म भन्छुः नेपाल अवसरको भर्जिन भूमि हो ।

कस्तो बेमेल सुरुवात ! कस्तो वाइयत सुरुवात !

खैर, छोड्दिनुहोस् राजनैतिक खिचातानी, लागौँ खास चुरो कुरोतिर ।

अफिसमा सम्पादकको जहिलेकै किचकिच, कहिले यो भएन त कहिले त्यो भएन । यो कुरा बुझ्नू कि ठूला मान्छेहरु सानाबाट कहिल्यै पनि सन्तुष्ट हुँदैनन्, यदि कोही हुन्छन् भने तिनीहरु ठूला हैनन् ।

कहिलेकहीँ दिक्क लाग्छ, अनि निक्लिन्छु कतै बरालिन ।

बानेश्वरसम्म हिँड्दै पुग्छु ।

म त सानो मान्छे, बस ठूलो हुन्छ ।

म त सानो मान्छे, टेम्पो सानो हुन्छ ।

मलाई त बस् बरालिनु छ, तर बसमा हैन । मेरो लागि ट्याम्पो नै ठीक छ ।

यदि तपाईँ टेम्पोमा यात्रा गर्दै हुनुहुन्छ भने विद्यार्थी परिचयपत्र नदेखाउनु होला । अझ कुनै पनि परिचयपत्र नदेखाउनुहोला । परिचयपत्रमा ठूला मान्छेको हस्ताक्षर हुन्छ, ट्याम्पो सानो हुन्छ । सानालाई हस्ताक्षरको महत्त्व थाहा हुन्न ।

कृष्ण ढुङ्गेल

मलाई त बस् बरालिनुछ । ट्याम्पोको पछाडि सीटमा बसेर तपाईँ बरालिन सक्नुहुन्न । सीट साघुँरो हुन्छ, मान्छे चढ्ने र ओर्लने क्रम निरन्तर हुन्छ । मान्छेको ओहोरदोहोर गर्ने ठाउँमा तपाईँ बरालिन उन्मुख ध्यान भट्किन सक्छ । बरु बरालिन हिँड्नेका लागि अगाडि, ड्राइभरसँगै सिट गज्जब हुन्छ । ड्राइभर तपाईँझैँ बरालिन निक्लेको पनि हुन्न । ऊ आफ्नै कर्ममा लिप्छ हुन्छ ।

‘‘अगाडि बस्न मिल्छ ?’’ म ट्याम्पोको झ्यालबाट आफ्नो मुख छिराउन खोज्दै सोध्छु ।

‘‘काँ जाने ?’’ ट्याम्पो होइन कि चालकले सोध्छ ।

‘‘यीँ ओर्लने हो ।’’

ऊ मलाई कुनै अनौठो वस्तु देखेजसरी हेर्छ । मानौँ, म कुनै अर्काे संसारबाट यो पृथ्वी नामक धर्तीमा टुप्लुकिएको अचम्मको जनावर हुँ ।

यदि तपाईँ सामान्य मानिसको सोचाइविपरीतको हर्कत देखाउनुहुन्छ भने पागल बन्नुहुन्छ, विचार गर्नु । पहिलोपटक पृथ्वीलाई सूर्यले होइन कि सूर्यलाई पृथ्वीले घुम्छ भन्ने महामानव, महावैज्ञानिक ग्यालिलियो पनि पागल बनाइएका थिए ।

तपाईँ समाजमा चलिएका भन्दा फरक वा कुनै नयाँ कुराको योजना लिएर कोही अघि पर्दै हुनुहुन्छ भने पहिले आफूमा पागल हुने ल्याकत राख्नुपर्ने हुन्छ । यदि तपाईँ पागल बन्न सक्नुहुन्न भने तपाईँबाट नयाँ केहीको अपेक्षा गर्नेहरु महापागल हुन् ।

‘‘हुन्न,’’ चालक अर्काेतिर फर्कन्छ ।

मेरो कुरा सुनेर ट्याम्पोको पछाडि बसेका दुई युवतीमध्ये एक अर्गानिक सुन्दरी र अर्की क्रिम सुन्दरी मलाई प्रेमभन्दा पनि दयाको भावले हेर्दैछन् भन्ने भाव पर्छ ।

यो बुझ्नुहोस् कि यदि तपाईँलाई कसैले ‘विचरा वा कठैबरा’ भन्छ वा त्यो नजरले हेर्छ भने त्यो सिर्फ दया हो । पागललाई कसैले मन दिँदैन । माया दिँदैन । प्रेममा पागल भएँ भन्नेहरु पागल होइनन् । पागलले आफूलाई कहिले पनि पागल भन्दैन ।

‘‘ह्या दाइ पनि, उसै बरालिन हिँड्या के ! भरे यीँ आएर ओर्लिन्छु भन्या,’’ नमिलेका दाँतहरुले उसलाई मोहित बनाउने विचारमा बोल्छु ।

ऊ अन्कनाउँदै ढोका खोल्छ । पछाडिका दुई सुन्दरीहरु अब के गर्दैछन् मलाई थाहा छैन । कारण उनीहरु मेरा आँखाअघि छैनन्, ढाडअगाडि छन् । अँ … ढाडको पछाडि भनेको भुँडी हो, ढाडको अगाडि युवतीको केशमा बच्चा रहनसक्छ, नौ महिनासम्मको, अरु कोही रहनै सक्दैन पेटसिवाय ।

ढाडअछाडि भएकाहरु शरीरको नजिक भएरै पनि आँखाबाट बहुत टाढा हुन्छन् । फेरि तपाईँलाई अक्सर खतरा ढाडपछि रहनेबाटै हुन्छ । सजग रहनुहोला । टाउकोको पछाडिपट्टि सिसिटिभी राख्ने सोच बनाउनुभएको छ भनेचाहिँ फेरि तपाईँ पागल हो ।

टेम्पो सानो हुन्छ । सानो कुरालाई भरिन पनि सानो समय काफी हुन्छ । मान्छेमा पनि यो नियक लागू हुन्छ । सानो मान्छे सानो तलब, सानो सफलता लगायतले नै खुसी हुन्छ । योजना, चाहना, आशाहरु पनि साना नै हुन्छन् । तर यो विचार कस्तो हुन्छ ? मलाई थाहा छैन ।

टेम्पो अघि बढ्छ । ए हैन, चालकले बढाउँछ । पछाडिबाट ट्राफिक दिदीले इशारा गर्दै म बसेको टेम्पोलाई लखेट्दै पो रछिन् । टेम्पो चालक सानो हुन्छ, खेदाउने भनेकै सानालाई ठूलाले हो ।

‘‘त्यो ट्रफिक्नी दिदीले किन त्याँबाट खेदाको ?’’ म सोध्छु ।

‘‘त्याँ मान्छे चढाउन पाउँदैन नि त !’’

म मुन्टो हल्लाउँछु । सबै ठूला मान्छेहरुले साना मान्छेलाई सानो बनाइरहेका नहुँदा रहेछन् । कतिले व्यवहारमा ठूला बनाइरहेका पनि त हुँदा रहेछन् । त्यस्तै कति ठूलाले सानालाई सिकाइमा ठूला बनाइरहेका हुन्छन् त कति बुझाइमा । आखिर आफ्नो बडापन नै दिएर वा सम्पत्ति नै दिएर त कसले पो अरुलाई ठूलो बनाउनसक्छ र ?

मैले मेरो बुबालाई सम्झेँ, आमालाई सम्झेँ, शिक्षकलाई सम्झेँ र सधैँ किचकिच गरिरहने सम्पादकलाई सम्झेँ । आखिर सबैले आफू आफ्नै किसिमले ठूलो भइरहेर पनि अरुलाई नि अरु नै किसिमको ठूलो बनाइरहेका हुँदारहेछन् ।

‘‘सरकारी खाकीवालाले कत्तिको दुःख दिन्छन् है दाइ !’’ मैले चालकसँग कुराकनीको ढोका खोलेँ ।

‘‘नियम मान्दा त दिन्नन्,’’ चालकले भने, ‘‘तर कहिलेकहीँ चाहिँ कस्को र कस्तो सवारी भनेर रोक्छन् । तर उनीहरुको पनि जागिर त हो, गर्नै पर्याे विचराहरुले ।’’

वाह, कस्तो उच्च बुझाइ ? सानो मान्छेको बुझाइ र विचार सानै हुन्छ भनेर कुनै धर्मशास्त्रमा लेखे नलेखेको कुरा मलाई थाहा छैन ।

टेम्पो बिजुली बजारको सिमाना काटेर अनामनगर टेक्छ । अनामनगर नटेक्दै रोकिन्छ । कोही महिला सानो बच्चा बोकेर टेम्पो चढ्ने कसरतमा लाग्छिन् । मेरै छेउमा बसेको चालक कराउँछ, ‘‘छिटो चढ्नु न, अहिले देख्यो भने मार्छ ।’’

यदि आफ्नो गल्ती थाहा भएरै पनि सुधार्न सक्नुहुन्न भने कहिल्यै ठूलो बन्नुहुन्न । सधैँ सानोको सानै रहिरहनु हुनेछ । यो कुरा बुझ्नुहोस् र उही चालकको झैँ जानेको कुरामा पनि गल्ती नगर्नुहोस् ।

‘‘दाइको घर काँ ?’’ टेम्पोले अनामनगरलाई बेनाम बनाइसकेको छ ।

‘‘धरान !’’ चालक भन्छन्, ‘‘प्लाजा झर्ने छ ?’’

अघिका ती दुई सुन्दरीमध्ये क्रिम सुन्दरी ओर्लिन्छन् । उनी गल्ती गर्छिन्, भन्छिन्, ‘‘कार्ड छ ।’’

मैले अघि पनि भनेँ, तपाईँ यस्तो गल्ती नगर्नुहोस् । टेम्पोले ठूला मान्छेको हस्ताक्षर चिन्दैन ।

टेम्पो अघि बढ्छ, म पनि ।

‘‘तपाईँको घर चीँ ?’’ मभन्दा पनि पुलुक्क हेरेर चालिक अघि बढ्छन् ।

‘‘पूर्वै हो ।’’ म भन्छु, ‘‘तपाईँको नाम ?’’

‘‘सोनु ।’’

म मेरो सोनुलाई सम्झन्छु ।

प्रेमिका सम्झदै हुनुहुन्छ भने तपाईँ बेवकुफ बन्दै हुनुहुन्छ । मैले सोनु निगमको कुरा गरेको । कोही कलाकार किन आफ्नै लाग्छन् ? मलाई थाहा छैन ।

मभित्रको अन्तर्वार्ताकार जागिसकेको हुन्छ सायद । तपाईँ जतिसुकै आफूलाई लुकाउन खोज्नुहोस्, आखिरी त्यो लुकाउन खोजेको तपाईँ बाहिर आएरै छोड्छ ।

‘‘गाडी साहुको कि आफ्नै ?’’

‘‘साहुको हो ।’

‘‘मासिक कति बुझाउनुपर्छ ?’’

‘‘दिनको २८ सौ ।’’

‘‘त्योभन्दा बढी आफ्नो ?’’

‘‘हैन । महिनावारी तलब । टिप्स् निकाल्न सके आफ्नो ।’’

‘‘काठमाडौँमा जीवन मज्जाले चल्छ ?’’

‘‘मज्जाले त काँ ? खाना, बस्न र भाडा तिर्न पुग्छ ।’’

‘‘बिहे गर्नुभो ?’’

‘‘गरियो ।’’

‘‘बच्चा ?’’

‘‘दुइटा छन् । छोरी ।’’

‘‘पढ्छन् ?’’

‘‘एउटा पढ्छे, बोर्डिङ् । अर्की सानै छ ।’’

मनमनै सम्झन्छु, टेम्पोको कमाइले पनि नानीलाई प्राइभेट स्कूलमा पढाउने ल्याकत राख्छ भने नेपालको परिप्रेक्ष्यमा त्यो नराम्रो कमाइ कसरी हुनसक्छ ? आफ्नाे कमाइले यो सहरमा बाँच्न मात्र पनि धैधै परिरहेको बेला ।

‘‘ए.. कमाइ राम्रै हुँदोरहेछ । अझ आफ्नै टेम्पो हुँदा त गज्जब नै हुने रै’छ क्यारे !’’

‘‘आफ्नो किनेर फाइदा छैन ।’’

‘‘किन ? पैसा ?’’

‘‘पैसा हुँदै पनि फाइदा छैन हो सर । ब्याट्री नौ-नौ महिनामा फेर्नुपर्छ । नचलाई राख्दा आफैँ साफ । फेरि काठमाडौँको सडक । देशको अवस्था नै पनि हेर्नु न !’’

उफ्….. देशको बारेमा कुनचाहिँ ठूलाले हामी सानाहरुमा यति नराम्रो धारणा भर्दियो हँ ? यदि देशमा टेम्पो चलाउँदा फाइदा हुँदैन भने ठूलाहरुले किन सानालाई आफ्नो धनको खर्च गरेर चलाउन दिन्छन् ? यसलाई तपाईँ ठूलाहरुको सानालाई सानै बनाइरहने साजिसको रुपमा पनि व्याख्या गर्न पाउनुहुन्छ ।

अँ … हामी केही गर्दै नगरी भन्दिन्छौँ, ‘‘यो देशमा केही हुन्न ।’’

तर यो सोच्दैनौ, ‘‘किन हुन्न ?’’

हाे, हामीमा प्रश्न गर्ने चेतना छैन । हामी हरकाेही अनुयायी सजिलै बन्न सक्छाैँ, तर चेतनाशून्य बनेर ।

अब मलाई मेरो सम्पादकप्रति माया पलाएर आउँछ । नझुक्किनुहोला, दया होइन । अनि उसले पनि मलाई कामप्रति त्यतिका गाली गरेर घृणा देखाइरहेको थिएन ।

यो बुझ्नुहोस् कि तपाईँलाई माया गर्नेहरुले मात्रा गाली गर्न सक्छन् । यदि कोही सिर्फ माया गर्छु भन्छ भने त्यो दयाको दायराभित्रै खुम्चिएको विचार हो । भावना हो ।

अँ … म भन्दै पो थिएँ । हाम्रो देशमा अवसरहरु जति पनि छन्, बस् उत्खनन् हुन् जरुरी छ । फेरि त्यो उत्खनन् कोही विदेशी आएर गर्दिने पनि त हैन नि ?

प्रयास नै नगरी देशको अवस्थालाई सराप्ने संस्कारको खेती खुब फस्टाएको छ हाम्रो देशमा । आखिर हाम्रा प्रधानमन्त्रीले पहिले नै भनिसकेका छन्, यो भूमि लगानीको लागि भर्जिन छ । भलै, अहिले प्रधानमन्त्री कामचलाउ बनेर पार्टी र सरकार चलाइरहेका हुन् ।

अब म यो भन्छु कि यदि नागरिकले वा अझ भनौँ युवाले संघर्षको ल्याकत राख्ने हो भने नेपाल अवसरको भर्जिन भूमि अवश्य हो ।

यो मेरो कुरालाई तपाईँ नमान्न पाउनुहुन्छ तर एउटा सर्त पूरा गर्नुपर्ने हुन्छ । त्यो के भने पहिले आफू प्रयास गर्नुहोस्, अरुले भनेको भरमा खालि देश र सिस्टमलाई मात्र दोष नलगाउनुहोस् । देश सरकारले बनाउने अवश्य हो, म मान्छु । अब तपाईँ पनि यो मान्नुहोस् कि सिस्टम हामीले बनाउने हो । जनताले बनाउने हो । अँ … यदि तपाईँ आफूलाई यही भूमिमा सक्षमता देखाउने ल्याकत मात्र राख्न सक्नुहुन्छ भने देश तपाईँको हो । सिस्टम तपाईँको हो । र, सारा जनता तपाईँका हुन् ।

अन्तिममा म मेरा प्रिय दाइ, प्रिय चित्रकार राेशन भण्डारीले चियागफकाे क्रममा भनेको कुरा सम्झन चाहन्छु, ‘आफूलाई प्रमाणित नै नगरी कुनै पनि ठाउँमा अवसरहरु प्राप्त हुँदैनन् ।’’