फर्केर हेर्दा कहिलेकहीँ आफैँलाई पनि अनौठो लाग्छ । जीवनलाई हेर्छु, पाँच दशक नाघिसकेको पाक्दो स्वरुप छ । कतै भर्ङ्यागजस्तै, कतै बगरजस्तै, कतै उकाली, कतै ओरालीजस्तै । कहिले सुख मानिएका कहिले दुःख मानिएका समयका भारी नै छन् जीवनसँग । एक फुट पनि नभएका पाइतालाहरुले गरेका हिसाबै नहुने यात्राहरु हेर्छु र सन्तोष मान्छु । निरन्तर बगिरहेको नदीलाई हेर्छु र मौन बस्छु ।

खोजे भेटिन्छ । हिँडे पुगिन्छ भनेजस्तै रहेछ जीवन । धेरै भेटियो र धेरै पुगियो पनि । तर जति हिँड्यो त्यति पुग्न बाँकी हुने । जतिसँग भेट्यो त्यति नै भेट्न बाँकी भइरहने रहेछ । पूर्णविराम नहुने विषय हुन् यी ।

अनेकसँगका यात्रा छन् अनुभवमा । सधैँ अनेकसँग एक भएर बाँच्ने कला खोजिरहेको मान्छे म । यद्यपि भेटिए धेरै र छुटिए पनि धेरै नै । केही त्यस्ता छन् जोसँग भेटेर पनि बिर्सिरहन्छु । केही त्यस्ता छन् जोसँग भेटै नहुँदा पनि सम्झिरहन्छु । हृदयको सम्बन्धमा हुने यस्तै हो कि सायद ।

हो पनि, प्रेममा नापजोख हुँदैन भनिन्छ । नाफाघाटाको पनि हिसाब हुँदैन भनिन्छ । नजिक टाढा पनि हुँदैन भनिन्छ । भन्न खोजेको सन्दर्भ चिन्तामणि योगीको हो । तर सन्दर्भले भनिएको जस्तो होला कि नहोला ? यसको पछि लाग्नेहरु पनि होलान् नै । यस मामलामा मैले जितेको जस्तो लाग्छ चिन्तामणिसँग । यद्यपि कुरा मेरो हो, नितान्त मेरो । त्यसैले ढुक्क छु । आफ्नो कुरा कसैकहाँ गएर प्रमाणित गरिरहनु पर्दैन । आफ्नो कुरा कुनै बैंकको चेक पनि होइन, सही मिलेपछि मात्र कारोबार हुने ।

श्रीओम श्रेष्ठ‘रोदन’

विद्वान् विदुषी धेरै छन्, जससँग मैले हात उठाएको छु । अग्रज र योग्यहरुसँग पनि पैतला चालेको छु । तर चिन्तामणि नै किन कहिले पखालिँदैन मेरो मस्तिष्कबाट ? स्वयम् अनविज्ञ भएको विषय हो यो । सबै असल मान्छेबाट पनि यसरी किँचिदैन जस्तो लाग्छ । विद्वान् हुँदैमा कसैको मन जितिँदैन जस्तो लाग्छ । आदर्श जीवन शैली र सरल व्यवहारले पनि नमेटिने प्रभाव दिन सकिन्छ जस्तो लाग्दैन । तर चिन्तामणि मभित्र के भएर टुसायो, टुसायो । झ्याङ्गिएर कसरी प्रभाव जमायो जमायो । प्रभावमाथिको प्रभाव, तर गौरव छ यो प्रभावमा मलाई । एक प्रकारको सुख पनि छ यो प्रभावमा । सकारात्मक बनेको छ र सन्देश पनि बनेको छ यो प्रभावमा ।

धेरै होलान् चिन्तामणिहरु देशमा र विदेशमा पनि । तर आफूले देख्ने र बुझ्ने भनेको आफूसँगको नै हो । चिन्तामणि जोगी बन्नुपर्ने मान्छे होइनन् । देखिइने जस्ता जोगी पनि होइनन् उनी । जातले त जोगी नै हुन् तर जातले मात्र को पो जोगी बनेका छन् र ? उनी त कर्मले नै जोगी । समर्पणले पनि जोगी । त्यसैले लाउँदैनन् गेरुवा वस्त्र । घस्दैनन् खरानी । पाल्दैनन् दारी र जुँगा । छैनन् कपालमा लट्टा । माग्दैनन् भीक्षा पेटका लागि । थाप्दैनन् कमण्डलु ।

अर्थात् भनिएजस्ता र देखिएजस्ता जोगी छैनन् चिन्तामणि । आधुनिक पनि होइनन् । सामान्य छन् पहिरन, चिन्तामणि शैलीकै । त्यसैले चिन्तामणिमा जसरी देखिने आफ्नोपन छ त्यसैगरी नदेखिनेमा पनि आफ्नैपन छ । त्यहीभित्र इर्ष्या लाग्ने धेरै कुरा छन् उनमा । आफ्नोपन र आदर्शले गर्दा उनी देशमा मात्र होइन विदेशमा पनि प्रिय छन् । दाङबाट मातृभूमि सेवक संघ हुँदै हिन्दू विद्यापीठ र आश्रम हुँदै राष्ट्र र परराष्ट्रमा पनि भ्याई नभ्याई छ उनलाई ।

चिन्तामणिमा अद्भुत कला छ । बाँध्न पनि सक्ने,तान्न पनि सक्ने । एक प्रकारको चुम्बकीय कला छ । विद्यार्थीसँग बोले संस्कारित बनाइदिन्छन्, अनुशाशित बन्न प्रेरित गर्छन्, दायित्वबोध गराइदिन्छन्, पुस्तकसँग जीवनलाई आत्मसात् गराइदिन्छन् । युवाहरुसँग भेट्दा पाइतालामा जोश भरिदिन्छन्, हातमा उत्साह थपिदिन्छन्, छातीमा जिम्मेवारी बढाइदिन्छन्, मस्तिष्कमा इमान्दारी बोध गराइदिन्छन्, मनबाट नदेखिएका आँखाहरुलाई हेर्नसक्ने बनाइदिन्छन् । बूढाबूढीकहाँ पुगे, बाँकी उमेरलाई सार्थक बनाउनेतर्फ लगाइदिन्छन्, उत्साही बनाइदिन्छन् । गरिरहेका छन् यसरी नै जोगी चिन्तन चिन्तामणि ।

चिन्तामणिको वाक् प्रवाह पनि अनौठो छ । संंस्कृतमा धाराप्रवाह व्याख्या गर्छन् । अङ्ग्रेजीको गति गज्जबकै छ । हिन्दीको जोड जबर्जस्तको छ । नेपालीको कुरै भएन ।

चिन्तामणि योगी

नजानेको केही छ जस्तै लाग्दैन । जुन विषयमा जुन सन्दर्भमा पनि उनी सप्रमाण व्याख्या गर्न सक्छन् । धर्मका कुरा, संस्कृतिका कुरा, शास्त्रका कुरा, प्रचलनका कुरा, ज्ञानका कुरा, विज्ञानका कुरा, व्यवहारका कुरा, राष्ट्रियताका कुरा, आफ्नोपनका कुरा, खुशी हुने कुरा, सुखी हुने कुरा । जेमा पनि विचार राख्न सक्छन् चिन्तामणि । मानौँ, खानी हुन् उनी हरेक कुराका । आवश्यकता अनुसार खनिज निकाल्न सक्ने ।

अद्भुत छ उनको कला । लठ्ठ हुन्छन् सुन्ने सबै । यही कलालाई उनले अरुका लागि माध्यम बनाएका छन् । विद्यार्थीलाई पढ्नका लागि । गरिबका लागि । अनाथका लागि । असाहयका लागि । खाली अरुका खानाका लागि, छानाका लागि, नानाका लागि र बाँच्नका लागि । आफूलाई केही माग्दैनन् । उनको बचाइ नै अरुका लागि बनेका छन् ।

एकचालीस सालमा भेट भएको हो हाम्रो । पुल्चोकमा योग प्रशिक्षार्थीका रुपमा । अहिले उनी सबैतिर प्रशिक्षण दिँदै हिंँड्छन्, म भने प्रशिक्षार्थीको प्रशिक्षार्थी नै बनिरहेको छु । अन्तर यही हो हामीबीचको । उनी विद्यालयमा विद्यार्थीसँग, स्टाफ कलेजमा विशिष्ट अधिकृतहरुसँग शिक्षक बन्छन् । युरोप अमेरिकाको संसदमा सम्बोधन गर्छन् । अन्तर्राष्ट्रिय मन्चहरुमा गडगडाहट ताली पाउँछन् । इमान्दारी, नैतिकता, कर्म, धर्म, शिक्षा, सहकार्य, सद्भाव, शान्ति र सुखका कुरा नै हुन् चिन्तामणि र चिन्तामणिका कुरा ।

त्यसो त चिन्तामणिलाई एकपटक देख्नेले सम्झलान् नसम्झलान्, भन्न सकिन्न । उनको शिरमा हुने सधैँको टोपी, हाँसिरहने अनुहार, उज्याला आँखा, उत्साही आवाज चिन्तामणिको देखिने परिचय हो । यस्तो परिचय हुने धेरै छन् यस दुनियाँमा । तर चिन्तामणिसँग एकपटक साक्षात्कार भएकाहरु चिन्तामणिबाट जति टाढा भाग्नखोजे पनि सक्दैनन् । कार्यक्रमबाट होस् वा प्रवचनबाट होस्, उनी गहिरोसँग मनभित्र न्यानो हुनेगरी बस्न सक्छन् । चिन्तामणि हुनुको अर्थ पनि यही होला !

कुनै समय एक हप्ता पनि टाढिन्थेन हाम्रो भेट । अहिले महिनौँ मात्र होइन कहिलेकहीँ त वर्षमा पनि हुन्छ हाम्रो भौतिक भेट । तर कहिल्यै टाढा भएको लाग्दैन । जतिपछि भेट्दा पनि सधैँँ भेट भइरहेको जस्तो लाग्छ । प्रत्येक भेट सिर्जनात्मक भएजस्तो लाग्छ ।

हामी हुनुको अर्थ, केही टाउका एक हुनासाथ असन्तोषका कुरा गर्छौँ । अरुका कुरा काट्न थाल्छौंँ । योजना र उद्धेश्यका कुरामा एक हुन निकै गाह्रो मान्छौँ । कुनै विषय आउनासाथ विचारले बाँडिने, क्षेत्रले छुटिने, जाति र सम्प्रदायले हेर्ने गर्छौँ । गणतन्त्रको ठूलो फल स्वाद मानेर चाखिरहेका छौँ ।

समाजका कुरा ,राष्ट्रका कुरा, धर्मका कुरा, संस्कृतिका कुरा पार्टीका कुरा बनेका छन् । नेपाल र नेपालीका कुरा नबन्दै गएका छन् । चिन्तामणिसँग भने यस्ता केही कुरा पनि चल्दैन । अरुका कुरामा समय बिताउनु भनेको आफ्नो समय गुमाउनु ठान्छन् उनी । समाज र राष्ट्रका काममा विचारले बाँधिनु भनेको आफैँप्रति अन्याय गर्नु हो भन्छन् उनी । सकारात्मक सोच र सहकार्य नै जितको सबैभन्दा ठूलो हतियार मान्छन् उनी । मातृभूमिको ऋण तिर्ने नै माटोलाई माया गरेर हो भन्ने मान्छन् उनी ।

प्रकृतिले आफैँ बनाएको बगैँचामा गुन्जिरहने मीठो धुनजस्तै लाग्छ चिन्तामणिको बोली । दिमागमा ताला मारेर बसेकाहरुलाई पनि बिर्साइदिने धुनजस्तो लाग्छ चिन्तामणिको व्यवहार । के पो छ त्यस्तो शक्ति कुन्नि ? लामो यात्रापछि चौतारीमा थकाइ मारेजस्तै आनन्दको अनुभव हुन्छ उनलाई भेट्दा । उनको व्यक्तित्वले पार्ने प्रभाव होइन यो । ज्ञानले मात्र पनि यत्तिको प्रभाव नपार्नु पर्ने हो । त्याग र समर्पणको पनि यति ठूलो मोहनी नहुनु पर्ने हो । सरल भएर वा इमान्दार भएर मात्र पनि यस्तो नहुनुपर्ने हो । जीवनशैली पनि औँलै नभाँचिनेमा पर्ने होइन क्यारे चिन्तामणि ।

विद्वान् पनि धेरै छन् यो देशमा । ज्ञानी पनि छन् । प्रवचन दिनेहरु पनि छन् । तर पनि किन लाग्छ मलाई मिरमिरे विहानीको सूर्यको कलिलो किरणको स्पर्शजस्तो । डुब्दै गरेको साँझको मधुरो हावाको प्रेमिल स्पर्शजस्तो । होस् , जेसुकै भए पनि होस् । यी र यस्ता जिज्ञासाका उत्तरमा भन्दा प्रश्नको प्रश्नमै पूर्णता भएजस्तो लाग्छ मलाई ।

कहिलेकहीँ थाकेकोजस्तो हुन्छु ।

कहिलेकहीँ हारेकोजस्तो पनि हुन्छु ।

कहिले उज्यालोमा ग्रहण लाग्दै गरेजस्तो हुन्छु ।

त्यतिबेला एकैछिन चिन्तामणिसँग सत्संग गर्न पाएँ भने,

एकैछिन चिन्तामणिको आँखाको सानिध्य पाएँ भने ,

एकैछिन चिन्तामणिको उत्साह आत्मसात् गर्न पाएँ भने,

एकैछिन चिन्तामणिको जीवन र त्यागलाई सम्झिन पाएँ भने,

हलुङ्गो भए झैँ लाग्छ मलाई । होला यस्तो अरुलाई पनि । अरुका पनि अरु होलान् त्यस्ता । तर अनुभूति त आफ्नो मात्र गर्ने त हो नि ।
हुन त अद्भुत नै छन् चिन्तामणि । उमेर नहुँदैदेखि क्षमताले पाकेका । पन्ध्र वर्षमा उत्तरमध्यमा गरेर उत्कृष्ट बने भारतमा । नेपालमा सोह्र वर्ष नपुगी एसएलसी दिन नपाइने तर परीक्षा दिएरै शास्त्री पढ्न पाए उनले । अहिले मात्र होइनन् उनी, हिजो हिजोदेखि नै सबैका आँखामा अगाडि पर्दै आएका छन् ।

उनी सभासमारोहमा बोल्छन् । रेडियोमा सुनिन्छन् । टेलिभिजनमा देखिन्छन् । यसरी नै बोल्ने, सुन्ने र देख्नेहरु धेरै छन् । तर चिन्तामणि आफ्नो कुरा सुन्नेको मनसम्म पुग्ने बाटो पनि बनाउँछन् । आफ्नै कुरा गरेजस्तो गरेर नसुन्ने कानलाई पनि सुनाउँछन् । नदेख्ने आँखालाई पनि खोलिदिन्छन् । आँखा र कान भएर हृदयलाई जगाइदिन्छन् । यही कलाले त होला चिन्तामणिलाई चिन्तामणि बनाएको । यही कलाले उनी विद्यार्थी र बूढाबूढी मात्र होइन सेनालाई सिकाउँछन् । प्रहरी सम्झाउँछन् । ठूला हाकिमलाई बुझाउँछन् । उनीहरु कर्ममा धर्म देख्छन् कि देख्दैनन्, फाइलमा हस्ताक्षर गर्दा कलममा राम राख्छन् कि राख्दैनन्, त्यो बेग्लै कुरा । सधैँ चाहेकैजस्तै मात्र कहाँ गर्न पाइन्छ र जागिरमा ?
उनी एक भएर अनेक बन्दै गएका छन् । दङ्गाली चिन्तामणि भएर होइन, हिन्दू विद्यापीठ भएर, मातृभूमि सेवक संघ भएर , शान्ति सेवा आश्रम भएर , कहिले शिक्षा, कहिले संस्कृति, कहिले धर्म , कहिले समाज, कहिले साहित्य, कहिले चेतना , कहिले अध्यात्मका लागि भएर अनेक हुन्छन् । यसैले उनीको देश विदेशका नेपालीहरुबीच मात्र नभएर विदेशीहरुका मञ्चमा पनि फरक परिचय बनिरहेका छन् ।

कठिन बन्दै गएको मानिसको जीवनशैली, कठोर बन्दै गएको मानिसको मनलाई सजिलो बनाउनु उनी आफ्नो सत्कार्य , सद्भाव र समर्पण ठान्छन् । अरुका मनमा विस्तार हुँदै जान्छन् । यही कारण विवाह नगरेर पनि बाबु बनिरहेका छन् । परिवार बढाइरहेका छन् । एक्लो भएर सधैँ समूहमा बाँचिरहेका छन् ।

यही जीवनले चिन्तामणि प्रिय त बनेका छँदैछन्, अरुलाई पनि प्रिय बनाउने यात्रामा छन् । कतै तपाईँले पनि चिन्तामणि भेट्नु भयो भने उनको अभिवादन र मुस्कानबाट बन्चित नबन्नु होला । भनेजस्तो हुने थोरै छन्, नहुनेहरु धेरै हुन्छन् । अरु के भन्नु र मैले ? भेटेपछि गर्नु हुनेछ आफैँ अनुभव । त्यसैले यत्ति भन्छु , मात्र भेट्नूस् चिन्तामणिसँग एक पटक ।