(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।
यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)
कविताको सन्दर्भमा आफ्ना केही मान्यताहरू
कवितालाई निश्चित परिभाषाभित्र बाँधेर म यसको स्वतन्त्रतालाई हनन् गर्ने पक्षमा छैन । कवितालाई म जहिले पनि निर्बन्ध देख्न यस कारण रूचाउँछु कि मलाई लाग्छ- स्वभावैले कविता बग्दो खोला हो- जम्दो पोखरी होइन ।
मेरो कविताको विषय, उद्देश्य र आग्रह पनि मान्छे हो । यस अर्थमा मान्छेसँग जोडिएर आउने प्रेम, घृणा, आक्रोश र वेदनाजस्तै सामाजिक, आर्थिक वा राजनैतिक पक्षहरू पनि स्वाभाविक रूपमा त्यत्तिखेर मेरा लागि ग्राह्य हुन्छन्- जतिखेर म कविता लेखिरहेकै हुन्छु ।
कवितामा सकेसम्म भाषाको सरल प्रयोगलाई म रूचाउँछु र त्यसै रूपमा कला पक्षलाई जोगाउन पनि सचेत रहने गर्छु । कारण, लेखन व्यक्तिगत कार्य भए तापनि सार्वजनिकता साहित्यको गुण हो भन्ने म ठान्दछु ।
मौलिकता, लेखनको सन्दर्भमा अपरिहार्य विषय हो । एउटै समय र एउटै विश्वको बासिन्दा हुनुको कारण विषयवस्तुमा समानता भेटिन पनि सक्दछ । यस अर्थमा, प्रस्तुतिको ढंगमा मौलिकता खोजिनु पर्दछ । यसलाई अझ कसरी पनि भन्न सकिन्छ भने- भात वा तरकारी सबैको घरमा पाक्छ तापनि स्वादमा विभिन्नता भेटिन्छ । स्वादको त्यो भिन्नता जसले अरूबाट आफूलाई छुट्याउँछ, त्यही निजी टेक्निक (शिल्प वा प्रविधि) नै लेखनको सन्दर्भमा मौलिकता हो । म यही टेक्निकलाई महत्त्व दिने गर्दछु ।
राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच
कविता जीवनको एक विशिष्ट यात्रा हो
श्यामल
In the dark times
Will there also be singing?
Yes, there will aslo be singing
About the dark times.
– Bertorlt Brecht
(Motto: Collected Poems)
कविता मानव जीवनको विशिष्ट यात्रा हो । त्यो यात्रा जसको प्रस्थानदेखि पहुँचसम्मको गति विशिष्ट हुन्छ र अनुभव अद्भूत हुन्छ । त्यस्तो यात्रा जसमा जीवनले आफूलाई पुनः खोज गर्दछ र जहाँ शब्दहरुले विशिष्ट अर्थ प्राप्त गर्दछन् तथा प्रदान गर्दछन् ।
मानिस वा मानव समूहभित्र अन्तर्निहित यथार्थको त्यस्तो अन्वेषण नै कविता हो जसलाई अनावृत्त गर्न विशिष्ट दृष्टिसम्पन्न कलाकारको जरुरी हुन्छ किनभने यो यथार्थ सामान्यतः अनुद्घाटित हुन्छ ।
मानव संस्कृतिको इतिहासमा कविताको सत्ता निरन्तर कायम देखिन्छ । संस्कृतिको मानवीयताका सन्दर्भमा कविताको योगदान अमानवीय वृत्तिहसँग गरिने कठोर र अनवरत संघर्षमा स्पष्ट हुनेछ । त्यसैले कविताको परम्परा मानवको त्यस विवेकसँग सम्बद्ध छ, जसका निम्ति मेरा पूर्वज, अग्रज र समकालीन पुस्ताले युद्ध गरिरहेका छन् ।
कविता मानवीय वा अमानीय वृत्तिहरुको मूक साक्ष्य होइन । ऊ स्वभावतः राम्रोका निम्ति संघर्ष गर्छ । तसर्थ असल कवि सत्ताको दास हुनु सम्भव छैन । समकालीन नेपाली कविताको जाँचका निम्ति पनि यो पक्ष मापक बन्नेछ । क्षणिक अहंतुष्टिका निम्ति स्वविवेकलाई पराधीन तुल्याउनेहरुले आफ्नो संवेदनशीलताको विनाश व्यहोर्नुपर्छ, जहाँबाट उसको आत्मसमर्पण वा पतनको शुरुवात हुन्छ । तसर्थ, समर्थ कविहरु अमानवीय दृष्टि र मूल्यहरुका विरुद्ध स्वयं सांस्कृतिक आन्दोलनको अगुवाइ गर्दछन् र त्यस वृहत् मानवीय भावनामा एकीकृत हुन्छन्, जसले मानिसका निम्ति कवितालाई अपरिहार्य तथा जीवित बनाउँछ ।
मैले आत्मसमीक्षा गरेसम्म मेरो कविता यही संघर्षको परम्परालाई अवलम्बन गर्दछ । आधुनिक नेपाली कविताका तीन महारथीहरु लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र भूपि शेरचनले तयार पारेको कविताको राजमार्गको म पनि एउटा यात्री हुँ भन्ने बोध मलाई धेरै पटक भएको छ । म यथासम्भव, त्यस उत्कृष्ट परम्परालाई उन्नत पार्ने सिर्जनात्मक अभियानमा संलग्न रहनेछु, मेरा केही सक्षम सहधर्मीहरु पनि सचेततापूर्वक/दृढतापूर्वक लागेका छन् ।
दुष्टगाथा
श्यामल
ध्यान मुद्रामा
जसले देख्न सक्छ
बलात्कारको सपना
र मन्दिरको देवतासामु उभिएर
जसले वर माग्न सक्छ
आफ्नो दीर्घायुको
जसलाई थाहा छ– कता छैन ईश्वर
तर जसले किरिया खान्छ
ईश्वरको नाममा सयौँ पटक
जसको महलको जगमा छन्
करोडौँ मानिसका
कंक्रीट भइसकेका खप्परहरु
र जसले उभ्यायो बंगला
अरुका स–साना घरका भित्ताहरुबाट
झिकेर इँटहरु
सुन्नोस् दुष्टागाथा ।
यो सुन्दर पृथ्वी
र यसका जंगलका हरिया फाँटहरु
अग्ला–अग्ला हिउँका पहाड
जोडले बग्ने नदीहरु
र खेतका पहेँलपुर फाँटहरु
सबैको सौन्दर्य निचोरेर
जसले पिउन सक्छ
गर्मी याममा चिसो सर्बत
जसले जाडो छल्न सक्छ
ओढेर न्याना कम्बलहरु
जसले सुटुक्क चोर्न सक्छ
अरुका आँखाका नानीहरु
र जसले गाउन सक्छ
सन्ध्याकालमा भजन
जसले आफ्ना तीखा नङले झिकेर फाल्छ
आफ्नो पुरानो काँचुली
तपाईंहरु पनि सुन्नोस्
दुष्ट गाथा !
जहाँतहीँ,
गाउँ–शहर, जततातै,
फैलिन्छ, दुष्गाथा हरेक प्रहर
मानिसको शरीरमा पढ्न सकिन्छ– दुष्टगाथा
वायु तरङ्गबाट सुन्न सकिन्छ– दुष्टगाथा ।
रेडियोलाई थाहा छ
यो कुन दुष्टको मौसम हो
क्यासेटमा सुरक्षित हजारौँ दुष्टहरु
अर्को नयाँ दुष्टको प्रतीक्षामा छन्– दराज
र, अर्को दुष्ट नयाँ काँचुलीमा प्रकट हुन्छ
अखबारको सम्पादक
अफिसको हाकिम
र अरु/अरु
लिपिबद्ध गर्दैछन् दुष्टगाथा
कृपया सुन्नोस्– दुष्टगाथा
यो बन्द गर्न
अघि बढेको जुलुस
तितरवितर भइसक्यो
र चालु छ, सुन्नोस्, दुष्टगाथा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।