“ल म भोलि आउँदिनँ । कक्षामा हल्ला नगरीकन यो पाठ लेखेर बस्ने है !”

“कहाँ जाने हो र सर ?”

“मेरो तालिम छ भोलि ।”

“हुन्छ सर,” एकैचोटी निस्केको सबैको आवाजले कक्षा कोठा गुञ्जायमान भयो ।

“आहा, आज त कति मज्जा ! दुइटाको मात्रै होमवर्क छ ।”

“किन ? आज अरु पढाइ भएन र !” आडैमा बसेर फेसबुक चलाउँदै गरेका रोहनका बाबाले सोधे । तर उनको ध्यान भर्खरै रोहनलाई सोधेको यो प्रश्नको उत्तरको प्रतीक्षामा भन्दा नि फेसबुक चलाउनमा बढी थियो ।

“अँहँ, आज त पहिलो पिरियड पढाउने सर तालिममा जाने भन्दै हुनुहुन्थ्यो । दोस्रो र पाँचौं पढाउने मिसले बाबु पाउनुभा’छ । घरमै हुनुन्छ रे ! पढाउन आउनुभा’कै छैन । तेस्रो र छैटौं पिरियड पढाउने सरको आफ्नै इक्जाम भ’र आउनुभएन ।”

रोहनको बाबाको फेसबुकको भित्तामा दगुरिरहेको आँखा एक्कासि रोकियो । स्क्रोल गर्नमा व्यस्त औंला पनि टक्क अडियो । उनी आँखा झिमिक्कै नगरी कसैले पोस्ट्याएको स्टाटस हेरिरहे । स्टाटससँगै फोटो पनि । त्यो फोटो अरु कसैको नभएर रोहनको कक्षा शिक्षकको थियो । क्याप्सनमा लेखिएको थियो “आजको दिन निकै अविस्मरणीय र फलदायी रह्यो ।” उनको पछाडि टाँगिएको ब्यानरमा ठूला–ठूला अक्षरमा लेखिएको थियो । ‘फलानो पार्टी’ को प्रशिक्षण कार्यक्रम । प्रमुख अतिथि: केन्द्रीय सदस्य ‘फलानो पाटी’ । कार्यक्रम मिति पनि आजकै थियो ।

उता रोहन, बाबाले आफ्नो कुराको केही प्रतिक्रिया नदिएपछि छेवैमा आएर सोध्यो, “बाबा के भयो ? किन हो र केहि नबोल्नु भा ?”
उसको नजर मोबाइलमा बाबाले हेरिराखेको फेसबुकमा गयो ।

“यो त हाम्रो क्लास टिचर हो । खै म पनि हेर्छु,” भनेर बाबाको हातबाट मोबाइल फ्वात्त थुत्छ । सरको ब्याकग्राउण्डमा रहेको ब्यानरमा उसको नजर जान्छ । त्यसलाई गौर गरेर पढ्न थाल्छ । उसको मनले तालिम शब्द खोजिराखेको थियो त्यहाँ । तर भेटेन । यसपछि बाबालाई मोबाइल दिएर चुपचाप ऊ त्यहाँबाट निस्कन्छ ।

भोलिपल्ट सर कक्षामा आइपुग्नेबित्तिकै आफूले हिजो गर्न दिएको कक्षाकार्य सबैसँग माग्छन । रोहनले आफूले कक्षाकार्य नगरेको बताउँछ ।
“किन नगरेको त ?” शिक्षकले उसलाई हकार्छन् ।

“सर म हिजो आइनँ त्यही भएर…,” रोहनले बहाना बनाउँछ । उनले हतार–हतार हाजिरी रजिस्टर हेर्छन् । उपस्थिति त छ !

“अझ ढाँट्छस् !” सरले लौरीले हातमा सुम्ल्याउँछन् । हातमा उठेका फोकाजस्तै उसको पनि रिसको फोको उठ्छ । त्यसै झोंकमा रोहन सरसँग प्रतिवादमा उत्रन्छ, “सर हजुरले पनि त ढाट्नुहुँदो रैछ नि !”

“मैले के ढाँटे भन्त !” बडेमानको स्वरमा सर गर्जन्छन् ।

डराएर काँपेको स्वरमा रोहनले भन्यो, “हिजो त हजुर तालिममा जान्छु भनेर अन्तै पो जानुभा रैछ ।”

“बढी बोल्छस् ? म तालिममै गा’को हो ।”

“मैले फेसबुकमा देखेको हजुरलाई । फोटो राख्नु भा रैछ है ?”

“अझ बढी बोल्छस् ? अहिलेदेखि फेसबुक चलाउन थालिस् हैन ?” यत्ति भनेर शिक्षकले रोहनलाई दुई लपेटा लगाए । यसपछि रोहन घोसेमुन्टो लगाएर बस्यो । उसले आफैसँग मनमनै भन्यो– ‘सर ढाँटी ढाँटी पार्टीको झोला बोकेर हिड्दा सही हुनु रे । देखेको कुरा बोल्दा म चाहिँ गलत हुने ?’

“सहि के ? गलत के ? भनेर छुट्याउन सक्ने खुबी भएका नैं शिक्षक हुन् र त्यस्तै काविल जनशक्ति तयार गर्नसक्ने हैसियत भएकालाई नैं शिक्षक भनिने हो,” उसले हजुरआमाले भन्नुभएको कुरा सम्झियो र फेरि मनमनै भन्यो– ‘तर खै के खै के ? यहाँ त सर पनि यो मामिलामा त दुविधामा नैं हुनुहुन्छ जस्तो लाग्यो मलाई त !’