उतिबेला मेधावी विद्यार्थीलाई गुणवत्ताको आधारमा विभिन्न देशमा छात्रवृत्तिको व्यवस्था गरिन्थ्यो। त्यसका लागी कुन जातको, कुन ठाउँको वा कस्तो परिवारमा जन्मेको भनेर कुनै भेदभाव गरिँदैनथियो। विभेदको बिल्कुल गुन्जयास थिएन।

ललितकला क्याम्पसका मेधावी विद्यार्थी थिए, बिपिन घिमिरे। उसबेला ललितकला क्याम्पसमा आइएफएसम्म पढाइ हुन्थ्यो। पढाइ सकेपछि सरकारी छात्रवृत्तिअन्तर्गत उच्चशिक्षाका लागि निवेदन दिए। सौभाग्यवश उनले तत्कालीन सोभियत संघमा छात्रवृत्तिमा पढ्ने अवसर पाए।

उतिबेलाको रसिया समाजवादी आन्दोलनको मियो थियो। कला, साहित्य र समाजले समाजवादी अभ्यास गरिरहेको थियो । यद्यपि अमेरिका र रसियाबीच चलेको शीतयुद्धले समाजवादी आन्दोलनलाई थिलथिलो पारेको थियो। यी सब कुराका साक्षी बनेका थिए बिपिन। एक दशक रसियामा अध्ययन गरेका बिपिनका चित्रकलामा समाजवादी धारका विषयवस्तु नअटाउने कुरै भएन। सामान्य मानिसका जनजीवनका दैनिकी, समाजमा कमजोर पात्रहरुको चित्रण र दबिएका स्वरहरुको आवाज उनका चित्रकलाका विषयवस्तु बने।

रसियामा उनले ११ वर्ष अध्ययन गरे। दुई विषयमा गोल्डमेडलसहित एम.एफ.ए. गरेर बिपिन नेपाल फर्किए र ललित क्याम्पसमा अध्यापन सुरु गरे। चित्रकला विभाग प्रमुख हुँदै क्याम्पस प्रमुखको जिम्मेवारी वहनसमेत गरेर २८ वर्षको अध्यापनपछि अवकाश लिए ।

ललितकला क्याम्पसमा छँदा उनी सबैका प्रिय ‘बिपिन सर’ बने। कक्षाकोठाबाहिर बिपिन सर अत्यन्तै सरल र मिलनसार तर कक्षाकोठाभित्र छिरेपछि अत्यन्तै कडा स्वभावका। कलाका सामान्य भन्दा सामान्य नियममा समेत कुनै सम्झौता नगर्ने खालका। कलाका विद्यार्थीले कलाको व्याकरण कदेखि ज्ञसम्म सिक्नै पर्छ भन्ने मान्यतामा उनी अडिग थिए । कलाको सैद्धान्तिक ज्ञान, कला इतिहासको अधोपान्त अध्ययन र कठोर मिहिनेतले सफल कलाकार बनाउँछ भनेर सिकाउँथे। उनी भन्छन्, “कलाकार बन्न कलाका आधारभूत ज्ञान र सबैखाले कला सृजना गर्न सक्ने हुनुपर्छ ।”

तर सृजना भन्दा बढी हल्ला गर्नेहरुको चुरीफुरी देख्दा उनी दुःखी छन्। नेपाली कलाको धारले अझै सही मार्ग भेट्टाउन नसकेको उनी स्वीकार्छन्। उनी थप्छन्, “विदेशी कलाकारको जीवनशैली र तिनको कलाको नक्कल गर्ने बानीले नेपाली मौलिक कलालाई धराशायी पारिरहेको छ ।”

उनको विचारमा कलाले देशको पहिचान र आम मानिसको आवाज प्रतिबिम्बित गरेको हुनुपर्छ। सरलीकृत र आम मानिसको साझा भावना अटाएको कला नै उत्कृष्ट कला ठहरिन्छ। उनका कलाकृतिहरु यस्तै विचारबाट ओतप्रोत छन् । यो क्रम अझै यसैगरी अनवरत् रूपमा जारी छ।

हालसम्म ११ पटक एकल कला प्रदर्शनी र दर्जनौँ पटक सामूहिक कलाप्रदर्शनी र कलाका कार्यशालामा भाग लिइसकेका बिपिनले कोरोनेसन मेडल, महेन्द्र विद्या भूषण, शाशांक पुरस्कार लगायत विभिन्न मान-सम्मानबाट सम्मानित भैसकेका छन्।

हाल उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठामा गरिमामय सदस्य सचिवको रुपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्।

आऔँ आज उनका केही उत्कृष्ट कलाकृतिको अवलोकन गरौँः