तारानाथ शर्माद्वारा लिखित नियात्रा “बेलाइततिर बरालिँदा” २०२६ सालमा मदन पुरस्कार जितेको पुस्तक हो । यस किताबमा शर्माले आफू भाषाविज्ञानको अध्ययन गर्न बेलायत गएका बेला त्यहाँको बसाइको क्रममा उनले देखे-भोगेका यात्रानुभूतिहरूलाई संगालेर लेखेको संग्रह रहेछ। यस नियात्राले शर्मालाई नेपाली साहित्य जगतमा नियात्राको संस्थापकको रूपमा स्थापित गरेको रहेछ।

यस नियात्रामा उनले आफ्ना अनुभूतिहरूसॅंगै आफ्ना भावनाहरू पनि निकै मिहिन, विस्तृत र सुन्दर ढंगले प्रस्तुत गरेका छन्। कहिल्यै बेलायत नपुगेका पाठकहरूले पनि यो पढ्दै गर्दा उतै पुगेको अनुभूति गर्न सक्छन्। ठाउँहरूका नाम, ती ठाउँहरूको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनैतिक तथा कलाका विभिन्न पक्ष तथा तिनीहरूको महत्वलाई विशेष ख्याल राखी लेखिएको यो किताब पठनीय र ज्ञानवर्द्धक छ। उनले यसमा फरक-फरक देशबाट आएका विभिन्नखाले मानिसहरूको आनाबानी, बोलीवचन, सोच, संस्कार, सांस्कृतिक पृष्ठभूमि र अतिथिलाई सम्मान तथा आदार गर्ने स्वभावहरू निकै सुन्दर ढंगले उतारेका छन्। यसमा उल्लेखित कतिपय प्रसंगहरू पढ्दै गर्दा उनले हरेक घटना र ठाउँलाई कति ध्यान दिएर र गहिराइमा नियालेका रहेछन् भन्ने कुरा पनि थाहा लाग्छ।

शर्माले विभिन्न देशका प्रख्यात, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका विभिन्न ठाँउहरूको भ्रमणका क्रममा महसुस गरेका अनुभूतिहरूलाई १२ फरक फरक शीर्षकमा बाँडेर यो नियात्रा लेखेका छन् । उनले प्रत्येक शीर्षकमा नयाँ ठाउँका अनुभूतिहरु निकै रोमाञ्चक तरिकाले पस्केका छन्।

मनोज रेग्मी (अष्ट्रेलिया)

कतिपय प्रसंगहरूमा विभिन्न देशका व्यक्तिहरूले पालेका सोच तथा व्यवहारहरूसँग पनि हाम्रो परिचय हुन जान्छ। एक जना भारतीय प्रतिनिधि पात्रलाई लिएर महिलाको विषयमा गरिएको एउटा संवादले विशेषत: भारतीय समाज र समग्रमा पूरा दक्षिण एसियाली मुलुकका मानिसहरूसँगसँगै समग्र समाजको पनि प्रतिनिधित्व गर्छ। एक भारतीयले गरेको टिप्पणी र त्यसलाई एक युरोपियन महिलाले गरेको खण्डन शर्माले निकै चलाखीपूर्ण तरिकाले व्यक्त गरेका छन्। उक्त भारतीयले एक महिलालाई भनेको कुरा शर्मा यसरी लेख्छन्-

भारतीय: ‘लोग्नेमान्छेको सेवा गर्नु नै आइमाईको कर्तव्य हो !’

पारुती: ‘दुवैले एकअर्कालाई बराबर सहयोग गर्नुपर्छ । सेवा शब्द मलाई उचित लाग्दैन ।’

फेरि भारतीय भन्छ: ‘स्वास्नीको कामै घरभित्रको हो, बाहिरको त लोग्नेमान्छेले गरिहाल्छ नि, होइन त प्यारी ?’

पारूती जङ्गिई: ‘के स्वास्नीमान्छेलाई घरैमा राख्ने त ?’

यो पढिसकेपछि एकछिन घोत्लिन मन लाग्छ। यसलाई हाम्रो वर्तमान परिप्रेक्ष्यमा जोडेर हेर्न मन लाग्छ। कति पहिलेको कुरा हो यो भनेर बितेका वर्षको हिसाब गर्न मन लाग्छ। यसरी तुलना गरेर हेर्ने हो भने पनि हाम्रो सोचमा खासै ठूलो परिवर्तन भएको देखिँदैन। अझ् बुझ्ने भाषामा भन्नु पर्दा, आज पनि महिलाहरूलाई घरको चार भित्ताहरूमै सीमित राख्न हाम्रो समाज लागिपरेको देखिन्छ—केही अपवादका घटनाबाहेक। महिलाहरू पुरूषको सेवै गर्न जन्मिएका हुन् भन्ने सोच खोज्न आजकल पनि धेरै टाढा जानुपर्दैन। यो किताब लेखेको आधा शताब्दीपछिको समाजको सोच पनि उस्तै हुनु भनेको निकै ठूलो बिडम्वना हो।

शर्माले ”वक्ताहरूको कुनो” शीर्षकमा लन्डनको एउटा निकै रमाइलो ठाँउको बारेमा लेखेका छन्। बेलायती प्रजातान्त्रिक प्रणालीको अभ्यास विश्वभर सधैँ उदाहारणको रूपमा लिने गरिन्छ। त्यसको नमूनास्वरूप शर्माले यस किताबमा एउटा कुनोको बयान गरेका छन्। यहाँ शर्माले बयान गरेको कुनो यस्तो छ,जसमा मानिसहरू सरकारलाई गाली गरिरहेका हुन्छन्; एकअर्कालाई रंगभेदी गाली गरिरहेका हुन्छन्; कोही फेरि देश विदेशका विभिन्न राजनैतिक घट्नाक्रमहरूबारे बोलिरहेका हुन्छन्। समग्रमा यो कुनोले के देखाउँछ भने वाक्स्वतन्त्रताको असली मर्म कसरी व्यवहारमा देख्न सकिन्छ भन्ने नै हो। खासमा त्यस कुनोमा फरक फरक विषयमा बोल्नेहरूका फरक फरक झुण्डहरू हुन्छन्। आफ्नो इच्छा र रुचि अनुसार मान्छेहरू वक्ता छान्छन् र त्यहीँ झुम्मिन्छन्। दर्शकदीर्घामा बस्नेहरू स्टेजमा उभिएकालाई अनेक प्रश्न सोध्छन्। तीमध्ये केही प्रश्नहरू निकै गम्भीर प्रकृतिका हुन्छन् भने केही अति हल्का र व्यक्तिकेन्द्रित टिप्पणी मिसिएका निकै तल्लो स्तरका टिप्पणीहरू पनि हुने गर्छन्। तर जे होस्, स्टेजमा उभिएका वक्ताहरू आफूलाई सोधिएका प्रश्नहरूको सक्दो जवाफ दिने कोसिस गर्छन्। कोही कोही त निकै अश्लिल गाली-गलौज पनि गर्छन्, तर यो सब त्यहाँ सबैले सामान्य रूपमा लिन्छन्। कोही आफ्नो गुनासो पोखिरहेका हुन्छन्, कोही आफ्नो समस्या त कोही आफ्नो भडास पोखिरहेका हुन्छन्। अझ रमाइलो त के छ भने, सरकारलाई नै गाली गरिरहेका वक्ताहरूलाई स्वयं राष्ट्रकासेवक मानिने प्रहरीहरूले नै सुरक्षा दिएका हुन्छन्।

त्यस्तै शेक्सपियर जन्मेको ठाँउ, स्ट्रयाट्फोड्मा घुम्ने क्रममा सबै देशको झण्डा भएको ठाँउमा नेपालको झण्डा नदेख्दा उनको मनमा उठेका अनेकौं भावहरू निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन्। यतिबेला कतै कतै केटाकेटीले उनीहरूले भनेको सामान नपाउँदा घुर्की लाए झैँ नेपालको झन्डा नदेख्दा शर्माले त्यो नगरसँग लगाएको घुर्कीको सिलसिला पढ्दा निकै रमाइलो लाग्छ। यतिबेला उनी रिसले चुर भएको कुरा पनि हामी सजिलै अनुमान गर्न सक्छौँ। यद्यपि अर्को ठाँउमा फेरि नेपालको झण्डा फहराइरहेको देखेपछि उनको मनमा भरिएको खुसीको बयानले मनै हुरूक्क बनाउँछ। हुन पनि विदेशमा देशको माया बेग्लै हुन्छ। अरू देशको नाम लेखिएको ठाँउमा आँखाहरू अनयासै आफ्नो देशको नाम खोजिरहेका हुन्छन्। यो विश्वभर छरिएर रहेका नेपालीहरूमा आउने साझा अनुभूति हो भन्दा पनि फरक नपर्ला। यसै मामलामा उनी लेख्छन्, ” मानिस जति टाढा गयो उति घरलाई माया गर्दो रहेछ। घरको मायामा बौलाहा हुन पुग्दरहेछ। म बित्थैमा आएछु यस ठाउँमा, मेरो मुलुकको अस्तित्वलाई हेपिएको ठाँउमा। भिएतनाम, चिली, रूमेनिया, लंका, अफगानिस्तान, बर्मा सारा छन् तर नेपाल छैन ।”(९०)

यसै प्रसंगमा उनि अगाडि लेख्छन्,  ‘नेपालै छैन भने म त्यहाँ उभिनु नै बेकार थियो, एभन् नदीमा रजहाँसहरू बग्नु नै बेकार थियो, मेरो प्यारो विलले त्यहाँ जन्मनु नै बेकार थियो। छाती चिरिएर आयो।’ (९१)

साथीले दिएको जवाफ यसरी लेख्छन्—’गुँरास त हाम्रोमा मात्रै हुन्छ भन्या त याँ पो बेसी हुँदो रैछ !” ट्वाल्ल पर्दै मैले भनेँ।

त्यस्तै ‘एभन् नदीको किनारमा दुई थोपा आँसु’ शीर्षकको नियात्रामा गुँरासको प्रसंग पनि आएको छ। शेक्सपियर जन्मेको ठाँउ घुम्दै जाने क्रममा एउटा पार्कमा गुराँसको फूल देख्दा शर्माको मनमा जे भावना आएको थियो ठीक त्यस्तै भावना मेरो मनमा पनि आएको थियो, जब मैले क्यानबेराको एउटा पार्कमा यी दुई फोटोमा भएका लालीगुराँस देखेको थिएँ।शर्मा आफ्नी अंग्रेजी साथीलाई गुराँस देख्दा उनको मनमा लागेको कुरा र ती साथीले दिएको जवाफ यसरी लेख्छन्—’गुराँस त हाम्रोमा मात्रै हुन्छ भन्या त याँ पो बेसी हुँदो रैछ !” ट्वाल्ल पर्दै मैले भनेँ।

‘हो त, गुराँस तिमेर्कै हो टारा, भिक्टोरिअ रानीको पालामा नेपालको हिमाली क्षेत्रबाट हामीले ल्याएर यहाँ रोपेका थियौँ।’ (१०४)

यति पढिसकेपछि मलाई क्यानबेरामा गुराँसको इतिहास जान्न मन लागेर आयो, र गुगल गरी हेरेँ पनि । हेर्ने क्रममा एउटा आर्टिकल फेला पर्यो, जसमा भनिएको थियो, ‘१९औं शताब्दीमा ब्रिटिसहरूले एसियाली मुलुकका हिमाली भेगहरूमा लटरम्म फुल्ने यी फूलहरूलाई लगेर आफ्नो भेग इंग्ल्यान्ड र स्कटल्यान्डमा सारेका रहेछन्। र त्यहाँको चिसो हावापानीमा यो निकै सप्रेर फैलिएको रहेछ।’ अष्ट्रेलियामा पनि त्यति नै बेला ल्याइएको थियो भन्ने कुरा पनि त्यसमा उल्लेख गरिएको थियो। शर्माको किताबमा उल्लेखित एक प्रसंगअनुसार बेलायतले विभिन्न प्रविधि र पद्धति अपनाएर विभिन्नथरिका गुराँस निकालेको छ रे । जसकारण नेपाल तथा एसियाका अन्य हिमाली भेगमै नपाइने रंगका गुराँसहरू पनि बेलायतमा पाइन्छन्।

शर्मा आफ्नो बेलायत बसाईको क्रममा गाँसिएका सम्बन्धहरूबारे निकै सचेत देखिन्छन्। विशेषत: महिला साथीहरूसँग उनी नजिक भएर पनि दूरी कायम राख्न खोजेको कुरा धेरै ठाँउमा बुझ्न सकिन्छ। कतिपल्ट प्रेममा परिसकेको जस्तो भए पनि धेरै नजिक हुन नहुने भन्दै उनी आफूलाई सक्दो नियन्त्रण गरिरहेका हुन्छन्। तर्किरहेका हुन्छन्। शर्मा नजिक भएकी एक जना यालिस भन्ने महिला छिन्, जसलाई शर्माले लेखेको चिठ्ठी पनि यस किताबमा समावेश गरेका छन्। यस चिठ्ठीमा शर्माले आफ्नो स्वभावमा आएको परिवर्तनबारे लेखेका छन्। सुरूमा उनी निकै लजालु स्वभावका भएकाले खासै कसैसँग पनि नजिक नभएको र पछि एक जना भारतीय साथीको संगतमा खुलेर बोल्न, जिस्किन र नाँच्न सक्नेमा परिवर्तन भएको कुरा पनि यो चिठ्ठीमा खुलाएका छन्।

त्यस्तै बेलायत र वेल्सका केही विद्यालयको कक्षा कोठामा बसेर त्यहाँको शैक्षिक प्रणाली र बच्चाहरूलाई स्कूलहरूमा गरिने व्यवहारहरू नजिकबाट नियाल्न पाएका कुराहरू पनि शर्माले निकै जानकारीमूलक तरिकाले बयान गरेका छन्। उबेलाको शिक्षा प्रणाली र आजको शिक्षा प्रणालीमा पनि खासै केही फरक नभएको देख्दा दिक्क लागेर आउँछ भने तिनताकै बेलायतमा लागू गरिएको शिक्षा प्रणाली पढ्दा बेलायतको दूरगामी र व्यवहारिक सोच देखेर अनौठो पनि लाग्छ। बेलायत र वेल्सको शिक्षणपद्धतिबारे कुरा गर्दा; विद्यार्थीहरुलाई स्वतन्त्र रहेर छलफलबाट शिक्षा दिने प्रणाली, प्रश्न सोध्न सिकाइने पद्धति, सहशिक्षाको अवधारणा र यसका फाइदा, विद्यार्थीलाई विभिन्न विषय छुट्टयाएर होइन, हरेक कुरामा चाख उब्जाउने दृष्टिकोणले पढाउनु पर्छ भन्ने विचार, शारीरिक यातनालाई निरुत्साहित गर्दै माया र स्नेहसाथ पढाउनुपर्छ भन्ने जस्ता निकै उपयोगी कुराहरू शर्माले समावेश गरेका छन् । तर बिड्म्वना के छ भने, हाम्रो शिक्षा पद्धतिमा माथि उल्लेखित कुनै कुरा पनि लागू गरिएको भेटिँदैन, आजसम्म पनि।

नेपाल राष्ट्र र नेपाली जनता ब्रह्माण्डमा चन्द्र र सूर्यको अस्तित्व रहुन्जेल जीवित र स्वतन्त्र रहनेछन् ।

नेपालको झन्डाको प्रतिकात्मक अर्थ आयरल्यान्डमा एक जना ऐरलीले उनलाई झन्डाको आकार र त्यसको अर्थ सोध्दा शर्माले दिएको जवाफ निकै सुन्दर लाग्छ। उनले झण्डाको त्रिकोणात्मक आकारको अर्थ र झन्डामा भएका चन्द्र, सूर्य र रातोनीलो रंगको अर्थ पनि राम्रोसँग अर्थ्याइदिएका छन्। उनले झन्डा त्रिकोणात्मक हुनुको कारणमा वैदिक विधि, राष्ट्रिय झन्डाले झल्काउन सक्ने सांस्कृतिक र परम्परागत ऐतिहासिक अर्थको आधार उल्लेख गरेका छन्। झन्डामा अंकित चन्द्र र सूर्यले गर्ने संकेतबारेमा उनले दिएको उत्तर यस्तो छ; ‘पहिलो संकेत के भने नेपाल राजतन्त्रात्मक राष्ट्र हो र नेपालमा चन्द्रवंशी र सूर्यवंशी राजाहरूले राज गरेका छन्।  अनि दोस्रोचाहिँ के हो भने नेपाल राष्ट्र र नेपाली जनता ब्रह्माण्डमा चन्द्र र सूर्यको अस्तित्व रहुन्जेल जीवित र स्वतन्त्र रहनेछन् ।” (१५५)

यसमा उनले बताएका पहिलो संकेतलाई अहिले गणतन्त्रको पृष्ठभूमिमा बसेर मनन् गर्दा म्याद गुज्रेको जस्तो लागे पनि त्योबेला सबैले मानेको कुरा त्यही नै थियो। यसमा “छन्” को ठाँउमा “थिए” राखेर बुझ्न सकिन्छ । यद्यपि दोस्रो नम्बरको संकेतको व्याख्या भने शर्माले निकै राम्रो तरिकाले गरेका छन्।

शर्मा फ्रान्सलाई कलाको देशको रूपमा बयान गर्छन्। केही चित्रकारहरू चित्र कोर्दै बस्ने ठाँउमा पुगेको कुरा पनि उनले यहाँ उल्लेख गरेका छन्। पेरिसमा मोनालिसासँगको उनको पहिलो साक्षात्कारको वर्णन कुनै कविता जस्तो निकै सुन्दर लाग्छ। उनको त्यो बयान ‘एकै नजरमा माया बस्यो है’ भन्ने गीतको भावजस्तै लाग्छ। मोनालिसासँगको पहिलो साक्षात्कारमा नै उनी हायलकायल भएको भन्ने किसिमले आफ्नो अनुभूति साटेका छन्। कलाको महत्व र त्यसमा व्यक्त गर्न खोजिएको भावलाई महसुस गर्न सक्ने व्यक्तिले कुनै पनि पेन्टिङ्लाई कुन तहसम्म पुगेर त्यसलाई सम्मान र आफ्नो प्रेम व्यक्त गर्न सक्छन् भन्ने कुरा पनि यो प्रसंग पढेपछि बुझ्न सकिन्छ।

स्विजरल्यान्डको जिनेभामा उनको आँखै अगाडि घटेको एउटा सडक दुर्घट्नालाई लिएर शर्मा निकै भावुक र बेचैन हुन्छन् । उक्त दुर्घटनामा गाडीले ठक्कर दिएर एउटा युवक पिचमा पछारिएको हुन्छ, जसलाई उठाउने हतारो कसैले गर्दैनन्। न प्रहरी न कुनै पैदलयात्री नै। यस घटनालाई नेपालमा दुर्घटनामा परेर सही समयमा उपचार नपाएकाले दिवंगत भएका आफ्ना विद्यार्थीसँग तुलना गर्छन्। यतिखेर शर्माले प्रहरीको अकर्मण्यता र मान्छेहरूको कुनै घटनालाई हल्का रूपमा लिने प्रवृतिप्रति पनि कटाक्ष गरेका छन्। नेपालमा भएको घटनामा सरकारी अस्पतालमा लगेर बेलैमा उपचार नपाएर अकालमै मृत्युवरण गरेका उनका विद्यार्थी र सोही दुर्घटनामा परेर पनि उचित उपचार पाएर बाँचेका अर्का व्यक्तिको विषयले कसरी नेपालको स्वास्थ्य क्षेत्रमा रहेको पक्षपाती व्यवहार र चरम् लापरवाहीको नमूना प्रस्तुत गर्छ भन्ने हामीलाई बुझ्न कत्ति पनि समय लाग्दैन।

शर्माको नेपाली भाषाप्रतिको मायाले हो कि के हो ? उनले ठाउँको नाम र केही लेख्नैपर्ने शब्दहरूबाहेक अरु सबै नेपालीमै लेखेका छन् । हामी आजकल कुनै पनि वाक्यमा अंग्रेजी शब्द घुसाउन पाउँदा निकै गर्विलो महसुस गर्छौं, तर शर्माले केही यस्ता शब्दहरु पनि नेपालीमा लेखेका छन् जुन हामी नेपालीमा हतपत लेख्न सहज मान्दैनौँ। यस्ता शब्दहरु पढ्दा निकै रमाइलो लाग्छ। उनले प्रयोग गरेका केही शब्दहरु यस्ता छन्; बिजुलीखौरक, जनबगैँचा, भूगर्भ स्टेशन, केन्द्रीय ताताको व्यवस्था आदि ।

त्यस्तै किताबमा केही सामान्य त्रुटिहरू पनि फेला पर्छन् । जस्तै; पेज नं ९७ मा मिति २३ अप्रिल १९६७ हुनुपर्नेमा २३ अप्रिल १९६० भएको छ।

‘श्रीमान् भारत ! नजाने गाँउको बाटो नसोध्नु नै बेस अनि थाहा नपाएका कुरामा व्याख्या छाँट्न नतम्सनु नै बेस !”

एक ठाउँमा एक जना भारतीयले नजानेको कुरामा बढी जान्ने हुन खोज्ने प्रवृतिलाई सरलीकरण गर्दै निकै छुच्चो पारामा भनेका कुरा पनि उनले नलुकाइ लेखेका छन्।

उनी लेख्छन्-“के भाषाजस्तो कुरा पनि विज्ञान हुन सक्छ ? भाषाजस्तो अवैज्ञानिक कुरो त मलाई थाहा छैन ।”, उसले जात जनायो नजानेको विषयमा पाण्डित्य छाँटेर ।

‘श्रीमान् भारत ! नजाने गाँउको बाटो नसोध्नु नै बेस अनि थाहा नपाएका कुरामा व्याख्या छाँट्न नतम्सनु नै बेस !” (१९)

शर्माले एक ठाउँमा लिंगविभेदी टिप्पणी गरेर चिप्लिएका छन् । डाँडामा चढ्न सक्ने नसक्ने कुरामा केहीबेर सल्लाह गर्ने क्रममा उनले भनेको कुरा यसरी लेखेका छन्, “आइमाईहरू जान सक्ने ठाँउमा पनि म जान सक्तिनँ के त ? यस्ता पहाड त के हिउँले ढाकेका ठाउँहरूमा पनि मेरो मुलुकका मान्छेहरू नाङ्गै खुट्टाले जान सक्छन् ।”(४१)

अंग्रेजहरू आफ्नो साम्राज्य खडा गर्ने क्रममा कतिसम्म क्रूर र अमानवीय बनेका थिए भन्ने कुराका छिट्पुट घटना तथा संवादहरू पनि यसमा आएका छन् । बेलायती औपनिवेशीकरणको दौरान विभिन्न देशका नागरिकहरूले भोगेका दुःख कष्टहरूको कथालाई पनि यस किताबले छुने प्रयास गरेको छ।

समग्रमा किताब निकै ज्ञानवर्द्धक र रोचक छ। किताबमा ठाउँहरूको सुन्दर बयान पढ्दै गर्दा पाठकलाई लन्डन लगायत युरोपका विभिन्न सहरहरूमा शर्मासँगै बरालिएको अनुभव पनि हुन्छ। गैरआख्यान, त्यसमा पनि विशेषगरी नियात्रा, पढ्न मन पर्छ भने यो किताब पढ्नैपर्ने मध्येको एक हो। किताबले आफैँमा धेरै कुरा समेटेको छ। मैले धेरै कुरा समेट्ने प्रयास गर्दागर्दै पनि केही कुराहरू अवश्य पनि छुटेका हुनसक्छन्, त्यसको लागि किताब नै पढ्नुपर्छ।