बर्नार्डिन एभारिस्टो

सानो उमेरमै तपाईंले नसोचेको सफलता हात पार्नु भयो भने तपाईं के गर्नु हुन्छ ?
१. आराम गर्नुहुन्छ
२. अझ राम्रो गर्न अभियान थाल्नुहुन्छ
३. आफ्ना पिता-पुर्खाका लागि समय दिनुहुन्छ

बुकर पुरस्कार विजेता उपन्यासकार बर्नार्डिन एभारिस्टोले आफू काला जाति भए पनि बुकर पुरस्कार हात पारिन् तर इतिहासमा आफूले जत्तिकै सम्मानको हकदार केही उपन्यासकारलाई पुनः जीवित पार्ने अभियान थालेकी छन् ।

गर्ल, वुमन, अदर उपन्यासकी सर्जकले ‘ब्ल्याक ब्रिटेन, राइटिङ ब्याक’ शृंखलामा हाललाई ६ जना लेखकका ६ उपन्यासलाई पुनः प्रकाशन गरी बजारमा उपलब्ध गराउने अभियानमा लागिपरेकी छन् । उपन्यासहरू थ्रिलरदेखि ऐतिहासिक विषयमा आधारित रहेको बर्नार्डिनले जनाएकी छन् ।

‘कालाहरूले के लेख्लान् र भनेर उपेक्षा गरिएको थियो,’ एभारिस्टोले भनिन्, ‘नयाँ पुस्ताले ती सिर्जनाका बारेमा बुझ्न र जान्न जरूरी छ । ती ऐतिहासिक पूर्वाग्रह तथा हराएका खजानालाई पुनःस्थापित गर्नु मैले जिम्मेवारीका रूपमा लिएकी छु ।’

पछिल्लो समय काला बेलायतीहरूप्रति मानिसलाई जान्ने रूचि बढेको भन्दै ठीक समयमा यो अभियान शुरू गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् । ती किताबहरू शक्तिशाली रहेको समेत उनले बताइन् ।

पछिल्लो समयमा आफ्नो अधिकारप्रति सचेत लेखकहरूको संख्या बढ्दै गइरहेपछि बेन्जामिन जेफानिया, म्यालोरी ब्ल्याकम्यानसँगै एभारिस्टो पनि भेला भएर ब्ल्याक राइटर्स गिल्डमार्फत् यस विषयमा पैरवी थाले । गिल्डले काला लेखकहरूप्रति गरिने भेदभाव न्यूनता तथा भेदभाव निर्मूलीकरणका लागि काम गर्न प्रकाशकहरूलाई आह्वान गरेको थियो । सन् १९७७ मा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै काला लेखकहरूप्रति गरिने भेदभाव अन्त्यका लागि पहलकदमी गरिरहेकै थियो ।

एभारिस्टोले शुरू गरेको अभियानअन्तर्गत हाल छ वटा उपन्यास बजारमा ल्याउन लागिएको छ । ज्याकलिन रोयको द फ्याट लेडी सिङ्स, एसआई मार्टिनको इन्कम्प्यारेबल वर्ल्ड, सिएलआर जेम्सको मिन्टी एली, निकोला विलियम्सको विदाउट प्रेजुडिस, जुडिथ ब्रायनको बर्नार्ड एन्ड द क्लोथ मंकी तथा माइक फिलिप्सको द डान्सिङ फेस उपन्यास यस क्रममा रहेका छन् ।

पुस्तकलाई पेइन्गुइन रेन्डम हाउसले बजारमा ल्याउने छ । पाउन मुस्किल पुस्तकहरूको यो शृंखलामा छापिएका यी उपन्यासहरू कम्तीमा सय वर्ष पुराना रहेको प्रकाशन संस्थाले जनाएको छ ।