एउटा पुस्तकविमोचन समारोहबाट छुट्टिने बेलामा कवि सिर्जन अविरलले हार्दिकतापूर्वक भन्नुभयो– “रामहरि सर, स्रष्टाहरूमात्र मिलेर एउटा टुर कार्यक्रम गरौँ न, मलाई साह्रै इच्छा छ ।”

म पनि यात्रामा रमाउने र रुचि भएको मान्छे । यस प्रस्तावले खुसी तुल्यायो । छोटो छलफलपछि टुर जाने कुरामा दुवै जना सहमत भयौँ । जाने दिन शुक्रबार–शनिबार पार्ने र सहभागी साथीहरू सन्जीवनी रस पेयकारी हुनुपर्ने सीमारेखा पनि निर्धारण गरियो । बाँकी सबै कार्यक्रमको योजना बनाउने जिम्मा मैले पाएँ अनि हामी छुट्टियौँ ।

भोलिपल्ट कवि प्रकाश चापागाईंलाई टुर कार्यक्रमको सोच प्रस्ताव गरेँ । वहाँ खुसीसाथ सहमत हुनुभयो । एउटा जीपमा आठ जना अटाइने रहेछ । उक्त सङ्ख्या पूरा गर्न हामी दुईले मन खाएका उपयुक्त साथीहरूलाई सम्पर्क गर्दै गयौँ । सङ्ख्या पूरा भयो ।

पुस ३ र ४ गते (२०७७) प्रातः ६ बजे यात्राको साइत जुर्यो । प्रस्थानबिन्दु लायन्सचोक नारायणगढ र गन्तव्य थियो–कुलेखानी (मार्खु) इन्द्रसरोवर, चित्लाङको अर्गानिक कृषिफार्म र मकवानपुरको दामन ।

यात्रामा सहभागी हुने भयौँ– डा. धनेश्वर भट्टराई, डा. एकनारायण पौडेल, धनराज गिरी, रेशम बिरही, रणेन्द्र बराली, प्रकाश चापागाईँ, सिर्जन अविरल र रामहरि श्रेष्ठसमेत जम्मा आठ जना ।

यात्रालाई थप महत्त्व प्रदान गर्न गाडीमा ब्यानर लगायौँ–“अष्टाङ्ग काव्ययात्रा”। तर “बाह्र वर्षमा पोइ आएको,म अभागिनीलाई ज्वरो आएको” भने झैँ भयो, यात्राका प्रस्तावक सिर्जनजीलाई नै । उहाँ प्रस्थान मितिभन्दा दुई दिनपूर्वबाट बिरामी पर्नुभयो । यात्रामा समावेश हुन असमर्थ हुनुभयो । यात्रामा वहाँको अभावले स्वभावतः नमीठो लाग्यो सबै साथीहरूलाई । अन्तमा सात जनामात्र भए पनि जाने भयौँ ।

रामहरि श्रेष्ठ

यात्रा आरम्भदेखि नै अटुट् रूपमा गफगाफ चलिरह्यो । पौने आठ बजे मनहरि बजार कटेपछि चियानास्ता खायौँ । मकवानपुर भैंसेमा पुग्दा घडीमा नौ बज्दै थियो । कुलेखानी पुग्न भैंसेबाट बाइरोडको बाटो (त्रिभुवन राजपथ) छोडेर भीमफेदीतर्फ मोडियौँ । खाना कहाँ खाने भन्ने प्रश्न उठ्यो । भैँसेको नाम उच्चारण भएपछि प्रकाश चापागाईँले प्रसङ्ग उठाउनुभयो–“यो भैंसे भन्ने ठाउँका बारेमा कहिल्यै नबिर्सने संस्मरण छ मसँग ।”

कहानी सुनाउनुभयो– “सात कक्षामा अध्ययन गर्दैगर्दा स्कुलको कार्यक्रममा चितवनबाट काठामाडौ जाँदै थियौँ । सरले भैंसेमा नै खाना खाने बताए । भैंसे नामकरण भएकाले यो ठाउँ भैंसीको मासु पाइने ठाउँ हो भन्ने कुरा मेरो दिमागमा बसेको थियो तसर्थ यहाँ खाना खान मन लागेन । ‘यो ठाउँको नाममात्र भैंसे हो, भैंसीको मासु पाइने ठाउँ होइन, खसीकै मासु मात्र पाक्छ यहाँ’ भनेर सरले विश्वास दिलाए । अनिमात्र भैंसेमा खाना खान मन्जुर भएको थिएँ । खसीको मासु नै सम्झेर खाना खाएँ तर पछि मासु थप गर्दा निकै ठूलो हड्डी पर्यो । यो त भैंसीकै हड्डी हो भन्ने ठानेँ अनि मलाई एक्कासि पेटै निख्रने गरी थालमै उल्टी आयो । वरिपरि खाँदै गरेका सबैको थालमा छिटा पर्यो । अनि सबैले आधा खाना खेर फाल्नुपर्यो ।”

भीमफेदीतर्फ अगाडि बढ्दै गर्दा मलाई पनि २०३० सालको नमीठो यथार्थको स्मरण भयो । त्यस बखत वन फडानी गरेको र सुकुम्बासी बस्ती बसालेको आरोपमा मेरा पिताजी जेल पर्नुभएको थियो । उहाँ यही भीमफेदीे कारागारमा हुनुहुन्थ्यो । आज सड्चालीस वर्षपश्चात् उही भीमफेदीकै बाटो भएर कुलेखानीको यात्रामा छु । त्यतिबेला वर्षाको समय थियो । काठामाडौंबाट हेटौँडा जाने ट्रकको पछाडि बसेर दुई दिनमा आइपुगेको थिएँ भैंसेसम्म । अनि भैंसेबाट पैदल हिँडेरै भीमफेदी पुगेको थिएँ पिताजीलाई भेट्न ।

हाम्रा गाडीचालक सुवर्ण भीमफेदी आसपासकै रहेछन् । रणेन्द्र बरालीले चालकसँग प्रश्न राख्नुभयो– “खास भीमफेदीबजार कहाँ हो थाहा छ गुरुजी ?”

चालक भने– “यहीमात्र हो भीमफेदी । अर्को भीमफेदी नै छैन ।”

बरालीेले भन्नुभयो– “हैन, ओरिजनल भीमफेदी त अर्कै हो ।” गुह्य कुरो भन्नुुभयो– “धेरै वर्ष पहिलेको भीमफेदी बजारलाई नामनिशाना नै नरहनेगरी बाढीले बगाएर लगेको थियो । अहिलेको भीमफेदी बजार त फरक स्थानमा बसेको हो ।”

कुरो वास्तविक नै रहेछ । निकै फराकिलो एरिया बाढीले सखाप पारेको रहेछ । कुनै समयमा बाढी पसेको कुरा तत्स्थानको भूदृश्यले बताइरहेको थियो ।

भीमफेदी बजारलाई छिचोल्दै पुल तरेर अगाडि बढेपछि निर्मामाणाधीन ग्रावेल सडक र उकालो घुम्ती पार गर्दै पुग्यौँ चिसापानी बजार । दश बजे पुग्यौँ जरखेत । देख्दै रहलाग्दा गाजर बिक्रीका लागि राखेको देख्यौँ । अर्गानिक गाँजर उत्पादनका लागि प्रसिद्ध रहेछ यो ठाउँ । दुई किलो गाँजर किन्यौँ र सबैले टोक्दै अगाडि बढ्यौँ ।

निकै उचाइमा पुगेपछि एउटा थुम्को देखियो । त्यो ऐतिहासिक गढी रहेछ । एउटा भट्टी अगाडि गाडी रोक्यौँ । गढीको अवलोकन गर्न चाह्यौँ तर गेटमा ताला लागेको रहेछ । चाबी मागेर भित्र प्रवेश गर्ने प्रयास गर्यौँ । पुजारीले चाबी लिएर कतै गएका रहेछन् । गढी अवलोकनको इच्छा अवरुद्ध बन्यो । बाहिरबाटै गढीको फोटो खिच्यौँ । भीमफेदीतर्फ सोझ्याएर राखेको तोप परैबाट पनि देखियो । यसलाई “कालीतोप” भनिने रहेछ । स्थानीयको भनाइअनुसार यो नै नेपालको सबैभन्दा ठूलो तोप हो । गेटबाहिर एउटा साइनबोर्ड थियो र त्यसमा निम्न कुराहरू लेखिएको थियो–
श्री बटुक भैरव मन्दिर भीमफेदी– ८ गढी, मकवानपुर ।

१) यस मन्दिर परिसरमा महिला प्रवेश निषेध गरिएको छ ।
२) श्रावण महिनामा भोगबलि दिन निषेध गरिएको छ ।
३) श्रावण महिनाबाहेक अन्य महिनामा मङ्गलबार मात्र बलिपूजा हुनेछ ।

हामीलाई जिज्ञासा जाग्यो, यस मन्दिरमा महिलाले प्रवेश नपाउनुको कारण । एउटा किंमदन्ती यस्तो सुनियो– “कुनै राजाले लडाइँ गर्न जानुअघि यस बटुकभैरव मन्दिरमा आएर भाकल गरेका थिए रे, ‘मैले राज्य जित्न पाएँ भने एउटी महिलाको भोग दिनेछु’ । उनले राज्य जिते तर महिला बलि दिएनछन् । त्यसपछि “यहाँ जो महिला पूजा गर्न आउँछन् उनीहरूलाई बान्ता आउने होस्” भनेर बटुक भैरवले श्राप दिएछन् । त्यसपछि यहाँ जो महिला प्रवेश गर्दा पनि बान्ता आउने भयो रे ।” तसर्थ महिलालाई प्रवेष निषेध गरिएको रहेछ ।

साँढे दश बजे टेकियो समुन्द्र सतहबाट २०३७ मिटर उचाइमा रहेको कुलेखानी देउरालीबजार । पारिलो र रमणीय स्थान रहेछ । घामको न्यानोले हामीलाई स्वागत गर्यो । उत्तरी क्षितिजमा देखियो मनोरम धौलागिरी र ल्होत्से हिमश्रृङ्खला । त्यसभन्दा वर नीला पहाडहरू र अझै वर देखिए हरियाली सुन्दरता पस्किरहेका पहाडी श्रृङखलाहरू ।

अनि यसैकोे काखमा देखियो अप्सरा झैं मन्त्रमुग्ध मुस्कान पस्केर पर्यटकलाई लोभ्याइरहेको इन्द्रसरोवर । यहाँ खाना राम्रो पाइने कुरा बरालजीलाई थाहा रहेछ । खाने निधो गर्यौँ । वरिपरिका होटलहरूमा नजर डुलाउँदै गर्दा सुनगाभा देउराली होटलले ध्यानाकर्षण गर्यो । त्यसैमा प्रवेश गर्यौँ । त्यस होटल सन्चालक भाइ गोविन्द पथिक गजलकार नै परेछन् । धनराज गिरी सरलाई पनि गजलकार भनेर चिनेका रहेछन् । आपसमा परिचय भयो । होटलमै सस्वर गजल पस्किदिनुभयो धनराज सरले । माहोल रमाइलो बन्यो ।

अर्का मित्रले हाँमा हाँ मिलाउनुभयोे– “हामी रमाइलो गर्न नै आएका हौँ त्यसैले के फरक पर्ला र ?” स्वीकार भयो सबैबाट ।

माहोल अझै रमाइलो बनाउने मुड बन्यो प्रकाश चापागाइँजीलाई । प्रसङ्ग उठाउनुभयो–“खाना खानुभन्दा पहिले यो रमाइलो यात्राको खुशीयालीमा अलिकति टुच्च पारौँ न ।”

अर्का मित्रले हाँमा हाँ मिलाउनुभयोे– “हामी रमाइलो गर्न नै आएका हौँ त्यसैले के फरक पर्ला र ?” स्वीकार भयो सबैबाट । वेटरलाई बोलायौँ । चाहिएको कुरा अर्डर गर्यौँ । क्षणभरमै गिलास, बोतल र माछामासु आइपुग्यो टेबलमा ।

चियर्स भन्दै टुच्च कार्यक्रमको शुभारम्भ भयो । यात्रा उत्सवमा सबैको नाउँ जोडेर कविता सुनाउनुभयो धनराज सरले । त्यसपछि मैले पनि यात्राकै कविता पस्किएँ । माहोल झन् रमाइलो बन्दैगयो । टुच्च कार्यक्रमले झन् पछि झन् उच्च रूप लिँदै गयो । मनचाह पियौँ । मस्त बन्यौँ सबै । धनराजसरको गजलगायत झन्झन् फुर्दै गयो । सवा दुई घन्टा बितेको पत्तै भएन ।

कुलेखानी बाँधतर्फ अगाडि बढ्दैछ हाम्रो सवारी । मार्खु पुग्ने दुईवटा बाटो रहेछ । एउटा घुमाउरो, अर्को सोझो तर सोझो बाटोमा सेनाको ब्यारेक रहेछ । सर्वसाधारण र यात्रुवाहक गाडीलाई ब्यारेकको बाटोबाट जान निषेध रहेछ । हामीले भने ब्यारेककै बाटो रोज्यौँ । भनसुन गरेर ब्यारेकको बाटोबाटै जान सकिन्छ भन्ने विश्वास लियौँ । गेटमा पुगेपछि रोकियौँ । रणेन्द्रजी र म भएर ड्युटीमा रहेका सैनिकसँग अनुरोध गर्यौँ । “फर्केर अर्को बाटो जानुहोस्, यताबाट जान मिल्दैन” भन्ने जवाफ दिए । हाम्रो परिचय दियौँ । गाीडमा यानर देखायौँ । केहीबेर आनाकानी गरे तर पछि जाने अनुमति दिए । ब्यारेकको बाटो जाँदा इन्द्रसरोवरलाई अझ राम्रोसँग अवलोकन गर्न पाइने रहेछ ।

मार्खु पुग्दा दुई बज्यो । निकै जाडो होला भन्ने सोचेका थियौँ तर चर्को घामले गर्दा ज्याकेट खोल्नुपर्ने गरायो । रिसोर्ट, गेस्ट हाउस र होमस्टेको सुविधा भएको एरिया रहेछ यो । सर्वप्रथम बासको बन्दोबस्त गरौँ अनि घुमघाम गरौँला भन्ने सल्लाह गर्यौँ । चार पाँचवटा होलट चाहार्यौँ । जहाँ पनि “आजलाई त कोठा छैन, प्याक भइसक्यो” भन्ने मात्र उत्तर पाइयो । कता कोठा नै नपाइने हो कि भन्ने बनायो । बल्लतल्ल होटल पाइयो । विशेषतः शुक्रबार र शनिबार यहाँका होटल, रिसोर्ट, होमस्टे सबै प्याक हुँदा रहेछन् ।

झोलाहरू होटलमा थन्क्याएर लाग्यौँ इन्द्रसरोवरतर्फ । आठ दशवटा काठेडुङ्गा र दुईवटा मोटरबोट देख्यौँ । बोटिङमा सयर गर्न आएका कलेज स्तरका युवायुवतीहरूको चहलपहल निकै थियो । काठेडुङ्गाभन्दा मोटरबोट नै सुरक्षित मान्यौँ । टिकट काट्यौँ । पन्ध्र मिनेट जति इन्द्रसरोवरमा जलयात्राको आनन्दमा रम्यौँ । यति नै बेला मलाई भारतको नैनीतालको याद आयो । नैनीतालभन्दा अझ सुन्दर लाग्यो आफ्नै देशको इन्द्रसरोवर । वर्षमा हजारौँ नेपालीहरू नैनीताल अवलोकन गर्न पुग्छन् तर यो देशको नाभीमा अवस्थित इन्द्रसरोवर भने कति नेपालीलाई अत्तोपत्तो छैन । बत्तीमुनिको अँध्यारो भएको छ । खासमा सडक राम्रो नभएकाले ओझेलमा परेको छ इन्द्रसरोवर । प्रदेश वा केन्द्र सरकारले सडक र बजारको प्लानिङ राम्रो गरिदिए पर्यटकहरू धान्नै नसक्ने गरी ओइरिने छन् यहाँ । रोजगारी, व्यवसाय र राजश्व पनि त्यसरी नै बढ्नेछ ।

घरको छतमा काटेको ड्रममा आगो दन्काएर तापियो । त्यही आगोमाथि फलामे जालीमा मासु पोल्यौँ । आँतले मागुन्जेल खायौँ, पियौँ ।

होटलको साँझ पृथक माहोलमा निकै रमाइलोसँग बित्यो । घरको छतमा काटेको ड्रममा आगो दन्काएर तापियो । त्यही आगोमाथि फलामे जालीमा मासु पोल्यौँ । आँतले मागुन्जेल खायौँ, पियौँ । यो कार्यक्रमको छुट्टै मजा आयो । यतिले मात्र पनि यात्रा पूर्ण सार्थक भएको महसुस गर्यौँ । बाँकी सबै रमाइलो थप उपलब्धी हो झैँ लाग्यो । साँझ परेपछि प्रत्येक होटलमा बारविक्युको व्यवस्थापन यहाँको विशेषता रहेछ ।

भोलिपल्ट प्रातः सात बजे होटल छाड्यौँ । लाग्यौँ चित्लाङको अर्गानिक कृषिफर्म अवलोकनार्थ । हाम्रो सवारी अगाडि बढ्दै छ । डाँडापाखाभरि झलमल्ल घाम छ तर बारीको पाखाभरि सेताम्मे तुसारो जाम छ । यहाँको फरक अनुभूति सँगाल्दै अघि बढ्यौँँ । सोधखोज गर्दै सवा आठ बजे पुग्यौँ अर्गानिक कृषिफार्म चित्लाङमा । भ्रमणमा आएका स्कुले बस चारवटा र केही जीपहरू देख्यौँ । भ्रमणमा आएका यात्रुहरूको चहलपहल पनि बाक्लै देखियो । यही फार्ममा होमस्टे र होटल पनि सन्चालनमा रहेछ । विहानको नास्ता यही होटलमा खायौँ । अर्गानिक कृषिफार्ममा आधुनिक पद्धतिले गरिएको धेरै प्रकारका खेती अवलोकन गर्न पाइन्छ भन्ने सोचेका थियौँ तर नासपातीको मात्र फार्म हेरेर चित्त बुझाउनुपर्यो । यहाँका मन्दिर र राणकालीन दरबार अवलोकन गर्न भने समयाभाव रह्यो ।

अबको हाम्रो गन्तव्य थियो–दामनहिल स्टेसन । बाटोमै पर्नेरहेछ बज्रबाराही सरस्वतीबजार । हाम्रो अगाडि–अगाडि एउटा मालवाहक ट्रक जाँदै थियो । ट्रकको पछाडि ढालामा लेखिएको कोटेसनमा हाम्रो आँखा ठोक्कियो । कोटेसन यस्तो थियो–

किताब च्यातिएपछि गाताको के काम
दुःखमा काम नलाग्ने नाताको के काम
वर्षातमा रुझेर निथु्रक्क भएपछि
मुसुक्क हाँसेर दिएको छाताको के काम ।

यतिनै बेला देख्यौँ, उर्वर खेतमा निर्मित पक्कीभवनहरू । उक्त कोटेसनमा थपेर डा. एकनारायणले भन्नुभयो– “यति उर्वर खेतमा घर बनाएपछि माटाको के काम ।”

साँढे दश बजे पुग्यौँ पालुङ थानाबजार । बजार निकै चहलपहल थियो तर घुम्ने रहर जागेन । गाडीबाट नझरिकन आँखामात्र डुलायौँ । एघार बजे पुग्यौँ दामन । समुद्र सतहदेखि २३२२ मिटर उचाइमा रहेको दामनहिल स्टेसन पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । ज्यादै जाडो बढ्दा यहाँ हिउँले ढाकिन्छ । हिउँको सौन्दर्यमा रमाउन र हिउँ खेल्नकै लागि वरिपरिका जिल्लाबाट युवायुवतीहरू यहाँ आउने गर्दछन् । तर यतिबेला हिउँ परेको थिएन । मौसम स्वच्छ र जाडो थियो तर झलमल्ल लागेको घामले आनन्द र न्यानो प्राप्त भइरहेको थियो । भ्यूटावरबाट धौलागिरि र अन्य हिमश्रृङ्लाहरू अवलोकन गर्ने र दृश्यलाई क्यामरामा कैद गर्ने धोको भने पूरा हुन पाएन । कारणः गेटमा सूचना लेखिएको थियो– “टावरमा मर्मत कार्य भइरहेकाले हाल बन्द छ ।” अनि हिस्स पर्यौँ सबै । केही साथीहरूले दामनमा खाना खाने कि भन्दै थिए तर कसैलाई पनि भोकको महसुस भएन । चियामात्र पियौँ । एकछिन दामनबजार घुम्यौँ ।

सडकबाट हिमश्रृङखला नदेखिने रहेछ । कुनै होटलपछाडिबाट उँचो स्थानमा गएर हिमश्रृङ्खला अवलोकन गर्न चाह्यौँ तर बाटो पाएनौँ । एक जना स्थानीय भाइले बाटो देखाउँदै भने– “ऊ त्यो होटलबाट पछाडि निस्कने बाटो छ । त्यहाँबाट हिमाल राम्रोसँग देख्न सकिन्छ ।”

होटल साहुजीले केही भन्ने हुन् कि भनेर शङ्कोच मान्दै भित्र पस्यौँ तर होटल साहुजीले खुसीसाथ भने “जानुस–जानुस्, हिमाल हेर्नुहोस् । तल ओर्लिएर कोठाहरू पनि हेर्नुहोला ।”

फर्कनै लाग्दा तलतिर काष्ठकला डिजाइनको भर्याङ देख्यौँ । अवलोकन गर्दै तल झर्यौँ । तल त फाइबस्टारकै तुलना गर्न लायक भिआइपी गेस्टरुमहरू रहेछन् ।

साँच्चै नै त्यस हाेटलकोे पछाडिबाट मनमोहक धौलागिरि हिमश्रृङ्ला देखिने रहेछ । दृश्यलाई क्यामरामा कैद गर्यौँ । फर्कनै लाग्दा तलतिर काष्ठकला डिजाइनको भर्याङ देख्यौँ । अवलोकन गर्दै तल झर्यौँ । तल त फाइबस्टारकै तुलना गर्न लायक भिआइपी गेस्टरुमहरू रहेछन् । यति सुन्दर कलात्मक कोठाको कल्पना नै गरेका थिएनौँ । हरेक कोठाबाट वर हेर्दा हरियाली जङ्गल र पर हेर्दा हिमश्रृङ्खला देखिने रहेछ । यसपछि टावर चढ्न नपाए पनि त्यति मनखत लागेन ।

साँढे बाह्रबजे लामीडाँडा पुग्यौँ । सानो होटल देख्यौँ । गुरुजीलाई गाडी रोक्न लगायौँ । होटलमा पसेर आठ जनाका लागि पुग्ने खाना छ छैन सोध्यौँ । “पाँच मिनेट पर्खनुपर्छ, हुन्छ ?” भने ।

“ल हुन्छ” भनेर खाना अर्डर गर्यौँ । होटलबाहिर नै ढिस्कोमा पार तापेर एउटै टेबलमा गोलाकार बसेर खाना खाँदा निकै आनन्द महसुस गर्यौँ । सबै साथीहरूबाट यात्राको समीक्षा गर्यौँ ।

डा. धनेश्वर भट्टराई– “कोरोना महामारीले खुम्चिएर बसेका थियौँ । जुन योजनानुसार हामी आयौँ, यो यात्रा खुब मजा आयो ।”

रेशम बिरही– “तपाईँहरूसँग यो माहोलमा लगभग बीस वर्षपछि भेट भएको छु । मेरा लागि यो यात्रा पुनर्जन्मको यात्रा हो र क्यान्सरमाथिको विजय पनि हो ।”

डा. एकनारायण पौडेल– “चितवनका साहित्यकारहरूका लागि उदाहरणीय कार्यक्रम हो । यसले सारा हाम्रा साहित्यकारहरूलाई सबै किसिमका सानातिना कुराहरूलाई बिर्सेर इन्ज्वाय गर्ने नमूना दिनेछ र पथप्रदर्शन गर्नेछ भन्ने मलाई लागेको छ । रेशमदाजु अस्वस्थताका बावजुद पनि आउनुभएको छ यो धेरै ठूलो कुरा हो ।”

रणेन्द्र बराली– “आजको हाम्रो जुन यात्रा भयो यो ऐतिहासिक भएको छ । चितवन जिल्लामा बसेर साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाइरहनुभएका साथीहरूसँग यसरी सहयात्रा गर्न पाउँदा म एकदम प्रफुल्लित भएको छु ।”

धनराज गिरी– “पटक पटक एउटै गल्ती गर्ने गरेको छु, मान्छे हुँ म मान्छे भनी मर्ने गरेको छु ।”

प्रकाश चापागाईँ– “यो र त्यो भनेर कित्ताकाट गर्ने नजरियालाई यस यात्राले समाप्त पारिदिएको छ ।”

यात्रामा बाटो काटेको पनि महसुस नै नहुने गरी हामीबिच कहिल्यै नखुलेका अन्तरङ्ग कुराहरू आपसमा सुन्यौ सुनायौँ । साहित्य, कला, संगीत, संस्कृति र स्वदेश, विदेशका अनुभवहरू आदानप्रदान गर्न पायौँ । समसामयिक सामाजिक, र राजनीतिक सवालमा पनि भलाकुसारी गर्यौँ । भौगोलिकताको अनुभव र अनुभूतिहरू सँगाल्यौँ । स्रष्टामनमा सङ्लिएका भावनाहरू र अग्लिएका चाहनाहरूको यो सहयात्रा वास्तवमै सोचेभन्दा महत्त्वपूर्ण, मनोरञ्जनपूर्ण, जानकारीमूलक, स्मरणीय र अनुकरणीय बन्नपुग्यो ।