१. पहिलो लघुकथा

(हस्तलिखित लघुकथा संग्रह)

सौहार्दता

श्रीओम श्रेष्ठ “रोदन”

श्रीओम श्रेष्ठ‘रोदन’

रातको दस बजेको थियो । बाटामा राखिएका सम्पूर्ण बत्तीहरू फुटिसकेका थिए । त्यसैले सडक पूर्ण अँध्यारो बनेको छ र एक्लो भएको छ । शून्यता र रातको एकीकरणले वातावरण भयावह बनेको छ । म अँध्यारो चिर्ने उज्यालो बन्न सक्दिनँ तर शून्यतालाई भङ्ग गर्न गीत गुनगुनाउन थाल्छु । भय मबाट अलिकति पर सर्छ । एकान्तको साथी गीत बन्छ ।

अकस्मात नारी अस्मिता रक्षार्थ चीत्कार गुञ्जन्छ । म रोकिन्छु र बहादुर बनेर आवाज आएको स्थानमा पुग्छु । एउटी युवती आफ्नो कुमारित्व बचाउन युद्धरत थिई । सिकारीसँग केही क्षण घम्साघम्सी गर्छु र युवतीलाई जोगाउँछु । सिकारी मुखसम्म आएको सिकार गुमेको रिससँगै भाग्छ ।

युवतीको चोलो च्यातिएको थियो । साडी आधिआधी फुस्किएको थियो । दया लाग्यो र कोट फुकालेर लगाइदिएँ । सम्भावित आक्रमणका लागि पनि घरसम्म साथ लागेँ । बाटोमा उनले बताइन् – उनी नर्स हुन् । अस्पतालबाट ड्युटी सकेर फर्केकी रे ! एकान्त र एक्लो कारण आक्रमण भएकी रे ! उनी भाग्नबाट असफल भए पनि बलात्कृत हुनबाट बचिन् । घरको दैलोमा पुगेपछि उनले मेरो कोट फुकालिन् । आभार प्रकट गर्दै लगाइदिइन् र भनिन् – “तपाईंलाई दु:ख भयो ।”

मैले भने- “दु:ख पाउनुको अर्थ सुखको संघारमा आइपुग्नु हैन र ?”

उनी मुसुक्क मुस्कुराइन् । आँखा भुईंमा घोप्टाउँदै भनिन्, “भित्रै आउनुस् न ।”

(नेपाली लघुकथामा विविध प्रयोग गर्ने क्रममा लघुकथाकार श्रीओम श्रेष्ठ “रोदन” ले आफ्नै हस्ताक्षरको प्रयोग गरी २०५८ सालमा “आँखीझ्याल” लघुकथा संग्रह प्रकाशनमा ल्याएका छन् । यो संग्रह नै नेपाली लघुकथाहरूको पहिलो हस्तलिखित लघुकथा संग्रह हो ।

लघुकथाकार श्रीओम श्रेष्ठ “रोदन” र केही साथीहरूको अथक प्रयासबाट नै नेपाली लघुकथाले एउटा छुट्टै विधाको मान्यता पाउन सफल भएको जगजाहेर छ । लघुकथाकार रोदनले नेपाली लघुकथाको विकास र विस्तारमा संस्थागत र व्यक्तिगत अतुलनीय योगदान गरेका छन् । उनले लघुकथाको राष्ट्रव्यापी प्रतियोगिताहरू र मधुपर्क पत्रिकाको लघुकथा विशेषाङ्कका साथै लघुकथाहरूको अनगिन्ती सम्पादन पनि गरेका छन् । उनी लघुकथा समाज, नेपालको स्थापनाकालदेखिको अध्यक्ष हुन् ।

प्रस्तुत “सौहार्दता” लघुकथा आम लघुकथाहरू झैँ समाजमा हुने बलात्कारको घटनामा केन्द्रित र कथाकारले नायकत्त्व ग्रहण गरेको सामान्य कथा बन्दाबन्दै पनि यसले बोकेको वीजवाक्यले कथालाई शिखरमा पुर्याएको छ । लघुकथामा खुला समापन छ । कथा सकिइसक्दा पनि पाठकको मनमा कथाको थप अंशहरू चल्मलाउन सक्छन् ।)

२. स्वर्णकालीन लघुकथा

 

धरहरा

दुर्लभलाल सिंह

मान्छेहरूको काँधमा चढ्दा चढ्दै ऊ धरहराभन्दा माथि पुग्यो । उसलाई रमाइलो लाग्यो । तल मान्छेहरूले नदेखेको दृष्यहरू उसले देख्यो । ऊ खुसीले नाच्न लाग्यो ।

उसले नाच्न जानेको थिएन । त्यसैले उसको सन्तुलन बिग्रियो । उसलाई बोक्नेहरूको काँध दुखे । उनीहरूले सहन सकेनन् र काँध हल्लाइदिए ।

उनीहरूले त्यसो गर्दा आकाशमा पुगेको ऊ एकदम जमिनमा पछारियो । त्यसपछि उसलाई चढाउने मान्छेहरू उसमाथि चढे ।

(२०३० को दशकलाई नेपाली लघुकथाको स्वर्णकाल भनिन्छ । यस दशकमा लघुकथाकार दुर्लभलाल सिंहले उत्कृष्ट फुटकर लघुकथाहरू लेखेर आफूलाई मात्र हैन नेपाली लघुकथालाई पनि स्थापित गर्ने काम गरेका छन् ।

लघुकथाकार दुर्लभलाल सिंहका लघुकथाहरू छोटा, सरल र प्रष्ट हुन्छन् तर उनको लघुकथाले बोकेको मर्म भने चोटिला छन् । उनको लघुकथा संग्रह प्रकाशनमा आएको नदेखिए पनि केही लघुकथाहरूको संकलन र विशेषाङ्कहरूमा उनका लघुकथाहरू पढ्न पाइन्छन् ।

प्रस्तुत लघुकथा “धरहरा” लघुकथाकार दुर्लभलाल सिंहको एक महत्त्वपूर्ण लघुकथा हो । थोरै शब्द र सामान्य परिवेशको चयनबाट यस लघुकथाले यथार्थता उतारको छ । कथा जुनसुकै कालमा पढिए पनि ताजा लाग्ने छ ।)

३. मलाई मन परेको लघुकथा

हाकिम

ममता मृदुल

नयाँ हाकिम आउने कुरा थियो । दुई बजे सबैजना मिलेर स्वागत गरियो ।

हामी कार्यालयमा तीन जना महिला थियौँ । सबै भन्दा सिनियर भएकाले म स्वागत गर्न बसेँ ।

केहीबेरपछि आफ्नो कोठामा आएर कम्फ्युटर खोलेर काम गर्न थालेँ । जो आए पनि आफ्नो काम अरुले गरिँदिदैनन् मनमनै सोचे ।

काम गरिसक्दा सात बज्यो । घर जाने तयारी गरेर बाहिर निस्के । बाहिर हाकिम बसेका रहेछन् । सर म जाऊँ भन्दै बाहिर निस्केँ ।

एक महिना बित्यो । हाकिमसाब सधैँ गफमा व्यस्त देख्थेँ । सबै काम अश्विन र मैले गरेपछि अरुले गफ गर्न भ्याउँथे । एकदिन कुरैकुरामा अश्विनले हाकिमकी श्रीमती पनि जागिरे भएको सुनायो । दुइटा छोरा रहेछन् भनेपछि मैले थाहा पाएँ । अश्विन काम गरिरहेका छन् ।

मेरो कोठामा चम्पालाई बोलाउन पियनलाई पठाए । चम्पा आइन् । काम अह्राए । म आज चाँडै घर जान्छु यो काम गर भने । चम्पा केही नबोली बाहिर निस्किन् ।

दश मिनेटपछि हाकिम सर मेरो कोठामा आउनु भयो । मैले सर आज चाँडै घर जानु छ । चम्पालाई काम गर भनेको केही नबोली गइन् । के गरुँ ? मैले प्रश्न गरेँ । हाकिमले विस्तारै भने म्याम चम्पालाई सन्चो छैन । हजुरले सकेर जाँदा हुँदैन ?

मैले रिसाउँदै भनेँ, “कहिले काम गरेको देखेकी छैन । आज काम परेर भनेकी हो तलब खाएपछि काम गर्नु परेन ?”

सर चुपचाप बसेको देखेर फेरि सोधेँ, “म घर जाउँ ?”

“म्याम म के भनु हजुर गएपछि चौपट हुन्छ । चम्पालाई कसरी काम लगाउनू ? बिरामी छिन् ।”

मलाई रिस उठ्यो । चम्पा पनि आइपुगिन् । मैले चम्पालाई हप्काउँदै सोधेँ- “के भएको छ ? काम गर्नुपर्दा बहाना बनाउने ? चुपचाप काम गर ।”

चम्पा डराई । बिस्तारै भनी, “दिदी आजै गर्भपतन गराएर आएकी मलाई धेरै गाह्रो भएको छ ।”
मैले छक्क परेर हाकिमको अनुहारमा हेरेँ ।

चम्पा अविवाहित केटी थिइन् ।

(ममता मृदुल सानै उमेरदेखि साहित्यमाका तीनै विधा उपन्यास, कथा र लघुकथा लगायत काव्यमा पनि कलम चलाउन रुचाउने स्रष्टा हुन् । “सेलाएको सयपत्री” लघुकथा संग्रहको साथै उनका थप चार अन्य संग्रहहरू प्रकाशनमा छन् । पछिल्लो समय ममताले विशेषत: आफूलाई लघुकथामा केन्द्रित गराएकी छन् ।

प्रस्तुत “हाकिम” लघुकथा प्रायः सबैले लेख्ने विषय जस्तो देखिए पनि कथाकारले कथानकलाई अन्त्यमा नारी सम्वेदनामा लगेर मोडिदिएकी छन् । लघुकथाले सोलीको रूप धारण गरेको छ । कथा चोटिलो मात्र हैन पेचिलो पनि छ ।)