‘सचिवले नियुक्ति गर्न पाउँछ भन्ने कुरा खुलस्त लेखिएको छ विधानमा,’ सचिव कुर्लिए।
‘सचिवको होइन अध्यक्षको अधिकार छ। विधान पढे हुन्छ सचिवज्यूको,’ जंगिए उपाध्यक्ष।
‘विधान पढ्नु छैन। खाली यहाँ ठूलो स्वर गरेर हुन्छ र?’ सचिव कुर्सीबाट उठे।
‘सचिव भएर बैठकमा आउँदा विधान पढेर आउनु पर्थ्यो नि ! नभएको कुरामा जिद्दी गरेर हुन्छ र?’ उपाध्यक्ष के पछि पर्थे र ?
अध्यक्ष त नामका लागि मात्रै थिए। उनलाई यो चर्काचर्की कार्यकारिणी समितिका सदस्य ‘कार्यक्रम निर्देशक’ले बैठकमा प्रस्ताव गरेको कार्यक्रमको विषयमा हो कि केमा हो भनेर खुट्याउन गाह्रो भै रहेको थियो। कुरा बुझ्दै जाँदा कार्यकारिणी समितिका सदस्य ‘संस्कृति निर्देशक’ केही महिना शहरबाट बाहिर जाँदै रहेछन्। उनको अनुपस्थितिमा साधारण सदस्यमध्येबाट ‘निमित्त’ हुने मान्छेलाई आफूले नियुक्ति गर्न पाउनु पर्छ भन्नेमा यी दुई महानुभावको लडाइँ रहेछ ।
अहिलेसम्म चुपचाप थिए कार्यक्रम निर्देशक, जसले राखेको प्रस्तावको बारेमा छलफल गर्नुपर्ने थियो बैठकमा। कार्यक्रम निर्देशकले सोच्न थाले- यो कस्तो बैठक हो? बैठक बस्ने तरिका के हो? बैठकमा प्रस्ताव कसरी राख्ने? प्रस्तावमा कसरी छलफल गर्ने र यसलाई कसरी निर्णयमा पुर्याउने? हामी नेपाली किन यति स्वार्थी र विभाजित? न त हामीमा आफ्नो राय व्यक्त गर्ने सभ्यता छ, न त अरूको भनाइमा सभ्य तरिकाले विमति जनाउने संस्कार नै। नेपाल गए कपालसँगै, बर्मा गए कर्म सँगै भनेझैँ हामीलाई पद मात्रै चाहिएको छ। म ठूलो मान्छे हुँ भन्ने देखाउन। संस्थाको उद्देश्य के हो र संस्थाको कार्य परिधि कहाँ छ भन्ने किन चाहियो? यस्ता कुराहरूको सुइँको नै नभई नेता हुनु पर्या छ।
यही नियति छ हामी नेपालीहरुले खोलेका संस्थाहरुको। च्याउझैँ उम्रेका यी संस्थाहरु चाहे देशमा होस् या विदेशमा होस् यही नियतिका चपेटामा छन्। हुँदाहुँदा देशको बागडोर सम्हाल्नेको पनि यही चाल छ। विधान र पद्धति बनाउनेले यो सोचेर बनाउँछन् कि निर्वाचित पदाधिकारीले विधानको मर्म र पद्धतिको निर्देशनअनुरूप काम गर्छन्। तर यहाँ त नेतृत्व वर्गले नै विधान र पद्धतिलाई थोत्रो झोलाभित्र अँध्यारो कुनामा थन्क्याएर आफूखुसी शासन चलाउँछन्।
कुरा नमिलेपछि हामी हाम्रो आफ्नो निहित र क्षुद्र स्वार्थका लागि छुट्टै संस्था पनि खोलिहाल्छौँ। विदेशमा त झन् विधानको प्रतिलिपि सरकारले नै बनाएर दिन्छ। प्रतिलिपि विधानमा रहेको खाली ठाउँमा संस्थाको नाम लेख्यो र दुई तीन जनाको सही गर्यो। संस्था दर्ता भइहाल्यो। लाग्छ, हामी प्रासंगिक हुन खोज्छौँ तर न बाटो थाहा छ न त गन्तव्य नै।
एक घण्टासम्म पनि दुई जनाको जुहारी नसकिएपछि आफ्नो फोनमा सुरक्षित संस्थाको विधान कार्यक्रम निर्देशकले पढे र मुसुमुसु हाँसे। जुन कुरा विधानमा एकै वाक्यमा स्पष्ट लेखिएको थियो। जोडले सबैलाई सुनाउन विधानको धारा पढे: ‘आफू अनुपस्थित हुने कार्यकारिणी समिति सदस्यले आफ्नो कार्यभार आफू अनुपस्थित हुने अवधिभर अर्को कार्यकाारिणी सदस्यलाई सुम्पनु पर्नेछ।’
यो सुन्नेबित्तिकै उपाध्यक्ष र सचिव दुवै जना बैठकबाट जुरुक्क उठेर निस्के आ-आफ्ना गन्तव्यतिर। कार्यक्रम निर्देशकको प्रस्ताव ज्युँका त्यूँ रह्यो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।