कविता हृदयको नजिक हुन्छ । कहिलेकहीँ दिमाग लगाउँदा पनि भन्न नसकिएका कुराहरू कविताद्वारा सहजै भन्न सकिँदो रहेछ। कति कुराहरू बुद्धिद्वारा वर्णन गरेर, उदाहरणहरूसहित व्याख्या दिएर अनि सन्दर्भित प्रमाणहरू प्रस्तुत गरेर पनि आत्म-सन्तुष्टि मिल्दैन रहेछ। जब आफूले चाहेको जस्तो साँचो सन्तुष्टि नपाइँदा कविता स्वत: आउँदो रहेछ। कति कुराहरू वर्णनात्मक अनि व्याख्यात्मक हुँदैनन् त्यसैले कहिलेकहीँ हामी मूक बन्दो रहेछौँ । त्यस्तो कुनै पनि अवस्थामा हामी व्यक्तिगत रूपमा अन्तर्बोध मात्र गर्दछौँ। प्रत्येक ठाउँ, परिस्थिति अनि समयमा हामी विवेक लगाएर दिमागद्वारा मात्र सोच्दैनौँ। कसैको हृदयसम्म पुग्नलाई हृदयले बुझ्ने र मनपर्ने कुराहरू नै गर्नुपर्ने हुन्छ । हृदयसित सम्बन्ध गाँस्नलाई हृदयको बाटो भएर नै जानुपर्छ । त्यसैले होला हामीसित सङ्गीत, गीत, गजल, कविता र कलाहरू छन् ।
कहिलेकहीँ चेतनाबाट एक्कासी शून्यतिर झर्दा उफ्रिएर माथि पुग्दछौँ अनि फलस्वरूप हाम्रो सन्तुलन बिग्रिएर जाँदछ । त्यसलाई नियन्त्रण गरी सिर्जनात्मक प्रयोग गर्न सक्नेहरूले गर्छन् पनि । त्यसमा त्यस्तो कसैले सक्दैसक्दैन भन्ने अनिवार्यता पनि छैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले झन् कवितालाई अचेतन मनको प्रवाह मानेका छन् । कहिलेकहीँ उनी अति भावुक भएर कविता वाचन गर्ने गर्थे । कविता उनका नसा-नसामा रगत भएर बग्थ्यो । उनले आफ्नो सानो नानीलाई आङमा बोकेर भुलाइरहेको बेलामा पनि कविता रच्ने गर्थे । उनको जीवनमा कविता उनको हृदयको ढुकढुकी सरह भइबसेको थियो । देवकोटालाई सम्झँदा मलाई भानुभक्त आचार्यको पनि सम्झना भइरहेछ अनि मनमा एउटा प्रश्न आइरहेछ—भानुभक्तलाई किन त्यो फुटकर कविता ‘घाँसी’ रच्न कर लाग्यो होला ? कविता चाहिन्छ कि चाहिँदैन त्यो म भन्न सक्दिनँ तर कविता मानिसलाई आउँदो रहेछ अनि मनिसले कविता रच्दो रहेछ । यस ब्रह्माण्डमा मानिसहरूबाहेक अरू कस-कसले भाषाको सहायताद्वारा कविताको सिर्जना गर्दो रहेछ भन्ने कुरा पनि एउटा खोजको विषय हो । कविताले हामीलाई सधैँ एउटा छुट्टै किसिमको प्लेटफर्म प्रदान गरिरहेको हुन्छ । हामीले कसरी कति कुराहरू कविताको माध्यमद्वारा सहज र सुन्दर प्रकारले व्यक्त (मुक्त) गर्न सक्दो रहेछौँ । यसै सन्दर्भमा एक जना अमेरिकन सैनिकले दोस्रो विश्वयुद्धको एउटा रणभूमिमा सहिद हुनुभन्दा अघि लेखेका कवितालाई लिन सकिन्छ । उनले युद्धको समयमा ईश्वरका उपस्थिति अनुभव गरेका पुष्टि एउटा सिगरेटको खोलमा यसरी कवितामा उतारेका थिए:
Look God I have never spoken to You,
But now I want to say “How do You do?”
You see God, they told me You didn’t exist,
And like a fool, I believed all this.
Last night from a shell hole I saw Your sky,
I figured right then they told me a lie.
Had I taken the time to see things You made,
I’d have known they weren’t calling a spade a spade.
I wonder God if You’d shake my hand.
Somehow I feel You would understand.
Funny I had to come to this hellish place,
Before I had time to see Your face.
Well, I guess there isn’t very much more to say,
But I’m glad God I met You today.
You the ‘Zero Hour’ will soon be here.
But I’m not afraid since I know you are near.
The signal, well, God, I’ll have to go;
I like you lots, and I want You to know,
Look, now this will be a horrible fight,
Who knows? I may come to Your home tonight.
Though I wasn’t friendly to You before,
I wonder God if You’ll wait at Your door.
I wish I had known You all these years.
Well, I have to go now, God; goodbye;
Strange—since met You,
I’m not afraid to die…
(‘The Home Coming’ from The Pearls of Spiritual Wisdom)
माथिको कविता “द होम कमिङ” ले हामीलाई सोच्न कर लगाउँछ: त्यस सैनिकले मृत्यु र ईश्वरलाई नजिकबाट अनुभव गरिरहेको त्यो एउटा अलौकिक साक्षात्कारको समयलाई किन कवितामा उतार्न बाध्य बने ? यस प्रश्नलाई मात्र एउटा सिङ्गो उत्तरले पुग्दैन । फेरि हामीले दिएका उत्तरहरू व्यक्तिविशेष हुन जान्छन् । तर जे भए तापनि कुनै पनि एउटा सुहाउँदो अथवा मिल्दो उत्तरलाई मोडेल उत्तरको रूपमा चाहिँ स्वीकृति दिन सकिन्छ । त्यो त्यस्तो पल थियो कि उनले व्यक्त गर्न चाहेका अलौकिक बोधका कुराहरूलाई कविताको स्वरूप र माध्यमबाहेक अरू कुनैले पनि दिन सक्दैन थियो। त्यो क्षण उनीसित कागजको रूपमा मात्र एउटा सिगरेटको खोल थियो, अनि त्यो अलौकिक अनुभूति । त्यो सिगरेटको खोलमा नै त्यो अद्भुत अनुभूतिलाई कविताको माध्यमद्वारा मुक्ति दिएर उनले ठूलो आनन्द प्राप्त गरेको हुनुपर्छ। यसरी कविता एक जना योद्धाको त्यो अलौकिक अनुभूतिको तनावलाई मुक्ति दिन सफल बन्दछ साथै उनले विश्वलाई दिन चाहेको त्यो मेसेज कवितामा सफल भएको छ।
कहिलेकहीँ एउटा कविहृदयलाई ह्रदयसित हृदय अनि भावनासित भावना जोड्नलाई कविता लेख्न कर लाग्दोरहेछ । आफू जति नै सक्षम भए तापनि जीवनमा सबैभन्दा घनिष्ट, विश्वासी अनि मायालु मान्छे आफूदेखि एकैचोटिको निम्ति बिदा भएर अनन्ततिर विलीन हुँदै गइरहेको समयमा एक जना वरिष्ठ विद्वान् (दार्शनिक) व्यक्तिले आफूलाई कसरी सम्झाउन सक्ला भन्ने प्रश्न मेरो मनमा आइरहन्छ । भन्नु नै हो भने त्यस्तो स्थितिमा उनले न त सहित्य, दर्शन र विज्ञान छाट्न सक्ला न प्रवचन नै सुनाउन सक्ला ।
अति दु:खको समयमा मन फुलिएर दिमागलाई अचल बनाउँदो रहेछ अनि हृदयभित्र भावनाहरू गज्याङगुजुङ गुजुल्ठिएर गाँठो पर्दैजाँदो रहेछन्। त्यस्तो अवस्थामा लेख्न पर्यो भने उकुसमुकुस कुराहरू स्वत: कविता बन्दै आउँदो रहेछन्। दिमागमा दर्शन, विज्ञान, संस्कृति, साहित्य, विभिन्न ज्ञान अनि आफूले भोगेका जीवनका अनुभवहरू सम्झना आउँदो रहेछन् तर त्यहाँबाट लेख्दै जाँदा फेरि हृदयमा नै आइपुग्दो रहेछौँ अनि कविता लेख्दो रहेछौँ । धेरै विद्वान् अनि वरिष्ठ लेखकहरूले लेख्न कविताबाटै सुरु गरेका पाइन्छ। हुन त, कविता एउटा विधा हो तर यसले भावनालाई (संवेदनालाई) पूर्णरूपले छोड्न सक्दैन। यसले कविताको रचनात्मकतालाई सहयोग गरिरहेको हुन्छ । सामान्यत: स्वभाविक कविताहरू हृदयबाटै आउँदछन्। हृदयबाट नआएका कविताहरू जीवन्त हुँदैनन्।
हुन त, विशेष गद्य कवितामा एउटा आफ्नै प्रकारको स्वतन्त्रता हुन्छ। यसमा कविताका सारा नियमहरू अनिवार्य रूपमा निश्चित रहँदैनन्।
टीएस इलियटले कविताको प्रविधिलाई विशेषता दिए तापनि उनलाई कविताको बारेमा यसो भन्न कर लागेको छ कि “Poetry is a medium of releasing our tension.” त्यसरी नै बेनेडेट्टो क्रोसले पनि कला अनि कविताको सम्बन्धमा एक ठाउँमा यसो भन्नुहुन्छ— “Art has an alogical character, as language does. Poetry lies outside logic.” हुन त, विशेष गद्य कवितामा एउटा आफ्नै प्रकारको स्वतन्त्रता हुन्छ । यसमा कविताका सारा नियमहरू अनिवार्य रूपमा निश्चित रहँदैनन् । बरु स्वतन्त्र कवितामा तर्कशास्त्र अनि यसका बौद्धिक सामाग्रीहरूको प्रयोग गर्न सकिन्छ । हुनसक्छ, कवितामा प्रयोगको छुट भएको कारणले गर्दा नै हामी यसमा हाम्रा जीवन-संसारका अंशहरू खोज्न रूचाउँछौँ । छातीभित्र भकानो फुटेको बेलामा हृदयले शत्रु, मित्र, सिद्धान्त, सूत्र, विज्ञान, तर्कशास्त्र, नियम अनि विधिका कुराहरू नसुन्न पनि सक्छ । मन बुझाउनलाई मनले चाहेका कुराहरू नै चाहिन्छ । सन्दर्भित दुई विद्वानहरूका कवितामाथिका आंशिक विचारहरू विचार्दा के भन्न सकिन्छ भने इलियटले हाम्रा भावना र संवेदनाको मुक्तिसित जोडिएका कुराहरूलाई बल दिनुभएको छ अनि क्रोसले कविता तर्कशास्त्रका नियम अनि सिद्धान्तहरूबाट मुक्त भएका कुरालाई विशेष प्राथमिकता दिनुभएका छन्। व्याकरणीय (ग्रामटिकल) अनिवार्य अनि तार्किक (लजिकल) अनिवार्यमा भिन्नता हुन्छ भन्ने कुरालाई चाहिँ दुवैले स्वीकारेका छन्।
कति भन्न नसकिएका कुराहरू कविताको माध्यमबाट भन्न सकिँदो रहेछ। फेरि कविता कहिलेकहीँ स्वप्रस्फुटन भएर मञ्च पनि बनिँदो रहेछ। कविता आउने प्रक्रिया चर (भेरिएवल) जस्तो मुक्त हुन्छ: कहिलेकहीँ बात गर्दा-गर्दै कविता आउन सक्छ, कहिलेकहीँ के के सोच्दा-सोच्दै कविता आउन सक्छ, कहिलेकहीँ पढ्दा-पढ्दै कविता आउन सक्छ अनि कहिलेकहीँ लेख्न बस्दा पनि कविता आउँदै-नआउन सक्छ। तर जे होस्, कविताले व्यक्त गर्न खोजेका कति कुराहरूलाई सहज बनाउँदछ। कविताका माध्यम, सिर्जना प्रक्रिया, मञ्च अनि प्रयोग छुट्टै प्रकारका हुन्छन् । उचित ठाउँ, समय अनि खाँचोमा कविताले भिन्न प्रकारका आनन्द र सन्तुष्टि दिँदछ। इन्द्रबहादुर राईले आफ्नो जीवनसाथीको (श्रीमतीको) मृत्यु हुँदाको समयलाई गद्ममा लेख्दा-लेख्दै कवितामा पोख्न विवश बनेका छन्। त्यो बाध्यता कविताको स्वप्रक्रियाबाटै सिर्जित भएको हुन्छ। उनले यसरी सुरु गर्नुभएका छन्: दु:खमय बन्यो त्यो शुक्रबार: राति साँढे दुई बजेतिर घरमा कोठामा बत्ती बालेकै म नसुती थिएँ। अस्पतालमा अकस्मात् आई सानी छोरीले मेरो गोडा समाई रोई— बाबा आमा हुनुहुन्न ।
कुरा बुझे मैले, म रोइनँ, म मौन रहेँ। राति पनि मुटु आक्रमण भएछ। डाक्टरहरूले अनेक युक्ति गरेछन्, बचाउन सकेनछन् ।
मायालाई बिहान पाँच बजी ल्यायौँ, उसले जोडेको घरमा, उसले बनाएको घरमा ।
सफा गराइएको थियो हाम्रो कोठा ।
तर चिसो नाङ्गो भुइँमा उसलाई राख्न सकिनँ।
हाम्रो दरी बिछ्याई त्यसमाथि राख्यौँ उनको शरीर।
छामे तिम्रो निधार। छैन निधारको तिम्रो सधैँको मनतातो।
……………………………………………………
………………………………………………
बस्नेछन् यहीँ आज आफ्नो घरमा दिनभरि।
हुँदैन रहेछ सधैँ घर कहीँकसैको।
माथिबाट के बुझिन्छ भने राईले आफ्ना कुराहरू गद्मको माध्यमबाट सुरु गरे तापनि उनी जति जति भावुक हुँदै गएका छन् उति उति कविताको स्वरूपमा परिवर्तन हुँदै गएका छन् । त्यसपछि आफ्नो जीवनसाथीको अस्तु टिस्टामा विधिवद| बगाएर आउँदा उनका मन भकानिएर आउँछ तर दार्शनिक विचारहरूले आफैँलाई सम्झाउँदै लाँदा उनी पुन: भावुक भएर कवितामा व्यक्त हुन पुग्छन्, यसरी—
हुनसक्छ : जीवितहरू छन् सुवद्ध पञ्चतत्त्व स्वर्गीयहरूमा हुन्छन् उन्मुक्त पञ्चतत्त्व । उन्मुक्तले दिन्छ अगाध शान्ति।
तर सांसारिक म
भिजिसकेछन् आँखा आँखा आँसुले
देखेर तिम्रो चित्रहरू मनमा
पुछेर पानी नरोएको बनेँ
………………………………………..
कैले गर्छु बात तिमीसित दिनभरि एकतर्फी।
बताएकी थिएछौँ : एक दिन
मेथीबारी घरमा एक साधु आए
फलामे गेटमा उभिए भिक्षा पर्खेर ।
मायाले एउटा पाँचको नोट लिएर गइन्, दिइन् ।
खुसी साधुले भने—‘बेटी ! तिमी असल नारी हौ,
तर किन भगवानसँग सधैँ एउटै प्राथना गर्छौ
भगवान् ! म पतिभन्दा पहिल्यै जान पाऊँ । किन ?’
केही उत्तर गरिनन् साधुलाई मायाले
आशिष दिएर गए साधु ।
परिवारले पछि जान्दथ्यो : माया आफूलाई
सारै दुर्भगिनी मान्दथिन्,
आफू नजन्मी बाबुको मृत्यु भएको हुनु,
सानी छँदै प्यारो बाजेको मरण हुनु,
लामो रोगी आमाको पनि मृत्यु हुनु।
तीन मृत्यपछि बज्यूँसँग बसेकी
सारै डराउँथिन् निस्सहायताका ती दिन सम्झी,
नफर्कुन ती दिनहरू पुकारी
विशेष कसैको अन्त्यले।
फर्केनन्—दुर्दन—मायालाई।
छोरा भयो,
बुहारी भइन्,
भए छोरीहरू,
भए जुवाइँहरू,
भए नातिहरू, नातिनीहरू,
भयो पनाति पनि,
भइन् पनातिनी पनि।
धेरै बाँच्यौँ, मान्यौँ दुवैले,
अब रहौँ ‘एक वा दुइ वर्ष’ अनि जाऔँ।
आइहाल्छ २८. ०८ २०१६
हाम्रो वैवाहिक जीवन १९५०—२०१६
इम्पेशेन्श बन्यो
सामान्य, तर असामान्य सुन्दर
मायाले जुन अतीव माया गर्थिन्
………………………………………………………
………………………………………………………
जाँदा बेला पनि
इम्पेशेन्श
तीन गमला
फुलाइराखिन्
अफ्नो घरमा………………………………….
राईले सरल भाषामा सरल प्रकारले कविताको स्वरूप अप्नाएर आफ्ना मनभित्रका मर्महरूलाई व्यक्त गर्नुभएको छ । उनले कुनै पनि बौद्धिक (भाषिक, साहित्यिक अनि वैज्ञानिक) वस्तुहरूको प्रयोग गरेका छैनन् बरु उनले ठाउँ ठाउँमा शब्दहरूको बदलीमा बिन्दुहरू (………..) कतै एक लहर अनि कतै दुई लहर गर्दै लगाएका छन् । त्यसबाट के बुझ्नुपर्ने हुन्छ भने जहाँ-जहाँ उनले आफ्ना मनका कुराहरू व्यक्त गर्न सकेनन् त्यहाँ-त्यहाँ बिन्दुहरू मात्र लगाएर छाडेका छन् । उनले सम्पर्क गराउन चाहेका भावनाहरूले पाठलाई सम्पर्क गर्न सफल भएका छन् । हामी पनि ती भावनाहरूलाई महसुस गर्न केही हदसम्म सक्षम भएका छौँ। तर हामी ती बिन्दुहरूका अर्थहरूलाई मात्र अनुमान लगाउन सक्छौँ। हुन पनि शब्दहरूले कहिलेकहीँ हामीले चाहेका अर्थहरूलाई जस्ताका-त्यस्तै व्यक्त गर्न सक्दैनन्। त्यसरी नै कति कुराहरू चाहेर पनि लेख्न सकिँदैन। यी सबै कुराहरूको मूल उद्धेश्यचाहिँ के हो भने कति कुराहरू कविताबाट व्यक्त गर्दा जुन सन्तुष्टि मिल्दछ त्यो अरू कुनैबाट पनि मिल्दैन।
कविताले हामीलाई सधैँ एउटा अद्वितीय प्लेटफर्म प्रदान गरिरहेको हुन्छ। कवितालाई छि:छि: र दूरदूर गर्नु ठीक होइन। भावनाविनाको मानिस मेसिनजस्तो हुन्छ। जे भए तापनि कविताको ‘क्रेज’ कहिलै सकिँदैन। पत्र-पत्रिका अनि पुस्तकहरूदेखि लिएर अन्तर्सञ्जालसम्म कवितैकविता पाइन्छ।
अन्त्यमा मलाई के भन्न मन लागिरहेको छ भने, कसैले पनि कवितालाई मानव संसारबाटै मेट्न चहान्छ भने उसले पहिले आफैँलाई मेटेर सुरु गरेको हुनुपर्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।