भगवान् हुन्छन् रे भन्ने सुनेर एकदिन ऊ भगवानको खोजीमा हिंड्यो । उसले सुनेको थियो – भगवानले जीवन सुधार्छन् ।

पुजारीले भनेको थियो – “भगवान् मन्दिरमा हुन्छन् ।”

हुन त एकजना दार्शनिकले भगवान् मन्दिरमा पाइन्न आफैंमा खोज भनेका थिए तर उसले दार्शनिकको कुरो पत्याएन । उसलाई दार्शनिकको कुरा रित्तो हात देखाएर मीठो पेडा छ झिकेर खाऊ भनेझैं लाग्यो । ऊ त भगवान् चाहन्थ्यो अनि जीवनको सुधार पनि हाताहाती चाहन्थ्यो । दार्शनिकको भनाइमा उसले जीवनको हाताहाती सुधार देखेन ।

ऊ मन्दिर पुग्यो कुखुराको डाँकसँगै । झिसमिसे उज्यालोसँगै ऊ भगवानको खोजीमा भव्य मन्दिर पुग्यो । मन्दिरमा परेवाहरू बिउँझिन लागेका थिए । उसले बाहिरैबाट बोलायो – “भगवान् !”

भगवान् चुइँक्क बोलेनन् । उसलाई भगवान् निद्रामै छन् कि भन्ने पनि लाग्यो । उसले फेरि बोलायो – “भगवान् ! ए भगवान् !!”

ऊ मन्दिरभित्र पस्यो । त्यहाँ एउटा गजधम्म परेर बसेजस्तो केही देख्यो । वरपर भगवान् जस्ता अरु कुरा केही थिएनन् । उसलाई लाग्यो – अरु कुरा छैन र यही एक गजधम्मे मात्र छ भने पुजारीले भनेको जीवनसुधारक भगवान् यही होला । ऊ हाताहाती बरदानको आशामा थियो ।

ऊ नजिकै गयो र फेरि बोलायो – भगवान् ! तर आवाज आएन । उसले त्यही गजधम्मेको हात छोयो, पाउ छोयो, शिर छोयो, गाला छोयो । जता छोए पनि चिसै छ, हिउँजस्तो ।

उसलाई शंका लाग्यो – चीसो हुनु त जीवन होइन । कतै भगवान् …….. । उसले मनमा एउटा अनिष्ट पाप चितायो ।

बिहान सूर्यको पहिलो आगमनसँगै उसलाई प्रहरीले घेरेर राखेका थिए मन्दिर परिसरभित्र र उसका हातमा हत्कडी लगाइएको थियो । उसमाथि सङ्गीन आरोप थियो – ‘भगवानको चोरी ।’