रूसी साहित्यलाई विश्वभर पुर्याउन, जनजनको हृदयको तारलाई झङ्कृत पार्न जति भूमिका यी महान् साहित्यकारले खेलेका छन्, तिनका सन्तान के गरिरहेका होलान् भन्ने चासो धेरैलाई हुने गर्छ । तिनका सन्तान वा नाति, पनाति र खनातिहरूका बारेमा यहाँ सानो चर्चाको प्रयास गरिन्छ ।
अलेक्ज्याण्डर पुस्किन

पुस्किन
महान् रूसी कवि पुस्किनको ३७ वर्षकै उमेरमा देहावसान भए पनि उनका तर्फबाट एक छोरा अलेक्जेन्डर र छोरी नताल्या जन्मिएका थिए । उनको देहावसानपछि उनकी पत्नीले अर्को विवाह गरेर थप दुई सन्तान भने जन्माएकी थिइन् ।

अलेक्जेन्डर र नाताल्या
नताल्याकी छोरी सोफियाले जार निकोलस प्रथमका नातिसँग बिहे गरेकी थिइन्। जसलाई एक साधारण व्यक्तिसँग बिहे गर्नुपर्दा देश छोड्न बाध्य पारिएको थियो। र, अहिले पुश्किन-रोमानोभ परिवारका सन्तानहरू बेलायतमा बस्छन्। तीमध्ये एक, उदाहरणका लागि, वेस्टमिन्स्टरको सातौं ड्यूक ह्यू रिचर्ड लुइस ग्रोसेभेनर, बेलायतका सबैभन्दा कान्छो अर्बपति मानिन्छ। अर्बपति यी बालकका कथाहरू भने प्रेसबाट टाढै राखिएको छ ।

मारिता फिलिप्स
पुश्किन-रोमानोभका अर्का सन्तान र अंग्रेज कुलीन वर्गकी सदस्य मारिता फिलिप्सले आफ्नो प्रख्यात पूर्वजको कामप्रति चासो देखाएर “पुश्किन” भन्ने ओपेरा नाटक समेत लेखेकी थिइन्।

ह्यु रिचार्ड लुइस ग्रोसभेनर
पुस्किनका पछिल्लो प्रत्यक्ष वंशज अलेक्ज्याण्डर पुस्किनलाई मानिन्छ। उनी बेल्जियममा बस्छन् । उनी परोपकारी छन् र बेल्जियममा रूसी नोबेलिटी युनियनका अध्यक्ष समेत रहेका छन् ।

अलेक्जेन्डर पुस्किन र मारिया मेडेलिन डुर्नोभो
संयोगवश, पुस्किनले अर्को प्रत्यक्ष वंशज मारिया-माडेलेइन दुर्नोभोका साथ विवाह पनि गरेका छन्।
लियो टोल्सटोय

लियो टोल्सटोय
विश्वभर सबैभन्दा बढी रूचाइएका लेखक र नेपाल तथा भारतमा पनि उत्तिकै आदर गरिनेमा टोल्सटोय पनि एक हुन् । टोलस्टायका १३ सन्तान र असंख्य नातिनातिनाहरू थिए। टोलस्टाय परिवार आज पनि रसियामा सबैभन्दा धेरै संख्यामा भएका परिवार मध्येको एक हो।
सन् १९१७ को क्रान्तिपछि यी लेखकका धेरै सन्तानले देश छोडे । त्यसैले आजका दिनमा टोल्सटोयका सन्तानहरू विश्वभरि छरिएका छन्। प्रत्येक दुई वर्षमा, २०० भन्दा बढी संख्यामा टोल्सटोयका सन्तानहरू टोल्सटोयको पारिवारिक सम्पत्ति भएको ठाउँ यास्नाया पोल्यानामा भेला हुने गरेका छन् । त्यहाँ एउटा सानोतिनो मेला नै लाग्ने गर्छ ।

फ्योक्ला टोल्सटाया

प्योत्र टोल्सटोय
रूसमा नै रहेका टोल्सटोयका सन्तानहरूमध्ये सबैभन्दा चर्चित व्यक्तिहरूमध्ये दुई जनालाई मानिन्छ । तीमध्ये फ्योक्ला र प्योत्र टेलिभिजन प्रस्तोताका रूपमा निकै लोकप्रिय छन् ।फ्योक्लाले लियो टोल्सटोयका सिर्जनाहरूलाई हिजोआज डिजिटल अभिलेखीकरण गर्ने परियोजनाहरूलाई सहयोग गरिरहेकी छन् । उता प्योत्र भने रूसको संसदको तल्लो सदनका सांसद छन् ।
त्यसो त टोल्सटोयका अर्का सदस्य भ्लादिमिर पनि कम चर्चित छैनन् । उनले लामो समयसम्म टोल्सटोयको संग्रहालय निर्देशकका रूपमा काम गरेका थिए । हाल उनी रसी राष्ट्रपति भ्लादिमिर पुटिनकत्र सांस्कृतिक सल्लाहकारका रूपमा काम गरिरहेका छन् ।
यसैगरी टोल्स्टोयका अर्का वंशज लन्डनमा बसिरहेका छन् । उनी फोटोग्राफी गर्छन् । ओलेग टोल्सटोयले प्रख्यात सेलिब्रिटीहरूका तस्बिर खिचेका छन् । जसमध्ये एल्टन जोनको तस्बिर निकै चर्चित छ । यास्नाया पोलियाना पारिवारिक जमघटमा उनले टोल्सटोयका सन्तानहरूको एउटा एल्बम नै तयार पारेका थिए।
फ्योदोर दोस्तोएभस्की
दोस्तोएभस्कीका चार सन्तान थिए । तीमध्ये दुईको बालापनमै नै मृत्यु भयो ।

ल्युबोभ दोस्तोएभस्काया
दोस्तोएभस्कीकी छोरी ल्युबोभ सन् १९१७ मा भएको अक्टोबर क्रान्तिपछि भागेर युरोप बसाईं सरेकी थिइन् । उनले ‘दोस्तोयभ्स्की एकर्डिङ टु हिज डटर’ नामक संस्मरण लेखिन् । केहीले भने सो संस्मरणको चर्को आलोचना गरेका थिए । आलोचकहरूका अनुसार, उनको संस्मरणमा थुप्रै तथ्यात्मक गल्तीहरू छन् ।

जुनियर दोस्तोएभस्की
दोस्तोएभस्कीका छोरा फ्योदोरले आफ्ना बुबाजस्तै लेखक बन्न कोसिस गरे तर उनी यस क्षेत्रमा सफल हुन सकेनन् । उनले आफ्ना बुवाले लेखेर राखेका अनेकन् लेखनीहरू संरक्षण भने गरे । त्यसअघि उनकी आमाले ती सबै लेखनीको संरक्षण गर्ने गरेकी थिइन् ।
दोस्तोएभस्कीका सन्ततिमध्ये एक दिमित्री हाल सेन्ट पिटर्सबर्गमा बस्छन्। एउटा अन्तर्वार्तामा दिमित्रीले भनेका थिए, “अरूले मानून् या नमानून्, तर धेरैले चाहिँ म मेरा प्रख्यात लेखक कुप्रा बाजस्तै देखिन्छु भनेर हौस्याउने गरेका छन् र कहिलेकाहीँ मलाई आफू फ्योदोरजस्तै लाग्छ ।’
दिमित्रीले युनिभर्सिटी शिक्षा प्राप्त गरेनन् । फ्योदोरले पनि “औपचारिक शिक्षा” लिएका थिएनन् ।
भ्लादिमिर मयाकोभस्की

भ्लादिमिर मायाकोभ्स्की
रूसी कविताको रजत युगका प्रख्यात कवि भ्लादिमिर मयाकोभस्कीलाई मानिन्छ । उनी आकर्षक मात्र थिएनन्, त्यो बेला सेक्स सिम्बोलका रूपमा उनलाई लिइन्थ्यो । उनको जीवनशैली प्ले ब्वाईभन्दा कम थिएन ।

निकिता लेभिन्स्की
उनी निकै विवादित रहे । उनका दुई विवाहेत्तर सम्बन्धबाट जन्मिएका सन्तान थिए । तीमध्ये एक थिए, निकिता लेभेन्स्की । निकिताकी माता एलिजावेता लेभिन्स्काया थिइन् । निकिता उनकी आमाजस्तै पछि चर्चित मूर्तिकार बने ।
निकिताका सन्तान भ्लादिमिर र एलाजावेता पनि पछि कलाकार बने ।

पेट्रिसिया थम्सन
मायाकोवस्कीकी एक जना छोरी थिइन्, पेट्रिसिया । उनी अमेरिकामा जन्मिएकी थिइन् । खासगरी मायाकोवस्कीको अमेरिका भ्रमणताका एली जोन्स नामक युवतीसँगको रोमान्सबाट पेट्रिसिया जन्मिएकी थिइन् । हुन त पेट्रिसियाले ९ वर्षको उमेरमा आफ्ना वास्तविक पिता को हुन् भनी थाहा पाएकी थिइन् तर निकै पछि मात्र १९९१ मा उनले आफ्ना वास्तविक पिताका बारेमा खुलासा गरेकी थिइन्, मायाकोभस्की इन म्यानहट्टन पुस्तकमार्फत् । न्युयोर्क भ्रमणताका यी कवि आउँदाका घटना र आफ्नो जीवनको उथलपुथलबारे यो पुस्तक पेट्रिसियाले लेखेकी थिइन् । सन् २०१६ मा उनको निधन भइसकेको छ ।
भ्लादिमिर नबोकोभ

भ्लादिमिर नबाेकोभ
भ्लादिमिर नबोकोभले आफ्नै बुवाको नामलाई आफ्नो नाम बनाएका थिए । उनका बुवा संवैधानिक लोकतान्त्रिक पार्टीका नेतामध्ये एक थिए । त्यो बेलाका चर्चित र धनी परिवारमा उनको जन्म भएको थियो । उनका पिता अक्टोबर क्रान्तिका नेता लेनिनका प्रखर विरोधीमध्ये एक थिए ।
त्यसैले उनको परिवार गृहयुद्धकका बेला रूसबाट भाग्नु पर्यो । पछि उनको हत्या भयो ।

दिमित्री नबोकोभ
बुवाको हत्यापछि भ्लादिमीर नाबोकोभ जर्मनी, अमेरिका र स्विजरल्याण्डमा लामो समयसम्म बसे । लेखक नबोकोभका एक मात्र छोरा दिमित्री बर्लिनमा जन्मेका थिए। दिमित्रीले आफ्ना बुवाका कयौँ पुस्तकहरूको प्रारम्भिक अनुवाद गरेका छन् । उनका कार्य र महानतालाई उनले जहिल्यै संरक्षण गरे । उनले कतिपय अप्रकाशित कृतिहरू सन् २००९ मा प्रकाशन गरे । भलै नबोकोभ ती चिज छाप्न चाहँदैन थिए । दिमित्रीको सन् २०१२ मा निधन भयो । उनका कुनै सन्तान थिएनन् ।
दिमित्रीले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनी केही समय ओपेरा गायकका रूपमा काम गरे भने रूसी भाषा सिकेर उनले केही समय अमेरिकी जासुसी संस्था सिआइएका लागि कामसमेत गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

