साहित्यकार गोपालप्रसाद रिमाल (वि.सं. १९७५–२०३०) सामाजिक यथार्थवादी नाटककार हुन् । पाश्चात्य साहित्यका हेनरिक इब्सेनका अनुशरण गरी लेखिएका यिनका नाटक संख्यात्मक रुपमा कम भए पनि गुणात्मक रुपले धेरै अगाडि रहेको छ । ‘मसान’ (२००३) र ‘यो प्रेम’ (२०१५) नाटक, ‘आमाको सपना’ (२०२०) कवितासंग्रह र ‘माया’ (२०१०) एकांकी उनका प्रमुख कृतिहरु हुन् । २००३ सालमा प्रकाशित उनको ‘मसान’ नाटकले आधुनिक नेपाली नाटकमा सामाजिक यथार्थवादको सुरुवात गरेको पाइन्छ । आधुनिक नाट्य इतिहासमा मसान नारी विद्रोहको बिगुल घन्काउने पहिलो नाटक हो । पुरुषप्रधान तत्कालीन समयमा नारीहरुलाई अबला र पुरुष आश्रित ठानिन्थ्यो । उनीहरुको खासै मूल्य नै थिएन । नारीलाई खैलोनाको रुपमा हेर्ने र प्रताडन दिने समाजमा नारीहरुको बोल्ने आँट खासै हुँदैनथ्यो र बोले पनि पोथी बासे अलच्छिन लाग्छ भनेर उनीहरुको आवाज दबाइन्थ्यो । यस्तो समयमा पनि पुरुष वासनाकोे विरुद्ध र मातृत्वको रक्षाका निम्ति विद्रोह गर्ने नारी चरित्रलाई यस नाटकले मुख्य विषय बनाएको छ ।

मसान नाटक अघिल्लो आधा र पछिल्लो आधा गरी दुई अङ्कमा लेखिएको लघुनाटक हो । दुवै अङ्कमा ५/५ दृश्यहरु छन् भने अन्त्यमा उपसंहार भनेर लेखिएको छ । पात्रविधानका दृष्टिले कृष्ण, युवती (हेलेन), दुलही प्रमुख छन् भने भोटु, वाग्मती, सासुससुरा, कृष्णकी बहिनी अदि पात्रहरु छन् । यिनै पात्रहरुले नाटकलाई मूर्त रुप दिएको छ ।

कथावस्तुः

कृष्ण र युवती (हेलन) बीच विवाह भएको लामो समय हुँदासम्म सन्तान हुँदैन । उनीहरुले सन्तान अभाव पूरा गर्न नजिकको भानिज पर्ने भोटुलाई धर्मपुत्रको रुपमा पालेका छन् । भोटुलाई देखेपछि युवतीमा मातृवात्सल्य झन् बढेर आउँछ र आफ्नै सन्तानको चाहा हुन्छ । कृष्णले युवतीलाई अत्याधिक प्रेम गर्दछन् । श्रीमानबाट प्रेम पाए पनि सन्तानसुख भने तिनले पाउन सकिनन् । पुत्रबाट पाउने सन्तुष्टि भानिजबाट पाउन सक्ने कुरै भएन, त्यसैले श्रीमानलाई अर्को विवाह गरेरै भए पनि सन्तान प्राप्तिका लागि आग्रह गर्छिन् । कृष्णले युवतीको आग्रहलाई स्वीकार गरेर विवाह गर्छन् तर दुलहीलाई भने माया दिन सक्दैनन् । दुलहीलाई माया गर्न आग्रह गरे पनि कृष्ण युवतीतिर मात्र बढी आकृष्ट हुन्छन् त्यसकारण यहाँबाट सौतेनी डाहाको बीजारोपण भएको छ । बल्लबल्ल कृष्णले दुलहीसँग शारीरिक सम्बन्ध राखी एउटा छोरो जन्माउँछन् । छोरा जन्मिएपछि श्रीमानको माया पाइन्छ कि भन्ने आशा दुलहीमा रहेको हुन्छ तर श्रीमानको माया नपाएपछि त्यही कुण्ठाको कारण दुलही बिरामी हुन्छे । उनले सौता र सासूले आफ्नो जीवन बिगारेको दोष लगाउँछे । युवती र आमाले दुलहीप्रति प्रेमप्रकट गर्न कृष्णलाई आग्रह गर्छन्, तथापि कृष्णमा कुनै परिवर्तन देखिँदैन । पतिप्रेमको अभावका कारण जन्मिएको कुण्ठा र पीडाले दुलहीको मृत्यु हुन्छ । दुलहीलाई प्रेम नगरेर अन्याय गरेको र दुलहीलाई प्रेम गर्नुपर्ने युवतीको हठलाई देखेर कृष्णले ‘दुलहीलाई भन्दा धेरै तिमीलाई अन्याय गरेको छु’ भनी आफूले सन्तान नहुने औषधी खुवाएको रहस्योद्घाटन गर्छन् । युवतीलाई जीवनभर प्रेम गरिरहन्छु भनी वाचा गर्छन् । आफूलाई श्रीमानले अति प्रेम गरेको कल्पनामा रहेकी युवती छाँगाबाट खसे झैँ हुन्छिन् । आफू र बहिनी ठूलो अन्यायमा परेको महशुस गर्छिन् । यहीँबाट नारी विद्रोह जन्मन्छ ।

आफूलाई अति प्रेम गरेको तर मातृत्व हरण गरेको, बहिनीलाई सन्तान जन्माउने यन्त्र बनाएको र प्रेम नदिएर तड्पाई तड्पाई मारेको कुराले युवतीमा कृष्णप्रति घृणा उत्पन्न हुन्छ । नारीलाई सन्तान उत्पादन गर्ने यन्त्र र यौनप्यास मेटाउने साधन बनाएकोमा युवतीमा आक्रोश उत्पन्न हुन्छ । नारीलाई जिउँदै दागबत्ती दिइने यस्तो घर घर नभएर मासान हो भन्दै विद्रोह गरेर युवती सदाको निम्ति घर त्यागेर जान्छिन् । कथाको मुख्य कथावस्तु यही समाप्त भए पनि वाग्मती र कृष्णकी बहिनीको कथामा पनि साथमा जोडिएको छ । दुवै नारीहरु पुरुषबाट प्रताडित छन् । वाग्मती श्रीमानले सौता ल्याएको कारण कृष्णको घरमा नोकर्नी बनेकी छ भने कृष्णकी बहिनी वेश्यगामी पतिको अत्यचारको सिकार बनेकी छ । दुवैले विद्रोह गर्न नसकेका कारण चुपचाप अन्याय सहेर बसेका छन् ।

गणेश तामाङ

यस नाटकको कथावस्तु हेर्ने हो भने पुरुष पीडित नारीहरुको समस्यग्रस्त जीवनको यथार्थता प्रस्तुत गरिएको छ । नारी समस्याले भरिएको सामाजिक यथार्थमा आधारित यस नाटकमा नारी विद्रोह र क्रान्तिचेतना पाइन्छ ।

नारी विद्रोहः

प्रस्तुत नाटकमा नारीलाई यौनतृष्णा मेट्ने साधनको रुपमा हेर्ने पुरुष प्रवृत्तिको विरुद्ध विद्रोह गरिएको छ । नारीलाई प्रकृति भनिन्छ । प्रकृतिमा उत्पादनशीलता हुन्छ भने नारीमा पनि त्यो उत्पादनशीलता हुन्छ । नारी सृजनाकी खानी हुन् । सन्तान प्राप्तिको इच्छा राख्नु नारीको नैसर्गिक अधिकार हो । मातृवात्सल्यको लालसमा नारीहरु आफ्नो जीवन पुरुषलाई सुम्पन्छन् । यस नाटकमा नारीलाई पुरुषको वासना शान्त पार्ने साधान, सन्तान उत्पादन गर्ने यन्त्र, अबला भनेर हेप्ने प्रवृत्ति, नारीलाई केवल खेलौना मान्ने समाज र हैकमवादी पुरुष प्रवृत्तिको विरोध गरिएको छ । युवतीलाई माया अति भएको छ र मातृत्व खोजेकी छे भने दुलहीले दया होइन माया खोजेकी छे । श्रीमानको माया पाउन तड्पिएकी छे तर पाएकी छैन । युवतीले कृष्णलाई अनेक आग्रह गर्दा पनि दुलहीलाई प्रेम दिन सकेको छैन ।

युवती, “हरे ! के गर्या तपाईँले यो? यस्तो अन्याय पनि गर्नु हुन्छ ? …………………. त्यसरी फर्काइदिनुभन्दा त बरु यीँ ठहरै मारिदिनुभएको भए हुन्थ्यो ।……………. बिचरीलाई किन बिहे गरेको त ?” (अघिल्लो आधा, दृश्य ५ःपृ.२७)

यसरी युवतीले कयौँपटक दुलहीलाई माया गर्न आग्रह गरेकी छन् ।

कृष्णले आफूले गरेको गल्तीलाई स्वीकार्दै भन्छन्, “तिमीलाई जति अन्याय मैले उसलाई गरेको छैन । तिमीलाई म सब कुरा एक एक गरेर भनिदिन्छु …………………… तिमीलाई थाहा नै छैन, हेर न तिमीले छोराछोरी नपाएको मैले गरेर । मैले छोराछोरी नपाउने औषधी खुवाएर …………… ….” (दृश्य ३ःपृ.५३,५४)

कृष्णले आफूमाथि घोर अन्याय गरेको हुँदा युवतीमा विद्रोह जन्मन्छ । आफू मायाको गङ्गामा पौडदै गरेको भनेकोे तर भासमा परेको कुरा बहिनीलाई भन्छे, “तिमीलाई भन्दा मलाई अन्याय भएको छ ।” (पृ.५९) । युवतीमा सहनशक्ति गुमेको छ र उनी घर छोडेर जाने निश्चय गरेर म जान लागेँ (पृ.६०) भन्छे । कृष्णले रोक्न खोज्दा उनले विद्रोह गर्छे । कृष्णले मलाई यो सहन नसक्ने सजाय दिन लाग्यो भन्छन् । युवतीले कृष्णलाई सजाय दिन सक्ने तागत आफूसँग नभएकाले बहिनी मरेकी भनेर विरोध गरेकी छिन् । नारीले कसुरदारलाई पनि सजाय दिन नपाउने कुरा गर्छिन् (पृ.६१) । मैले मसान छोड्न नपाउने ? (पृ६२) भन्दै युवतीले घर त्यागेकी छन् ।

हाम्रो समाजमा महिला हिँसाको चरम् रुप अहिले पनि प्रशस्तै देख्न सकिन्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा हरेक महिलाले हिँसा भोगेकै छन् । शारीरिक दुव्र्यवहारभन्दा मानसिक रुपमा दिइने यातना कयौँ गुणा डरलाग्दो हुन्छ । कयौँ नारीहरुले अन्यायलाई चुपचाप सहेरै बसेका छन् । घरेलु हिँसामा परेका कयौँ नारीहरुको आवाज इज्जतको नाउँमा दबिएका र दबाइएका छन् । आफूलाई परेको अन्याय सहेर नभई विद्रोह गरेर आफू स्वतन्त्र हुन सक्नु पर्दछ । यस नाटकमा युवतीको स्वस्नीमान्छेहरु पनि निर्भय हिँड्न सक्छन् (पृ. ६१) भन्ने भनाइले नारीहरु पुरुषको सहाराविना पनि बाँच्न सक्ने कुरालाई जोडेको छ ।

नारीलाई धर्ती भनी सहनशीलताको प्रतीक मानिन्छ । जब प्रकृतिमाथि अन्याय हुन्छ तब प्राकृतिक प्रकोप देखिन्छ जसलाई रोक्न मानिसलाई गाह्रो हुन्छ । नारी अन्याय चरमरुपमा पुगेपछि विद्रोह हुन्छ र त्यो विद्रोह कसैले रोक्न सक्दैन ।

आज यो नाटक प्रकाशन भएको ७४ वर्ष भैसकेको छ । तत्कालीन समाज र अहिलेको समाजमा व्यापक परिवर्तन आएको छ । त्यो समयमा नारीले गरेको त्यो विद्रोह अत्यन्त ठूलो हो । समय परिवर्तन भयो, पात्रहरु परिवर्तन भए, पुस्ताहरु बिते, नारी अधिकारका कुराहरु व्यापक रुपमा उठे तर महिला हिँसा अन्त्य हुनुको साटो झन् बढ्दै गएको देखिन्छ । दिनदाहाडै बलात्कृत हुने, एसिड आक्रमण, यौन दासी, देह व्यापार, साइबर अपराध लगायत कयौँ नारी हिँसाका घटना घटेका छन्, यसको विरुद्धमा पनि विद्रोह हुनु आवश्यक देखिन्छ । नारीहरुले यस सम्बन्धमा विद्रोह गर्नु जरुरी छ । पुरुषको विरोध गरेर मात्र नारी हिँसाको अन्त्य हुँदैन, यसको निम्ति दुवै हातेमालो गरेर अघि बढ्नु जरुरी छ ।

यसप्रकार यस नाटकले सामान्य परिवर्तन होइन आमूल परिवर्तन खोजेको छ । लेखक हिँसाको सहन होइन विद्रोह गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् । विद्रोह नगरेसम्म समस्या रहिरहने लेखकको विचार छ । नेपाली साहित्य जगतमा प्रस्तुत नाटक नारी समस्यामा केन्द्रित रही विद्रोहको विगुल घन्काउने सामाजिक यथार्थवादी नाटक बन्न सफल भएको छ ।

अन्त्यमा गायक जे.बी. टुहुरेले गाएको गीतः

आमा दिदी बहिनी हो कति बस्छौ दासी भै
युगको सँधै प्यासी बनेर………….. मा भनिए झैँ सृष्टि रच्ने सृजनाकी खानी नारीहरु अन्याय सहेर होइन विद्रोह गर्नुपर्छ भन्ने क्रान्तिकारी स्वर यस नाटकमा पाइन्छ ।

(नाटकका अंशहरु साझा प्रकाशनबाट प्रकाशित मसान नाटककोे अठारौँ संस्करण २०६३ बाट लिइएको हो ।)