बुवा मलाई अक्सर भन्नुहुन्थ्यो, उहाँका बाजे अर्थात् मेरा बराज्यू यात्राका निकै शौखिन हुनुहुन्थ्यो रे ! उहाँ व्यापारको सिलसिलामा हिँडिरहनु हुन्थ्यो र सधैँ नयाँँ–नयाँ ठाउँ डुल्ने, आफ्ना जिज्यू–पूर्खा नपुगेका प्रदेशमा पाइला टेकाउने उहाँमा अदम्य उत्कण्ठा थियो रे ! एक पटक मूलघरमा पुराना कागजपत्रहरु खोज्दा छुट्टै राखिएको बराज्यूको पुरानो र गह्रुँगो काठको सन्दूक खोल्न पर्ने भयो र खालेँ पनि । सन्दुक खोतल्दै जाँदा त्यसको पिँधमा थोत्रो रेशमी कपडाले बेरिराखेको एक मुठो पुरानो कागज फेला पर्‍यो, जसमा केरमेट गरी केही सांकेतिक नक्सा बनाइएका थिए भने अन्त्यमा केही कोरिएको पाएँ । उत्सुकतावश ती लेखोटहरुलाई पढ्दै जाँदा थाहा भयो– ती त मेरा बराज्यूले टिपिराख्नु भएका उहाँका यात्राका बयानहरु पो रहेछन् ! आजको यात्रा संस्मरणको आधुनिक शैलीमा लेखिएका नभए तापनि तिनमा एक किसिमको रोचकता र पुरानो बितिसकेको समयको गन्ध टड्कारो थियो । यात्राका ती पुराना बयानमध्ये केही त मलाई निकै रमाइला लागे अनि केही चाहिँ दन्त्यकथाजस्ता अपत्यारलाग्दा पनि ! विस्मृतिको अन्धकारमा लुप्त हुन लागेका मेरा बराज्यूका तिनै यात्रा आलेखमध्येबाट एउटा चाहिँ बयान पाठकसमक्ष प्रस्तुत गर्ने जमर्को गर्दैछु । यो बयान यहाँ प्रस्तुत गर्न लाग्दा मैले यसको पुरानो भाषा–शैलीमा केही संशोधन र सम्पादन गर्ने धृष्टता गरेकाले क्षमाप्रार्थी छु । अँ, अझ एउटा मलाई लागेको कुरो पाठकहरुलाई भन्न चाहन्छु, त्यो के भने– तलको यात्रा आलेखमा कतै पनि ठाउँको उल्लेख भएको छैन तर मलाई लाग्छ, त्यो ठाउँ जसको वर्णन बराज्यूले गर्नुभएको हो, पक्कै पनि सय वर्षभन्दा पहिलेको भारतवर्षको राजस्थान प्रान्तमा पर्ने थार मरुभूमि तथा त्यसको वरिपरि पर्ने प्राचीन शहरहरुसित गाँसिएको हुनुपर्छः
आलेख यस प्रकार छ–

जुनेली रात ।

जता हेर्‍यो त्यतै बालुवै–बालुवा ।

बालुवै–बालुवाको समुद्र । जुनेली–छायाँ चल्मलाउँदा लाग्छ, मानो परपरसम्म बालुवाको समुद्रमा लहरहरु ओहोरदोहोर गरिरहेछन् । जुनली रातको सम्मोहन बालुवाको राशैराश थुप्रिएर बनेका ढिस्काहरुमा परपरसम्मन् फिँजिएको थियो । जताजता जहाँसम्म आँखा जान्थ्यो, बालुवाको अन्त्य थिएन । त्यहाँको अथाह मौनतामा जुनेलीको निस्तब्ध कोलाहलबाहेक केही महसुस गर्न सकिँदैनथ्यो । घरीघरी मनमा विचारको अनौठो आँधीबेहरी उप्जँदा लागिरहन्थ्यो– यो संसारमा बालुवासिवाय केही छैन । हामीहरु जति जति बालुवाका असमतल ढिस्काहरु नाघ्दै जान्थ्यौँ, त्यति त्यति हाम्रा पाइलाअघिल्तिर चुनौती बनेर नयाँ ढिस्काहरुका ताँती उभिन आइपुग्थे । बालुवाका ती विरुप ढिस्काहरुसित रुपसी जुनेलीको कुन्नी कस्तो मोह थियो त्यो– ऊ जताततै तिनै बालुवाका ढिस्काहरुलाई अँगालो मारेर बैंसले अटसमटस भएकी पठ्ठीझैँ मुस्काउँदै ओछिएकी देखिन्थी ।

हामीहरु घण्टौँअघिदेखि एकनास हिँडिरहेका थियौँ बालुवामा चार जोर पैतालाका डोबहरु सँगसँगै पछि छोड्दै । हामी चार थियौँ । हामीमध्ये एउटी स्वास्नीमान्छे र हामी तीन पुरुषहरु । हामी तीनै जना अपरिचित थियौँ र यात्राले हामीलाई एकअर्कासित आजै दिउँसो अपराह्न भेट गराएको थियो । स्वास्नीमान्छे हामीसित भेटिँदा ठूलो साँझ झमक्क परिसकेको थियो । बालुवा, खजुरका केही छरपष्ट रुख, अनि उग्राएर बसिरहेका ऊँटहरुमाथि त्यस रातको जून भर्खरै उदाएको थियो । मरुभूमितिरको यात्रा जहाँबाट थालिन्थ्यो, त्यसै शहरको पुछारमा ऊ अँध्यारोमा उदास बसिरहेकी फेला पारेका थियौँ । सोध्दा, उसले यति मात्र भनेकी थिई, ‘चार रातको बालुवैबालुवाको यो यात्रा सकिनासाथ जुन सहर भेटिनेछ, त्यहीँ मेरा खसम छन् । वर्षौं भयो उनीसित मेरो भेट नभएको । चार दिन चार रातको यो दूरीले हामी जोइपोइलाई अलग्याएको छ । म एक्ली स्वास्नीमान्छे यति लामो र विकट यात्रा एक्लै गर्न कहाँ सक्छु र !’

हामी तीन जना उसले अनौठो अन्दाजमा बोलेको माथिका कुरा सुनिसकेपछि आपस्तमा हेराहेर गर्छौं । र, कुरैकुरामा म उसलाई भन्छु– हामी पनि बालुवामाझको यो लामो यात्राको तर्खरमै जुटेका हौँ । सुनेर रातको रहस्य उसका आँखामा छताछुल्ल सल्बलाउँछ । ऊ हामीसँगै हिँड्ने कुरा गर्छे । नचिनेको बिरानो ठाउँ, को हो ? को हो ? एक्ली स्वास्नी मान्छे । हामी तीनै जना पनि एकआपसमा नौला । कसको मनमा के छ ? कसरी छाम्ने ? त्यसबेला हामी निःशब्द बनेका थियौँ र निर्णय हाम्रा आँखाका बोलीले गरेका थिए । एउटी खाइलाग्दी, बैंसको गन्धमा बत्ताएकी आइमाई हत्तेगरी हाम्रो पछि लाग्न तयार थिई, अनि हामी चाहिँ चुपचाप थियौँ तर हाम्रा आँखाहरु भने वाचाल बनेका थिए । तिनमा लोलुपता बोलिरहेको थियो । हामीले आँखैआँखामा निर्णय गर्‍यौँ र त्यस आइमाईलाई सँगै लैजान आपसी सहमतिसम्म पुग्यौँ । हाम्रो निर्णय सुनेर एउटा पुलकित मुस्कान उसका उदास ओठहरुमा फर्कियो र तत्काल ओइलाई पनि हाल्यो । अनि ऊ हामीहरुसँगै हिँड्न थाली ।

एकएक ओटा कुम्ला हाम्रा काँध–काँधमा छन्, साथै देब्रेपट्टि झुण्ड्याइएका छालाका झोलामा पानी पनि । त्यस स्वास्नीमान्छेले पनि दाहिने काखीमुनि एउटा हुट्टको ससानो गुन्टो बेसरी कसेर च्यापिराखेकी छे । पानी उसले तुम्लेटमा बोकेकी छे । हामी नबिसाई एकनास हिँडिरहेका छौँ । जुनेली चढेको रातले हामीमध्ये प्रत्येकलाई एकअर्काका निम्ति रहस्यमय पारिदिएको छ । अहिले स्वास्नी मान्छे ठीक मेरो पछि छे । सबैभन्दा अघिअघि त्यो ठूलो टाउको भएको चाक्लो गान्टे मानिस छ । उसको पछि म छु र मेरो पछिपछि ऊ छे । अनि सबैभन्दा पछि लखर्‍याङ लखर्‍याङ आइरहेको एक्सरो दुब्लो शरीरको त्यो ख्याउटे अधवैंसे अग्लो पनि छ, जसको अनुहार यसबेला झर्कोलाग्दो पाराले लाम्चो र उद्विग्न देखिँदैछ ।

म जानीजानी दुई पाइला ढिलो चाल्छु र आइमाई मेरो बराबरीमा हिँडिरहेकी छे यसबेला । म ऊतिर हेर्छु तर उसको दृष्टि एकोहोरो अगाडितिर ताकिएका छन् । उसले टाउको ढाकिराखेको घुम्टो केही पछि सरेकाले उसको अनुहार अलि लाम्चो र खँदिलो देखिँदैछ । उसको हिँडाइमा एकतमासको लय छ । उसको जिउ–लच्काइमा छ– कुनै मन्त्र । छन्दमा बाँधिएको अनुशासित मन्त्र । म उसको नजिकै पुग्छु र कुरा थाल्छु–

‘तिम्रो नाम के नि ?’

‘दुरपति..’

‘यो नामको तिम्रो भाषामा कुनै अर्थ छ ?’

‘थाहा छैन । दुरपतीको माने के हुन सक्छ र ?’

‘दुरपती नभएर ‘द्रौपदी’ पो हो कि ?’

‘खै कुन्नी ?’ उसले फेरि प्रश्नको जवाफ प्रश्नमै फर्काउँदै पहिलो पटक मतिर गहिरिएर हेरी, ‘मेरा खसमलाई मेरो यो नाम निकै मन पर्‍थ्यो ।’

अनि ऊ निकैबेर चुप लागी । म पनि नबोली हिँडिरहेँ । अब ऊ पाँच सात पाइला अगाडि र म पछाडि हिँड्दैछौँ । स्वास्नीमान्छे निकै खाइलाग्दी छे । मिलेका सलक्क जीउडाल । हिसी परेको मोहक मुहुडा । पुष्ट केही उछिट्टिएका नितम्ब । ऊ हुनसम्मकी राम्री देखिँदै थिई जुनेली रातझैँ । उसले लगाएका लुगाहरु खुकुला र ह्वाङलाङ–ह्वाङलाङ परेका छन् । तैपनि उसको शरीरका अवयवहरु अटसमटस कसिएका देखिन्छन् । पछाडितिरबाट सिरिरीरिरी बतास चल्छ । म ऊतिर हेर्छु । उसका लुगाहरु बतासको धकेल्याइले जीउमा टाँसिएकाले उसको नितम्बको गोलाइ र आकार प्रष्ट भएको थियो मेरा आँखाअघि । उसका मोटामोटा खाइलाग्दा पिँडुला र फिलाहरुको रुपरेखा पनि टाँसिएको लुगामा उकासिएकाले केही छिनका लागि म रन्थनिएँ । ‘आहा ! कस्तो माँसन बदन, कस्ता मतमस्त धम्मरधुसे तिघ्राहरु ।’ म मनमनै कहराए, छटपटाएँ । मेरा आँखामा नाचिरहेको आशयलाई सायद चिनिसकी र बुझिसकी । लोग्नेमान्छेको मनोविज्ञान बुझ्न आइमाईहरु औधी खप्पिस हुन्छन् भन्ने सुनेको थिएँ । उसले हतारिँदै आफ्नो आङमा टाँसिएको देब्रे हातले मुजा समातेर उभिएपछि मलाई त्यस कुरामा शङ्का रहेन । बतासको वेग मत्थर नहुञ्ज्याल ऊ उही थलोमा ठिङ्ग उभिइनैरही । म अगाडि लम्केँ ।

युगौँदेखि चलिआएको यो चार–पाँच रात लाग्ने बालुवामाझको यात्रा निकै जुगुप्सादायक, अमूर्त रहस्यमयताले आवेष्ठित र विचित्रको छ । दिउँसो मरुभूमिमा टन्टलापुरे घाम लागेर हिँडिसक्नु हुँदैन । त्यसैले हिँड्दाहिँड्दै रात सकिनुअगाडि नै छहारीको व्यवस्था मिलेको कुनै ठाउँ वा खजुरका रुखहरुले ढाकिएको, पानीको ससानो कुण्ड भएको मरुद्यान खोजेर बिसाउने बन्दोबस्त मिलाइन्छ । त्यसपछि खानपिन गरी दिनभरि मस्त सुनेर अर्कोरातको यात्राको सुरसार कस्न अपराह्नतिर ब्युँझँदा हुन्छ । अनि सूर्य अस्ताउने प्रतीक्षामा झर्कोलाग्दा लामा पलहरु काट्न यात्रुहरु कि त कुनै रमाइलो गफमा आफँैलाई वा समयलाई छल्न खोज्छन्, अथवा पासा, केही बाघगोटीको दाउमा अल्मलिन्छन् । सूर्य अस्ताएपछि तातेको बालुवा छिटोछिटो चिस्सिन थाल्छ । बालुवा सेलाएपछि साँझ झमक्क नपर्दै यात्रा फेरि थालिन्छ । तर जहिलेसुकै यो यात्रा एकादशीपछि जुनेली रातमा मात्र गर्ने चलन छ र यस चलनले प्रथाको रुप लिइसकेको छ । अँधेरी रातमा बालुवाको यस अन्ध–महासागरमा यात्राको अर्थ हो– बाटो बिराएर बेपत्ता भई जानी–जानी मृत्युको बङ्गारामा छिर्नु ।

स्वास्नीमान्छे केहीअघि वनदेवी हिँडेझैँ हिँडिरहेकी छे– बालुवाका होचा–अग्ला ढिस्काहरुलाई कुल्चँदै, जुनेली रातको मायावी जङ्गलमा । अब हामी तीन पुरुष सँगसँगै हाराहारी हिँड्दैछौँ । पुड्को–चाक्लो शरीर भएको गान्टे जसको नाम जैचन (वा जयचन्द) जस्तै केही थियो– एकोहोरिएर त्यो आइमाईलाई हेर्दै थियो । अग्लो सिकुटे शोहणमल नामधारी मान्छेको अवस्था पनि गान्टे जैचनको भन्दा फरक थिएन । उसको नजर पनि स्वास्नीमान्छेको खेदो गर्नमै व्यस्त देखिन्थ्यो । केही छिनपछि गान्टेले माथि टाउको उचालेर अग्ले सिकुटेतिर हेर्दै फुसफुसायो– ‘मेरो इलाकामा यस्तै सुकसुकाउँदी आइमाई आजसम्म मैले देखेको थिइनँ ।’ अग्ले सिकुटेका खबटे गाला हल्लेका थिए, अरुभन्दा पनि त्यसका भारी नितम्ब देखेर म साह्रै लोभिएको छु । यस्तो गजबसित हल्लिने नितम्ब भएकी आइमाई मैले बितेका बाइस वर्षयता भोग्न पाएको छैन । बाइस वर्ष पहिले एउटी जयलमेरी राणा परिवारकी विधवा बुहारीसत करिब डेढ वर्षजति मेरो लसपस चल्यो । त्यो विधवी आइमाई होइन किन्नरीजस्ती थिई । त्यस मोरीका अङ्गप्रत्यङ्ग र विशेषगरी विशाल नितम्बहरु सुम्सुम्याउन पाएका क्षणहरु मभित्र अमर भएर गाडिउका छन् । त्यस जयसलमेरी आइमाईका नितम्बहरु सम्झ्यो कि मलाई हजारौँ अरिङ्गालहरुले चिलेजस्तो हुन्छ र म साह्रै आतुर बन्न पुग्दोरहेछु ।’ सिकुटे आफ्नो विगत अनुभवको स्वाद लिन आफैँमा घोत्लिएझैँ देखियो र ऊ बोलिसकेर लख्य्राङ–लख्य्राङ हिँडिरह्यो । तर त्यसको ख्याउटे दुब्लो काया कामुकतामा ह्वारह्वार्ती सल्किरहेझैँ मलाई लागिरह्यो ।

रात निकै छिप्पिएर ओह्रालो लागिसकेको छ । जून पश्चिमपट्टिको क्षितिजतिर अग्रसर देखिदैछ । हामी उसरी नै यात्रारत् छौँ । जूनको चिसो उज्यालोको इन्द्रजालमा हाम्रा छायाँ–उपछायाँहरु भ्रमझैँ अव्यक्त तर सुखदायक लागिरहन्छन् आफैँलाई । यस विरानो भूमिको रहस्यमयतामा मानौँ हामीहरु भासिँदै–भासिँदै जाँदैछौँ । रात्रिको पहिलो पहरमा नजिक र बाक्लै देखिने ताराहरु अहिले छिरल्लिएर पातलिएका छन्, पीतवर्णी आकाशभरि । र माथि, धेरै माथि केही उज्ज्वल नक्षत्रहरु आँखा झिम्म नगरी तल, धेरै तल चियाइरहेका छन् । अहिले गान्टे सबैभन्दा अगाडि हिँडिरहेछ । उसको पछि म, अनि मेरो पछि त्यही स्वास्नीमान्छे र सबैभन्दा पछि हिँड्दैछ अग्लो सिकुटे ।

एक्कासि पछिल्तिर खस्य्राक–खुस्रुक र घिसारा–घिसारको आवाज सुनी फर्केर हेर्छु । झर्कोलाग्दो अनुहारको त्यो खबटे अग्लो मान्छेले त्यस स्वास्नीमान्छेलाई पछिल्तिरबाट कम्मरमा ग्वाम्लाङ्ग अँगालो कसी घिसार्दै बालुवाको ढिस्कोमा लगेर पल्टाएको देख्छु । सिकुटे, स्वास्नीमान्छेका हरेक लुगा एकएक गरी फुकालेर बालुवामा ओछ्याउँछ र ऊ आफ्ना लुगा फुकाल्न थाल्छ । स्वास्नीमान्छेको तर्फबाट कुनै प्रतिवाद नभएको देख्दा केही छिन अचम्म मान्छु । विस्तारै ऊ स्वास्नीमान्छेको मांसल नाङ्गो शरीर ओछ्याइएका लुगामाथि उत्तानो पारेर सुताउँछ र ऊ दुई साँप्राको माझमा गई घोप्टिन्छ । जुनेली रातमा त्यस नाङ्गी आइमाईका पुष्ट स्तन र सलक्कका चिल्ला फिलाहरु बरालिएर झन् मादक देखिँदैछन् । त्यसबेलासम्मन् गान्टे पनि फर्केर मनिर आइपुगी उभिएको छ । उनीहरु जोल्ठिएर घम्साघम्सी परिरहेको शरीर देखेर गान्टेको कामुकताले सीमा नाघिसकेको रहेछ । उसले उत्तेजनामा उन्मत्त बनी आफ्ना लुगा धमाधम फुकाल्न थाल्छ । खबटे र त्यो स्वास्नीमान्छे अmभै बलियो गरी एकअर्कालाई कस्छन्, अनि स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्न थाल्छन् । गान्टे खारिएर लगभग नाङ्गो भई उनीहरुको एकदमै नजिक पुग्छ र पालो पर्खेझैँ त्यहाँ थ्याच्च बस्छ । एकछिनपछि गान्टे स्वास्नीमान्छेका पिँडुला, तिघ्रा, नितम्ब भ्याएजति मुसार्न, अँठ्याउन थाल्छ ।

अग्लो ख्याउटे मान्छे एकछिनपछि उठ्छ र केही परको ढिस्कोमा गई नाङ्गै बस्छ । अग्लो मान्छे उठ्दा–नउठ्दै गान्टे गएर स्वास्नीमान्छेमाथि ओइरिन पुग्छ । गान्टे जथाभावी त्यस आइमाईलाई निचोरनाचोर पारी जोत्तिदै फ्याँ–फ्याँको फुङ्कार भरिरहन्छ र केही छिनपछि नै लुगा फुकालेको ठाउँमा पुगेर लुगा पोको पार्दै एकातिर लाग्छ ।

स्वास्नीमान्छे अझै त्यहीँ त्यसरी नै पल्टेकी छे । सायद उसलाई मेरो प्रतीक्षा छ । अग्ले र गान्टे अब निकै पर अँध्यारोमा सुस्ताइरहेका छन् । म सुस्तसुस्त हिँडेर उसको छेउमा पुग्छु । ऊ उठेर बस्छे र लुगाको फेरले आफूलाई पुछपाछ पार्छे । म उसको नजिक गएर बस्छु र उसका ठूल्ठूला स्तन माड्न थाल्छु । ऊ पनि मेरा लुगा फुकाल्न थाल्छे । उसको तिर्खा जस्ताको त्यस्तै छ, झन् जब्बर ! मानो, तिखाएकी मरुभूमिको सजीवस्वरुप हो ऊ । सुस्तरी नुहदै उसलाई म अँगालो कस्छु र उसका मत्त घमण्डी देखिने ओठहरुमा आफ्ना ओठहरु ओरालेर खप्टाउँछु । चुम्बनको खिरिलो मादक स्वादमा मेरो सम्पूर्ण अस्तित्व डुब्दै जान्छ । ऊ उत्तेजनामा ढल्फलिँदै मेरो शरीरसँग घसारिरहन्छे आफ्नो सुकोमल देह । खस्रो आवाजमा ऊ रहस्यमय ढङ्गले बर्बराउँछे । म ठान्छु– उसले मलाई आफ्नो नबुझिने भाषामा दन्किरहेको शारीरिक तिखाए मेटिदिन आतुर आह्वान गरिरहेकी छे । तर शरीरको अलग्ग कुनै बोली हुँदैन र शरीरले शरीरको भाषा बुझ्दछ । संसारको जुनसुकै जाति, वर्ण र भाषाभाषीको शरीर किन नहोस्, स्पर्श, सुम्सुम्याई र सम्भोगको लयात्मक आदिम भाषा राम्ररी बुझ्छ वयस्क शरीरले । यो भाषा प्रकृतिले संसारभरि नै एउटै बनाएको छ । त्यसैले होला अपरिचित शरीर, अपरिचित भाषा, विरानो भूमिको भेद मेटेर शरीर–मन्थनले सबै दुर्बोध्यता, सबै दुरुहतालाई सहज सम्प्रेष्य पारिदिँदो रहेछ ।

उसको शरीर सयकडौँ फोरेनहाइट तापमा दनदनी दन्किरहेछ यसबेला । ममा पनि उत्तेजनाको चरम अनुभव तरङ्गित छ । उसका दुवै जाँघ फट्याएर म पनि उसको अचल सम्पत्तिमा डाँका हाल्न हतपतिएको छु । ऊ पनि तलबाट सञ्चो मानेर सहयोगी बनिदिन्छे । हामी एकअर्कामा कसिएर घस्किरहेका छौँ । जुनेली रातको शितलतामा पनि हाम्रा शरीरहरु रापिएका छन् । बालुवाको समुद्र, त्यसमाथि झन् यो जुनेली रात– मानो ज्वार र भाटा हौँ हामी दुई । उसलाई अँगालोमा बाँधेर मच्चिउका ती क्षणहरु इन्द्रधनुषझैँ सप्तरङ्गी छन्, सुकोमल छन् । उसको शरीरलाई जहाँ छुन्छु, त्यहीँ फक्रन्छन् दिव्य सुवासमय कुसुम । उसलाई मुसार्दा सङ्गीतका मुच्र्छनाहरु नीरव निःशब्दमा सुस्तरी–सुस्तरी झङ्कृत हुन थाल्छन् ।

मलाई लागिरहेछ, मेरो अँगालोमा छ यतिबेला– जिउँदो यथार्थ, अनुभूतिको सदेह प्रत्यक्षता । आहा ! क्षण यति रागमय हुन सक्दोरहेछ, उल्लास यति परिपूर्ण हुन सक्दोरहेछ । लाग्दैछ, मेरा पुरुषत्वको सार्थकताको कसी त्यो विपरीत लिङ्गी शरीर हो, जो मसित एकाकार भई अथक व्यग्रताका साथ सक्रिय छ यसबेला । सायद हाम्रो वरिपरि जुनेली रात होला अनि हामी दुई जुनेली र अन्धकारझैँ एकअर्काका सम्मिश्रित छौँ । घण्टौ अघिदेखि हाम्रा शरीरहरु यात्रामा थिए, यसबेला हाम्रा शरीरहरुमा घस्रिरहेछ ।

सुस्त–सुस्त मच्चिदै, आह्लादिँदै हामी दुवै त्यो उपत्यकासम्म पुग्छौँ– जहाँका पाखामा विभिन्न थरीका रङ्गीविरङ्गी फूलहरु ढकमक्क छन् । मानो सबै ऋतु, सबै दिक्काल त्यहाँ आएर अडिएका छन् । हरियो छ वैंसजस्तै वन–जङ्गल ! नीलो निःसीम आकाश ! आहा ! स्नायुहरुमा छोइँदैछ सुमधुर सिरिरी बतास, रुखहरु लहलहाएर नाच्दैछन् । थरीथरी सुवासहरु फिँजिएको बतासको बुइँ चढेर हामी दुवै बत्ताउँदै उडिरहेछौँ । एउटा छाँगो छ– ती फूलहरुको उपत्यकाको एकान्तमा । कति सुखद् !… कस्तो दिव्य ! त्यो छाँगोसँगसँगै उड्दै–उड्दै हामी दुवै तलको, निकै तलको गहिरो दहमा गई खस्छौँ– छप्लङ्ग । हामी दुवै त्यो अवर्णनीय सुखको दहमा केही निमेष डुब्दै–उत्रँदै गरिरहन्छौँ । केहीबेरपछि तन्द्रा केही पातलिन्छ, उसले मलाई कसेर समातेकी छे, मैले उसलाई ।

निकैबेरपछि उसलाई छाडेर म उठ्छु, आफ्ना सम्पूर्ण आदिमताहरुलाई टक्टक्याउँदै । पूर्वतिर शुक्र झल्झली झल्मलाइरहेको छ । जुनेली केही मत्थर देखिँदैछ माथि आकाशमा ।

हामी फेरि बालुवालाई कुल्चँदै हिँड्न थाल्छौँ । लगभग पौने घण्टा हिँडेपछि खुजुरका रुखहरुले झुरुप्प ढाकिएको ठाउँ देखिन थाल्छ । अग्लो ख्याउटे मान्छेले कराउँदै भन्यो, ‘आज हामी त्यहाँभन्दा अगाडि जान सक्तैनौँ ।’ मरुद्यानमा पुगेर हामी सबै आश्वस्त भयौँ । थाकेर लोथ परेकाले गान्टे र अग्ले सुत्ने तर्खर गर्न थाले । म एउटा रुखमुनि अडेसिएर बसेँ । स्वास्नीमान्छे पोको राखेर मेरो छेउमा आएर बसी र मैले उसको हात समातेर आफूतिर तानेँ । उसका औँलाहरु निकै नरम र चिसा थिए । उसले आफूलाई ममाथि हलुङ्गोसित छोडिदिई । उसमा भएको स्वास्नीमान्छे गन्धले मलाई फेरि एकतमाससित उन्मादग्रस्त बनाइरहेन्थ्यो ।
विस्तारै केही क्षणअघिको घटना दोहोरिन थाल्यो । म सुस्त–सुस्त फेरि ऊभित्र होमिदै थिएँ र ऊ मभित्र प्रसारित हुँदै जाँदै थिई रक्तधमनीहरुमा । तृप्तिको कुण्डमा अझ एक पटक स्नान गरिसकेपछि हामी दुवै एकअर्कामा खप्टिएर पल्टिरह्यौँ । तिनै क्षणहरुमा, हो तिनै क्षणहरुमा उसले आफ्नो खस्रो रहस्यमय आवाजमा मेरो कानैनिर साउती गरेझैँ भनी, ‘जुन कुरोको लालसामा खसमलाई भेट्न त्यति टाढा जाँदै थिएँ अब त्यसको खाँचो रहेन ।’

‘उसो भए… ?’ प्रश्नसूचक दृष्टिले म ऊतिर हेरिरहन्छु ।

‘लोग्नेलाई भेट्ने इच्छा पूरै ओइलायो । कोही साथी भेटे फर्कने थिएँ,’ उसले आफ्ना चम्किला ठूला आँखा मेरो आँखामा झोस्दै भनी ।

त्यति नै बेला कुन संयोगले हो कुन्नी, केही पर हामी आएको विपरीत दिशाबाट यतै आइरहेका दुई ऊँटसवारहरु देखापरे । ऊँटका गर्धनमा झुण्ड्याइएका स–साना घण्टीहरु खिन्द्रिङ–खिन्द्रिङ बजेका सुनिदैथिए । केही छिनपछि ती दुई यात्रु हामीहरु बिसाएको ठाउँभन्दा सय गज जति पर आएर थामिए । एउटाले ऊँटलाई पानी ख्वाउने मेलो गर्दै पिथयो, अर्को एक छेउमा बिसाएर सुस्ताउन थाल्यो । यता मेरा सहयात्रीहरु फ्वाँ–फ्वाँ निदाइरहेका थिए । मैले स्वास्नीमान्छेतिर अर्थपूर्ण नजरले हेरेँ । उसको मिलेको अनुहारमा हर्ष–विस्मात्, तृप्ति–अतृप्ति, सुख वा दुःखका कुनै भाव प्रकट प्रष्ट थिएनन् । ऊ मसँग उसरी नै बाँधिएकी थिई । थकाइले गर्दा होला ममा निद्रा हावी हुँदै गइरहेन्थ्यो । कतिबेला म भुसुक्क निदाएँ मलाई होसै भएन ।

मेरो निद्रा टुट्दा साह्रै चर्को घाम चारैतिर लागिरहेको रहेछ । मेरा दुई सहयात्री अग्ले र गान्टे अझसम्म मस्त निद्रामा थिए । मैले मसँग टाँसिएकी रुपसीलाई छाम्न हात पसारेँ । तर त्यतापट्टिको कोल्टेतिर बालुवाबाहेक केही नछामिँदा म झस्केँ । जुरुक्क उठेँ म, र रातिको त्यस सुन्दरीलाई यताउता खोज्न थालेँ त। परपरसम्मन् उसको कतै अत्तोपत्तो थिएन । राति ऊँट चढेर आउने यात्रुहरुलाई झल्याँस्स सम्झेँ । केही पर बालुवामा दुई ऊँटका खुरका चिह्नहरु थिए । खुरका चिह्नहरु भने परपरसम्मन् ओछिएका देखिन्थे ।

मैले सहयात्री दुवैलाई ब्युँझाएँ र सबै स्थिति छर्लङ्ग्याएँ । अग्लो ख्याउटे मान्छे र गान्टे दुवै धेरैबेरसम्म केही नबोली चुप लागिरहे । म चाहन्थेँ, उनीहरुले यसबारे आफ्ना प्रतिक्रिया दिऊन् । मैले फेरि खोतलेपछि अग्लो ख्याउटे मान्छेले आतङ्कित अनुहार लाएर भन्यो, ‘कता–कता सुनेको थिएँ, यस मरुभूमिमा मरुभूमिजत्तिकै तृष्णा बोकेकी कुनै आइमाईको आत्मा हिँड्ने गर्छ जुनेली रातहरुमा । जसले बालुवामाझबाट यात्रामा ओहोरदोहोर गर्ने लोग्नेमान्छेहरुलाई रुपवती आइमाई बनेर भोगविलासका लागि उक्साउँछ रे ! कतै हामी त्यसैको फेला त परिएन ?’

उसको कुरा सुनिसकेपछि जिउमा जिरिङ्ग काँडा उम्रेको आफैँलाई थाहा भयो । अग्लो पातलो शोहणमलका कुरामा चाक्लो गान्टे जैचनले पनि सही थाप्यो । केही घण्टाअगाडिको त्यो रक्तिम यथार्थ अहिले मुटु हल्लाउने रोमाञ्च, अनि शरीर कँपाउने सिहरनमा फेरिएको थियो । मैले साथीसङ्गातीबाट सुनेको पहाडतिर लेकका गोठमा गोठालाहरुलाई रुपजालमा फँसाएर सुकाउँदै लैजाने किचकन्नीको कथा सम्झेँ । के उसो भए हाम्रा पहाडी गाउँघरतिर डुलिहिँड्ने किचकन्नीहरु यस्ता विकट मरुभूमिमा पनि हुँदारहेछन् त ?’

मैले त्यो मरुभूमिको यात्रा गरेको अहिले धेरै भइसकेछ तर आज पनि त्यो मैले भोगेकी मांसल स्वास्नीमान्छे किचकन्नी थिई भन्ने कुरा पत्याउन मेरो विवेकले मान्दैन । ऊ किचकन्नी थिई कि द्रौपदी ? ऊ द्रौपदी थिई कि किचकन्नी ? म यसै हो भनी ठोकुवा गर्न सक्ने स्थितिमा छैन ।

(मधुपर्क, पूर्णांक – ३०, जेठ, २०५१)

(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्त्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।

उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच  वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु । 

सङ्ग्रह लाेकप्रिय भए पनि  नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक  तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे आग्रहमा  सङ्ग्रहमा  रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ  क्रमशः प्रकाशित गर्ने याेजना छ ।

प्रमोद प्रधान

यौनकथा सम्पादक