ऊ साना काँटीकी, दुब्ली–पातली, झट्ट हेर्दा भारतीय हो कि झैँ देखिने, सत्र–अठाह्रकी थाई युवती आई ।

चुपचाप अनि उदास, ग्रेस कफी हाउसको कुनातिरको एउटा टेबलमा बसेर एकतमाससित चुरोट तानिरहेकी उसले, आफ्नो वरपर एक प्रकारको रुखो आकर्षणको आँच फ्याँकिरहेकी थिई । उसको पहेँलो अनुहारको खासगरी रगतका मोटामोटा धर्साजस्ता देखिने रक्ताभ ओठहरुको सजीवता, अद्भूत देखिइरहेको थियो ।

र, यही स्थिति र मुद्रामा म उसलाई बितेका तीन दिनदेखि देखिरहेको थिएँ । ग्रेस होटलको विशाल भुइँतलामा रहेको त्यो कफी हाउस तिनताक बैङ्कक महानगरका झण्डै सबै स्तरका वेश्याहरु र तिनमा सम्भावित ग्राहकहरुको सबैभन्दा प्रिय मिलनस्थल थियो । नौ, साढे नौ बज्दा, जब रातको यौवन छचल्किएर पोखिएलाझैँ हुन थाल्दथ्यो – ग्रेस कफी हाउसमा महानगरका चारै कुनाबाट देहजीवहरु भर्खरै पखेँटा पलाएका मृत्योन्मुख धमिराहरुझैँ खनिन थाल्दथे । त्यहाँ ग्राहकहरुको पनि कुनै अभाव थिएन । उता घरमा बर्बर बन्धनले बाँधिएका र त्यसको सम्पूर्ण साउँ–ब्याज असुल्न जुनसुकै स्तरमा पनि ओर्लन तयार, लगाम चुडिँएका अन्धा भ्रमणमा गएका मजस्ता, थोरै दिनका लागि भ्रमणमा गएका अरु किसिमका पर्यटकहरु पनि ग्रेसको उन्मुक्त र विशाल यौनबजारको आर्कषणले तानिएर त्यहाँ पुग्थे नै ।

लगातार तीन दिन, उसलाई त्यही टेबुलमा नितान्त एक्लै देख्दै आएको मैले, त्यस छिन उसको नजिक जान आफूलाई रोक्न सकिनँ ।

‘हेलो !’ म कुनै अदृश्य अङ्कुशले तानिएझैँ उसको टेबुलनिर गएँ र उसलाई बोलाएँ ।

‘हेलो !’ उसले मतिर नहेरीकनै निरासक्त स्वरमा जवाफ दिई ।

तर मैले हरेस खाइनँ । ऊ जति आत्मलिप्तझैँ देखिन्थी, उति रहस्यमय र आकर्षक पनि लाग्दथी ।
‘म यहाँ बस्न सक्छु ?’ मैले ऊ अगाडिको एउटा कुर्ची देखाउँदै ऊसँग फेरि सोधेँ ।

अनि मात्र मुन्टो उठाएर उसले मतिर हरी । उसको मझ्याउलाखाले, लाम्चो आकारका पारदर्शी आँखामा अनुत्सुक शून्यताबाहेक केही थिएन । तैपनि उसले शिष्ट र छोटो भाषामा भनी, ‘किन नहुनु ? बसुँ, स्वागत छ ।’

म बसेँ र उसलाई उसको मनोलोकबाट ओर्लिएको हेर्न पर्खिरहेँ ।

एकछिनपछि उसले चुरोटको ‘एउटा लामो सर्को तानी, टेबुलको एस्ट्रेमा किचेर त्यसलाई निभाई, काखमा रहेको सस्तोखाले प्लास्टिकको ब्यागबाट एउटा सस्तो बास्नादार रुमाल झिकेर मुख पुछी र मतिर स्मितहास्यका साथ सोधी, ‘तपाईं साउदी हो ?’

‘अहँ !’

‘त्यसो भए, पाकिस्ताननी ? कि इण्डियन ? ’

‘होइन, म त नेपाली हुँ ।’

ऊ नेपालीहरुलाई चिन्दी रहिनछ । तर इण्डियाको नजिक कतै नेपाल भन्ने ठाउँ छ र त्यहाँको लुम्बिनी भन्ने ठाउँमा भगवान् बुद्धको जन्म भएको थियो भन्ने कुरा उसले बर्माको सीमानानिरको आफ्नो पहाडी गाउँको पाठशालामा पढदा थाहा पाएकी रहिछ । अहिले एउटा नेपालीलाई आफूप्रति रुचि देखाइरहेको पाएर उसलाई कस्तो अनुभूति भइरहेको हुँदो हो, थाहा भएन । तर ऊ अब मसँग कुरा गर्न भने तयार भइसकेकी थिई ।

‘के पिउँछ्यौ ?’ मैले सोधेँ ।

‘ह्विस्की,’ उसले सहज स्वरमा भनी ।

ह्विस्की आयो । सुरुका तीन पेग उसले एकै सासमा घुट्क्याई ।

ऊ यति छिटो र हुर्हुर बलिरहेको आगोले सुकेको पराललाई निमेषभरमै निलेझैँ पिउन सक्थी– त्यो मेरोलागि एकदमै नयाँ र दकस दिने कुरो थियो । चौथो पेग आएपछि मैले व्यग्र भएर भनेँ, ‘अलि सुस्तरी खाऊ ।’

‘किन ?’ राम्ररी तिखारिएका आँखीभौँलाई बङ्ग्याउँदै र निकै रसिला भएका आँखा उठाएर मेरा आँखामा सोझै हेर्दै उसले तिखो स्वरमा सोधी ।

‘किन?’ म अक्मकिएँ र सुस्तरी भनेँ, ‘रक्सी एक किसिमको बिख नै हो । यति छिटो–छिटो र धेरै खाँदा यो घातक पनि हुनसक्छ ।’

‘हो साँच्चै ? यो घातक हुनसक्छ ? त्यसो भए त म झन् खान्छु, पैसा त तिर्दिनुहुन्छ होइन ?’ उसले गिलासमा बाँकी रहेको ह्विस्की एकै घुटकामा निल्दै भनी । अहिलेसम्मको उसको निर्विकार, भावशून्य अनुहारमा पीडाका नजानिँदा धर्साहरु देखा परे । तर उसले ती धर्साहरुलाई सजिलै मेटिदिई र बलैले लेराएको प्रतिक्रियाहीनताको खोलले फेरि छोपी दिई आफ्नो अनुहारलाई ।

मभित्रको व्यग्रता बढेर आयो । स्थितिको गह्रुँगो भारीको दबाबबाट मुक्त हुने प्रयास गर्दै मैले प्रस्ताव राखेँ, ‘नाच्न जाऊ ।’

‘जाऊँ तर एक–एक लार्ज पेग ह्विस्की तानेर मात्र ।’

‘हुन्छ,’ मैले बाध्य भएर भनेँ र वेटरलाई बोलाएर अह्राएँ ।

हामी डिस्को फ्लोरमा पुग्दा चर्को अर्केस्टामा एउटा उत्तेजक इजिप्सियन धुन बजिरहेको थियो । केही परतिर अफ्रिकन हब्सीहरु त्यसको तालमा आफ्नै शरीरका सम्पूर्ण मांसपेशीहरुलाई मानौं आफैँले थिच्दै–रगडदै पसिनापसिना भइरहेका थिए ।

‘के नाच्नु यस्तो बर्बर र आत्मपीडक सङ्गीतमा !’ मैले विरक्त भएर भनेँ ।

‘तर मलाई मनपर्छ यो धुन, यो गीत र यसको सङ्गीत, यसैले आफैँलाई लुछने, रगडने र ध्वंस पार्ने प्रेरणा दिन्छ, जुन कुरो म चाहन्छु ।’ उसले उत्साहको चमकले उज्यालिएका शब्दहरुमा यति भनी र त्यस कष्टसाध्य नृत्यको तलाउमा आफूलाई सम्पूर्ण रुपमा होमिदिई ।

म धेरैबेर नाचिनँ अथवा यसो भनूँ, मेरो शरीरले धेरैबेर उत्तेजनाको कम्पनलाई थाम्न सकेन । डिस्को फ्लोरबाट ओर्लिएर म छेउको एउटा टेबुलमा गएर बसेँ र बियरको चुस्की लिँदै नाचिरहेकी उसलाई हेर्न थालेँ ।

सङ्गीतको आरोह बढ्दै गयो र त्यसको सँगसँगै नाचिरहेका स्त्री–पुरुषहरुको शरीरको गति, थर्थर र कम्पनमा पनि समानुपातिक उम्ल्याई बढ्दै गयो । प्रकाशको तीव्र आघात रङहरुको बहुआयामिक माध्यमबाट फ्याँकिएको त्यस डिस्को फ्लोरलाई नीलो–रातो अनि प्याजी–गुलाबी रङहरुको झरनामुनि आकार दिइएको थियो र अहिले ती रङहरुमा नुहाउँदै चर्को र डरलाग्दो सुनिने सङ्गीतको धुनमा अत्यन्त चपल गतिमा नाचिरहेका मान्छेहरु सामूहिक रुपले एउटा भयानक र आदिकालीन अनुष्ठान पूरा गरिरहेकाझैँ देखिइरहेका थिए । अचानक, झङ्कारको एउटा तीव्र चोटपछि गीत–सङ्गीत रोकियो, साइकेडेलिक प्रकाश धारा थामियो, नाचिरहेका स्त्री–पुरुष टक्क अडिए र चम्किलो सेतो प्रकाशमा सम्पूर्ण कोठा उज्यालियो । ऊ कुनै कामान्ध जङ्गलीले चिथोरेर छोडेकी अबोध बालिकाझैँ थकित र निचोरिएकी, मुस्किलले मेरो टेबुलसम्म आई र कहिल्यै नउठ्ली भनेझैँ कौचमा पछारिई ।
मैले नजिकैबाट उसको अनुहारलाई हेरेँ । दम पचाउन लामोलामो सास लिइरहेकी थिई ऊ । उसको सुन्दर अनुहारले आफ्नो स्वाभाविक भङ्गिमा गुमाइसकेको थियो । करुणाले मेरो हृदय भरिएर आयो । विस्तारै उसलाई घच्घच्याएर मैले सोधेँ, ‘तिमीलाई ठीकै त छ ?’

विस्तारै आँखा उघारेर उसले मधुरो स्वरमा भनी, ‘म ठीकै छु, बरु अलिकति केही खान पाए हुन्थ्यो, मलाई भोक लागेको छ ।’

खाना झिकाएँ । एउटा बालकको तन्मयतालाई सम्झाउँदै उसले खाना खाई । खाँदाखाँदै मैले सोधेँ, ‘तिम्रो नाम के हो ? ’

‘नित्या, नित्या सोमसाअली, तर मेरो पेसाले कुङ भन्ने अनौठो नाम दिएको छ । कुङ अर्थात लोब्स्टर अथवा एक प्रकारको समुद्री कीरा, जसको सजिलै शिकार गर्न सकिन्छ, जसको स्वाद ताजा हुञ्जेल मिठो हुन्छ ।’ उसले विषाद र व्यङ्ग्य मिसिएको स्वरमा उत्तर दिई ।

मैले केही भन्न सकिनँ, उसको अनुहारभरि एक टक लाएर हेरिरहेँ ।

‘के हेर्नुभएको ? मेरो अतित ? मेरो अनुहारमा मेरो अतितका सम्पूर्ण रुपले प्रतिविम्बित भने त्यसमा हुन सक्तैन । मैले मेरो अतीतका सम्पूर्ण यातनाहरुलाई अनुहारबाट झिकेर मुटुको सबभन्दा गहिरो तहमा लुकाइदिएकी छु,’ उसले भनी ।

‘म तिम्रो अतितलाई होइन, भविष्यलाई पढ्न खोजिरहेको छु तिम्रो अनुहारमा,’ मैले किञ्चित् उदास स्वरमा भनेँ ।

‘मेरो भविष्यको झल्को हेर्न चाहनुहुन्छ ? त्यो मेरो अनुहारमा देखिँदैन, हिँड्नोस् । जाऊँ फेरि एकपल्ट पल्लो कोठा अथवा ग्रेस कफी हाउसमा । त्यहाँ भेटिने छन् मेरा, मजस्तै वेश्याहरुका आगामी दिनहरुका जिउँदा प्रतिमूर्तिहरु । शरीरमाथि भएको अनवरत शोषणले र मन र मगजमा भरिएको निस्सारताको बोधले जर्जर भएको शरीर र आत्मा लिएर जीवित प्रेतझैँ एक टेबुलदेखि अर्को टेबुलसम्म निर्लज्ज घुमिरहेका सडान्ध मासुका तिनै आकारहरु हुन् मेरा भविष्य, भेट्न चाहनु हुन्छ त्यहाँ गएर मलाई अहिले नै पाँच सात वर्षपछिका अवस्थामा ?’ उसले हाँक गरी ।

म विचलितझैँ भएँ । सोधेँ, ‘तिमी जानीजानी यो सब कम किन गरिरहेकी छ्यौँ त ?’

‘किनकि मेरो आत्मालाई किचिमिची पारेर चिङ्गाई प्रान्तको त्यो सानो गाउँको सरहदमा फ्याँकी दिएर मेरो रित्तो र खोक्रो नारीदेहलाई यो आयाती सभ्यताको नाली सफा गर्न र त्यसबाट उठेका समृद्धिका महलहरुको बोझ थाम्न जुन दिन यहाँ ल्याइएको थियो त्यही दिनदेखि म सबै प्रकारका पीडा र अनुभूतिदेखि टाढा भइसकेकी छु, अब मेरो एउटै मात्र इच्छा छ– चाँडोभन्दा चाँडो जीवनका बिसौनीहरु पार गरेर निर्वाण प्राप्त गर्नु ।’ उसले निद्विन्द्व भएर जवाफ दिई ।
‘तिमीहरु जस्ता सबैको कथा र कथ्य यस्तै हुन्छन् कि बेग्लै कथाहरु पाइन्छन् कतै ?’

‘धेरैजसोको, लामो–छोटो यस्तै कहानी हुनसक्छ । तर सामाजिक परिवेश नै व्यापक रुपले भ्रष्ट भएपछि शारीरिक नैतिकताको बन्धन तोडनु नै रमाइलो कुरा मान्ने आइमाईहरु पनि नदेखिने हैनन्, त्यस्ताहरु तिनै परिवारबाट आएका हुन्छन्, जुन परिवेशले नै नाइटक्लब र वेश्यागृहको लागि जमिन खोज्दछन् र त्यसको जग हालदछन् । स्वेच्छाले वेश्या हुनुभन्दा भयानक कुरो एउटी आइमाईका लागि केही पनि हुनसक्दैन, यो यस्तो पतन हो जसको कुनै सीमा छैन । नत्रभने आइमाईको लागि उसको मातृत्वभन्दा ठूलो उपलब्धि अन्य कुनै हुँदैन । यहाँ वेश्याहरु आमा हुन निकै गाह्रो, झण्डैझण्डै असम्भवै छ । सुनेकी छु, इण्डियामा वेश्याहरु बच्चा जन्माउन पनि स्वतन्त्र छन् रे ! त्यस्तो अवस्थामा उनीहरुको जीवनले केही सार्थकता अवश्य पाउँदो हो । तर यहाँ…,’ उसले सुस्केराका बीच भनी ।
म आश्चर्यचकित भएँ । ‘यति सानो उमेरमा यति ठूला अनुभव र ज्ञान’ मैले अनायास नै सोधी हालेँ ।

‘यो ज्ञान होइन, यो त व्यवहारको थप्पडले ओकल्न लगाएको तथ्यको सानो बकपत्र मात्र हो,’ उसले अलिअलि हाँस्दै भनी ।

धेरैबेर हामी दुई जनामा कोही पनि बोलेन । मसँग बोलने केही कुरा बाँकी थिएन, जिज्ञासाहरुको अन्त्य भइसकेको थियो ।

उसैले सोधी, ‘आज मलाई लैजानु हुन्छ तपाईंको कोठामा ?’

‘अँहँ, लैजान्न, बरु म तिमीलाई केही रकम दिन चाहन्छु । भन कति दिऊँ ? तीनसय ? चार, पाँच अथवा सातसय भाअत् ?’

‘उसको आँखामा एकपटक आवेगको चमक देखापर्‍यो– उसले दृढ स्वरमा भनी, ‘अँहँ म कसैसित सित्तैमा एक भाअत् पनि लिन्नँ । तपाईंलाई थाहा छैन मैले दस दिनअगाडि मात्र मभित्रको मातृत्वको घाँटी निमोठिदिएकी छु किन ? किनभने म यो कुत्सापूर्ण शरीरको अन्त्य गर्न चाहन्छु, म यसलाई त्यसैगरी बेच्न चाहन्छु जसरी एकसमय मात्रै तीन छाक खानाका लागि पनि मैले मामा सानसँग हात जोडेर देह–व्यापारको एक सिफ्ट मागेकी थिएँ । म तपाईँको पैसा लिन्नँ । खाना र ह्विस्कीका लागि भने तपाईंलाई धन्यवाद छ ।’

अनि ऊ उठी, ढलपल गर्दै डिस्को रुमबाट बाहिर निस्की र ग्रेस कफी हाउसमा जम्मा भएका रुपजीवाहरुको भीडमा सामेल भई ।

(मधुपर्क, वर्ष १७ अंक–१, जेठ २०४१)

 

(लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टले प्रत्येक साता नेपाली भाषासाहित्यको एउटा उत्कृष्ट यौनकथा नेपाली पाठकमाझ पुर्याउने प्रस्तावअनुसार यो स्तम्भ सुरु गरिएको छ । यतिखेर म मेरो सम्पादनमा वाणी प्रकाशन, विराटनगरबाट २०५४ सालमा प्रकाशित प्रतिनिधि यौनकथाहरूको सङ्कलन नेपाली यौनकथा पुस्तक सम्झिरहेछु । वाणी प्रकाशनको स्थापनासँगै छापिएका कृतिहरूमध्येकै अत्यन्त महत्त्वपूर्ण यो पुस्तक मानिसहरू नामकै कारणले ‘थर्ड ग्रेड’ को पुस्तक हो कि भन्ने भ्रममा पनि पर्ने गर्छन् । त्यसो होइन ।

उक्त कृतिमा नेपाली साहित्यका स्वनामधन्य विशिष्ट स्रष्टादेखि प्रतिष्ठित एवम् चर्चित सर्जकका उत्कृष्ट कथाहरू सङ्गृहीत गरिएका थिए । प्रकाशन हुनसाथ यो पुस्तकलाई पूर्वाञ्चल विश्वविद्यालयले स्नातक तहको नेपाली साहित्यमा मनोविज्ञानपरकता, विशेष नेपाली (आठौँ पत्र) को सहायक सामग्रीको रूपमा स्वीकृत गरेको थियो । यस्तो सङ्ग्रह निकाल्ने सोच  वाणी प्रकाशनका प्रथम अध्यक्ष, वरिष्ठ कथाकार परशु प्रधानको थियाे । सङ्ग्रहका लागि कथा चयनदेखि सम्पादनसम्मको सम्पूर्ण जिम्मेवारी मलाई दिइएको थियो । याे कथा पुनः सुरू भएकाे बेला म आदरणीय वरिष्ठ कथाकार एवम् वाणी प्रकाशनका तत्कालीन अध्यक्ष परशु प्रधानप्रति हार्दिक आभार व्यक्त गर्छु । 

सङ्ग्रह लाेकप्रिय भए पनि  नयाँ संस्करण ननिस्किएपछि वाणी प्रकाशनको लिखित स्वीकृति लिएर दोस्रो संस्करण बीएन पुस्तक संसारबाट २०६९ सालमा र तेस्रो संस्करण शिखा बुक्सबाट २०७५ सालमा प्रकाशित भएको छ । साहित्यपाेस्टका अभिभावक  तथा मेरा प्रिय भाइ अश्विनी काेइरालाले यी सबै कुरा याद गरेका रहेछन् । उनकाे आग्रहमा  सङ्ग्रहमा  रहेका यौनकथाहरू अब साहित्यपोस्टमा प्रकाशित हुनेछन् । सङ्ग्रहबाहेक पनि नेपाली साहित्यमा यस्ता दर्जनाै पठनीय याैनकथा छन्, जसलाइ  क्रमशः प्रकाशित गर्ने याेजना छ ।

प्रमोद प्रधान

यौनकथा सम्पादक

साहित्यपाेस्ट