३ मार्च १९९३ । घामले लुकामारी खेलिरहेको थियो । तरेली परेका पहाडहरुमा घरि घरि घाम लाग्ने, घरि घरि हुस्सुले छोप्ने क्रम चलिरहेको थियो । हामी भने राजकुमारी डायनाको स्वागतको लागि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थियौं ।

राजकुमारी डायना नेपाल भ्रमणमा हुनुहुन्थ्यो । आफ्ना पति युवराज चार्ल्ससँग अलग्गिएको केही महिना जति पछि भएको डायनाको पहिलो विदेश भ्रमण भएकाले त्यो भ्रमणलाई विश्वभरि नै निकै चासो र उत्सुकताका साथ हेरिएको थियो । विश्वका प्रमुख सञ्चारमाध्यमका प्रतिनिधिहरु सयौंको संख्यामा नेपाल ओइरिएका थिए । विश्वमै चर्चित प्रिन्सेस अफ वेल्स डायनाको भ्रमण त्यसै पनि सदा चर्चामा रहने नै गर्छ ।

उहाँको छोटो भ्रमणका कार्यक्रमहरुमध्ये धनकुटास्थित पाख्रीबास कृषि केन्द्रको संक्षिप्त भ्रमण पनि परेको थियो । बेलायत सरकारद्वारा सञ्चालित यो कृषि अनुसन्धान केन्द्र धनकुटा जिल्लाको पाख्रीबासमा अवस्थित थियो– प्रसिद्ध पर्यटकीय स्थल हिलेको नजिकै । पाख्रीबास पुग्न त्योबेला हिलेबाट करिब एक घण्टा जति ओरालो हिँड्नुपथ्र्यो । अहिलेको जस्तो पाख्रीबास जान सडक र मोटर सुविधा थिएन । बेलायत सरकारको ओभरसिज डेभलपमेण्ट एड्मिनिस्ट्रेसन (ओ.डी.ए.) द्वारा सीधै सञ्चालित आयोजना भएकोले पनि होला, राजकुमारी डायनाको नेपाल भ्रमण कार्यक्रममा यस केन्द्रको भ्रमणलाई पनि समावेश गरिएको थियो ।

पवन आलोक

तिनताका म पनि उक्त केन्द्रमा प्रमुख सूचना अधिकृतको रुपमा काम गर्थें । ब्रिटिस नागरिक जोन टोलर्भी केन्द्रका डाइरेक्टर थिए भने अमेरिकी नागरिक पिटर रुडलगायत केही विदेशीहरु विशेषज्ञका रुपमा काम गर्थे । केन्द्रमा थुप्रै नेपाली विशेषज्ञहरु र प्राविधिकहरुलगायत सयौंको संख्यामा कर्मचारीहरु कार्यरत थिए । कृषिका विविध क्षेत्रमा व्यापक अनुसन्धान गरी उन्नत कृषि प्रविधिका माध्यमबाट पूर्वाञ्चलका पहाडी जिल्लाहरुका जनताको आर्थिक एवं जीवनस्तर उकास्ने केन्द्रको लक्ष्य थियो ।

राजकुमारीको भ्रमणको तयारी भइसकेको थियो । केन्द्रबाट सञ्चालित विभिन्न कार्यक्रमहरु र तिनका उपलब्धीहरुका अलग अलग कक्षहरुको निरीक्षणपश्चात् गेष्टहाउसमा सवारी चलाउने र त्यहा केन्द्रका निर्देशक उपनिर्देशक, विभागीय प्रमुखहरु एवम् सल्लाहकारहरुका साथ जलपानको कार्यक्रम राखिएको थियो । राजकुमारीको भ्रमणभन्दा केही दिनअघिदेखि नै केन्द्रमा सुरक्षाकर्मीहरुको चहलपहल पढ्न थालिसकेको थियो । धनकुटाका प्रमुख जिल्ला अधिकारी, सेना र प्रहरीहरुका साथै ब्रिटिस दूतावासका उच्च अधिकारीहरु आउने जाने गरिरहेका थिए । भ्रमण भने १ घण्टाको मात्रै थियो । तर तयारी भने व्यापक थियो ।

पाख्रीबासको मौसमको कुनै भर हुँदैन । एकैछिनमा घाम लाग्छ, एकैछिनमा हुस्सुले छोप्छ – बेलायतमा जस्तै । केन्द्रभित्रको वातावरण हेरेर बेलायत देखेका मान्छेहरु भन्ने गर्थे – यो त मिनी इङ्ग्ल्याण्ड नै रहेछ । हुन पनि केन्द्रको त्यो विशाल क्षेत्रलाई अत्यन्त सुन्दर तरिकाले निर्माण गरिएको थियो । बाटाघाटा, बगैंचा, घरहरु, अफिसहरु, सुविधाहरु झण्डै बेलायतकै जस्तै लाग्थे । पहाडको टुप्पोमा रहेको नागिचौरदेखि तल बेंसीसम्मै झण्डै डेढ सय रोपनी क्षेत्रफलमा फैलिएको थियो यो केन्द्र । बीचको एउटा डाँडालाई सम्याएर हेलिप्याड बनाइएको थियो । पाख्रीबासको डाँडाभरि सिजनमा ढकमक्क पैंयौं फुलेर अति सुन्दर देखिने गर्छ । बीचमा अफिसहरु र त्योभन्दा माथिल्लो भागमा कर्मचारी आवासहरु थिए । बाँकी क्षेत्रलाई कृषि अनुसन्धानको निमित्त छुट्याइएको थियो । केन्द्रको विभिन्न पहाडी जिल्लामा पनि कृषि अनुसन्धानका कामहरु निरन्तर चलिरहेको थिए ।

राजकुमारी डायनाको स्वागतको लागि ब्रिटिस दूतावासका अधिकारीहरु, धनकुटाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरु, जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु, पाख्रीबास कृषिकेन्द्रका निर्देशक, उपनिर्देशक विभागीय प्रमुखहरु, सल्लाहकारहरु, विशेषज्ञहरुलागयत सम्पूर्ण कर्मचारीहरु आ–आफ्नो स्थानमा प्रतीक्षारत थिए । नेपाली मिडियाका केही प्रतिनिधिहरु पनि समाचार संकलनको लागि आएका थिए । सबैको नजर आकाशतर्फ थियो । मौसम पनि क्रमशः उग्रँदै थियो । अलि पर आकाशमा एउटा हेलिकप्टर आइरहेको देखियो । अनि आएर हेलिप्याडमा बस्यो । त्यसमा सुरक्षाकर्मीहरु रहेछन् । खालि हेलिकप्टरहरुलाई हिलेको आर्मी क्याम्पमा राख्ने प्रबन्ध गरिएको थियो । एकैछिनमा अर्को हेलिकप्टर आयो । त्यसमा यति लामा लामा लेन्ससहितका क्यामरा र ट्राइपट तेस्र्याउँदै विदेशी पत्रकारहरु निस्किए । राजकुमारी डायना विश्वमै अति चर्चित व्यक्तित्व, त्यसमा आफ्ना पनि युवराज चार्ल्ससँग अलग भएपछिको पहिलो विदेशयात्रा भएकोले विश्वका प्रमुख समाचारपत्र, टेलिभिजन र अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरु लण्डनदेखि नै पछि लागेर आएका थिए ।

बल्ल चीरप्रतिक्षित हेलिकप्टर आयो – राजकुमारी डायनालाई लिएर । हामी सबैमा डायनालाई नजिकबाट हेर्ने उत्सुकता थियो । हेलिकप्टरको ढोका खुल्यो र डायनाबाहिर निस्कनुभयो । उपस्थित व्यक्तित्वहरुले फूलका माला र गुच्छाले स्वागत गरेपछि पञ्चकन्याले पनि उहाँको स्वागत गरे । मैले देखें – डायनाको अनुहार केही गम्भीर, केही मलिन झैं लाग्थ्यो । पहिले पहिले टेलिभिजनमाको पर्दामा देखेको झैं चहक थिएन । घरि घरि हल्का मुस्कान छाड्दै अगाडि बढ्नुभयो । उहाँका साथमा बेलायत सरकारका वैदेशिक विकास मन्त्री व्यारोनेस लिन्डा चकर र नेपालबाट सवारीमन्त्रीका रुपमा खटिनुभएका तत्कालीन मन्त्री रामहरि जोशी पनि आउनुभएको थियो । केन्द्रका निर्देशक जोन टोलर्भीले उहाँको सवारी चलाउनुभयो । सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो ।

राजकुमारीलाई भ्रमण गराउन तयार पारिएका विभिन्न कक्षहरुको एक एक गरी भ्रमण गराइयो । केन्द्रको कृषि अनुसन्धानबाट पूर्वी पहाडी क्षेत्रमा परेको सकारात्मक प्रभावबारे सम्बन्धित विभागीय प्रमुखहरुले डायना र भ्रमणसाथ आउनुभएका मन्त्रीहरुलाई ब्रिफिङ गराएका थिए । भ्रमणको अन्त्यमा राजकुमारीलाई केन्द्रको गेष्ट हाउसमा सवारी चलाइयो । केन्द्रका विभागीय प्रमुखहरु, उपनिर्देशक र सल्लाहकारहरु डायनाको स्वागतका लागि लामबद्ध भएर उभियौं । निर्देशकले हाम्रो परिचय दिँदै जानुभयो र राजकुमारीले हामीहरुसँग क्रमैसँग हात मिलाउँदै अगाडि बढ्नुभयो । अनि हामी सबै उहाँको सम्मानमा आयोजित जलपान समारोहमा सहभागी भयौं । जलपानको क्रममा राजकुमारी डायना यताउति सबैसँग कुराकानी गरिरहनुभएको थियो । अहिले भने उनको अनुहार स्वाभाविक हाँसो र चहकता देखिन्थ्यो । करिब १ घण्टाको यो भ्रमणपछि राजकुमारी फर्कनुभयो ।

एक  जना मेरा मित्रले ठट्टा गर्दै हामीसँग भन्नुहुन्थ्यो – डायनासँग मिलाएको यो हात त केही दिनसम्म धुँदै नधोऊँ कि क्या हो ?

डायनाजस्तो विश्वप्रसिद्ध व्यक्तित्वलाई प्रत्यक्ष भेटेर स्वागत गर्दै उहाँसँगको १ घण्टाको सामीप्य हाम्रो लागि अविस्मरणीय थियो ।

राजकुमारी डायनाले युवराज चार्ल्ससँग अलग्गिएपछि पहिलो विदेशभ्रमणको लागि नेपाल नै छानेकोमा तत्कालीन सरकार खुसी देखिन्थ्यो । तत्कालीन युवराज दिपेन्द्रले डायनालाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए र राजा वीरेन्द्र र रानी ऐश्वर्याले डायनालाई शान्त रात्रिभोजको लागि नारायणहिटी राजदरबारमा निम्त्याएका थिए । नेपालले राजकुमारीको भ्रमणलाई उच्च प्राथमिकता दिएको र झण्डै विदेशी रानीलाई गरिनेखालकै स्वागत गरिएको थियो । युवराज पतिबाट अलग भएको कारणले डायनाको भ्रमणलाई नेपालले खासै महत्व दिँदैन कि भन्ने पनि ब्रिटेनमा अड्कल गरिएको थियो रे । तर त्यस्तो भएन । उनको स्वागत भव्य रुपमा गरिएको थियो ।

नेपालको भ्रमणको त्यो ५ दिनमा डायनाले नेपाल रेडक्रस, भी.एस.ओ. अफिस, आनन्दवन लेप्रोसी अस्पताल, धरानको घोपा अस्पताल, ब्रिटिस गोर्खा हेडक्वार्टर/वेलफेयर क्याम्प, बुढानिलकण्ठ स्कूल आदिको भ्रमण गर्नुभयो । एक वर्ष अगाडि पाकिस्तान एअरलाइन्स दुर्घटना भएको स्थल (जहाँ १ सय ६७ जना यात्रुको दुःखद् निधन भएको थियो र त्यसमध्ये ३४ जना ब्रिटिस नागरिक परेका थिए) को पनि भ्रमण गरेर मृतकहरुको आत्माको चीरशान्तिको लागि डायनाले प्रार्थना गर्नुभएको थियो ।

पाँच दिने नेपाल भ्रमणपछि उहाँ फर्कनुभयो । केही विदेशी पत्रकारहरुको भनाइअनुसार नेपाल भ्रमणपछि डायना निकै फ्रेस देखिन्थिन् ।

राजकुमारी डायनाको असामयिक निधनले विश्व नै स्तब्ध भएको थियो । वास्तवमा डायनाको सुन्दरता र चमत्कारिक व्यक्तित्वले गर्दा उनी संसारमै प्रसिद्ध थिइन् ।

सन् २०१२ को जुन महिनामा म फ्रान्सको राजधानी पेरिस भ्रमणमा छँदा हाम्रो गाइडले डायनाको दुर्घटना भएको ठाउँ देखाएको थियो । त्यो ठाउँ देखेर मैले डायनाको पाख्रीबास भ्रमण सम्झें, उनको दुःखद् निधनमा मनमनै शोक व्यक्त गरें र श्रद्धाञ्जली दिएँ ।

नेपाललाई माया गर्ने राजकुमारी डायनाप्रति हार्दिक श्रद्धाञ्जली ।