रेन कुरिरहेको बेला उसले सोधी, “अब तिमी एक्लै फर्कन्छौ ?”
मलाई उसको प्रश्न अचम्मको लाग्यो । “किन ? तिमी आज मेरोमा जाने विचारमा छौं र ?” मैले अर्को प्रश्न गरेँ ।
“होइन, मलाई एउटा साथीको जन्मदिनको पार्टीमा जानुछ, तिमी खाली छौ भने मेरो साथ जान्छौ ?” मलाई उसले अघि भनेको कुरा याद आयो ।
“किन म तिम्रो केटा साथी हो र ?” मलाई निम्तो अस्वीकार गर्नु थिएन, त्यसैले प्रश्नसँगै उत्तर पनि भनेँ, “भोलि आइतबार हो, त्यसैले आज जति अल्कोहल खाए पनि हुन्छ ।”
मेरो पहिलो प्रश्न टार्दै उसले भनी, “त्यसो भए यतैबाट वाइन किनेर लैजाऊँ, एउटा मेरोमा नै बसेर खाउँला अर्को पार्टीमा लिएर जाउँला ।”
दिउँसो ‘डोनर’ मात्र खाएकाले मलाई भोक लागिरहेको थियो । उसकोमा चामल देखेपछि मैले उसलाई नेपाली खाना बनाएर ख्वाउने प्रस्ताव राखेँ । भात, उसले काँचै खाने सलादको सागजस्तै तरकारी र उसिनेर आलु र टमटरको दाल बानाएँ । खाना पकाउनाले हाम्रो पूर्वयोजना कार्यन्वयन भएन । हामीले जसको कारमा चढेर उसको साथीकोमा जाने भनेका थियौं, ऊ अघि नै हामीलाई छाडेर गैसकेछ । खाना खाँदै गर्दा उसले मलाई सुनाई । हामीले खाना पकाउँदै एउटा वाइन सकिसकेका थियौं, अब बाहिर नजाने भएपछि मैले अर्को वाइन पनि खोलेँ ।
भान्साबाट हामी उसको सुत्ने कोठामा सरिसकेका थियौँ । वाइनले छुन थालेपछि फेरि उसले अर्को वाइन खोली । मैले फर्कने अन्तिम ट्रेन पनि गुमाइसकेको थिएँ । अब भने हामीलाई प्राविधिक अप्ठ्यारो पर्यो । हाम्रो योजना आज रातभरि उसको साथीको पार्टीमा बस्ने अनि बिहानै आ–आफ्नोमा फर्कने थियो । मैले उसकै कोठामा सुत्न पर्ने भयो । उसले भुइँमा ओछ्याउन मिल्ने म्याट्रेस (डसना) र ओड्न सिरक निकाली । उसको ओछ्यानमा भएको दुइटा सिरानीमध्ये एउटा सिरानी च्यापेर मैले उसलाई ओछ्यान लगाउन सहयोग गरेँ ।
मैले मायाट्रेसमाथि तन्ना ओछ्याउँदै गर्दा ऊ सुत्न लुगा फेरेर आइसकेकी थिई । सुत्दा टिसर्ट (गन्जी) भित्र केही पनि लगाउँदिन भनेर कुनैबेला उसले मलाई भनेकी थिई । सम्झेर मेरा आँखा उसले लगाएको टिसर्टमा (गन्जी) अड्किए । उसले मेरो आँखा पन्छाउँदै भनी, “मेरो मुन्द्रा हेर्छौ ?” यो बेला उसलाई कहाँबाट उसको मुन्द्रा लगाएको नाइटो देखाउने सम्झना आयो मलाई पत्ता लाउन थिएन । कुनैबेला फोनमा कुरा गर्दा कुनै प्रसङ्गमा उसले यो कुरा सुनाएकी थिई अनि मैले पनि कहिले देखाउँछ्यौ भनेर सोधेको थिएँ । फोनमा रातभर गफिने हुँदा निश्चित प्रसङ्ग सकिन्थे तर कुरालाई निरन्तर राख्न आउने यस्तै बेतुकको एउटा प्रसङ्ग थियो यो । ऊ मेरो अगाडि उभिएकी थिई, टिसर्ट (गन्जी) आफ्नो नाइटो माथि सारेर । म भने उसको मुन्द्रा लगाएको नाइटो मात्र हेरिरहेको थिइनँ । उसले माथि सारेको टिसर्ट (गन्जी) तल तानेर मैले उसको अनुहार हेरेँ । वाइनले उसका ओठ झन् रसिला भएका थिए । उसलाई पनि मेरा ओठ रसिला लागेछन् । केही छिनको तातो चुम्बनपछि उसले भनी, “तिमी यसमै सुत म खाटमा सुत्छु ।”
… … …
“तिमी अझै निदाएका छैनौ ?”
“तिमी पनि त निदाएकी रहेनछौ नि त ?” मैले प्रतिप्रश्नको रुपमा उत्तर तेर्स्याएँ ।
“सायद हामी बीचको दुरी कम भयो । तिमी तिम्रै कोठामा भएको भए म अघि नै निदाइसकेको हुने थिएँ ।”
त्यसपछि हामी बीचको संवाद त्यति महत्त्वपूर्ण भएन । बिनाकुनै दुरी आधा रात ऊ भुईंमा निदाई, अनि आधा रात म खाटमा निदाएँ । हामी बीचको दुरी शून्यमा झरेपछि हामी निदायौं । ननिदाउनमा घटेको दुरी हैन, अड्केको दुरी मुख्य कारण रहेछ ।
बिहान निकै अबेर हामी दुवै जना एउटै खाटमा बिउँझियौँ । टाउको निक्कै दुखिरहेको थियो ।
बिहानको नित्य कर्म सकेपछि तौलियाले मुख पुच्छ्दै मैले भनेँ, “हामीले हाम्रो सम्बन्धको बारेमा कुरा गर्नुपर्छ ?” यो आग्रह हो वा निर्देशन, के थियो, थर्मसमा कफी हालेर हामी बाहिर निस्कियौँ ।
… … …
बीचको थर्मसमा तातो कफी थियो तर हामी बीचको चिसोपन भने बढेर गयो । सम्वादमा हामी मात्र ‘म’ भएका थियौँ । म वाइनलाई दोष दिने पक्षमा थिइनँ, न त म जे भयो त्यसलाई दुर्घटना भन्न तयार थिएँ । सम्बन्धको नयाँ परिभाषा खोज्नपर्छ जस्तो लाग्नुमा मैले जुटाएको कारण, उसलाई अकारण लाग्नुका कारण के थियो ? सम्बन्ध कहाँ गएर परिवर्तन हुन्छ अथवा भइरहेको सम्बन्ध कहाँ पुगेपछि उही परिभाषामा टिक्दैन । मैले अझसम्म चित्तबुझ्दो उत्तर भेटेको छैन । हिजो जे भयो, त्यसलाई हटाउँदा कुनै सम्बन्ध परिभाषाको आवश्यकता नहुने, कुन झिनो रेखाले सम्बन्ध छुट्याउँछ त ?
“तिमी ‘कन्फ्युज’ बस्न चाहन्छौ, म ‘कन्भिन्स’ हुन चाहन्छु । हामी बीचको सबैभन्दा ठूलो फरक नै यही हो,” उसको प्रतिक्रया थियो यो ।
मैले पनि ‘हामी’ भएर उसलाई केही भन्न खोजिनँ ।
“तिम्रो समस्या के हो थाहा छ । तिमी आफैँलाई थाह छैन तिमी के सोच्छौ भनेर, अरुले यसरी सोच्लान् भनेर जानकार भएको भ्रम पाल्छौं ।” त्यसपछाडि उसले भनेको वाक्य यो कथा लेख्दा नेपालीमा रुपान्तरण गर्न मैले धेरै कोसिस गरेँ तर मैले त्यो सुनेर जे महसुस गरेको थिएँ रुपान्तरित वाक्य लेख्दा ठ्याक्कै त्यही भाव र अर्थ भेटिनँ ।
उसले भनेकी थिई, “डु नट ट्राई टु मेक अर बि एन युजफुल इडियट ।” अन्तिम दुई शब्दको नेपाली अर्थ ‘उपयोगी मूर्ख’ हुन्छ । उसलाई के लाग्यो, मलाई थाहा भएन तर मलाई उसले ठानेको हाम्रो नयाँ सम्बन्धको परिभाषा दिएजस्तो लाग्यो ।
त्यसपछि मसँग बोल्न उपयुक्त केही रहेन । मैले के सोचेँ वा के सोच्न पर्ने हो त्यसको जानकारी पनि मलाई रहेन । हरियो घाँसमा पल्टिएर नीलो आकाश हेरिरहेँ । आकाशको शून्यता आफैँमा सारेर ।
हामीले सम्बन्धको नयाँ परिभाषामा, भएको सम्बन्ध पनि बिगार्यौं । अहिले सोच्दा लाग्छ, सम्बन्धको परिभाषा खोज्न पर्ने गरी निर्धारण गरेको धरातल साह्रै पातलो र कमजोर थियो । को कमजोर हो, धरातलमा वा म, उत्तर जे भए पनि निष्कर्ष एउटै थियो, सम्बन्ध उभिन सकेन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।