कथा पढ्नुअघि

समय खेर जान नदिन मैले छोटा-लामा रूसी कथा मूल भाषाबाट अनुवाद गरेँ । रूसी भाषाको सन्दर्भमा यहाँ लाटो देशको गाँडो तन्नेरी जो म आफूलाई ठान्छु । यी कथाहरूको छनोटको आधार चाहिँ यिनले दिने सन्देशहरू हुन् । म रूपलाई भन्दा सारलाई अलिकति भए पनि बढी महत्त्व दिनुपर्छ भनी ठान्छु ।

यी अनुवादहरू मूल कथाबाट टाढिएका छैनन् । अनुवादमा मैले मूल कृतिका संरचना र भावलाई सकेसम्म उतार्ने प्रयास गरेको छु । अर्थात् यहाँ भएका कथाहरू अनुवाद हुन्, व्याख्या होइनन् । मूल कृतिलाई व्याख्या गरेर गरिएको अनुवाद, जुन भाव अनुवादले बढी चिनिन्छ, मा लेखकको उपस्थिति कम हुन्छ, अनुवादकको बढी । यो मेरो निजी धारणा हो । रूसीमा यी कथाहरू पढ्दा सरर सर्छन् । यहाँ त्यसो नभएकोमा मेरो कमजोरी हो ।

अगाडि तपाईंले यो कथाको लेखकको नाममा एन्टन चेखभको ठाउँमा आन्तोन छेखफ नाम देख्नुभएर अचम्म मान्नुभयो होला । यसो गर्नु म ठीक ठान्दछु किनकि हामी अंग्रेजीका सबै खाले नाम-पदहरू पनि त्यसैगरी रूपान्तर गर्छौं । रूसीका चाहिँ किन यसो गर्न नहुने ? अर्थात् रूसीको ताल्स्तोइलाई हामीले टाल्स्टाय किन भन्नु पर्ने ? आलोचना स्वीकार्छु, त्यो पनि सहर्ष ।

यसअघि मैले शिसम प्रकाशन बालाजुबाट २०७५ मा ‘बसिबियाँलो’ किताब निकालेको थिएँ । त्यही बसिबियाँलोका कथाहरू नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन हुनेछन् । कथा पढेर प्रतिक्रिया पाउनेछु भन्ने आशा गरेको छु ।

डा. बलराम अर्याल

::३::

अर्थहीन कुराहरू पनि बन्ने गर्दछन् संसारमा । कहिले –काहीँ त कुनै सत्यजस्तो पनि हुँदैनः अचानक त्यही नाक, जुन स्टेट काउन्सिलरको पदमा सबतिर सवार हुन्थ्यो र शहरमा यति धेरै हल्ला मच्चायो कि कहिल्यै केही नभएको जसरी पेखा पर्‍यो आफ्नो पुरानै ठाउँमा, मतलब मेजर कभाल्योफका दुई गालाहरूको बीचमा । यो ७ तारीख आप्रिलको भएको थियो । बुउँझेर, एक्कासी ऐनामा हेर्दा त उसले देख्छः नाक ! हातले समात्दा – पक्का नाक ! “एहे !” कभाल्योफले भन्यो, अनि खुशीमा झण्डै कोठाभरि नाङ्गै खुट्टा उफ्रिएको, तर भित्र पस्दै गरेको इभानले उसलाई बिथोल्यो । उसले तत्क्षण आफूलाई नुहाउने आदेश दियो, अनि, नुहाउँदै गर्दा ऐनामा पुलुक्क हेर्‍यो फेरिः नाक । तौलियाले मुख पुछ्दाखेरि उसले पुनः ऐनामा हेर्‍योः नाक !
“हेर् त इभान, लाग्छ, मेरो नाकमा फोको जस्तो छ”, भन्यो उसले र सोच्यो यसैबीचमा मनमनैः यी अब दुःख आइलाग्ने भयो, जब इभानले भन्लाः होइन, प्रभु; फोको मात्र होइन, नाक पनि छैन !
तर इभानले भन्योः “केही होइन, सर, कुनै फोको होइनः नाक सफा – चट्टको !”
“राम्रो, हे भगवान !”, आफैँले आफूलाई भन्यो मेजरले र चुट्की बजायो औँलाहरूले । यसै बेलामा ढोकाभित्र हजाम इभान याकभ्लेभिछ्ले पुलुक्क हेर्‍यो; तर बिरालो जस्तै डराएर, जसलाई भर्खरै मात्र पिटेका थिए बोसो चोरेवापत ।
“भन अगाडि, हात सफा छन् ?” कभाल्योफले अलि टाढैबाट करायो उसलाई ।
“सफा छन्” ।
“झूट बोल्दै छौ “ ।
“कसम खाएर भन्छु, सफा छन्, साहेब” ।
“अँ, विचार गर” ।
कभाल्योफ बस्यो । इभान याकभ्लेभिछ्ले उसलाई न्याप्कीन–तौलियाले छोपिदियो, अनि एकै छिनमा बुरूसको सहायताले दलिदियो उसका सबै दाह्री र गालाको केही भागमा क्रिम, जुन ठूला-ठूला व्यापारीहरूको जन्म-दिनमा पाहुनाहरूलाई दलिदिने गर्दछन् । “तैँले देखिरहेको छस् नि !” इभान याकभ्लेभिछले भन्यो आफैँले आफैँलाई, नाकतिर हेरेर, अनि त्यसपछि अर्कैतिर मुन्टो फर्कायो र उसलाई बगलतिरबाट हेर्‍योः “यसो हेर ! यो कुरा कसले सोच्न सक्थ्यो र !” उसले हेर्दै रह्यो र निकै बेरसम्म नाकतिर हेरिरह्यो । अन्ततः, हल्का किसिमले, होसियारीपूर्वक जुन कल्पना मात्र गर्न सकिन्थ्यो, उसले दुईवटा औँला अलिकति उठायो, नाकलाई छेउतिरबाट समात्नको लागि भनेर । यस्तो थियो इभान याकभ्लेभिछको तरीका ।
“ल, ल, ल, हेर !” करायो कभाल्योफ । इभान याकभ्लेभिछ्ले हात पनि तल झार्‍यो, डरायो, अलमलमा पर्‍यो, यसरी यस पहिले कहिल्यै अलमलमा परेको थिएन ऊ । अन्तिममा बडो होसियारीपूर्वक उसले कभाल्योफको दाह्री तलतिर छुराले कुतकुत्याउन शुरू गर्‍यो, यद्यपि उसलाई आफ्नो ग्राहकको दाह्री काट्न कत्ति पनि सहज थिएन, बरू गाह्रो थियो, शरीरको सुँघ्ने भागमा नसमातीकन, यद्यपि जसैकसै उसका गाला र तल्लो गिजामा आफ्नो खस्रो बूढी औँला अड्याएर अन्ततः आफ्ना सब अड्चनहरू पार गर्‍यो र दाह्री बनाइदियो कभाल्योफको ।
जब सब तयार भयो, कभाल्योफ तत्क्षण लुगा लगाउन हतारियो, बग्गी – चालकलाई लियो, अनि सिधै कन्फेक्शनरी पसलमा गयो । भित्र पस्दै गर्दा उसले टाढैबाट करायो, “ए केटा, एक कप चकलेट !” अनि आफू चाहिँ ऐनातिरः नाक छ । ऊ खुशी भएर फरक्क फर्कियो अनि अलिकति आँखा चिम्लेर व्यङ्ग्यात्मक नजरले हेर्‍यो दुईजना सैनिकतिर, जसमध्येमा एउटाको नाक चाहिँ इष्टकोटको टाँक भन्दा कसैगरी ठूलो थिएन । यसपछि ऊ त्यही विभागको कार्यालयमा गयो, जहाँ उसले भाइस गभर्नरको पदको लागि, त्यो सफल नभएमा प्रशासकको लागि, दौड–धूप गरेको थियो । रिसेप्शनबाट जाँदै गर्दा उसले ऐनामा हेर्‍योः नाक छ । त्यसपछि ऊ अर्को कलेजियट असेसर वा मेजर, जो एकदम ठट्टावाल थियो, -कहाँ गयो, जसलाई उत्तरमा ऊ बिभिन्न चुट्किला टिप्पणीहरूमा भन्ने गर्थ्योः अँ, तँ छस नि, म तलाईँ चिन्छु, तँ आलपीन होस् !” बाटोमा उसले सोच्योः “मलाई देखेर यदि मेजर हाँसोले लोत–लोत भएन भने त्यो के कुराको साँचो संकेत हो भने, जे जस्तो छ, सब कुरा आफ्नो ठाउँमा छ । तर कलेजियट असेसर ठीकै छ । “ठीक छ, ठीक छ, भगवानले जे गर्छ !” आफूबारे कभाल्योफले सोच्यो । बाटोमा उसले श्टाफ – अफिसर पात्तोछिनालाई छोरीसँगै भेट्यो, उनीहरूलाई झुकेर अभिवादन गर्‍यो अनि प्रफुल्ल मुद्रामा उनीहरूले स्वागत गरे, ठीक -ठाकै जस्तो भयो, यसमा केही पनि नोक्सानी छैन । उसले उनीहरूसँग धेरै बेर वात मार्‍यो, जानीजानीकन सूर्तीको बट्टा झिकेर, उनीहरूको सामु धेरै बेर लगाएर नाकका दुबै प्वालबाट नसवारले नाक भर्‍यो, “ यी, तपाईँहरूलाई, आइमाईहरू, कुखुरे जनताहरू !” मन मनै भन्दै, तर छोरीसँग विवाह जे भए पनि गर्दिनँ । यत्तिकै, par amour– जरूर लडाउँला ! अनि मेजर कभाल्योफ त्यो बेलादेखि डुल-डालमै व्यस्त रह्यो, कहीँ – केही नभएको जसरी, नेफ्स्की एभेन्यूमा पनि, थिएटरहरूमा पनि, अनि सर्वत्र पुग्थ्यो ऊ । अनि नाक पनि, केही नभएको जसरी, उसको अनुहारमा बसेको थियो, चारै दिशातिर छुट्टिएर जाओस् भन्ने भाव समेत नदेखाएर । र यसपछि मेजर कभाल्योफलाई देख्थे हमेशा राम्रै दिल – खुश मुद्रामा, मुस्कुराइरहने, एउटा अठोटसाथ राम्रा महिलाहरूको पिछा गर्ने, एक ताल त “गास्चिन्‍ईइ द्भोर” पसलको अगाडि रोकिएको र कुनै तक्माको रिबन किन्दै गरेको समेत देखे, तर यसको पक्का कारण भने थाहा भएन, किनकि ऊ आफू कुनै तक्मावाल थिएन ।
यी कस्तो घटना घटेको थियो हाम्रो बिस्तृत देशको उत्तरी राजधानीमा ! अब मात्र सब कथाबाट के देख्छौँ भने यसमा धेरै सत्य –तथ्य छैन । यसबारेमा नभनौँ, ठ्याक्कै, अचम्म, अलौकिक ढङ्गले नाक काटिएर अलग हुनु र बिभिन्न ठाउँहरूमा स्टेट काउन्सिलरको भेषमा देखा पर्नु बाहेक, – कभाल्योफको समझमा यो कुरा किन आएन, नाकको बारेमा पत्रिकामार्फत विज्ञापन गर्नु हुँदैन भनेर ? म यहाँ यस अर्थमा बोलिरहेको छैनँ, मैले विज्ञापनको लागि महङ्गो तिर्नु पर्‍यो भनेरः यो बकवास हो, अनि म बिलकूल स्वार्थ – मन पराउने मान्छेहरूमध्ये पनि होइनँ । तर यो अशिष्ट, अप्ठ्यारो, नराम्रो कुरा हो ! अनि फेरि पनि – कसरी नाक पोलेको पाउरोटीमा देखा पर्‍यो, अनि इभान याकभ्लेभिछ आफू ? … होइन, यो म आफैँ बुझ्दिनँ, निर्णायक ढङ्गले बुझ्दिनँ ! तर यो भन्दा बढी अचम्मको कुरा हो, जुन बुझ्न सबभन्दा बढी मुश्किल हुन्छ, त्यो के हो भने लेखकहरूले यस्ता घटनाहरूलाई आफ्नो विषय -वस्तु किन बनाउँछन् । स्वीकार्छु कि यो बिलकूल बुझ्न सकिने कुरा होइन, यो पक्का … होइन, होइन, कत्ति पनि बुझ्दिनँ । पहिलो कुरा, पितृभूमिको लागि फाइदा निर्णायक ढङ्गले कुनै छैन; दोश्रो कुरा, …दोश्रो पटक पनि कुनै फाइदा छैन । सिम्प्ली मलाई थाहा छैन, यो के हो …।
परन्तु फेरि पनि, यद्यपि, निश्चय नै, यो वा त्यो हुन सक्छ, त्यस्तै तेश्रो पनि, हुन सक्छ …समेत, हो नि कहाँ हुँदैन र असँगति ? … – परन्तु सब, जसै सोच –विचार गर्छौँ, यी सबमा, सत्य, छ केही । जसले जे –सुकै भनोस्, यस्ता किसिमका घटनाहरू संसारमा हुन्छन्; बिरलै सही, तर हुन्छन् ।

(समाप्त)