अल्बेयर कामुको प्रख्यात उपन्यास ‘आउटसाइडर’ (कतिपयले ‘द स्ट्रेन्जर’ नाममा पनि अंग्रेजीमा छापेका छन्) यो नेपाली अनुवाद ‘आगन्तुक’ हामीलाई प्रख्यात अनुवादक हरिहर खनालले उपलब्ध गराउनु भएको हो । उहाँका धेरै अनुदित कृति बजारमा आएका छन् ।

अल्बेयर कामुको परिचय

अल्बेयर कामु १९१३ मा अल्जेरियामा जन्मिएका थिए । उनको बाल्यकाल गरिबीमा बितेको थियो तथापि बेखुस जीवन थिएन । उनले अल्जियर्स विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरे र एउटा पत्रकारका साथै Théâtre de l’équipe नाम भएको नयाँ एवम् प्रगतिशील विचारको नाटक मण्डलीको गठन गरेर त्यसको अगुवा बने ।

उनका सुरुका निबन्धहरू L’Envers et l’endroit (The Wrong Side and the Right Side) र Noces (Nuptials) मा सङ्ग्रहित छन् । उनी प्यारिस गए जहाँ उनले अल्जेरिया फर्कनुभन्दा अघिसम्म Paris Soir भन्ने अखबारमा काम गरे । उनको नाटक Caligula १९३९ मा प्रकाशनमा आयो ।

उनका पहिला दुई महत्त्वपूर्ण पुस्तकहरू L’Etranger (The Outsider) र लामो निबन्ध Le Mythe de Sisyphe (The Myth of Sisyphus) उनी प्यारिस फर्केपछि प्रकाशित भएका थिए । १९४१ मा जर्मनहरूले फ्रान्सलाई नियन्त्रणमा लिएपछि कामु प्रतिरोध अभियानका बुद्धिजीवी नेताहरूमध्ये एक भए । उनले Combat नामक भूमिगत अखबार सम्पादन गरे र त्यसका लागि लेखहरू लेखे, जुन पत्रिकाको स्थापनामा उनले सहयोग गरेका थिए । युद्ध समाप्त भएपछि उनले आफूलाई लेखनमा समर्पण गरे र La Peste (The Plague, 1947), Les Justes (The Just, 1949), र La Chute (The Fall, 1956) जस्ता पुस्तकहरूबाट अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । १९५० को दशकको अन्त्यतिरको समयावधिमा लेखेर र William Faulkner को Requiem for a Nun र Dostoyevsky को The Possessed को निर्देशन गरेर कामुले थिएटरप्रतिको उनको चाखलाई पुनर्जागृत गरे ।

१९५७ मा उनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । १९६० मा उनी एउटा सडक दुर्घटनामा मारिएका थिए । उनको अन्तिम उपन्यास Le Premier Homme (The First Man) उनको मृत्युको समयमा अपुरो थियो र त्यो १९९४ मा पहिलोपल्ट प्रकाशित भयो । तत्कालै त्यो अत्यधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्‍यो, व्यापक रूपमा बहुचर्चित भयो र तीसभन्दा बढी देशमा अनूदित र प्रकाशित भयो ।

सात्रले उनको समवेदना सन्देशमा कामुप्रति यसरी श्रद्धा अर्पण गरेका छन्ः
‘कामु हाम्रो सांस्कृतिक विचार पद्धतिका प्रधान शक्तिहरूमध्ये एक हुन कहिल्यै पनि छाड्ने छैनन्, न त उनले आफ्नै तरिकाले फ्रान्सको इतिहास र यो समाजको प्रतिनिधित्व गर्न नै छाड्ने छन् ।’

000
::पाँच::
000

रेमन्डले मलाई अफिसमा फोन गर्‍यो । उसले मलाई के जानकारी दियो भने उसको एक जना साथीले (उसले मेरो विषयमा ऊसित कुरा गरेको थियो) आगामी आइतबार, अल्जियर्सभन्दा बाहिर, उसको छुट्टी मनाउने काठको घरमा दिन बिताउनका लागि निमन्त्रणा गरेको थियो । मैले के भनेँ भने त्यसो गर्न मलाई साँच्चै नै मन पर्ने थियो, तर त्यो दिन मैले मेरी केटी साथीसित बिताउने प्रतिज्ञा गरेको थिएँ । रेमन्डले तत्कालै के भन्यो भने ऊ पनि आमन्त्रितमा छ । उसले मसित के पनि भन्यो भने उसको साथीकी दुलही लोग्नेमान्छेहरूको भीडमा एक जना मात्र महिला हुन नपरेकोमा धेरै खुसी हुने छिन् ।

मैले तुरुन्तै टेलिफोन राख्न चाहेँ किनभने मेरो हाकिम मानिसहरूले सहरबाट मलाई फोन गरेको रुचाउँदैन । तर रेमन्डले मलाई एकछिन फोन नराख्न भन्यो र के भन्यो भने उसले त्यो साँझ नै निमन्त्रणा दिन सक्थ्यो, तर उसले मलाई केही विषयमा सचेत गराउन चाह्यो । ऊ दिनभरि नै अरबहरूको एउटा समूहद्वारा पछ्याइएको छ र तिनीहरूमध्ये एक जना उसको पूर्व प्रेमिकाको दाजु थियो । ‘आज साँझ तिमी घर आउँदा यदि तिमीले उसलाई घर नजिक देख्यौ भने, मलाई सचेत गराऊ ।’ मैले हुन्छ भनेँ ।

त्यसको लगत्तै मेरो हाकिमले मलाई बोलाई पठायो र एकैछिन मलाई दिक्क लाग्यो किनभने उसले मलाई फोन अलि कम गर्नु र काम धेरै गर्नु भन्छ होला भन्ने ठानेको थिएँ । तर त्यो बिलकुलै रहेनछ । उसले मलाई के जानकारी दियो भने उसले अस्पष्ट रूपमा सोचिरहेको एउटा परियोजनाका विषयमा मसित कुरा गर्न चाहेको थियो । उसले त्यस विषयमा मेरो सोचाइ के छ भन्ने मात्र जान्न चाहेको थियो । उसले ठूला कम्पनीहरूसित तत्कालै प्रत्यक्ष सम्पर्क राखेर त्यो क्षेत्रको व्यवसाय हेर्नका लागि प्यारिसमा एउटा कार्यालय खोल्न खोजेको थियो र उसले म त्यहाँ जान तयार छु कि भन्ने जान्न चाह्यो । म प्यारिसमा बस्न सक्ने छु र वर्षको केही समय यत्रतत्र यात्रा गर्न पनि सक्ने छु । ‘तपार्इँ एक जना नौजवान मानिस हुनुहुन्छ, र म अनुमान गर्छु कि त्यस प्रकारको जीवनले तपाईलाई आकर्षित गर्नुपर्छ ।’ मैले त्यो त हो तर मलाई त्यसो गर्न मन छैन भनेँ । त्यसपछि उसले मलाई म आफ्नो जीवन परिवर्तन गर्न इच्छुक छैन कि भनेर सोध्यो । मैले के उत्तर दिएँ भने कसैले पनि उसको जीवन परिवर्तन गर्न सक्तैन, किनभने जुनसुकै अर्थमा एक प्रकारको जीवन अर्को प्रकारको जीवन जत्तिकै अर्थपूर्ण हुन्छ र म यहाँ मेरो जीवनबाट कत्ति पनि असन्तुष्ट छैन । ऊ रिसाएजस्तो देखियो र मलाई के भन्यो भने म सधैँ प्रश्नहरूलाई टार्ने गर्छु र मसित केही गर्नुपर्छ भन्ने भावना छैन, जुन वाणिज्य संसारका लागि धेरै खतरनाक कुरो हो । त्यसपछि म फर्केर काममा गएँ । मैले उसलाई उत्तेजित नबनाएको भए हुन्थ्यो, तर मैले मेरो जीवन परिवर्तन गर्नुपर्ने कुनै कारण देखिनँ । यस विषयमा विचार गरौँ, म दुःखी थिइनँ । जब म विद्यार्थी थिएँ, त्यति बेला मसित त्यस प्रकारका अनेक आकाङ्क्षा थिए । तर जब मैले मेरो अध्ययनलाई त्याग्नुपर्‍यो, मैले तत्कालै के महसुस गरेँ भने तिनीहरूको कुनै अर्थ छैन ।

त्यो साँझ, मेरी मकहाँ आई र म ऊसित विवाह गर्न चाहन्छु कि भनेर सोधी । मैले मलाई कुनै आपत्ति छैन र यदि उसलाई मन लागेको छ भने हामी गर्न सक्छौँ भनेँ । त्यसपछि उसले म उसलाई प्रेम गर्छु कि गर्दिनँ भनेर जान्न खोजी । मैले पहिले एकफेर दिएजस्तै तरिकाले उत्तर दिएँ, के भने त्यसको कुनै अर्थ थिएन तर सम्भवतः म गर्दिनथेँ । ‘त्यसो भए मसित किन विवाह गर्ने ?’ उसले भनी । मैले उसलाई के भनेर बुझाएँ भने वास्तवमा त्यसको कुनै अर्थ थिएन, र यदि उसले चाहन्छे भने, हामी विवाह गर्न सक्छौँ । साथै, मलाई सोध्नेवाला त ऊ नै थिई र मैले सामान्य हिसाबमा हुन्छ भनिरहेको थिएँ । त्यसपछि उसले के भनी भने विवाह एउटा गम्भीर कुरा थियो । मैले ‘होइन’ भनेँ । उसले एक छिनसम्म केही भनिन र चुपचाप मलाई हेरी । त्यसपछि ऊ बोली । त्यसपछि उसले यदि अरू कुनै आइमाई जोसित मेरो त्यस्तै प्रकारको सम्बन्ध थियो, त्यसबाट त्यस्तै प्रस्ताव आएको भए मैले त्यसलाई स्वीकार गर्थेँ कि गर्ने थिइनँ होला भनेर जान्न मात्र खोजेको कुरा बताई । मैले भनेँ, ‘स्वभाविक रूपमा ।’ त्यसपछि उसले मलाई माया गर्छे कि गर्दिन होली भनेर ऊ आफैँ छक्क पर्छे भनी, त्यस विषयमा मलाई जानकारी थिएन । एकछिनको अर्को निःशब्दतापछि, अस्पष्ट लवजमा ऊ के भनेर गुनगुनाई भने म असाधारण प्रकारको मान्छे थिएँ, त्यसै कारणले सम्भवतः ऊ मलाई प्रेम गर्थी तर के भने एक दिन त्यही कारणले गर्दा मैले उसलाई घृणा गर्न सक्ने सम्भावना थियो । थप्नुपर्ने कुरा केही पनि नभएपछि मैले केही पनि भनिनँ, त्यसैले ऊ मुस्कुराई र मेरो पाखुरा समाती र के भनी भने ऊ मसित विवाह गर्न चाहन्छे । मैले के उत्तर दिएँ भने उसलाई जहिले इच्छा लाग्छ त्यही बेला हामी विवाह गर्ने छौँ । त्यसपछि मैले उसलाई मेरो हाकिमको प्रस्तावबारे बताएँ र मेरीले ऊ प्यारिस जान मन पराउँछे भनी । मैले ऊसित आफू त्यहाँ एक पटक बसेको कुरा बताएँ र उसले त्यो कस्तो छ भनेर मसित सोधी । मैले भनेँ, ‘यो घिनलाग्दो छ । परेवा र काला चोकहरूले भरिएको । सबै मानिसहरू खैरे छन् ।’

त्यसपछि हामीहरू सहरमा घुम्नका लागि मुख्य सडक भएर गयौँ । यत्रतत्र जहाँसुकै सुन्दरी महिलाहरू थिए र मैले मेरीसित उसले ख्याल गरी कि भनेर सोधेँ । उसले अँ भनी र उसले मलाई बुझी । एकछिनसम्म हामी दुवैले केही भनेनौँ । तथापि ऊ मसित बसोस् भन्ने मैले चाहेको थिएँ र मैले उसलाई हामी सँगै सेलेस्टकहाँ रातको खाना खान सक्छौँ भनेँ । उसले पहिले नै त्यो मन पराएकी हुन सक्थी तर उसले केही गरिरहेकी थिई । हामीहरू मेरो कोठा नजिकै थियौँ र मैले उसलाई बिदा भनेँ । उसले मलाई हेरी । ‘मैले के गरिरहेकी छु त्यो तिमी जान्न चाहँदैनौ ?’ मैले जान्न त चाहेकै थिएँ, तर मैले सोध्ने विषयमा सोचेको थिइनँ र अहिले यसका लागि ऊ मलाई थर्काउन थालेकीजस्ती देखिई । त्यसपछि, मलाई जिल्ल परेको देखेर, ऊ फेरि हाँसी र मलाई म्वार्इँ खान दिनका लागि उसको पूरै शरीर मतिर झुकाई ।

मैले सेलेस्टकोमा रातिको खाना खाएँ । मैले खान सुरु मात्रै के गरेको थिएँ एउटी अनौठी आइमाई भित्र पसी र मेरो टेबलमा बस्न सक्छु कि भनेर सोधी । निःसन्देह, ऊ बस्न सक्थी । ऊ कैयौँ झट्का निकालेर हिँडी र चम्किला आँखायुक्त त्यसको सानु अनुहार स्याउजस्तो थियो । उसले त्यसको ज्याकेट खोली, बसी र उत्तेजित किसिमले मेनु हेरी । उसले सेलेस्टेलाई बोलाई र छिटछिटो तर ठीक किसिमले बोल्दै उसको पूरै खाना एकै पटकमा मगाई । उसले मुख्य खाना खानुभन्दा पहिले खाइने कुराका लागि पर्खेर बसेको समयमा उसको झोला खोली, एउटा चारपाटे कागजको टुक्रा र सिसाकलम निकाली, पहिले नै बिल जोडी र त्यसपछि जति हो त्यति हिसाबमा टिप्स जोडेर उसको वेस्टकोटको गोजीबाट दाम निकाली र उसको अगाडि राखी । त्यही बेला भोक जगाउने प्राथमिक खाना आइपुग्यो र उसले त्यसलाई जति सक्यो त्यति छिटो निल्न थाली । जब ऊ मुख्य खानाका निम्ति पर्खँदै थिई, त्यति बेला उसले उसको झोला खोतली र एउटा नीलो सिसाकलम र एउटा पत्रिका निकाली जसमा रेडियोको साप्ताहिक कार्यक्रम थियो । एकएक गरेर, उसले लगभग सबै कार्यक्रममा चिन्ह लगाई । त्यो पत्रिकामा एक दर्जन यस्तै पाना थिए, यसैले यो अति सावधानीका साथ गरिएको कामले उसको खाना खाने पूरै समय लियो र मैले यसअघि नै सकिसकेको थिएँ र ऊ अझसम्म नै उही प्रकारको मिहिनेतमा चिह्न लगाउँदै थिई । त्यसपछि ऊ उठी, उसको ज्याकेट उही प्रकारको होसियारी साथ लगाई र यन्त्र मानवको जस्तो चालमा त्यहाँबाट हिँडी । मलाई केही गर्नु थिएन, त्यसैले म पनि हिँडेँ र उसलाई अलिकति पच्छ्याएँ । ऊ पैदलमार्गको किनारबाट लगातार जाँदै थिई र खुबै राम्रो गति र आत्मविश्वासका साथ बाटो नफेरी र यताउता नहेरी हिँड्दै थिई । ऊ कति अनौठो प्रकारकी थिई भन्ने मैले ठानेँ, तर मैले उसबारे चाँडै नै बिर्सिएँ ।

मेरो ढोकाबाहिर मैले बूढो सालामानोलाई भेटेँ । मैले उसलाई भित्र बोलाएँ र उसले मलाई के भन्यो भने उसको कुकुर साँच्चै नै हरायो, किनभने त्यो हराएका कुकुर राख्ने ठाउँमा थिएन । त्यहाँका मानिसहरूले उसलाई के भनेका थिए भने त्यसलाई गाडीले कुल्चिदिएको हुन सक्छ । उसले तिनीहरूसित प्रहरी चौकीमा पाइने सम्भावना छ कि छैन होला भनेर सोध्यो । उनीहरूले उसलाई के भनेँ भने उनीहरूले त्यस प्रकारका कुकुरको अभिलेख राख्तैनन्, किनभने त्यस प्रकारका घटनाहरू दिनदिनै घट्छन् । मैले बूढो सालामानोलाई के भनेँ भने उसले अर्को कुकुर ल्याउन सक्छ, तर उसले तत्कालै मसित यस्ता कुरामा ऊ अभ्यस्त भैरहेको थियो भनी बतायो ।

म मेरो ओछ्यानमा गुडुल्किइरहेको थिएँ र सालामानो टेबल नजिकै एउटा कुर्चीमा बसेको थियो । ऊ मतिर फर्केर बसेको थियो र दुवै हात घुँडामा थिए । उसले उनीको पुरानो टोपी लगाएको थियो । उसले कैला जुँगामुनि अस्पष्ट वाक्यांशहरू गुनगुनाइरहेको थियो । उसले मलाई अलिकति दिक्क पारिरहेको थियो, तर मैले गर्नुपर्ने केही पनि थिएन र मलाई निद्रा पनि लागेको थिएन । गफ गर्नका लागि मैले उसको कुकुरका विषयमा सोधेँ । उसले मलाई उसकी दुलही बितेपछि उसले यो कुकुर पाल्न थालेको थियो भनी बतायो । उसले निकैपछि गएर मात्र विवाह गरेको थियो । जवान छँदा ऊ अभिनयमा जान चाहेको थियो । सैनिकमा छँदा उसले विविध सांस्कृतिक कार्यमा भाग लिने गरेको थियो । तर उसले रेलवेमा काम गर्न छोडेको थियो र त्यसमा उसले कुनै पश्चात्ताप गरेन, किनभने अहिले उसले सानोतिनो निवृत्तिभरण पाउँथ्यो । उसकी जहानसित ऊ खुसी थिएन, तर समग्रमा ऊ दुलहीसित बिलकुलै अभ्यस्त भैसकेको थियो । जब ऊ मरी उसले बिलकुलै एक्लो भएको महसुस गर्‍यो । त्यसै कारणले उसले एक जना साथीसित कार्यशालामा एउटा कुकुरका विषयमा कुरा गरेको थियो र यसलाई सानु छाउरो हुँदा पाएको थियो । उसले यसलाई बोतलबाट खुवाउनु परेको थियो । तर, जस्तो कि कुकुर मान्छेजति नबाँच्ने भएको हुनाले ती दुवै सँगै बुढ्यौलीतिर लाग्न बन्द भएका थिए । ‘त्यो रिसाहा थियो,’ सालामानोले भन्यो, ‘कहिलेकाहीँ हामी बीचमा झगडा पर्थ्यो तर समग्रमा त्यो एउटा राम्रो कुकुर थियो ।’ मैले त्यो राम्रो नश्लको थियो भनेँ र सालामानो खुसी देखियो ।
‘हो,’ उसले भन्यो, ‘तर तपाईँले त्यसलाई बिरामी पर्नुभन्दा अगाडि देखेको हुनुपर्छ । उसको कोट उसको सबभन्दा राम्रो चिज थियो । हरेक रात र हरेक बिहान, उसको छाला चिलाउन थालेपछि, सालामानोले त्यसलाई मलम घसिदिन्थ्यो । तर उसको भनाइमा यसको मुख्य समस्या यसको बुढ्यौली थियो र बुढ्यौलीको कुनै औषधी छैन ।

त्यति नै बेला मैले हाई काडेँ र वृद्धले आफू जान लागेको कुरा बतायो । मैले उसलाई पर्खन भनेँ र उसको कुकुरलाई जे आइपरेको थियो त्यसबाट म दुःखी भएको कुरा सुनाएँः उसले मलाई धन्यवाद दियो । उसले के पनि भन्यो भने- मेरी आमालाई उसको कुकुर खुबै मन पर्थ्यो । उसले ‘तपार्इँकी बिचरी आमा’ भनेर सम्बोधन गर्‍यो । आमा बितेपछि म धेरै बेखुसी भएको थिएँ भन्ने प्रकारको अनुमान गरेजस्तो देखियो ऊ, र मैले केही पनि भनिनँ । त्यसपछि निकै चाँडै, मानौँ कि उसलाई अप्ठेरो परेको छ झैँ गरेर उसले मलाई भन्यो- मैले आमालाई वृद्धाश्रममा पठाएको हुनाले स्थानीय मानिसहरूले मेरो विषयमा नराम्रो धारणा बनाएका थिए भन्ने उसलाई महसुस भएको थियो तर उसले मलाई राम्ररी जान्दथ्यो र मैले आमालाई धेरै माया गर्थेँ भन्ने कुरा उसलाई थाहा थियो । मैले जवाफमा मैले त्यसो गरेकोमा मानिसहरू त्यस्तो धारणा राख्छन् भन्ने कुरा त्यसअघि मैले महसुस गरेको थिइनँ र म अझै पनि त्यो कुरा जान्दिनँ तर आमाको हेरविचार गर्नका लागि मसित प्रशस्त मात्रामा पैसा नभएको हुनाले आमाका लागि आश्रम स्वाभाविक भएको थियो भनी बताएँ।
‘जसरी पनि,’ मैले थपेँ, ‘आमालाई आवश्यक पर्ने चिजबिज सकिएका थिए र मलाई धेरै पहिले भन्नुपर्ने थियो र एक्लै भएको हुनाले आमालाई दिक्क लागेको थियो ।’

‘हो,’ उसले भन्यो, ‘र आश्रममा जोसुकैले पनि केही साथी बनाउन सक्छ ।’

त्यसपछि उसले ऊ जानुपर्छ भन्यो । ऊ एकछिन सुत्न चाहेको थियो । अहिले उसको जीवन परिवर्तन भएको थियो र उसले के गर्दैछ भन्ने कुरा उसलाई कत्ति पनि थाहा थिएन । मैले उसलाई चिनेदेखि पहिलोपल्ट, र आफ्ना कुरा अलिकति खुलस्त किसिमले नभन्ने पारामा, उसले मलाई उसको हात दियो र मैले उसको हातमा कत्ला अनुभव गरेँ । ऊ हल्का मुस्कुरायो र जानुभन्दा अगाडि उसले भन्यो, ‘आज राति कुकुरहरू भुक्ने छैनन् भन्ने म आशा गर्दछु । म सधैँ सोच्छु यो मेरो हो ।

(बाँकी अर्को सोमबार)