भाग १

हरेक दिन मजदुर बस्तीमा धुवाँ र तेलको गन्ध मिसिएको हावामा कारखानाको साइरनको खस्रो स्वर गुन्जिरहन्थ्यो । त्यस स्वरमा कम्पन हुन्थ्यो । त्यस स्वरको आह्वानमा सानासाना खैरा घरहरुबाट उदास अनुहार भएका मानिसहरु भयभीत साङ्लाहरुझैं सडकमा निस्कने गर्थे । उनीहरुले निद्रा पुग्ने गरी सुतेर आफ्नो थाकेका अङ्गहरुलाई अति आराम पनि दिन पाएका हुँदैनथे । चिसो झिसमिसे उज्यालामा उनीहरु त्यो कच्चा सडक पार गर्दै कारखानाको अग्ला ढुङ्गाका घरतिर लाग्थे, जसले बडो निर्मम तथा निश्चिन्त दृष्टिले उनीहरुको प्रतीक्षा गरिरहेका हुन्थे । हिँड्दा खुट्टामुनि हिलो छ्यापछ्याप गथ्र्यो । उनीहरुको अल्छी लागेको जस्तो खस्रो स्वर सुनिन्थ्यो र फोहोर गालीले ती गन्दा गल्लीहरु गुञ्जिन्थे । अनि अरु आवाजहरु पनि मेसिनहरुको गड्गडाहट र वाफका फक्फक् आवाज हावामा उड्दै आउँथे र यी आवाजसँग मिसिन्थे । अग्लाअग्ला काला चिम्नीहरु अत्यन्त कठोर तथा निराशपूर्ण देखिन्थे । मोटामोटा स्तम्भहरुझैं बस्तीमाथि आफ्नो टाउको उठाएर उभिएका हुन्थे ।

साँझपख अस्ताउन थालेको सूर्यको प्रकाश थाकेथाकेजस्तो घरहरुका झ्यालहरुमा देखा पर्न थालेपछि कारखाना यी मानिसहरुलाई आफ्नो ढुङ्गाका पेटबाट ओकल्थ्यो, मानौं उनीहरु कुनै सफा गरिएका धातुका बचेखुचेका टुक्राहरु हुन् । फोहोर अनुहारमा जताततै कालो लागेका र भोका दाँतहरु चम्काउँदै उनीहरु फेरि त्यहीँ सडक भएर हिँड्थे । उनीहरुको शरीरबाट डिजेलको गन्ध आइरहेको हुन्थ्यो । यसबेला उनीहरुको स्वर उत्साह र उल्लासपूर्ण हुन्थ्यो किनभने एक दिनका लागि यो झ्यालखानाको काम सकिएको हुन्थ्यो । घरमा बेलुकीको खाना र विश्रामले उनीहरुको बाटो हेरिरहेको हुन्थ्यो ।

दिन त कारखानाले निलिहाल्थ्यो, मेसिनहरुले मजदुरहरुको शरीरबाट त्यति शक्ति चुसिसकेका हुन्थे जति उनीहरुका लागि आवश्यक पथ्र्यो । बितिसकेको दिनको जीवनमा कुने चिह्न बाँकी रहँदैनथ्यो । उनीहरु एक पाइलो आफ्ना चिहान नजिक पुगिसकेका हुन्थे । तर अहिले चाहिँ उनीहरु आफ्नाअगाडि मीठो विश्राम र टम्म धुवाँले भरिएको भट्टी मात्र देख्थे र यसैमा उनीहरुलाई सन्तोष मिल्थ्यो ।

बिदाको दिन मानिसहरु दश बजेसम्म सुत्थे । अनि भलाद्मी, विवाहित मानिसहरु आफ्नो सबैभन्दा राम्रो लुगा लगाएर गिर्जाघरतिर लाग्थे र बाटामा धर्मप्रति उदासीनता देखाउने युवाहरुलाई हप्काउँदै हिँड्थे । गिर्जाघरबाट फर्कन्थे, मासुको चप खान्थे र फेरि साँझसम्म सुत्थे ।

वर्षौंदेखि जम्मा हुँदै आएको थकाइले उनीहरुको भोक मारिसकेको हुन्थ्यो, त्यसैले रक्सी पिएर उनीहरु आफ्नो भोक जगाउँथे । कडा भोद्काले पेटको आगो भड्काउँथ्यो ।

साँझपख अल्छी मानीमानी सडकमा घुम्थे । जोसँग रबरको जुत्ता हुन्थ्यो, जमिन सुख्खा भए पनि उनीहरु त्यही जुत्ता लाउँथे र जोसँग छाता हुन्थ्यो, उनीहरु आकाश सफा हुँदाहुँदै पनि छाता लिएर हिँड्थे ।

साथीभाइसँग भेट हुँदा कारखानाबारे, मेसिनहरुबारे कुरा गर्थे, नाइकेहरुलाई गाली गर्थे – खाली कामसँग सम्बन्ध भएका विषयहरुबारे मात्र कुरा गर्थे र सोच्थे । उनीहरुको निरस जीवनमा कुनैकुनै बेला सानातिना उड्दै आइपुगेका विचारहरुका धमिला झिल्काहरु चम्किन्थे । जब उनीहरु घर फर्किन्थे, आफ्ना स्वास्नीहरुसँग झगडा गर्न थाल्थे र अक्सर उनीहरुलाई पिट्ने गर्थे । युवकहरु या त भट्टीतिर लाग्थे, या त आफ्ना साथीहरुको घर जान्थे, जहाँ उनीहरु आकर्डियन बजाउँथे, भद्दा गीतहरु गाउँथे, नाच्थे, गाली गर्थे र रक्सी पिएर मात्तिन्थे । कठोर परिश्रमले चूर भएकाले उनीहरुलाई छिट्टै रक्सी लागिहाल्थ्यो र एउटा नजानिँदो झम्झमाहटले उनीहरुको मुटु पोलिरहेको हुन्थ्यो । यो चिढाइ बाहिर निस्कन छट्पटाइरहेको हुन्थ्यो । त्यसै कारणले मौका पाउनासाथ उनीहरु सानातिना कुराका लागि पनि क्रूद्ध जनावरहरुझै एक दोस्रामाथि जाइलागिहाल्थे र आफ्नो हृदयको आगो पोख्थे । खुब मारपिट चल्थ्यो । अक्सर यस्ता मारपिटहरुमा मानिसहरु सख्त घाइते हुन्थे र कहिलेकाहीँ यस्ता झगडाहरुमा मान्छे पनि मारिन्थे ।
उनीहरुको आपसी सम्बन्धमा शत्रुताको भावना लुकेको हुन्थ्यो । यो भावना त्यत्तिकै पुरानो हुन्थ्यो जति उनीहरुको शरीरको थकाइ । यसका लागि कुनै औषधि थिएन । आत्माको यस्तो रोग उनीहरुले आफ्ना बाबुबराज्यूहरुबाट उत्तराधिकारस्वरुप लिएर आएका हुन्थे र यो रोग छायाँजस्तो चिहानसम्म उनीहरुको साथ लागेको हुन्थ्यो । यसैकारणले उनीहरु आफ्नो जीवनमा त्यस्ता निरर्थक क्रूर कामहरु गर्थे, जुन अत्यन्त घृणित थिए ।
बिदाको दिन युवकहरु राति धेरै अबेला घर फर्कन्थे । उनीहरुका लुगा च्यात्तिएका हुन्थे, माटो र हिलाले पोतिएका हुन्थे, अनुहारभरि घाउ नै घाउ हुन्थे । उनीहरु कहिले बडो दुष्टतापूर्वक कुनै साथीलाई कसरी पिटे भन्ने डिङ हाक्दै आउँथे त कहिले उनीहरुको अनुहार झुकेको हुन्थ्यो र अपमानले पिरोलिएर रोइरहेका हुन्थे ।

रक्सीले चूर भएका उनीहरुको जीवन अत्यन्तै दयनीय, दुःखद् र घृणास्पद हुन्थ्यो । अक्सर आमाबुबाहरु छोराछोरीहरुलाई कुनै झाडीनजिक अथवा भट्टीमा होसहवास गुमाएर पल्टिरहेका पाउँथे । बूढाबूढीहरु उनीहरुलाई नराम्रोसँग सराप्थे, उनीहरुको नरम, रक्सीले शिथिल भएको शरीरमाथि लात र मुक्काको वर्षा गर्थे, अनि उनीहरुलाई घर ल्याएर केही स्नेहसहित पल्टाउँथे, जसले गर्दा भोलि झिसमिसे उज्यालामै कुनै कालो छालाजस्तो त्यस सिटीको कर्कश स्वर हावामा गुञ्जिनासाथ उनीहरुलाई काममा जान ब्युँझाउन सकियोस् ।

आमाबाबुहरु आफ्ना सन्तानलाई बेस्सरी सराप्थे र बडो निर्ममताका साथ कुट्थे, तर मारपिट गर्ने र रक्सी पिउने युवकहरुको यो बानी स्वाभाविकै मानिन्थ्यो । उनीहरुका बाबुहरु पनि आफू जवान हुँदा यस्तै किसिमले कुटपिट गर्थे र रक्सी पिउँथे, उनीहरुका आमाबाबुहरु पनि यसैगरी उनीहरुलाई चुट्ने गर्थे । जीवन सधैं यस्तै किसिमले चल्दै आइरहेको थियो । जीवनको प्रवाह फोहोर पानीको खोलाजस्तै वर्षौंवर्षदेखि यही मन्द गतिमा नियमित रुपले चल्दै आइरहेको थियो । दैनिक जीवन पुराना बानीबेहोरा, पुराना संस्कारहरु र पुराना विचारहरुको गाँठामा बाँधिएका थियो । आफ्नो यो पुरानो परम्परादेखि चल्दै आएको जीवन बदल्ने इच्छा कसैलाई पनि थिएन ।

कहिलेकाहीँ कारखानाको बस्तीमा केही नयाँ मानिसहरु आएर बसोबास गर्थे । सुरुसुरुमा त उनीहरुमाथि ध्यान जान्थ्यो किनभने उनीहरु नयाँ हुन्थे, त्यसपछि उनीहरुले पहिले काम गरेका ठाउँहरुबारे गर्ने वर्णनहरुप्रति सामान्य जिज्ञासा मात्र बाँकी रहन्थ्यो, तर बिस्तारै बस्तीवालाहरुको उत्सुकता मेटिँदै जान्थ्यो र यसरी बस्तीमा उनीहरुले केही समय बिताइसकेपछि उनीहरुमाथि विशेष ध्यान दिन छाड्थे । उनीहरुको वर्णनबाट श्रमिकहरुको जीवन जहाँ पनि एकैनासको हुँदो रहेछ भन्ने कुरा स्पष्ट हुन्थ्यो । यसो हो भने अरु के कुरा गर्ने र ?

तर केही नवागन्तुकहरु यस्तो कुरा गर्थे जुन बस्तीवालाहरुका लागि अनौठो लाग्थ्यो । उनीहरुसँग बहस त कोही गर्दैनथे तर उनीहरुका अनौठा कुराहरु चाहिँ अविश्वासपूर्वक सुन्थे । उनीहरुको कुरा सुनेर कोही चिढिन्थे त कसैको मनमा अस्पष्ट त्रास पैदा हुन्थ्यो, कसैको हृदयमा चाहिँ आशाको धमिलो किरण देखा पर्थ्यो र उनीहरु अझ बढी रक्सी पिउन थाल्थे, जसले गर्दा जीवनको गाँठोलाई अझ जटिल बनाउन यी अनावश्यक आशङ्काहरुलाई पर सार्न सकियोस् ।

नवागन्तुकमा कुने असाधारण कुरा देखा पर्‍यो भने बस्तीवालाहरु ऊसँग असन्तुष्ट रहन्थे र आफूजस्ता नभएका कुनै पनि व्यक्तिसँग सतर्क रहन्थे र यस्तो भान हुन्थे मानौं कसैले उनीहरुको जीवनको यस निरस नियमिततालाई खलबल्याइदेला कि भन्ने उनीहरुलाई डर थियो, जुन जीवन जत्तिकै कठोर भए पनि शान्त चाहिँ थियो । जीवनको बोझ सधैं एकैनासको हुन्छ भन्ने कुरामा मानिसहरुको बानी परिसकेको थियो र कुने पनि प्रकारका परिवर्तनहरुले आफ्नो जीवनस्थितिमा सुधार ल्याउनाको साटो उत्पीडन मात्र बढाइदिन्छ भन्ने उनीहरुको धारणा थियो ।

नयाँ विचार व्यक्त गर्ने मानिसहरुबाट बस्तीवालाहरु चुपचाप पछि हट्थे । अनि यी नवागन्तुकहरु केही समय बिताउँथे र फेरि अन्त कतै लाग्थे । यदि कोही कारखानामा रहे भने पनि या त बिस्तारैबिस्तारै आफ्नै साथीहरुजस्तो भएर जान्थे, या त अरुबाट टाढा रहन थाल्थे ।

करिब पचास वर्षजति यस्तो जीवन बिताइसकेपछि – त्यो मान्छे मर्थ्यो ।

मिखाइल भ्लासोभ पनि यस्तै जीवन बिताउँदै थियो । सधैँ निदाउरो र रिसाहा देखिने यस मिस्त्रीको बाक्लो आँखीभौंमुनिबाट दुई सानासाना आँखा शङ्का र तिरस्कारको भावनाले चम्किरहेका हुन्थे । ऊ काखानाको सबैभन्दा राम्रो मिस्त्री र बस्तीको सबैभन्दा बलियो मान्छे थियो । तर मालिकहरुसँग सधैं झगडा गरिरहने हुनाले ऊ थोरै कमाउँथ्यो । हरेक बिदाको दिन कसै न कसैलाई पिट्थ्यो । कसैले उसलाई मन पराउँदैनथे र सबै ऊसँग तर्सन्थे । उसलाई पनि पिट्ने कोसिस गर्थे तर सक्दैनथे । जब मानिसहरु उसमाथि जाइलाग्दैछन् भन्ने भ्लासोभले देख्थ्यो, ऊ कुनै ढुङ्गो, मूढो अथवा फलामको टुक्रो टिप्थ्यो, अनि दुवै खुट्टा फैलाएर चुपचाप आफ्ना शत्रुहरुको प्रतीक्षा गर्न थाल्थ्यो । रौँले ढाकिएका हातहरु र आँखादेखि घाँटीसम्म फैलिएको बाक्लो कालो दाह्री भएको उसको अनुहारले मानिसहरुको हृदय कँपाउँथ्यो । मानिसहरु सबैभन्दा बढी उसका आँखा देखेर तर्सन्थे । ती सानासाना, तीखा आँखाहरुले मानौं कुनै इस्पातको ज्यावलले जस्तो मानिसहरुलाई चिर्थे । ऊसँग आँखा जुधाउने प्रत्येक व्यक्तिलाई लाग्थ्यो ऊ कुने त्यस्तो दानवीय शक्ति अगाडि खडा छ, जसले उसमाथि बिनाकुनै त्रास अथवा दयामाया हमला गर्न सक्छ ।

“खबरदार, अघि नबढ्, सुँगुर,” – ऊ बम्किँदै भन्थ्यो र उसका ठूलठूला पहेँला दाँतहरु दाह्रीभित्र चम्किन्थे । मानिसहरु तर्सन्थे र डरछेरुवाले झैं उसलाई गाली गर्दै पछि सर्थे ।

“सुँगुर !” ऊ यति मात्र भन्थ्यो । तिरस्कारले उसका आँखा खुकुरीझैं चम्कन्थे । अनि ऊ आफ्नो छाती फुलाउँदै उनीहरुको पछिपछि जान्थ्यो र ठूला स्वरले ललकार्थ्यो ।

“लौ आओ, हेरुँ त को मर्न चाहँदोरहेछ ?”

मर्न त कोही पनि चाहँदैनथ्यो ।

ऊ कमै बोल्थ्यो र सुँगुर उसको सबैभन्दा प्रिय शब्द थियो । ऊ यसै शब्दले कारखानाका मालिकहरु, पुलिसहरु र आफ्नी स्वास्नीलाई सम्बोधन गर्थ्यो ।

“ए सुँगुरनी, देख्दिनस् मेरो पाइन्ट फाटिसकेको छ ?”

जब उसको छोरो पाभेल चौध वर्षको थियो, त्यो बेला उसले एकपल्ट छोराको कपाल भुत्ल्याउन खोजेको थियो । तर पाभेलले एउटा गह्रुँगो मुङ्ग्रो समायो र भन्योः

“लौ, छोऊ त !”

“के भनिस् ?” – बादलको छायाँ भोजवृक्षतिर बढेझैं छोराको अग्लो, दुब्लो र पातलो शरीरतिर बढ्दै उसले सोध्यो ।

“अति भयो,” – पाभेलले भन्यो – “अब म अरु बढी सहन सक्दिनँ ।” यति भनेर उसले मुङ्ग्रो उठायो ।

बाबु चाहिँले छोरालाई ध्यानपूर्वक हेर्‍यो र रौंले ढाकिएको आफ्नो हात पिठ्यूँपछाडि लुकायो ।

“ठीक छ,” – उसले खिसिक्क हाँस्दै भन्यो । त्यसपछि लामो सास फेर्दै भन्यो – “तँ, सुँगुर .. ।”

यो घटना भएको केही समयपछि उसले स्वास्नीलाई भन्यो, “अब मसँग कहिल्यै पैसा नमाग्नू, पाभेलले नै तँलाई पाल्नेछ ।”

“तिमी चाहिँ सब पैसा रक्सीमा उडाउँछौ, होइन ?” स्वास्नीले साहस बटुलेर सोधिन् ।

“तँलाई के वास्ता र चण्डाल्नी ! म कुने रखौटी राखूँला ।”

रखौटी त उसले राखेन तर नमरुञ्जेल करिब दुई वर्षसम्म छोरातिर कुनै ध्यान दिएन र कहिल्यै उससँग कुरा पनि गरेन ।

उसको एउटा कुकुर थियो, ऊजस्तै बडेमाको र झ्यापझ्यापे । त्यो कुकुर हरेक दिन बिहान उसलाई कारखानासम्म पुर्‍याउन जान्थ्यो र साँझ मूलढोकामा उसलाई पर्खेर बस्थ्यो । बिदाको दिन भ्लासोभ एकपछि अर्को भट्टीको चक्कर लाउँदै बिताउँथ्यो । ऊ कसैसँग बोल्दैनथ्यो र मानिसहरुलाई यसरी गढेर हेथ्र्यो, मानौं ऊ कसैलाई खोज्दैछ । कुकुर आफ्नो झ्यापझ्यापे पुच्छर हल्लाउँदै दिनभरि मालिकको पछिपछि दगुर्थ्यो । रक्सीले चूर भएर घर फर्केपछि ऊ बेलुकीको खाना खान बस्थ्यो र कुकुरलाई पनि आफ्नै प्लेटमा खान दिन्थ्यो । ऊ कुकुरलाई न त कहिल्यै गाली गर्थ्यो, न पिट्थ्यो, कहिल्यै सुम्सुम्याउँदैनथ्यो पनि । खाना खाइसकेपछि यदि स्वास्नीले टेबुल सफा गर्न अलिकति मात्र ढिला गरिन् भने ऊ प्लेटहरु भुइँमा फाल्न थाल्थ्यो र आफ्नो भोद्काको बोतल समाती भित्तामा अडेस लागेर बस्थ्यो र आँखा चिम्लेर धोत्रे स्वरमा मुख फाड्दै कुनै उदास गीत गाउन थाल्थ्यो । उसको त्यो उदास, भद्दा आवाज उसको जुँगामै अल्झेजस्तो हुन्थ्यो र त्यहाँ झुन्डिएका रोटीका टुक्राहरु खस्थे । गाउँदा ऊ आफ्नो दाह्री र जुँगा सुम्सुम्याउँथ्यो । उसको गानामा शब्दको मतलब बुझ्न सकिन्नथ्यो र गीतको धुन पनि जाडोमा ब्वाँसो भुकेजस्तो लाग्थ्यो । जबसम्म भोद्काको बोटल खाली हुँदैनथ्यो, उसको गाना बन्द हुँदैनथ्यो अनि त्यसपछि त्यही बेन्चमा गुटमुटिन्थ्यो र टेबुलमा टाउको अडाएर कारखानाको सिठ्ठी नबजुन्जेल सुत्थ्यो । कुकुर पनि उसैको छेउमा पल्टेको हुन्थ्यो ।

हर्नियाको रोगले उसको मृत्यु भयो । मर्नुअघि ऊ पाँच दिनसम्म बिछ्यौनामा बड्बडाइरह्यो । उसको अनुहार कालो भैसकेको थियो र आँखा बन्द थिए । ऊ सधैँ दाँत किटिरहेको हुन्थ्यो । कहिलेकाहीँ ऊ स्वास्नीलाई भन्थ्यो– “मलाई अलिकता विष दे, मारिदे मलाई .. ।”

डाक्टरले भिखाइललाई पुलटिरु बाँध्नुपर्छ भन्यो, साथै उसले यो पनि थप्यो – उसको अपरेसन गर्नु जरुरी छ र त्यसै दिन अस्पताल लानुपर्छ ।
भिखाइलले धोत्रे स्वरमा जवाफ दियो – “सत्यानाश होस् तेरो ! म तेरो मद्दतबिना मर्न सक्छु । सुँगुर कहीँको !”

डाक्टर गैसकेपछि जब स्वास्नीले आँखाभरि आँसु पार्दै लोग्नेलाई अपरेसन गर्न मनाउन थालिन्, उसले स्वास्नीतिर मुक्का तेस्र्याउँदै भन्यो –
“ठीक भएँ भने तेरै हालत खराब हुन्छ ।”

बिहान फैक्ट्रीको सिटी बज्दा उसको मृत्यु भयो । उसलाई शवपेटिकामा हाल्दा उसको मुख खुल्ला थियो र आँखीभौं रीसले तन्किएका थिए । उसकी स्वास्नी, छोरो, कुकुर, दानीला भेसोभनिकोभ (पुरानो रक्सीबाज र चोर, जो कारखानाबाट निकालिएको थियो) र बस्तीका केही माग्नेहरु उसको लास गाड्न गए । स्वास्नीचाहिँ अलिकति रोइन्, त्यो पनि चुपचाप । पाभेल अलिकति नि रोएन । मलामी जाँदा बाटामा भेट भएका बस्तीका मान्छेहरु थामिन्थे र छातीमा क्रसको चिन्ह बनाउँथे ।

“लोग्ने मरेकामा असाध्यै रमाउने छिन्,” उनीहरु भन्थे ।

अरुहरु सही थप्दै भन्थे – “मरेको होइन, कुकुरले सास फेर्न छाडेको हो .. ।”

शव गाडेर मानिसहरु फर्के, तर कुकुर त्यहीँ रह्यो र ताजा माटामा चुपचाप सुँघेर बसिरह्यो । केही दिनपछि कसैले त्यो कुकुर मारिदियो ।

बाबु मरेको दुई हप्तापछि आइतबारको दिन पाभेल भ्लासोभ रक्सीले चूर भएर घर फक्र्यो । ऊ लड्खडाउँदै घरभित्र पस्यो र घिस्रिँदै टेबुलको छेउमा रहेको मेचमा बस्यो, अनि बाबुले जस्तै जोडले टेबुलमा मुक्का हान्यो र चिच्याउँदै आमालाई भन्यो –
“खाना ल्याऊ ।”

आमा छोराको छेउमा आएर बसिन्, उसलाई अँगालो मारिन् र उसको टाउको आफ्नो छातीमा टाँसिन् । तर उसले आमालाई धकेल्दै चिच्यायो –
“आमा छिटो गर ।”

“कस्तो उल्लू केटो रहेछ ।” – आमाले उदास हुँदै बडो स्नेहपूर्वक छोरालाई आफूतिर तान्दै भनिन् ।

“अब म चुरोट पनि पिउन थाल्छु ! मलाई बाको पाइप ल्याइदेऊ !” – बडो कठिनतापूर्वक आफ्नो जिब्रो हल्लाउँदै पाभेल बड्बडायो ।

त्यो दिन उसले पहिलोपल्ट रक्सी पिएको थियो । भोद्काले उसको शरीर शिथिल पारेको थियो । तर चेतना नष्ट भएको थिएन र उसको दिमागमा बारम्बार एउटै प्रश्न दोहोरिँदै थियो, “के मलाई रक्सी लाग्या छ ? के मलाई रक्सी लाग्या छ ?”

आमाको स्नेहले उसलाई असजिलो लाग्दै थियो र उनका आँखाको पीडाले उसको हृदय घोच्दै थियो । उसलाई रुन मन लाग्यो । तर आँसु थाम्न आफूलाई बढी रक्सी लागेको देखाउन कोसिस गर्न थाल्यो ।

आमाले उसको पसिनाले भिजेर अल्झिएको कपाल सुम्सुम्याउँदै भनिन् –

“नपिऊ बाबु तिमी… ।”

पाभेललाई बान्ता हुन थाल्यो । धेरैबेरसम्म बान्ता गरिसकेपछि आमाले उसलाई बिछ्यौनामा पल्टाइदिइन् र पानीमा रुमाल भिजाएर उसको निधारमा पट्टी बाँधिदिइन् । अब पाभेललाई अलि ठीक हुन थाल्यो । तर उसलाई यस्तो लाग्दै थियो, मानौं उसमुनिको जमिन र चारैतिरका सबै कुरा लहराजस्तो घुम्दैछन्, आँखाको पटल कति गह्रौं लाग्दै थियो भने आँखा खोल्न पनि गाह्रो भइसकेको थियो । मुखमा बडो नमिठो स्वाद थियो । उसले बिस्तारै आमाको ठूलो अनुहारतिर हेर्‍यो र सोच्यो, “मलाई लाग्छ, म अझ सानै छु । नत्र किन अरुहरु पिउँछन्, केही हुँदैन, मलाई चाहिँ बान्ता हुन्छ…।”

कतै टाढाबाट उसले आमाको कोमल स्वर सुन्यो ।

“यदि तिमीले पनि पिउन सुरु गर्‍यौ भने मलाई कसले पाल्छ ?”

“सबैले पिउँछन् ..!” उसले आफ्नो आँखा बेस्सरी बन्द गर्दै भन्यो ।

आमाले लामो सुस्केरा हालिन् । ऊ ठीकै भन्दै थियो । उनलाई थाहा थियो – भट्टी नै एउटा त्यस्तो ठाउँ थियो, जहाँ मानिसहरु अलिकति भए पनि रमाउन सक्थे । तैपनि उनले भनिन्, “तिमी नपिऊ छोरा, तिम्रा बाबुले तिमीहरु दुवै जनाका लागि प्रशस्त पिइसकेको छ । उसले मलाई हुनसम्म दुःख दिइसकेको छ । तिमी त आफ्नी आमामाथि दया गर ।”

आमाका यी दुःखित प्रेमपूर्ण शब्दहरु सुनेर पाभेललाई याद आयो – बाबु जिउँदै हुँदा घरमा आमा हिँडेको चालै पाइँदैनथ्यो । उनी सधैं चुपचाप हुन्थिन्, मानौं लोग्नेको पिटाइ पर्खेर बसिरहेकी हुन्थिन् । बाबुको आँखाबाट टाढा रहन ऊ आफैं पनि सकेसम्म घरबाट टाढै रहन्थ्यो र त्यसैले आफ्नी आमाबाट पनि टाढै थियो । अब रक्सीको नशा कम हुन थालेपछि उसले आमालाई गडेर हेर्‍यो ।

अग्लो कद, केही कुप्रो परेको तथा कठोर परिश्रम र लोग्नेको पिटाइले चूर भैसकेको शरीर । उनी एकातिर अलि झुकेर बिस्तारै हिँड्थिन्, मानौं उनलाई सधैं डर लाग्छ – कतै कुनै चिजले ठक्कर लाग्ने त होइन ? बस्तीका धेरैजसो आइमाईहरुजस्तै त्रास र व्यथाले भरिएका उनका काला आँखा र अलि मोटो, चाउरी परेको, चौडा लाम्चो अनुहारलाई प्रकाशित गर्थे । उनको दाहिने आँखीभौंमा घाउको गहिरो दाग थियो, जसले गर्दा आँखीभौं अलि माथि तन्किएको यिो र उनको दाहिने कान बायाँ कानभन्दा अलिमाथि परेजस्तो लाग्थ्यो । यसैले गर्दा तिनको अनुहार सधैं कुनै चिन्ताले ग्रस्तजस्तो देखिन्थ्यो । उनको बाक्लो कालो कपालमा फुलेका रौंका धर्साहरु चम्किन्थे । उनी ममता, शोक र विनीतताको साकार मूर्ति थिइन् .. ।

उनको गालामा बिस्तारै आँसुका थोपाहरु चुहिँदै थिए ।

“नरोऊ आमा,” – छोराले बिस्तारै अनुरोध गर्‍यो – “मलाई पानी पिउन देउ ।”

“म तँलाई बरफको पानी ल्याइदिन्छु ।”

तर आमा फर्कुन्जेल ऊ निदाइसकेको थियो । एकछिन उनले आफ्नो छोरालाई हेरिरहिन् । हातको भाँडो काम्दै थियो, बरफका टुक्राहरु भाँडाभित्र एक आपसमा ठक्कर खाँदै थिए । भाँडो टेबुलमा राखेर उनी चुपचाप देवप्रतिमा अगाडि घुँडा टेकेर बसिन् । बाहिर रक्सीबाजहरुले गरेको हल्ला घरभित्रसम्म सुनिन्थ्यो । शरद् रात्रिको ठन्डी र अन्धकारलाई चिर्दै आकर्डियनको एकनासे आवाज आइरहेको थियो । एउटा धोत्रे स्वरमा गाउँदै थियो, अर्को फोहोर गाली गर्दै थियो, आइमाईहरुको थाकेको र चिढिएको आवाज आउँदै थियो…।

सानो भ्लासोभ परिवारमा जीवन पहिलेभन्दा बढी शान्त र आरामपूर्वक बस्तीका अरु परिवारहरुको दाँजोमा अलि अर्कै तरिकाले चल्दै थियो । उनीहरुको घर बस्तीको पुछारमा पर्ने होचो तर भिरालो पाखामा थियो । त्यो भिरालो धापसम्म पुगेको थियो । घरको एक तिहाइ भागमा भान्सा थियो । त्यही भान्सालार्य बारेर एउटा सानो कोठा निकालिएको थियो, जहाँ आमा सुत्थिन् । बाँकी दुई तिहाइ भागमा दुई झ्याले चारकुने कोठा थियो । त्यस कोठाको एउटा कुनामा पाभेलको पलङ थियो, अर्को कुनामा एउटा टेबुल र दुइटा बेन्चहरु राखिएका थिए । केही मेचहरु, एउटा होचो दराज जसमा एउटा सानो ऐना पनि थियो, एउटा सन्दुस जसमा लुगाफाटा राखिएको थियो, भित्तामा झुन्डिएको घडी र कुनाको तख्तामा झुन्डिएका दुई देवप्रतिमा ! बस यत्ति नै थिए, त्यस घरका भएभरका सामान ।

एक युवकले गर्न रुचाउने सबै कुरा पाभेलले गरिसकेको थियो । उसले एउटा आकर्डियन कमिज, भड्किलो टाई, रबरको जुत्ता र एउटा घडी पनि किन्यो । यस प्रकारले ऊ आफ्नो उमेरका अरु युवाहरुजस्तै देखिन्थ्यो । ऊ साँझ साथीहरुकहाँ हुने नाचगानमा जान्थ्यो । उसले ‘कैड्रिल’ र ‘पोल्का’ नाच नाच्न सिकिसकेको थियो र हरेक आइतबार रक्सी पिएर घर फर्क्रन्थ्यो । तर भोद्काले उसलाई सधैं खराब मात्र गथ्र्यो र सोमबार बिहान जब ऊ उठथ्यो तब उसको टाउको दुःखिरहेको हुन्थ्यो, मुटु पोलिरहेको हुन्थ्यो, अनुहार फुस्रो र मलिन हुन्थ्यो ।

एकपल्ट आमाले सोधिन् –“हिजो खुब रमाइलो भयो बाबु ?”

उसले मुख झुकाएर झर्कदै भन्यो, “अवस्था बडो खराब छ । योभन्दा त बरु माछा मार्न जानु राम्रो । नभए बन्दुक किन्छु र शिकार खेल्न जान्छु ।”

काममा ऊ बडो मिहिनेती थियो । कहिल्यै कामचोरी गर्दैनथ्यो । उसले कहिल्यै जरिवाना तिर्नु परेन । ऊ धेरै कम बोल्थ्यो र आमाकै जस्ता उसका ती ठूलठूला नीला आँखामा सधैं असन्तोषको भावना फैलिएको हुन्थ्यो । उसले न बन्दुक नै किन्यो, न त माछा मार्न नै गयो, तर छिट्टै एउटा कुराचाहिँ स्पष्ट भयो, ऊ त्यस बाटामा हिँडिरहेको छैन, जुन बाटो अक्सर सबैले समाउने गर्छन् । ऊ युवकहरु जम्मा भएर हाँसोठट्टा र रमाइलो गर्ने ठाउँमा कम जान थाल्यो । बिदाको दिन गायब जरुर हुन्थ्यो, तर सधैं रक्सी नपिइकनै फर्कन्थ्यो । आमाको तीखो दृष्टिबाट यो कुरा लुक्न सकेन । छोराको गहुँगोरो अनुहार अझ पातलो हुन थालेको थियो, आँखा अझ गम्भीर भएका थिए र उसका ओठ अनौठो तरिकाले कस्सिएर बन्द भएका हुन्थे । यस्तो लाग्थ्यो, या त भित्रभित्रै कुनै कुराले उसलाई पिरोल्दै छ, या त कुनै रोगले उसलाई सताउँदै छ । पहिलेपहिले साथीहरु उसलाई भेट्न आउने गर्थे, तर अब उनीहरु पनि आउन छाडे किनभने ऊ कहिल्यै घरमा हुँदैनथ्यो । छोरो बडो उत्साहित हुँदै कुनै अर्कै बाटो खोज्दैछ भन्ने कुरा देख्दा आमाको हृदय कुनै अस्पष्ट त्रासले काँपेको हुन्थ्यो ।

“पाभेल, तँलाई सन्चो त छ, छोरा ?” – कहिलेकाहीँ आमा सोध्ने गर्थिन् ।

“सब ठीक छ, आमा !” ऊ जवाफ दिन्थ्यो ।

“कति दुब्लाइसकिस्,” आमा लामो सास फेर्दै भन्थिन् ।

ऊ घरमा किताबहरु लिएर आउँथ्यो र लुकीलुकी पढ्थ्यो । पढिसकेपछि सधैं लुकाउने गर्थ्यो । कहिलेकाहीँ ऊ यस्तो किताबको कुनै भाग सार्थ्यो र त्यो कागज पनि कतै लुकाउँथ्यो .. ।

आमा–छोरा आपसमा कमै कुरा गर्थे र उनीहरुबीच कमै भेटघाट हुन्थ्यो । बिहान ऊ चुपचाप चिया पिउँथ्यो र काममा जान्थ्यो । दिउँसो खाजा खान घर आउँथ्यो । खाँदा आपसमा उनीहरुले सानातिना दुईचार कुरा गर्थे र खाना खाइसकेपछि फेरि साँझसम्मका लागि ऊ गायब हुन्थ्यो । साँझ हातमुख धोएर ऊ खाना खान्थ्यो र किताब समातेर बस्थ्यो । आइतबारको दिन सबेरै घरबाट निस्कन्थ्यो र राती अबेला मात्र फर्कन्थ्यो । ऊ सहर जाने गर्छ भन्ने कुरा आमालार्य थाहा थियो । कहिलेकाहीँ नाटक पनि हेरेर आउँथ्यो, तर सहरबाट कहिल्यै कोही ऊसँग भेट गर्न आएन । आमालाई लाग्थ्यो, ऊ दिन प्रतिदिन झन्झन् कम बोल्न थालेको छ । साथै उनले अनुभव गरिन्, उसले यस्ता नयाँ शब्दहरु प्रयोग गर्न थालेको छ, जसको अर्थ उनी बुझ्दैनथिन् । उनलाई सुन्न बानी परिसकेका भद्दा र रुखा शब्दहरु उसले बोल्न छाडेको थियो । पाभेलको आचरणमा कैयौं त्यस्ता सानातिना नयाँ कुराहरु देखिए, जसप्रति उनको ध्यान जान्थ्यो । उसले ठाँटबाट गर्न छाडेको थियो र आफ्नो शरीर तथा लुगाको सफाइतिर बढी ध्यान दिन थालेको थियो । उसको व्यवहार बढी सिधासादा हुन थालेको थियो । यी सब कुराले गर्दा आमा तर्सेर छोरातिर हेर्थिन् । आमाप्रतिको व्यवहारमा पनि पाभेल बदलिएको थियो – ऊ कहिलेकाहीँ कोठा बढार्ने गर्थ्यो, आइतबारको दिन सधैं आफ्नो बिछ्यौना मिलाउँथ्यो र सधैं आमालाई काममा मद्दत गर्ने कोसिस गर्थ्यो । बस्तीमा अरु कोही पनि यसो गर्दैनथे…।

एक दिन उसले एउटा तस्वीर ल्याएर भित्तामा झुन्ड्यायो । तस्बीरमा तीन जना मानिसहरु बडो गम्भीरतापूर्वक कुरा गर्दै सडकमा गइरहेका थिए ।
“यहाँ इसा पुनर्जीवित भएर एम्माउस जाँदैछन्,” पाभेलले आमालाई तस्वीरको अर्थ बुझाउँदै भन्यो ।

तस्वीर देखेर आमा खुसी भइन्, तर उनले सोधिन् – “ईशालाई त मान्छ, तर गिर्जाघर किन जाँदैन ?”

पाभेलको सिकर्मी साथीले बनाइदिएको राम्रो तख्तामा किताबहरुको सङ्ख्या बढ्दै थियो । कोठा राम्रो देखिन थालेको थियो ।

पाभेल अक्सर आमालाई “मुमा” भन्ने गर्थ्यो र “तपाईं” भनेर सम्बोधन गथ्र्यो, कहिलेकाहीँ मात्र बढी मायालु शब्दले सम्बोधन गर्थ्यो – “आमा, मेराबारे धन्दा नलिनुहोस्, आज राति अलि अबेला फर्कन्छु .. ।”

आमालाई छोराको यो तरिका मन पर्‍यो । उसको शब्दमा उनले दृढता र गम्भीरताको भावना पाइन् ।

तर आमाका आशङ्काहरु पनि बढ्दै गए । हुन त यी आशङ्काहरुको अझ पनि कुनै स्पष्ट कारण थिएन, तैपनि कुनै असाधारण कुराको पूर्वाभासले उनको हृदयको बोझ बढ्दै थियो । कहिलेकाहीँ उनलाई छोरा देखेर दिक्क पनि लाग्थ्यो र सोच्थिन्, “किन ऊ सबैजस्तो छैन ? पूरा साधु बनिसक्यो । सधैं गम्भीर रहन्छ । यस्ता उमेरमा पनि त्यसरी हुन्छ र .. !”

फेरि कहिले सोच्थिन् – कुनै कोटीको फन्दामा त परेन ?”

तर केटीको चक्करमा त पैसाको जरुरत पर्छ, ऊ चाहिँ करिबकरिब आफ्नो सबैजसो तलब आमालाई ल्याएर बुझाउँथ्यो ।

समय बित्दै गयो र यस्तै किसिमले दुई वर्ष बिते – अस्पष्ट विचारहरु र आशङ्कारुले भरिपूर्ण त्यस विचित्र शान्त जीवनमा ती दुई वर्षहरु ।

एक रात खाना खाइसकेपछि पाभेलले झ्यालको पर्दा बन्द गर्‍यो, मेच पछाडिको किलामा लाल्टिन झुन्ड्यायो र कुनामा बसेर पढ्न थाल्यो । आमा भाँडा माझिसकेपछि भान्साबाट निस्किन् र बिस्तारै उसको नजिक गएर बसिन् । पाभेलले टाउको उठायो र प्रश्नसूचक दृष्टिले आमातिर हेर्‍यो ।
“केही होइन पाभेल, त्यसै आएकी ।” – उनले हतारिँदै भनिन् र फेरि छिटोछिटो भान्सातिर लागिन् । सङ्कोचले उनका आँखीभौं फरफराइरहेका थिए । भान्सामा एकछिन टक्क उभिएर सोचविचार गरिसकेपािछ उनले हात धोइन् र फेरि छोराकहाँ गइन् ।
पाभेलले किताब बन्द गर्‍यो ।

“आमा, बस्नुहोस् ।”

आमा छोरासँग गएर बसिन् र तन्किएर, बडो ध्यानपूर्वक कुनै महत्वपूर्ण कुरा सुन्न तयार भइन् । पाभेलले आमातिर नहेरी बिस्तारै किन हो कुन्नी कडा स्वरमा भन्न थाल्यो, “म गैरकानुनी किताबहरु पढ्ने गर्छु । यी किताबहरु पढ्ने गर्छु । यी किताबहरु किन गैरकानुनी हुन् भने यहाँ मजदुरहरुबारे सााँचो कुरा लेखिएको छ । यी किताबहरु गोप्य रुपमा छापिन्छन् र यदि मकहाँ भेट्टाए भने मलाई जेल हाल्नेछन् ..! म साँचो कुरा थाहा पाउन चाहन्छु, त्यसैले जेलमा, बुझ्नुभयो ?”

अचानक आमालाई निस्सासिएजस्तो लाग्यो । उनले बडो ध्यानपूर्वक छोरातिर हेरिन्, छोरा उनलाई बिरानो लाग्यो । अब उसको आवाज पनि पहिले जस्तो थिएन – बढी गहकिलो, बढी गम्भीर र बी गुन्जिलो थियो । अब ऊ आफ्नो पातलो र नरम जुँगा तहलाउँदै यिो । आँखा झुकाएर बडो अनौठो तरिकाले कुनातिर एकटकले हेर्दै थियो । अब आमालाई छोराबारे चिन्ता लागन थाल्यो र उसको माया लाग्न थाल्यो ।

“पाभेल, तँलाई यो सबै कुरा किन चाहियो ?” आमाले सोधिन् ।

उसले टाउको उठाएर आमातिर हेर्‍यो ।

“म साँचो कुरा थाहा पाउन चाहन्छु,” उसले बडो शान्तिपूर्वक जवाफ दियो ।

उसको स्वर कोमल तर दृढ थियो । आँखामा एउटा चमक थियो । आमाले बुझिन्, उनको छोराले जन्मभरका लागि आफूलाई कुनै गोप्य र भयङ्कर काममा सुम्पिसकेको छ । उनलाई परिस्थितिको मार अनिवार्य ठानेर स्वीकार गर्ने र चुपचाप सबै कुरा सहने बानी परिसकेको यिो । उनी बिस्तारै रुन थालिन् । दुःख र बोझले उनको हृदय नराम्ररी दबाएको थियो । तर उनले केही पनि भन्न सकिनन् ।

“नरुनुहोस्, आमा ! पाभेलले कोमल, प्रेमपूर्ण स्वरमा भन्यो । आमालाई लाग्यो, छोरा उनीसँग बिदा माग्दै छ ।

अलिकति सोच्नुस् त, कस्तो छ हाम्रो जीवन ? तपाई चालिस वर्ष भैसक्नुभयो, तर अलिकति पनि सुख देख्नुभएको छ जीवनमा ? बाबुले तपाईलार्य सधैं पिट्थ्यो … । अब मात्रै मैले बुझ्न थालेको छु, आफ्नो सम्पूर्ण दुःख, दर्द, आफ्नो जीवनका सबै कटु अनुभवहरुका लागि तपाईंसँग बदला लिने गर्थ्यो । कुनै कुरा उसको हृदयमा सधैं बोझका रुपमा रहन्थ्यो र उसलाई थाहा थिएन त्यो के कुरा हो । तीस वर्षसम्म उसले यहाँ रगत–पसिना बगायो – उसले यहाँ काम गर्न सुरु गर्दा फैक्ट्रीमा जम्मा दुई घर मात्र थिए, अहिले सातवटा घरहरु भैसकेका छन् ।”

आमा बडो उत्सुकतासाथ मनमनै डराउँदै छोराको कुरा सुन्दै थिइन् । छोराका आँखामा बडो मायालु चमक थियो । टेबुलको किनारामा छाती अड्याउँदै ऊ अगाडि झुकेको थियो र आँसुले भिजेको आमाको अनुहार नजिकबाट हेर्दै उसले सच्याइबारे आफ्नो पहिले भाषण दिएको थियो, जसको ज्ञान उसले हालसालै मात्र पाएको थियो । आफ्ना युवावस्थाको पूरा जोससहित, त्यस विद्यार्थीको सम्पूर्ण उत्साहसहित, जसलाई आफ्नो ज्ञानमाथि गर्व छ, आफ्नो ज्ञानमाथि पूरा आस्था छ, ऊ ती कुराहरुको वर्णन गर्दै थियो, जसबारे उसलाई राम्ररी जानकारी थियो । यस्तो लाग्थ्यो, ऊ आफ्नी आमालाई बुझाउनुभन्दा बढी आफैंलाई जाँच्नका लागि बोल्दै थियो । कहिलेकाहीँ ऊ शब्दको अभावमा टक्क अडिन्थ्यो, तब आमाको त्यस व्यथित अनुहारतिर उसको ध्यान जान्थ्यो । उनको दुई दयालु आँखामा आँसु टलबलाइरहेका हुन्थे । उनी डर र आश्चर्यसहित उसलाई हेर्दै थिइन् । उसलाई आफ्नी आमामाथि दया लाग्यो । ऊ फेरि बोल्न थाल्यो, अहिले ऊ आमा र उनको जीवनबारे बोल्दै थियो ।

“के सुख पाउनुभयो तपाईले ?” उसले सोध्यो ।

आमाले छोराको यो प्रश्न सुनिन् र उदास भएर टाउको हल्लाइन् । उनी एक अनौठो अनुभूति अनुभव गर्दै थिइन् । त्यस अनुभूतिमा वेदना पनि थियो र हर्ष पनि । त्यही आनन्दको भावना, जसले उनको पीडित हृदय सुम्सुम्याउँदै थियो । आफ्नो जीवनबारे यस्तो कुरा उनले पहिलोपल्ट सुनेकी थिइन् र यी शब्दहरुले फेरि एकपल्ट उनै अस्पष्ट विचारहरु बिउँझाइदिए, जुन उनले धेरै अगाडि बिर्सिसकेकी थिइन् । छोराको कुराले जीवनप्रति असन्तोषका ती बिलाउन थालेका विचारहरु फेरि एकपल्ट सजीव भए – युवावस्थाका ती विस्मृत विचार तथा भावनाहरु फेरि एकपल्ट सजीव भए । युवावस्थामा उनले साथीहरुसँग जीवनबारे कुरा गरेकी थिइन्, तर सबै साथीहरु र उनी आफैं पनि खाली गुनासो गरेर सन्तुष्ट हुन्थे । कसैले कहिल्यै बताएन किन उनीहरुको जीवन त्यति गाह्रो छ । तर, अहिले छोरा उनको अगाडि बसेका थियो र उसका आँखा उसको अनुहार, उसका शब्दहरुले जेजति कुरा व्यक्त गर्दै थिए, ती सबै कुराले आमाको हृदय छुँदै थियो । छोराप्रति गर्वको भावनाले आमाको हृदय भरियो, त्यस छोराका लागि जो आफ्नी आमाको जीवन पयति राम्ररी बुझ्छ, जो उनको दुःख दर्दबारे कुरा गर्दैछ, उनलाई माया गर्दैछ ।

आमाहरुलाई कसले दयामाया गर्छन् र !

उनलाई यो कुरा राम्ररी थाहा थियो । आइमाईहरुको जीवनबारे छोरा जे जति पनि बताउँदै थियो, ती सबै कुराहरु एक चिरपरिचित कटुसत्य थियो र उसको कुराले त्यो मिश्रित भावना जन्मायो, जसको असाधारण कोमलताले आमाको हृदय पगाल्दै थियो ।

“त्यसो भए तँ के गर्न चाहन्छस् त ?” – आमाले छोराको कुरा काट्दै सोधिन् ।

“सबैभन्दा पहिले त आफैं पढ्छु, अनि अरुहरुलाई पढाउन थाल्छु । हामी मजदुरहरुले पढ्नैपर्छ । किन हाम्रो जीवन पयति कठिनाइले भरिएको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ र बुझ्नुपर्छ ।”

सधैं गम्भीर र कठोर देखिने छोराका नीला आँखाहरु अहिले कोमलता र स्नेहले चम्केका देख्दा आमालाई खुसी लाग्यो । आमाका चाउरी परेका गालामा अझै पनि आँसुका थोपाहरु चम्किँदै थिए, तर उनको ओठमा एक शान्त मुस्कुराहट फैलिएको थियो । उनको हृदयमा द्वन्द्व मच्चिँदै थियो । एकातिर त उनलाई आफ्नो त्यस छोरामाथि गर्व थियो, जो जीवनका कटुताहरु यति राम्ररी बुझ्थ्यो, अर्कातिर उनलाई यस चेतनाले सताउँदै थियो – छोरा केटै छ, ऊ जस्तो कुरा गर्दैछ, त्यस्तो अरु कोही पनि गर्दैन र ऊ एक्लैले त्यस जीवनको विरुद्ध सङ्घर्ष गर्ने अठोट गरेको छ, जुन जीवनलाई उनले र अरु सबैले अनिवार्य मान्दै सहँदै आएका छन् । उनलाई भन्न मन लाग्यो – “तर छोरा, तँ गर्ने पो के सक्छस् र ?”

तर उनले यसो भनिन् । अलि बिरानैजस्तो भए पनि यति समझदार रुपमा देखा परेको आफ्नो छोरालाई उनी मुग्ध भएर हेर्दै थिइन् ।

आफ्नी आमाको ओठमा मुस्कुराहट, अनुहारमा मनन्को भावना र आँखामा ममता देख्दा पाभेलले बुझ्यो, आमालाई आफ्नो कुरा बुझाउन सफल भएछ । आफ्नो शब्दको शक्तिमा रहेको युवोचित गर्वले उसको आत्मविश्वास बढाइदियो । ऊ ठूलो जोसले बोल्दै थियो र कहिले आँखीभों खुम्चिन्थे त कहिले उसको स्वर घृणाले भरिन्थ्यो । उसको शब्दमा गुँजिएको कठोरता सुनेर आमालाई डर लाग्थ्यो र उनी टाउको हल्लाउँदै बिस्तारै सोच्थिन्, “हो र पाभेल ?”

“हो, आमा,” ऊ दृढतापूर्वक जवाफ दिन्थ्यो । पाभेलले ती मानिसहरुबारे बताउन थाल्यो जसले जनताको भलाइका लागि उनीहरुबीच सच्याइको बीउ रोप्थे र यसका लागि जीवनका शत्रुहरु हिंस्रकझैं उनीइहरुको पछि लाग्थे, उनीहरुलाई जेलमा ठुँस्थे र निर्वासनमा पठाउँथे ।

“मैले त्यसता मानिसहरुलाई चिनेको छु,” उसले ठूलो जोससहित भन्यो – “यिनीहरु विश्वका उत्कृष्ट व्यक्तिहरु हुन् ।”

यस्ता मानिसहरुको विचारले उनको मुटु काँप्यो र फेरि एकपल्ट छोरालाई सोध्ने इच्छा भयो – “हो र ?”

तर उनले आँट्न सकिनन् । उनी सास रोकेर ती व्यक्तिहरुबारे सुन्दै थियन्, जसको कुरा उनी बुझ्दैनथिन् तर उसले उनको छोरालार्य यस्ता भयङ्कर कुराहरु बोल्न र सोच्न सिकाएका थिए । अन्तमा गएर उनले भनिन् – “उज्यालो हुन ाथालिसक्यो, अब तँ एकछिन सुत् छोरा ।”

“अहिले पल्टन्छु,” उसले भन्यो । फेरि आमातिर झुक्दै भन्यो – “आमा, बुझ्नुभयो तपाईले मेरो कुरा ?”

“हो बुझेँ,” उनले टाउको हल्लाउँदै जवाफ दिइन् । फेरि आँसुको धारा बग्न थाल्यो र अचानक उनले जोडले भनिन् – “बरबाद होलास् तँ, बाबु ।”

पाभेल उभियो र कोठामा ओहोरदोहोर गर्न थाल्यो । उसले एकछिनपछि भन्यो, “आमा, अब म के गर्छु र कहाँ जान्छु भन्ने सबै कुरा थाहा पाइसक्नुभयो । मैले तपाईंलाई सबै कुरा बताएँ । आमा, यदि तपाईले मलाई माया गर्नुहुन्छ भने मेरो एउटै मात्र प्रार्थना छ, मेरा बाटामा बाधा नदिनुहोसु ।”

“मेरो छोरा,” आमाले रुँदै भनिन्, “बरु तैँले मलाई केही नभनेको भए जाती हुन्थ्यो ।”

पाभेलले आमाको हात आफ्नो हातमा लियो र सुम्सुम्याउन थाल्यो । उसले जति प्रेमसहित ‘आमा’ भनेको थियो र जुन नयाँ तथा अनौठो तरिकाले आज पहिलोपल्ट उनको हात सुम्सुम्याएको थियो, त्यसले आमाको हृदय गद्गद् भयो ।

“म तँलाई बाधा दिन्नँ छोरा,” उनले भावविह्वल हुँदै भनिन्, “तर आफ्नो हेरविचार गरेस् ।”

तर, उनलाई थाहा थिएन कुन कुराबाट छोरालाई आफ्नो बचावट गर्नुपर्ने हो, त्यसैले फेरि भनिन् – “तँ दिन प्रतिदिन दुब्लाउँदै गैरहेको छस् ।”

उनले आफ्नो छोराको सुडौल शरीरमा प्रेमपूर्ण दृष्टि दौडाउँदै छिटोछिटो तर मन्द स्वरमा भनिन् – “तँ जे ठीक ठान्छन् त्यसै गर् । म तेरो बाटामा बाधा दिन्नँ । तर म तँलाई बिन्ती गर्छु । कोसँग कुरा गर्दैछस् भन्ने सधैं याद गर् । तैले मान्छेहरुबाट सावधान हुन सिक्नुपर्छ । मानिसहरु एक दोस्राप्रति घृणा गर्छन् । उनीहरु लोभी हुन्छन्, एक दोस्राको डाह गर्छन्, जानाजानी अर्कालाई दुःख दिन्छन् । यदि तँ उनीहरुलाई साँचो कुरा बताउँछस् भने उनीहरुले तेरो घृणा गर्न थाल्ने छन् र तँलाई बिताउने छन् ।”

पाभेल ढोकामा उभिएर आमाको वेदनापूर्ण कुरा सुन्दै थियो र जब आमाले आफ्नो कुरा सकिन्, मुस्कुराउँदै भन्न थाल्यो – “हो आमा, तपाईले ठीकै भन्नुभयो, मानिसहरु खराब हुन्छन् । तर जब मैले थाहा पाएँ, संसारमा सच्चाइ भन्ने पनि कुरा हुँदो रहेछ, तब मान्छेहरु मलाई असल लाग्न थाले ।”

ऊ फेरि मुस्कुरायो र भन्न थाल्यो – “म आफैँलाई थाहा छैन कसरी यस्तो हुन गयो । सानै उमेरदेखि म सबैसँग तर्सन्थेँ । ठूलो हुन थालेपछि कसैलाई उसको नीचताका लागि घृणा गर्न थालेँ त कसैलाई थाहा छैन किन हो, त्यसै घृणा गर्न थालेँ । तर अब सबै कुरा बदलिएजस्तो लाग्छ । हुन सक्छ, मलाई मान्छेहरुमाथि दया लाग्छ ? आफैँलाई थाहा छैन, तर जबदेखि मैले बुझ्न थालेँ आफ्नो पाशविकताका लागि सधैं मानिसहरु स्वयम् दोषी हुँदा रहेनछन्, मेरो हृदय पग्लन थाल्यो .. ।”

ऊ बोल्दाबोल्दै बीचैमा थामियो, मानौं आफ्नो अन्तरात्माको आवाज सुन्दै थियो, अनि बडो शान्त स्वरमा भन्न थाल्यो – “यस्तो हुँदो रहेछ सच्चाइको प्रभाव ।”

“हे ईश्वर ! कस्तो भयङ्कर तरिकाले तँ बदलिएछस्,” आमाले छोरातिर हेर्दै लामो सुस्केरा हालिन् ।

ऊ निदाइसकेपछि आमा आफ्नो बिछ्यौनाबाट उठिन् र बिस्तारै उसको नजिक गइन् । पाभेल उत्तानो पल्टिएको थियो र सेतो तकियाको पृष्ठभूमिमा उसको गहुँगोरो अनुहारको गम्भीर तथा कठोर रुपरेखा स्पष्ट देखा पर्दै थियो । नाङगा खुट्टा र सुत्ने लुगा लगाएकी आमा छातीमा हात बाँधेर उसको अगाडि उभिएकी थिइन् । मौन प्रार्थना गरिरहेका उनका ओठ हल्लिरहेका थिए र गालामा आँसुका ठूलठूला थोपाहरु चुहिँदै थिए ।

फेरि पहिलेजस्तै उनीहरुको जीवन चल्न थाल्यो । दुवै चुपचाप एक दोस्राबाट टाढा हुँदाहुँदै पनि नजिक ।