साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कथाः मङ्गलीको गल्ती

Chovar Blues Mobile Size

‘ए भाग, भाग !’ कोही चिच्याएको आवाज आयो, त्यति नै खेर एउटा खैरो रङ्गको पिकअप भ्यान रोकियो, त्यसबाट खैरो रङको लुगा लगाएका नगर प्रहरीहरु आए, क्षणभरमै उसको पसल उठाएर लगे । चिरेको काँक्रा बेच्ने उसको पसल, पसलमा डालो, नाङ्लो, छुरी, नुनखोर्सानी, पानीको जार, सात–आठवटा जति काँक्रा र व्यापार गरेको पैसा थियो । ‘फुटपाथमा पसल राख्ने, पैदलयात्री हिँड्नु पर्दैन’ भन्दै खोसेर लगे उनको गरिखाने संसार ।

पसल खोसिएपछि चार वर्षीय छोरालाई डोर्याउँंदै लागिन डेरातिर । मनमनै ‘किन आज तिनीहरु आएको थाहा पाइएनँ ? गल्ती मेरै हो !’ सोच्दै थिइन्, वर्षौंदेखि फुटपाथ ढाकेर कालो बनाएको वर्कशपमा राखेको मोटरसाइकलसँग ठोक्किन पुगिन् । अगाडि बढ्दा रेडिमेड पसलेले उभ्याएर राखेको ठ्याक्कै जिउँदो मान्छे जस्तो डमीसँग झसङ्ग भइन् । अझ अगाडि जाँदा निर्माणाधीन घरले पेटीभरि निर्माण सामाग्री थुपारेको ठाउँमा छोराले बालुवामा खुट्टा गाडेर चप्पल अड्काइहाल्यो ।  ‘सडकबाट नै हिँड्नुपर्छ पेटित यस्तै ठूला व्यवसायीहरुको प्रयोगको लागि हो’ भनेर सम्झाइन् । त्यसपछि छोराको हात समात्दै फर्निचर पसल, आगो झिर्झिर गर्ने ग्रिल पसल, मिठाई पसलको कराई, मःम पसलको डेक्ची, पार्किंङ गरिराखेको बाइक र गाडीहरु, स्टेशनरी पसलको पत्रपत्रिकाहरु, खेलकुदका सामानहरु, कपडा पसलका सिरक डसनाहरु, हार्डवेयरका सिमेण्ट र छडहरु, फलफूल पसल, किराना पसलका बोरा र पानीका जारहरु, विभिन्न व्यावसायिक संस्थाहरुका स्ट्याण्डमा अड्याइएका साइनबोर्डहरु इत्यादि छल्दै डेराभित्र छिरिन् ।

राजीव भण्डारी

त्यही एक कोठे, छिँडीको चिसो डेरा नै हो जसमा उनी उनको राजकुमारका साथ भित्रिएकी थिइन् । उनको आँखा राजुसँग पहिलोपल्ट मनकामना मन्दिरमा जुधेको थियो । नीलो जिन्स पाइन्ट, बाहिर निकालेर लगाएको चेक सर्ट र चुच्चे क्यापमा मुसुक्क मुस्काएको याद अहिले पनि आउँछ उसलाई । त्यस दिन उनी मनकामना मन्दिर दर्शन गर्न आएकी थिइन् । गोरखाबाट विहानै साथीहरुको ग्रुपमा उनीहरु हिँडेका थिए । उनको भन्दा केही नजिक धादिङ घर भएको राजु पनि त्यसै दिन मन्दिर आएको थियो । भाग्यमा जे लेखेको हुन्छ त्यो भएरै छाड्छ जस्तो लाग्छ उनलाई । सायद त्यसैले हुनुपर्छ, संयोग पनि कस्तो भने उनको साथी जुनु राजुको नातेदार रहिछन् । फुपू पर्नेको छोरा ।

बोलचाल भइहाल्यो । त्यति नै बेला अघिदेखि आँखा जुधेका युगल जोडीलाई के चाहियो र ? आपसी परिचयको लागि ठूलै उर्जा प्राप्त भइहाल्यो । त्यसपछि मोबाइलमा माया-पिरतीका कुराकानी घण्टौं हुन थाल्यो । राजु काठमाडौँमा रङ लगाउने काम गर्दो रहेछ । पढ्न त्यति मन नलाग्ने त्यसमाथि गरिबी, एसएलसी दिएपछि काठमाडौँ आएर गाउँकै काका पर्नेसँग रङ लगाउने काम गर्न थालेछ । फुर्तिलो राजु, काम पनि मन लगाएर गर्थ्यो, उसको काम सबैले मन पराउँथे । त्यसैले कमाई पनि राम्रै थियो ।

घरमा बाआमा, भाइ, बहिनी तर सीमित खेतीपाती । चार, पाँच महिना पनि नपुग्ने उब्जनीले कसरी पेट पाल्न सक्नु ? उसको बा पनि नारायणगढतिर लेबर काम गर्थे, समय समयमा घर आएर खर्च दिएर जान्थे ।

राजु बेला बेलामा मङ्गलीलाई भेट्न गोरखा आइरहन्थ्यो । त्यस दिन पनि मोबाइल गरेर आफू आइपुगेको जानकारी दियो र सधैँ भेट्ने चिया पसलमा बोलायो । मङ्गली खुशी भएर हरियो कुर्ता सुरुवालमाथि रातो रंगको सल ओढेर आई । मङ्गली त्यसरी खुशी भएर आउनुमा पनि कारण छ, किनभने उसको विवाह गर्न भाउजूले आफ्नो मामाको छोरो तयार पारिसकेकी रहिछिन् । पोखरामा सेक्युरिटी गार्डको काम गर्ने केटा रहेछ । राजुले आँट गरेर ‘आजै भागौँ’ भन्ने प्रस्ताव राख्यो । एक्कासि आएको प्रस्तावले मङ्गली पहिला त मानिनन् तर फेरि राजु रित्तै हात फर्कियो भने कदापी आफ्नो हुन सक्दैन भन्ने ठानेर स्वीकृती दिइन् ।

दुवै जना त्यति नै खेर काठमाडौँ जान हिँडे । गोरखाबाट आउने बस पनि नकुरेर खैरेनीसम्म एउटा ट्रकमा चढेर आए, त्यसपछि पोखराबाट आउने रात्रिबसमा उनीहरु काठमाडौँका लागि हिँडे । बसमा बसेपछि खैरेनीमाथिको गोरखातिरको डाँडातिर हेर्दै आँशु खसालिन्, मर्स्याङ्दीको तीरैतीर गाडी गुड्दा त्यसको सुसेलीले आफूलाई बिदा गरेको जस्तो अमिलो आभास भइरह्यो । मर्स्याङ्दीपछि त्रिशुलीले अन्तिम बिदाईको सुसेली सुनाएपछि राजुको काँधमा मुण्टो अड्याएर गाउँघर, साथीसङ्गी, बाआमा, दाइभाउजू, बहिनी, भाइ, गाई, बाच्छी, सागबारी, सुन्तलाको बोट, सार्वजनिक धारो, विद्यालय, ठूलोचौर, वर-पीपलको रुख, देवी मन्दिर सबै सबै सम्झिरहिन् । आँखा रसाएर आयो । अहिले नै गाडी रोकेर दौडेर फर्कौं जस्तो नलागेको पनि होइन । तर साथमा आफूले माया गर्ने मान्छे भएकोले मनले स्वीकृति दिन मानेन । कतिबेला आँखा लागेछ ? उसलाई पत्तै भएन ।

फागुनको महिना, काठमाडौँमा अझै जाडो बाँकी नै थियो । त्यसमाथि रातभर बसको यात्रा गरेर होला, मङ्गली त्यही रातो सल मात्र ओढेर दुइटै खुट्टामाथि राखेर टाउको राजुको काखमा पारेर, कोल्टो फर्केर, डल्लो परेर सुतेकी रहिछिन् । राजुले ‘काठमाडौँ पुगिसकियो’ भनेर विस्तारै उठायो । उनी झसङ्ग भइन् । आँखा मिच्दै राजुको पछि पछि लागिन् । कङ्लकी रहेछ, ओर्लनेबित्तिकै देखिन सपनाको सहर, काठमाडौँको रुप ।

त्यहाँपछि राजुले एउटा टेम्पो चढायो । बाटोभरि उनले देखिन्, ठूला ठूला घरहरु, फराकिलो बाटो, जताततै मोटर, मानिसै मानिस, पसलै पसल । कालीमाटी पुगेपछि राजुले टेम्पो रोक्न भन्यो । त्यहाँ ओर्लिएपछि एउटा घडी पसल अगाडि उनीहरु पुगे, त्यसको मोडबाट भित्रपट्टि गल्लीको पाँचौं घर, जुन पछिसम्म पनि उनको लागि आफू बसेको घर पत्ता लगाउने प्रमुख चिन्ह थियो । पुगेपछि एउटा पुरानो–पुरानो खालको भुइँतल्लाको एउटा कोठामा लग्यो । छिर्नेबित्तिकै ह्वास्स ढुसी गन्हाएको, जताततै सामानहरु छरपस्ट भएको, भान्छादेखि सुत्ने कोठासम्म यही हो भन्ने उसले थाहा पाइहालिन् । अब त झन् दुई जना । त्यही नै उनीहरुको नयाँ आश्रयस्थल थियो, यही नै संसार थियो, जहाँ आजपर्यन्त उनी बसिरहेकी छिन् ।

त्यसको तीन दिनमा राजुले सरसामान जुटाएर पाँच सात जना मानिसहरुको उपस्थितिमा भद्रकाली मन्दिरमा लगेर मङ्गलीको सिउँदाेमा सिन्दुर भरिदियो । उनीहरु विधिवत् रुपमा श्रीमान् श्रीमती भए । दुवैको घरमा खबर भयो । दुवैतर्फबाट खासै विरोध भएन । माइतीबाट भाउजूले ‘किन पहिल्यै नभनेको, भनेको भए त उसैसित बिहे गरिदिइहाल्थ्यौं नि’ भनेर गाली गरिन् । त्यो वर्षको दशैंमा दुवै जना दुवैतिर भेटघाट गर्न गए । राम्रै स्वागत सत्कार पाए । मङ्गली आमासँग अंकमाल हालेर धेरैबेर रोइरहिन् । सबै राम्रो भएकोले मङ्गलीले आफूलाई भाग्यमानी ठानिन् ।

विवाहको करिब डेढ वर्षपछि छोरा जन्मियो, नाम राखे साकार । त्यो नाम राजुले आफ्नो गाउँको पाठशालाको सहपाठी, जो सधैँ कक्षामा प्रथम हुन्थ्यो, ऊ जस्तै पढाउँछु भनेर छानेको थियो । आफूले पढ्न नपाएको भोक र सन्तानप्रतिको माया र कर्तव्यले उसलाई अब बढ्ता नै पिरोल्न थाल्यो । त्यसैले केही वर्षको लागि विदेशिने निर्णय लियो । यसको लागि मङ्गलीलाई सम्झाउन थाल्यो । त्यो विरानो सहरमा छोरालाई लिएर एक्लै बस्नु पर्ला भन्ने सोच्दा पनि उसको आङ जिरिङ्ग हुन्थ्यो । तर, भविष्यमा आउने सुखको लागि जस्तो सुखै दुःख पनि सहन्छु भनेर उनले आँखा चिम्लेर स्वीकृती दिइन् । श्रीमानलाई हात हल्लाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको लागि बिदा गर्दा जति दुःखी भएकी थिइन्, त्यति नै खुशी तथा सुखद् भविष्यको कल्पनाले भएकी थिइन् ।

गएको करिब वर्ष दिनजस्तो सबै राम्रैसँग चल्दै थियो । मोबाइलमा कुराकानी भइरहन्थ्यो । छोरा पनि बाबा भनेर बोल्ने भइसकेको थियो । मङ्गली भात पकाइरहेकी हुन्थिन् । छोरा पूरा बोल्न नसक्ने भए पनि गनगन गरेर बाबाचाहिँलाई घण्टौंसम्म भुलाउँथ्यो । राजु पनि ‘फोन देऊ म छोरासँग बोल्छु’ भन्दै गन्थन गरेर बस्थ्यो । पैसा पठाइरहन्थ्यो । पठाएको पैसा, ऊ जाँदा जो जोसँग लिएको थियो उसैलाई तिरिदिन्थिन् । कसैलाई ब्याजसहित, कसैलाई साँवा मात्रै दिए पनि हुन्थ्यो । तर,  अचानक, एक दिन आकाशै खसेर थिचेको जस्तो समाचार सुनिन्, पत्याउनै गाह्रो भयो, मुटु चिरियो, संसारै अँध्यारो भयो । रङ लगाउन गएको पन्ध्रौं तल्लाबाट खसेर राजुको मृत्यु भएछ ।

खबर सुन्नसाथ मङ्गली तत्कालै बेहोस भइन् । सबैतिरबाट आफन्तहरु आइपुगे । सबैले सम्झाउँदा बुझाउँदा बल्लतल्ल तीन दिनसम्म अर्ध बेहोस हुँदै उनी होसमा आइन् । सबैले ‘जाने त गइहाल्यो अब छोराको लागि पनि बलियो हुनुपर्छ’ भनेर सम्झाए । आफूभन्दा धेरै पीर परेकाहरुको कथा सुनाए । कसैले तीनवटै जवान छोराहरु एकैपटक मरेको घटना बताए । कसैले बाबुछोरा दुवै जना दुर्घटनामा परेर श्रीमती एक्लै बाँचेको सत्य समाचार सुनाए । कसैले योभन्दा पनि डरलाग्दो कुराहरु सुनाएर उनलाई आश्वस्त पार्न खोज्थे । तर पनि आफ्नै पीर सबैलाई ठूलो हुने रहेछ । आफ्नो मन बाँध्न नसकुन्जेल केहिले पनि असर नगर्ने, विस्तारै उनले पनि मन बुझाउने कोसिस गर्दै गइन् ।

केही दिन त राजु बितेको छैन होला भन्ने भ्रममा पनि परिन् । पछिसम्म फोन आइहाल्छकी भनेर त्यही मोबाइल सेटमै घरि घरि आँखा लगाएर बसिरहन्थी । सायद छोराको पनि फोनमा बोल्ने बानी परेकोले होला उसले पनि आफ्नो बाबुको आवाज खोजी गरेको जस्तै गर्थ्यो । यो देखेर उनलाई झन् असह्य पीडा हु्न्थ्यो र भक्कानो फुटेर आउँथ्यो ।

राजुको बहिनी पनि विवाह गरेर काठमाडौँ आइसकेकी थिइन् । उनको श्रीमान् एउटा लुगा पसलमा काम गर्थे, उनीचाहिँ डालोमा कहिले काफल, कहिले बदाम, कहिले मकै बेच्दै हिँड्थिन् । मङ्गलीले पनि साकारको भविष्यको लागि पनि केही काम त गर्नै पर्यो भनेर उनको मद्दतले उनको जस्तै काम गर्न थालिन् । जसको परिणामस्वरुप दुःख पाएको मानिसलाई काम दिनुपर्ने सरकारले आफैं काम गरेर खान थालेकी दुःखी एकल महिलाको सर्वश्व लुटिदियो अब नयाँ काम के गर्ने होला ?

‘साकार भावीले तेरो भाग्य कस्तो लेखिदिएको होला ? राजु तिम्रो लाश कहिले आउँछ होला ? आफ्नो सग्लो पहाडजस्तो जिन्दगी कसरी बिताउने होला, ……………… ?’

प्रश्नहरु कति छन् कति तर उत्तर कतै पाउँदिनन् । मङ्गलीलाई आजकल रुनै मन लाग्दैन, जति गरे पनि आँशु आए पो !

प्रतिक्रिया
Loading...