शीर्षकको तेस्रो शब्दबाट यो लेखनको सुरुवात गर्न चाहन्छु ।

परिवर्तन प्राकृतिक रूपमा सामान्य हो र निरन्तर परिवर्तन हुनु नै सायद प्रकृति हो । तर प्रकृतिको परिवर्तन स्वाभाविक हुन्छ । बाँकी अरूको अझ त्यसमा पनि मान्छेको चालचलन वा जीवनमा परिवर्तन अपवादबाहेक अस्वाभाविक नै हुँदोरहेछ । एक वर्षअघि कोरोनाको सामान्य प्रभाव चीनबाट अरूतिर फैलिइनसक्दा यसका बारेमा भनिएका कुरा अपत्यारिला र दन्त्यकथा झैँ लाग्दथे । जसले जे भन्यो त्यही सत्य बन्दै प्रवाहित हुँदै हरेक समाजमा सम्प्रेषित भैरहेको थियो । गत चैत महिनाको पहिलो हप्तासम्म पनि नेपालीले कोभिड–१९ भनेको बुझेका थिएनन् तर सबैले बुझेजस्तै गरी गफ दिँदै हिँड्थे । अरूका कुरा छाडौँ, सम्बन्धित स्वास्थ्य मन्त्रालयलाई समेत आवश्यक यथेष्ट जानकारी सायद थिएन होला ।

चैतदेखि घरमै बन्दीजस्तै बनेर बस्नुपर्दा बाध्यकारी परिवेशले मलाई साहित्यतिर झुकाव बढायो र निरन्तर मुक्तक विधामा हरफहरू कोर्न थालेँ । पछिल्लो क्रममा एकाएक केही पुस्तक पढेपछि पाठकीय प्रभाव लेख्नुपर्छ भन्ने लागेका बेला संयोगले साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइरालासँग सम्पर्क हुन पुग्यो । एकपछि अर्को लेखिरहन ऊर्जा थपिरहनुले म समीक्षात्मक लेखनतर्फ आकर्षित हुन थालेँ । कोइरालाका शब्दमा “हामी लेख्न जन्मिएका हौँ, लेखिरहनुपर्छ समाजका निम्ति केही न केही !” यत्ति भनेपछि के चुप लागेर बस्नु ? “सातामा नसके पनि चन्द्रले पन्ध्र दिनमा केही लेख्नुपर्छ है !” अरे ।

चन्द्र खड्का

अश्विनीजीका यी भनाइमा थपेर समीक्षक राजकुमार बानियाँले बीएन जोशीलाई लगाइदिनु भएछ– “श्रमाटनको पाठकीय समीक्षा त चन्द्र खड्कालाई लेख्न लगाउनूस् !” एउटा स्रष्टालाई सकेसम्म धेरै समीक्षा र अध्ययन होस् भन्ने लाग्नु स्वाभाविक नै हो । एकाविहानै मैले अध्यापन गराउने कलेज–परिसरको चिसो पर्खाले भुइँमा मलाई पठनका लागि किताब लिएर लेखक जोशी आइपुगेछन् । हामी दुवै अपरिचित तर हतारमा अनौपचारिक भेट भयो । कुनै संयोगले सामाजिक सञ्जालमा भने हामी पहिले नै चिनिएका रहेछौँ । त्यही सञ्जालको चौतारीमा भेटिएका दौँतरीको पुस्तक पढेपछि यो पाठकीय प्रतिक्रिया प्रस्तुत गरेको छु ।

को हुन् बीएन जोशी ?

तनहुँको छाङ, मनहरीमा चालीसको दशकमा जन्मिएको हुनुपर्छ । किटेर भन्नलाई त लेखकले कहीँ कतै पुस्तकमा उल्लेख गरेका छैनन् आफ्नो जन्ममिति । आफूलाई यायावर अर्थात् घुमन्ते भन्न रुचाउने एक युवावयका लेखक हुन् यी । बर्सौँसम्म विदेशी भूमिमा कहिले जागिरे त कहिले कैदी बन्दी र कहिले अप्ठेरामा परेकाहरूका सहयोगी वा दोभाषे बनेर रहेका पुस्तकले बताउँछ । हाल काठमाडौँमै व्यवसायीको स्व–परिचय बनाएका यिनका यसअघि नै दुई आख्यान कृति प्रकाशित भइसकेका छन् । यिनै लेखकको पछिल्लो कृति ‘श्रमाटन’का सम्बन्धमा संस्मरणात्मक अनुभूति कसरी प्रकट भएको छ ? भन्ने विषयमा यस लेखमा टिप्पणी गरिनेछ ।

श्रमाटन र पर्यटन

पुस्तकको नाम लेखकले ‘श्रमाटन’ राखेका छन् । धेरैहदसम्म श्रमसम्बन्धी लेखेकाले ठीकै लागे तापनि पर्यटन सम्बन्धको पुस्तक झैँ प्रतीत हुन्छ । भिजिट भिसा लिएर थाइल्यान्ड हिँडेका लेखक, पछि मलेसिया बोर्डरमै रुमल्लिएको परिवेशले किताबको ठूलो भाग लिएको छ । ‘सफर’ उपशीर्षक अन्तर्गत १६३–२११ पृष्ठको सानो अंश मात्रै खाडी मुलुकमा रुमलिएका प्रसङ्गहरूले पुस्तकको मूल शीर्षकलाई पुष्टि गर्छ । हुन त, लेखकले सुरुदेखि नै युवा उमेरमा प्रवेश गरेपछि सबै सुविधाहरू त्यागेर घरपरिवारलाई निराश बनाउँदै रोजगारीका लागि विदेश हिँडेको मान्छे कसरी दलालहरूको फन्दामा परेर मलेसियाको सीमामा पटक पटक पक्राउ र उम्किएका थिए भन्ने प्रसङ्गले कतिपय सन्दर्भमा आङ नै सिरिङ्ग हुने घटनाक्रमहरू समेटेका छन् ।

मलेसिया छिर्नका लागि गरेका विभिन्न प्रयास र पक्राउपछि १२ दिन बन्दी भई घुस्याहा प्रहरीहरूले समेत कसरी ठग्न सक्छन् भन्ने कुरालाई दृश्य नै प्रस्टिनेगरी लेखेका छन् । अर्कोतर्फ सीमाको जङ्गलमा बसेर बाँच्नुपर्दाका घटनाहरूले कुनै वृत्तचित्र वा साहसिक चलचित्रको छनक दिन्छन् । अन्ततः साथमा भएको नेपाली रु.३०००।– समेत साट्न नपाएको र साथीको औँठी र आफूले साथीबाट उपहारस्वरूप पाएको घडीसमेत बेच्न नपाउँदा पानीका भरमा कैयौँ रात व्यापारिक भवन अगाडिको पेटीमा र त्यस्ता जोगीतुल्य अवस्थामा समेत लुटेराको जगजगीमा र भोकभोकै बाँच्नुपरेको तीतो यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गरी पाठकलाई थाइल्यान्डको सडक कथा अनुभव गराएका छन् ।

लेखकले आफू विदेश जानुपर्ने कारणको पृष्ठभूमिलाई ‘त्यो भिर्ने झोला’ शीर्षक दिएर आफूले झोलाका कारण पहिलोपटक हिरासतमा बस्नुपरेको कुरा गरेका छन् । नातामा मामा पर्ने राजनले आफ्नो झोलामा पोस्टर बिक्री गर्ने बहानामा लागू औषध ओसारपसार गरेकाले सोधपुछका क्रममा हिरासतमा बस्न पुगेको र निस्केपछि तुरुन्तै राहदानी बनाएर विदेश हानिएको बताएका छन् । थाइल्यान्डको भिजिट भिसामा हिँडेका केही युवा रोजगारीका लागि दलालका चङ्गुलमा, आफूसँग भएका सबै पैसा सिध्याएर कैयौँ रात जङ्गल र समुद्रका बाटो हुँदै मलेसियाका हिरासतमा मोटो चामलको फुक्को भात र एक पिस डल्लो माछा खाएर बस्नुपरेको, त्यो पनि अति सीमित मात्रामा दिइने हुँदा पेट नभरिने अवस्थामा भोकभोकै बाँचेर फर्कन सक्नु नै पुनर्जीवन पाएको बताएका छन् ।

पीडाबीच रुन्चे हाँसोका केही प्रसङ्गहरू

लेखकले संस्मरण भने तापनि केही प्रसङ्गहरू काल्पनिकतुल्य लाग्ने घटनाहरू छन् भने केही वास्तविक र जीवन्त लाग्ने प्रवासी नेपालीका कथा पनि छन् । केही सन्दर्भहरू नमुनाका रूपमा हेरौँ–

‘डलर भनेको ठाउँमा नचल्ने र साथमा त्यहीँको भाट (पैसा) नहुँदा खुब दुःख पाइने रहेछ । ‘र’ को उच्चारण नहुने यस देशमा डलर भन्ने शब्दलाई डल्लाभन्दा अति नै हाँसो उठ्यो ।’ पृ.१८

‘अवैधानिकमा बसे पनि खल्तीमा पचास रिङ्गिट वा केही डलर बोकेर हिँड्यो भने कहिल्यै पुलिसदेखि समातिनु नपर्ने रहेछ ।’ पृ.४१

माथिको त एक दुई सामान्य सन्दर्भ मात्रै हो । विशेषतः थाइल्यान्डका केही प्रसङ्गहरूलाई लेखकले निकै रोचक रूपमा प्रस्तुत गरेका छन्ः

‘म भित्र छिर्न खोज्दै थिएँ । उनी मलाई आफ्नो नितम्ब प्रदर्शन गर्दैछिन् । … खाउँलाजस्तो गरी हेरिरहेको उसको हेराइ र आकर्षिक गरिरहेको शरीरले नलोभिने कुरै भएन ।… मुन्टो फर्काएर फर्किन खोजेँ । हात च्याप्प समातिन् पछाडिबाट तिनै युवतीले । म सिरिङ्ग भएँ । जतिबेला उसले मलाई च्याप्प अङ्गालो मारेर मेरो घाँटीमा पछाडिबाटै मुन्टो घुसारेर म्वाइँ खाइन्, दुई सय बीस भोल्टको करेन्ट लागेजस्तो भयो मलाई ।

उफ्…! मुख फुकेँ मैले । ठ्वास्स नाकमा गनायो । उसले मस्त पिएकी रहिछे । मैले केही प्रतिवाद गरेको चाल पाएपछि घाँटीमा चुम्न छाडेर मुखतिर जिब्रो निकाल्दै सुमसुम्याउन खोजी । कामुकता पेस गर्न थाली । मलाई सहन गाह्रो भयो ।’ पृ.११३–१४

‘जब भोक प्यास लाग्छ अनि पाँच भाटमा एक बोतल पानी किन्यो र चार जनाले दुई दुई घुट्का बाँडी पियो । उही घाँटी भिजाउनेसम्म मात्र थियो । विकल्प केही थिएन । आफूसँग भएको सामान बेच्न पनि ठाउँ पाएनौँ ।’ पृ.११६

‘मेरी किङस्थित गोल्डेन बैङ्कक गेस्टहाउसभित्र छिर्नासाथ मामाले चिनिहाल्नुभयो । … विदेशी भूमिमा पनि कस्तो सहयोगी मामा भेटेका
थियौँ । दुःखमा परेका कैयौँ नेपालीका लागि त उनी भगवान्कै रूप रहेछन् ।’ पृ.१२८–२९

बैङ्ककदेखि झन्डै सय किलोमिटर टाढा सिङबुरीकी सोमकित तैसिरी नामकी युवतीको एकोहोरो प्रेममा परेको आदर्श प्रेमको रूपले पाठकलाई अलमल्याइरहन्छ । के साँच्चीकै लेखकले त्यस्तै चोखो माया गरे होेला त थाइल्यान्डको भूमिमा ? अर्को महत्त्वपूर्ण कुरा, थाइल्यान्डबाट नेपाल फर्केपछि लेखकको संस्मरण शृङ्खला टुटेको छ । ‘सफर’ उपशीर्षकमा पाठकलाई लेखकले खाडी मुलुकको टापनटिपन संस्मरणहरू मात्रै पस्केका छन् । उनी कसरी पुगे र के के समस्या वा उपलब्धि भए ? भन्ने प्रश्नको उत्तर खोज्न पुस्तक पढ्दै जाँदा पाठक अलिक अलमलमा पर्ने देखिन्छ । किनभने थाइल्यान्डबाट फर्केका लेखक कसरी आउट जेलमा पुगे भन्ने कुरामा, कम्पनीले भनेजस्तो तलब नदिएर आवाज उठाउँदा आउट जेलमा परेको प्रसङ्ग पाठकलाई अचानक क्रमभङ्ग अनुभूत हुन्छ ।

सोही आउट जेलमा रहँदा फिलिपिनो मार्कोसको प्रसङ्ग अलिक अनौठो खालको छ । विभिन्न कर्तुतले प्रायः जेल परिरहने ऊ कलिला केटाहरू जेलमा आएको देख्नै हुँदैन भन्दै एक दिन आफू मस्त निद्रामा रहेका बेलाको कुरालाई लेखक भन्छन्– ‘कताकता काउकुती पनि लागिरहेछ । अधकल्चो निद्राबाट पूरै ब्युँझन पुगेँ म । मेरो अन्डर गार्मेन्टको तल्लो भागभित्र उसको हात रहेछ । अघिदेखि उसले चलाइराखेको रहेछ र पो त म अर्कै दुनियाँमा पुगेको भान भइरहेको रहेछ । उसलाई ओछ्यानबाटै एक लात बेस्कन बजाएँ । मुसुक्क हाँस्यो मात्र ऊ ।’ पृ. १७०

श्रमबजारमा शोषित नेपाली मात्रै हुन् त ?

डिना सुलोभासँगको भेटलाई लेखकले विदेशी महिला पनि नेपालीजस्तै रोजगारीमा जाँदा श्रममात्रै होइन, यौन शोषणमा परेको घटनालाई लेखेका छन् । यात्राका क्रममा रहेका लेखकले पाकिस्तानी ड्राइभर र किर्गिस्तानबाट आएकी युवतीबीचको दोभाषे बन्नुपर्दा केटीले सुरुमा शङ्का गरेकी तर बाध्यताले लेखकसँग आफ्ना दुःखका पीडादायी सन्दर्भ भनिरहँदा अनौठो महसुस गरिरहेको बताएका छन् । उसले आफूलाई रोजगारीका नाममा विदेशी भूमिका एकान्त स्थानमा राखी कैयौँ दिन मनोरन्जनको वस्तु बनाएको र आफू बेचिएकी भन्ने कुरा शोषणमा परेपछि मात्रै थाहा पाएकी बताएकी छे । उसले आफूजस्तै धेरै किर्गिस्तानी युवतीहरू यस्तै परिबन्दलाई बाध्यतावश स्वीकार गरी स्वदेश फर्कंदा सानले जागिरे ढोँग देखाउने गरेको थाहा पाएपछि उन्मुक्तिको प्रयासमा लागेको दृढता र उसको साहसले लेखक अचम्मित भएको बताएका छन् ।

अन्त्यमा, लेखकले आफैँ गाडी–साहु आफैँ मालिक बन्ने सपना बोकेर खाडीमा गएको आफ्नै भाइ गोविन्द दुर्घटनाका कारण बाकसमा बन्द भई आएको प्रसङ्ग र ‘सुदूर सुस्केरा’ शीर्षकमा विविध बाध्यताले विदेशमा मर्नु वा मारिनु सामान्य बनेको बताएका छन् । राज्यले स्वरोजगारको कुनै व्यवस्था नगर्नु र विदेशमा बाध्यकारी श्रम बेच्न प्रतिबन्धित मार्गको प्रयोगसमेत गर्नुले बढी जोखिम मोल्नु परेको लेखेका छन् ।

आफू सन् १९९५ देखि एक दशकको कठिन श्रमाटनलाई संस्मरणका रूपमा पाठकलाई पुस्तकका रूपमा कोसेली दिएका छन् । धेरैजसो आत्मसंस्मरणमा प्रायः लेखक आफूलाई आदर्शका प्रस्तुत गर्न खप्पिस हुन्छन् । लेखक जोशी पनि पूर्णरूपमा पृथक छैनन् तर उच्च जीवनको ढोँग नभई श्रमिक हुने कार्यमा आफू कहिले विविध भाषाका ज्ञानका कारण र परिवेशअनुकूल ‘फिट’ हुने चरित्रका रूपमा उभ्याएर एकाध ठाउँमा पाठकले थाहा पाउने गरी चिप्लिएका छन् ।

भाषा प्रयोगमा कतिपय ठाउँमा सङ्गति नमिलेर पाठक अलमलिने पनि अवस्था छ । पृष्ठ ११४ मा थाई युवतीका सन्दर्भमा एउटा वाक्यमा ‘…खाइन्’ आदरको प्रयोग र अर्को वाक्यमा ‘…खोजी’ अनादरको प्रयोग छ भने माल्टाबाट आएको एक कर्मचारी जोन ह्युगका बारेमा ‘नमस्ते भनेर मिटिङ सुरु गर्छ र… धन्यवाद भन्न छुटाउँदैनन् ।’ यस्ता विभिन्न सन्दर्भहरूले भाषिक प्रयोग वा सम्पादनमा सामान्य कमजोरी रहेको देखिन्छ र लेखक सङ्गतिपूर्ण वाक्यगठनमा सचेत हुनु जरुरी देखिन्छ ।

निष्कर्ष

लेखकसँगै पदम दाजु छुट्टिएपछि दीपक, गुरुङ दाइ र लिम्बुका बारेमा अप्ठेरामा साथ दिए तापनि पछिल्लो क्रममा एकल रूपमा श्रमाटनमा लागेको र ती सबैलाई अन्त्यतिर मात्रै सम्झना गर्दै पुस्तकको बिट मारेका छन् । यसअघि लेखक जनकराज सापकोटाले ‘कहर’ नामक पुस्तकले खाडीमा श्रमिकका व्यथालाई जीवन्त रूपमा प्रस्तुत गरिसकेकाले ‘श्रमाटन’ले मूलतः थाइल्यान्ड र मलेसियाकेन्द्रित घटनालाई प्राथमिकता दिनुले उनको लेखकीय सचेतता पनि देखिन्छ ।

साङ्ग्रिला पुस्तक प्रा.लि.द्वारा प्रकाशित प्रस्तुत पुस्तकको मूल्य रु.३७५।– राखिएको छ । लेखक जोशी र उनको ‘श्रमाटन’ पुस्तकको व्यावसायिक सफलताको शुभकामना ।