काव्यको यात्रा बुद्धत्वको यात्रा हो । त्यसैले यो धेरैले भनेजति, देखेजति र सोचेजति सहज पक्कै छैन । र छैन यो सुनेजति असहज र असम्भव पनि । बुद्ध पनि मान्छे नै त थिए । तर फेरि पनि यो सबै र सामान्य मान्छेको वशको कुराचाहिँ पक्कै होइन । साधारण मान्छे त सधैँ दरबार ताकेर हिँड्छ, आखिर जहाँ पुगोस् । हुँदाखाँदाको दरबार र रवाफ छोडेर जोगी बन्ने हिम्मत नगर्ने मान्छे न त बुद्ध बन्छ न त कवि । अनि त्यो तहको त्याग, ध्यान र समर्पणको क्षमताविना कविताकर्म गर्नेहरूको तथाकथित महानता केवल खहरे भेलको क्षणिक गर्जनजस्तो वरिपरिका अदना थर्काउने ढोँग बन्छ । कमसेकम हाम्रो देशमा यस समयका ‘कवि हुँ’ भन्ने अधिकांशलाई ध्यानपूर्वक हेरेपछि यतिचाहिँ निर्धक्क भन्न सकिन्छ ।
कति कविहरूलाई त नजिकबाट चिन्नुु पनि समस्या हुनथालेको छ । पहिलो–दोस्रो र कहिलेकाँही तेस्रोसम्मको भेटमा यो मान्छे त विछट्टै महान्, इमानदार, प्रतिभाशाली वा मानवीय पो रहेछ भनेर उसको नजिक जाउँजाउँ र आजीवन सङ्गत गरौँगरौँ लाग्ने खालको चमक देखिने । अलि नजिक हुँदै गएपछि ऊप्रतिको आकर्षण विस्तारै खुइलिएको जडौरी लुगाजस्तो बन्ने । अझ टिकेर नजिक भइरहे त उसका जुम्राले सिकसिको लाग्ने गरी नै टोक्ने पो गाँठे । त्यसैले अचेल लाग्न थालेको छ कविहरूको धेरै नजिक हुनुको सट्टा चमक देखिने तर जुम्रा नसर्नेे दुरी कायम गरेर उनीहरूको सिर्जनाको आनन्द लिनु नै ठीक ।
अहिले म त्यस्तै अलिक दूरमा नै रहेकाले कमसेकम उनमा हुनसक्ने धेरै कमजोरीको बारेमा अनविज्ञ हुँदै उनका रचनाको पारख गर्ने मौका मिलेका एक कविको व्यक्तित्व र सिर्जनाको चर्चा गर्दैछुु । यसै प्रसङ्गमा मेरा कविसङ्गतका केही स्मृतिहरूको चर्चा पनि मिसाएर एउटा कविताको बारेमा केही भन्छु ।
वि. संं २०७७ मङ्सिर २७ गते शनिवार । कोरोना बन्दाबन्दी र बलजफ्तीले नौ महिना बन्द रहेका इटहरीमा निजी विद्यालय खुलेको पहिलो हप्ताको छुट्टीको दिन । हिजो मात्र बेलायतकी ९० वर्षीया हजुरआमाले संसारमा पहिलो पटक सामान्य नागरिकको तहमा कोरोना खोप लगाएको खबर विश्वभर फैलिएपछि जीवन अब विस्तारै लयमा फर्कन्छ कि जस्तो आशा पलाएको बिहान । मधुरो घाम पनि विस्तारै तात्न थालेको दस बजेतिरको समय । खाना खाएर घाम ताप्दै फेसबुक खोल्दा एउटा कविताको भिडियो झ्वाट्ट देखापर्यो । कविताको शब्दभन्दा पहिले पहाड भत्केको चित्र कुँद्यो ओरालोतिर । दृश्य भयानक भैकन पनि मनमोहक छ । यससँग आउने आवाज पनि सुनौँ लाग्यो र आवाजमा क्लिक गरेँ । पहाड भत्किएको आवाजको साटो त्यहाँ त एउटा चिनेचिनेजस्तो आवाज पो आयो । एकैछिनमा स्पष्ट भयो त्यो आवाज चितवनमा बसेर नेपाली साहित्यकर्म गर्दै आएका कवि भूपीनको रहेछ । भिडियोमा देखिने पहाडको भत्काइको लयमा वाचित कविता पनि उनकै रहेछ । तीन पटकसम्म दोहोर्याएर त्यो भिडियो हेरेपछि मेरो भूपीनका रचनासँगको सङ्गतको इतिहास सरसर्ती सम्झनमा आयो ।
अहिलेका भूपीन खड्का ‘भूपीन व्याकुल’ हुँदाकै समयमा वि. सं. २०६५ मङ्सिरमा पहिलोपटक भरतपुरको सप्तगण्डकी क्याम्पसमा म आफैँले खोज्दै गएर भेटेका यी कविबीचमा ‘भूपीन भूपीन’ पनि भए । यस बाह्र वर्षको अवधिमा मैले उनका चारवटा पुस्तक पढिसकेको छुु । तीमध्ये पहिलो थियो उनले निःशुल्क उपलब्ध गराएको र मैले खासै मन नलागी नलागी समीक्षा लेखेको हजार वर्षको निद्रा । तात्कालीक भूपीन व्याकुलका सिकारु कविताले भरिएको त्यो पुस्तकभन्दा पछि आयो उनको निबन्धसङ्ग्रह चौबीस रील । करिब चौबीस पृष्ठजति नै पढेपछि त्यसमा थप समय खर्च गर्ने हिम्मत गरिएन, श्रोतको खर्च त गरिसकिएकै थियो । अहिले पनि मेरो अध्ययन कक्षमा कतै च्यापिएर त्यसले सपनामा निबन्धकारको अनुहार देख्दै छ कि ! कहिलेकाहीँ अरु निबन्धसङ्ग्रहहरूमा मेरा हात सलबलाइरहेका बेला मेरो मुखमा पुलुक्क हेरेर ‘म पनि त यहीँ छु; यसो एकपटक फेरि पढ्ने कोसिस त गर’ भनुुँला झैँ गरेजस्तो लाग्छ त्यसले । तर मैले त्यसलाई थप पढ्ने हिम्मत गर्न अझै सकेको छैन ।
त्यसपछि प्रकाशित उनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाजले पनि मलाई खासै काव्यिक उडानमा लान सकेन । नाममा हवाइजहाज र काममा थोत्रो मोटरजस्तो भयो मेरा लागि त्यो पुस्तक । हाम्रै सहरका एक जना भूपीनका कविताका फ्यान आएर मेरो अध्ययन कक्षबाट त्यसको उद्धार गरेकोे चार वर्ष चार महिनासम्म त्यो फिर्ता नआएकाले त्यसको गुनासो भने सुन्नुपरेको छैन । तर उहीबेला त्यसको पठन अवधिभर लागिरह्योः यी कविले खासै काव्यिक सिर्जना नगरी जिन्दगी सक्ने भए कि कसो !
हुन त उनी त्यसकोटीका एक्ला नेपाली कवि त पक्कै होइनन् । हजारौँ पो पुग्लान् नाम नै सङ्कलन गर्ने हो भने जसका कविताले मलाई कहिल्यै कविता पढेको अनुभूति नै दिँदैनन् । दुई दुईवटा पुस्तकको खोलमा कवितासङ्ग्रह लेखिएकै छ । नातेदार, आफन्त र उनको चित्त दुखाउन नचाहने साथीहरू, उनीबाट बारम्बार फाइदा लिनसक्ने विद्यार्थीहरू आदि इत्यादिले उनलाई भयङ्कर राम्रो कवि भन्ने नै छन्, पक्कै उनका अगाडि । अनि उनका कवि तथा साहित्यकार साथीहरूले पनि एक जना आफ्नो पुस्तकको क्रेता र पाठक नघटोस् भन्नाका लागि भेटमा उनको तारिफ गर्ने नै छन् । भलै उनको अनुपस्थितिमा तिनीहरूले के भन्छन् भन्ने त यो लेख पढ्दै गर्ने जोकोहीलाई थाहै छ । अगाडि फुुरुक्क पार्ने र पछाडि उछितो काढ्ने नेपाली साहित्य अविकासका लागि जिम्मेवार भाइरसहरूको बारेमा त मैले खासै केही भन्नै पर्दैन । अनि मलाई उनका लेखन कविताजस्तो नलागेर उनलाई के फरक पर्छ र !
सुप्लाको हवाइजहाज हातमा आउँदासम्म भूपीन मेरा मित्र पनि भइसकेका थिए । धेरै साहित्यिक कार्यक्रमहरूमा सँगै हुनुका साथै कतिपटक फोनमा समेत मित्रवत् कुराकानी गरिसकिएकाले अब चाहिँ यिनको समय खोसेला बटुल्नमै खेर नजाओस् भन्ने सदिच्छाका साथ आफूलाई उनको कवितामाथि लागेको कुरा स्पष्ट भन्ने निर्णय गरेँ । मेरो कुरा एसएमएसमार्फत् पठाएँ । त्यसको आशय थियोः “तपाईँले मैले पढ्न पाउने अपेक्षा गरेजस्ता कविता लेख्नु भएन । मलाई निराश पार्नुुभयो ।” मेरो यसअघि कैयौँ कविहरूसँगको त्यस्तै आशयको कुराकानीमा जस्तै यसपटक पनि तत्काल कुुनै जवाफ आउला भन्ने अपेक्षा थिएन । त्यसमाथि त्यसो भनिदिएकामा कविबाट आभार पनि व्यक्त होला भन्ने त मेरो कल्पनाभन्दा परको कुुुरा थियो । आफ्नै खर्चमा घन्टौँ यात्रा गरेर, आफ्नै खर्चमा कवितासङ्ग्रह भनिएका पुस्तकाकार प्रकाशनमाथि लेख लेखेर, त्यसको प्रिन्टसमेत गरेर कार्यक्रममा बाँढ्दा त्यस पुस्तकका उन्नाइस गुण खोजीमेली गरेर उल्लेख गरी पृष्ठको पुछारमा एउटा साह्रै खड्किएको कमजोरी उल्लेख गरिदिएवापत् वर्षौँसम्म मुुन्टो फर्काएर हिँड्ने कविहरूलाई झेलेको मेरा लागि उनको सकारात्मक जवाफको त कुनै अपेक्षा नै थिएन । तथापि कतै साथीले कुरा खाइहाले भने नेपाली साहित्यमा एक दुुईवटा राम्रा कविता थपिएलान् कि भन्ने आफ्नो लोभ नि ! अनायास जवाफ आयो, “सुझाव र अपेक्षाका लागि हार्दिक आभार, राम्जी सर ।”
म त छक्कै परेँ । लाग्यो, यिनमा कवि हुने गुण त छ; कविता नै लेख्नचाहिँ बाँकी रहेछ ।
उनको सदाबहार ‘आभारी छु, राम्जी सर’ एकपटक फेरि दोहोरियो । तर लगत्तै मैले भनेको अर्को कुराको भने उनले शालीन प्रतिवाद गरे ।
केही वर्षपछि उनको उपन्यास मैदारो (२०७५) प्रकाशित भयो । पढ्ने जाँगर खासै थिएन । तैपनि पढिल्याएका साथी हुन् पढौँ न त भनेर किनियो । पढ्न थालेपछि त मैले सोचेभन्दा फरक भेटियो त्यो कृति । ठाउँ ठाउँमा फिल्मी शैली पाइए पनि विषयवस्तु, अभिव्यक्ति, कल्पना र कथा संयोजनमा बेजोड लाग्दै गयो । रातको एघार बजे प्रथम पठन सकेर टेलिफोन गरी बधाई दिएँ । उनी सायद उनको मूल घर बाग्लुङको बलेवामा थिए । पहिलोपटक उनका सिर्जनामाथिको मेरो प्रशंसा सुनेर खुशी नै भए होलान् । उनको सदाबहार ‘आभारी छु, राम्जी सर’ एकपटक फेरि दोहोरियो । तर लगत्तै मैले भनेको अर्को कुराको भने उनले शालीन प्रतिवाद गरे ।
उनले मैदारोको कथा गत २२ वर्षदेखि दिमागमा डेरा जमाएर बसेको र त्यो उपन्यास लेखिसकेपछि आफू फ्रेस भएको आशय व्यक्त गरेका छन् त्यसको भूमिकामा । त्यो भनाई पढ्दै गर्दा मलाई लागेको थियोः ए, यिनले राम्रो कविता नलेख्नुको कारण त यसो पो रहेछ । दिमागमा उपन्यास बोकेर कविता लेख्न थालेपछि कहाँबाट होस् शक्तिशाली कविताको सिर्जना । सोचेको मूल कुरा छ उपन्यास, अनि लेख्नुछ कविता ! अनि कसरी आओस् त शक्तिशाली कविता । त्यसैले उनलाई भनेँ, “तपाइँले राम्रो कविता किन लेख्न सक्नुभएन भनेको त सबै सिर्जनाशक्ति जति उपन्यासमा लागेको रहेछ, अनि के बनोस् त कविता ! आजदेखि तपाईँ मेरो लागि कवि होइन, उपन्यासकार भूपीन हो ।”
सायद ‘मेरो लागि तपाईँ कवि होइन’ भन्ने वाक्यले उनको हृदय भेदन गर्यो र उनले उदास तर शालीन ढङ्गले भने, “राम्जी सर, त्यो पनि पाठकहरूको आआफ्नो दृष्टिकोण रहेछ । कतिले कविता राम्रो छ भन्नुहुन्छ, कतिले निबन्ध र अहिले धेरैले उपन्यास राम्रो भन्नुुभएको छ । म कविता पनि लेख्दैछु, सर ।”
भनाइको आशय थियो, “म कविता लेख्छु नै । मलाई कवि होइनस् भन्नुचाहिँ ममाथि अन्याय हुनेछ ।” त्यसपछि मैले आफैँलाई प्रश्न गरेँ, कविताकर्मलाई यति माया गर्ने मान्छेले किन भाँति पुर्याएर कविता चाहिँ लेख्न सकिरहेको छैन ?
मङ्सिर २०७७ । भूपीनसँग प्रथम भेट भएको ठीक बाह्र वर्ष भयो । एक युग । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली उखान छ । त्यस्तै भयो कि ! फेरि त्यो भिडियो दुईपटक हेरेँ । नेपाल र नेपालीको गत तीन दशकको सिङ्गो चित्र काव्यिक बिम्बमा ठ्याक्कै उत्रेको छ । प्रतीकको तहमा पुगेर नेपालीहरूको शताब्दियौँको नियतिलाई कस्तो सटीक प्रस्तुति दिएको छ कविताले ! कति राम्रो कविता देख्न पाइयो आज ! भाव, विचार र कलाको कस्तो चटक्क मिलेको संयोजन । कविताले समाजसँग कसरी निकट सम्बन्ध राख्नसक्छ भन्ने प्रमाण पनि । साथै आफू प्रवासी भएको कुनै इतिहासविना नै प्रवासीको नियतिमाथि यति भित्र पसेर कसरी लेख्न सकेको होला ? प्रवासी भावका कविता लेख्न कवि आफैँ प्रवासी नै हुनुपर्छ भन्ने रुढ तर्क गर्नेहरूले थेग्नै नसक्ने गरिको छ यो कविता ।
चितवनमा बसेर पश्चिम एसियाको मरुभुमिका चलायमान प्रवासी तथा युुरोप, अमेरिका र अस्ट्रेलियाका नेपाली डायस्पोराको निर्माण र तिनका भावना आफ्नै अनुभवजस्तो गरेर राखिएको छ यस कवितामा । यसले कवि खाली आफ्ना व्यक्तिगत भावना र विचारको मात्र अभिव्यक्ति नदिएर अन्य व्यक्ति र समग्र समाजको भाव र विचारलाई पनि अभिव्यक्ति दिन सक्छ भन्ने एक प्रमाण पनि प्रस्तुत गरेको छ । मनै प्रफुल्लित भयो । त्यसपछि त्यो भिडियो फेसबुकमा सेयर गरेर कविलाई बधाई दिँदै मेसेन्जरबाट कविता इमेल गरिदिन अनुरोध गरेँ । एकैछिनमा मेरो इमेलमा यो कविता देखापर्यो ।
ढुङ्गा
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ,
म त्यही ढुङ्गा हुँ फरहान ।
दुःखका हजार भीरमा ठोक्किँदा पनि हात सग्लो राखेर
चोटका सयौं भुमरीमा फस्दा पनि खुट्टा दुरुस्त राखेर
हुर्रिंदै, चित्कार गर्दै र टुक्रिँदै
त्यो ढुङ्गा तलतलसम्म खस्छ
र, तिम्रो देश यानि यो मरुभूमिसम्म आइपुग्छ ।
म त्यही ढुङ्गा हुँ फरहान ।
तिमीलाई थाहा नै छ—
यस नीलो ग्रहका अग्लाअग्ला हिउँघरहरू
मेरा क्रीडास्थल थिए ।
तीर चढाएका वाणजस्ता उन्नत टाकुराहरू
मैले संसार नियाल्ने उचाइ थिए ।
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
पहाड फोर्यो पण्डित प्रजातन्त्रले ।
थर्थरायो पहाड बमका विस्फोटनहरूमा ।
सडक त बन्यो
तर, म चोइटिएँ, परिवारबाट अलग्गिएँ र झरेँ तलतल
र, हजार बल्ड्याङ खाँदै आइपुगेँ यहाँसम्म ।
यहाँ आएपछि
पसिनाको मसीले
बालुवामा लेखेको मेरो कथा त
तिमीलाई थाहा नै छ फरहान ।
म यहाँ आएँ र देशमा छोरा जन्मियो ।
म यहाँ आएँ र देशमा युद्ध सुरु भयो ।
म यहाँ आएँ र मेरा बाआमा युद्धमा मारिए ।
मेरी बहिनी बलात्कृत भई र बौलाई ।
भाइ बेपत्ता भयो ।
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा ।
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ फरहान ।
फरहान, अब हाम्रो भेट होला नहोला
बालुवाका ढिस्का र यी भेडाका बथानहरूलाई साक्षी राखेर
आऊ आज अन्तिमपटक बात मारौं ।
फिर्ती टिकट झोलामा राखेर
भोलि त म उड्नेछु देश
र, पुग्नेछु ।
भत्किएको पहाडको हाँगामा अल्झिएकी
पत्नीलाई भेट्न ।
(जसलाई बिहेलगत्तै छोडेर आएको थिएँ यो मरुभूमिमा)
भोलि त उड्नेछु देश
र, पहिलोपटक अँगालो मार्नेछु ।
बाउको मुख नदेखी जवान भइसकेको छोरालाई ।
बेसी फाँटमा उदासीको सुसेली हाल्नेछु
पिँपिरी बजाउनेछु, टाकुरामा बसेर ।
बनाउनेछु चौतारो—
दिवंगत बाआमा, बौलाही बहिनी र बेपत्ता भाइको नाममा
त्यसमा चढाउनेछु देउरालीको पाती ।
सुनेको छु
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
फेरि पहाड फोर्दैछ रे काजी गणतन्त्रले ।
पक्का छ, यसपालि पनि पहाड झर्नेछ ।
लाहुरको गुरुत्वले तान्ने ढुङ्गा न हुन् मेरो देशका युवाहरू,
म त कसैगरी अल्झनेछु, पहाडको हत्केलामा
तर डर छ मलाई—
खस्नेछ मेरो छोरा त्यो अग्लो पहाडबाट
र, पुग्नेछ सबैभन्दा टाढा
मिस मेलिनाको चिसो देशमा ।
मलाई थाहा छ, तिमीलाई मैले सुनाएझैं
सुनाउनेछ एक दिन मेरो छोराले मेलिनालाई
आफ्नो कथा—
‘डियर मेलिना
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ ।’
प्रतीकात्मक प्रकृति बिम्बहरूले भरिएको यस कथात्मक कविताले नेपाली समाजको प्रवासनको इतिहासको संवेदनात्मक चित्र कोरेको छ । आधुनिक नेपाल राष्ट्रको निर्माण हुनुभन्दा र अहिलेका जस्ता यातायातका साधनको आविष्कार हुनुभन्दा पहिले नै आफ्नै खुट्टाको भरमा यात्रा गर्दाको समयमा पनि नेपालीहरू अवसरको खोजीमा अहिलेका भारत, भुटान, बर्मा, थाइल्याण्ड, तिब्बत र चीनको मुख्यभूमिसम्म बसाइसरेर जान्थे । नेपाल र ब्रिटिश–भारतबीच सुगौली सन्धि भएपछि औपचारिक रुपमा बेलायती सेनामा भर्ना भएर संसारका विभिन्न स्थानमा पुगेका नेपाली युवाहरू र तिनको गुरुत्वाकर्षणले तानेर त्यतै पुगेका गैरसैनिक नेपालीहरूदेखि सन् १९७०को दशकबाट क्रमशः बढेको नेपालीहरूको पश्चिमी मुलुकहरूतिरको प्रवासनले अहिलेसम्म करोडभन्दा बढी नेपालीमूलका मानिसहरू संसारमा छरिन पुगेका छन् । एकपटक आफ्नो थातथलोबाट निस्केर हिँडेपछि फेरि त्यसै स्थानमा फर्केर आई स्थायी बसोबास गर्नेको सङ्ख्या असाध्यै नगण्य भएको हाम्रो इतिहासलाई हेर्दा पहाडको शिखरबाट उप्किएर तल झरेको ढुङ्गा फेरि शिखरमा चढ्न नसकेको जस्तै भएको छ । भूपीनको यस कविता (“ढुङ्गा”)ले नपालीहरूको यही सार्वकालिक नियतिलाई प्रस्तुत गरेको छ ।
“ढुङ्गा” शीर्षकले देशको उचाइबाट तल झरेर पराइको देशमा पुग्ने भौतिक यथार्थलाई मात्र जनाएको छैन । त्यसरी जन्मघर छोडेर प्रवासिन बाध्यभएका नेपालीहरूले आफ्नो मनलाई पनि ढुङ्गामा परिणत गरेर विछोडका संवेदनाहरूले नछोइने नबनाए प्रवासमा पनि गरिखान मुस्किल भएकाले यस बिम्बले प्रवासीहरूको जटिल मानसिक स्थितिलाई समेत प्रस्ट्याएको छ । ठूलो ढुङ्गा पक्लक्क उप्केर पहाडको शिखरबाट तल झर्दै गरेको भिडियोको दृश्यले कविताको यस बहुआयामिक अर्थलाई थप स्पष्ट पारेको छ । चट्टानको शिरबाट फुक्लिने बित्तिकै त्यस ढुङ्गाले ठुलो मात्रामा धुलो पनि उडाउँछ; घर छोड्नेबित्तिकै प्रवासीको मनमा मात्र होइन उसका परिवार र अन्य आफन्तहरूमा समेत पर्ने भौतिक र मानसिक आघातजस्तै । ढुङ्गा जति तल झर्यो त्यति नै त्यससँग उड्ने धुलोको मात्रा कम हुँदै जान्छ, प्रवासी भएको समय बित्दैजाँदा क्रमशः त्यस्तो संवेदनामा कमी आएजस्तै । उता त्यो ढुङ्गा चोइटिएको चट्टानमा पनि तत्कालै ठूलो खाडल देखिन्छ वा त्यसको पूर्ववत् रुपमा भिन्नता आउँछ । तर समय बित्दैजाँदा त्यो चोइटिएको रुप पनि क्रमशः सामान्य लाग्दै जान्छ । अचेल नेपालीहरू विदेश जान्छन् भन्दा हामीलाई सामान्य लागेजस्तै । आखिर नजाने को पो छ र जस्तो नि ! आर्थिक–सामाजिक–राजनीतिक बाध्यताले उत्पन्न गर्ने यस्तो नियति क्रमशः प्राकृतिक (सामान्य)जस्तो लाग्दै जाने रहेछ । हामीलाई अचेल त्यस्तै लाग्न थालेको छ । सायद हामी सबैलाई नियतिले चट्टान बनाइसक्यो कि ! दुई चार लाखवटा ढुङ्गाका टुक्रा तल झर्दा हाम्रा आँसु झर्न छोडिसकेका किन त ?
यस यथार्थलाई प्रस्तुत गर्दै कविता शुरु हुन्छः
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ,
म त्यही ढुङ्गा हुँ फरहान ।
नेपाल सगरमाथा भएको देश हो, संसारको सबैभन्दा अग्लो स्थान । यो पहाड भौगोलिक रुपमा मात्र उच्च नभएर यसका मानिसका दुःखहरू पनि सायद संसारकै सबैभन्दा अग्ला छन् । जसरी जति बढी अग्लो पहाडबाट झरेको (खसेको) ढुङ्गाको झराइको वेग बढी हुन्छ र त्यसले निकै परसम्म पुग्ने सामथ्र्य राख्छ, त्यसैगरी यहाँका दुःखका उच्च पहाडबाट खसेका नेपालीहरू संसारका प्रायः सबै ठाउँमा छरिन पुगेका छन् । बेगले झरेको ढुङ्गा आफैँमा थप टुक्रिदै गएर झुराझुरा हुँदै सर्वत्र छरिएर अन्तिममा माटो भएर बिलाए जस्तै । कति प्रवासी नेपालीहरू र तिनका सन्तान दरसन्तानले त आफ्नो नेपालीपन मात्र होइन हामी नेपालबाट आएका हौँ भन्ने सम्झनासम्म हराएर प्रवासकै समाजमा आफूलाई विलयन (एस्सिमिलेशन) गराइसके । उदाहरण हुन् तिब्बत, चीन र सय वर्ष अगाडि मलेसिया पुगेका नेपालीहरूका नियति । त्यसबेला मलेसिया पुगेपछि हिँडेर नेपाल फर्कने सम्भावना शून्य नै हुन्थ्यो । अहिलेजस्तो हवाइजहाज चढेर फुत्त फर्कने सम्भावनाको त कल्पना पनि थिएन । त्यसैले त्यसबेलाको खसाइ\झराइ अहिलेको भन्दा धेरै दर्दनाक थियो ।
यसरी यस कविताको प्रारम्भले नै नेपाली प्रवासनको इतिहासको प्रारम्भिक अवस्थालाई काव्यिक बिम्बमा उतार्न सकेको छ । कविताको तेस्रो हरफमा आइपुगेर वक्ताले आफू त्यही ढुङ्गाभएको जानकारी दिँदा उसले आफू एक अभिशप्त प्रवासी हुँ भन्ने स्वीकारेको छ । उसले त्यो कुरा स्वीकार्नसम्मका लागि पनि नेपाली नागरिक भेटेको छैन । अरबको भूूमिमा सँगै काम गर्ने अर्कै देशको पछि बनेको साथी (फरहान)का सामु ऊ आफ्नो नियतिको कथा भन्न विवश छ । नेपालबाट उछिट्टिएका ढुङ्गा टुक्रिएर कहाँ कहाँ र कसरी छरिन्छन् र एकापसमा नेपाली भएर रहन कसरी सक्दैनन् भन्ने कुरा पनि यस प्रसङ्गले स्पष्ट पारेको छ । जहाँ पुग्यो त्यहीँ मायाको सिर्जना गरेर जो भेटिन्छ त्यसैसँग मिलेर जीवन काट्नु पर्ने प्रवासी नियतिको सुन्दर काव्यिक अभिव्यक्ति हो यो हरफ । यो वक्ता (म) सबै प्रवासी नेपालीहरूको प्रतिनिधि पात्र हो ।
यी तीन हरफले कविलाई भएको सातोरी (इपिफनि)को प्रस्तुति गरेका कविको दिमागमा झ्वाट्ट एउटा यस्तो बिम्ब आएको छ जसले बहुआयामिक संवेदना र यथार्थपरक अर्थ राख्छ जुुन कवि आफैँलाई पनि थाहा नहुनसक्छ । त्यस्तो सातोरिक अभिव्यक्तिको व्याख्या गर्न त्यसलाई गहिरोगरी बुझ्नसक्ने व्याख्याताको आवश्यकता हुुन्छ र व्याख्याता अनुसार फरकफरक अर्थ समेत सिर्जना हुनसक्छ । बिम्बवादी परम्परामा त्यस्तो बिम्बको सिर्जनालाई नै कवि(ता)को शक्ति मानिन्छ । भूपीन त्यसैले शक्तिशाली कवि देखिए यी तीन हरफकै सिर्जनामा ।
यी प्रथम तीन हरफले यस कविताको म्याट्रिक्स (मूल भाव र शैली) को निर्माण गरेका छन् । कविताको बाँकी अंश यसैको विस्तारका लागि प्रयोग गरिएको छ । विस्तारको प्रारम्भ हुन्छ चौथो हरफबाटः “दुःखका हजार भीरमा ठोक्किँदा पनि हात सग्लो राखेर” । यहाँ हातको बिम्बले मानिसलाई सङ्केत गरेको छ । अनि ‘दुःखका हजार भीर’ले मान्छेले जीवनमा खेप्नुपर्ने दुःख र कठिनाइका अनगिन्ति श्रृङ्खलाहरू । प्रसङ्गले यो नेपालीहरूले सदियौँदेखि खेप्दै आएका हैरानीलाई बुझाउन प्रयोग गरिएको देखिन्छ । हात सग्लो हुुनुु भनेको पौरख कायम रहनु हो । नेपाली जाति जस्तोसुकै दुःख पनि सहेर पौरखमा तल्लीन रहनसक्ने जातिका रुपमा संसारभरि विख्यात छ । कविले यसै यथार्थलाई बिम्बमा प्रस्तुत गरेका छन् । लगत्तै अर्को हरफ छः “चोटका सयौँ भुमरीमा फस्दा पनि खुट्टा दुरुस्त राखेर” । यसले चोटैचोटले भरिएको सामाजिक इतिहास र व्यक्तिगत जीवन हुँदाहुँदै पनि नेपालीहरूले आफ्नो अग्रगामी जीवनयात्रालाई कायमै राख्न सकेको अर्को यथार्थको काव्यिक अभिव्यक्ति हो यो । यसरी ढुङ्गाको झराइमा नेपालीहरूको दुःखलाई एकाकार गराएर कविले यहाँ आफ्नो काव्यिक सामथ्र्य प्रस्तुत गरेका छन् । कविता अझ अगाडि बढ्छः
हुर्रिंदै, चित्कार गर्दै र टुक्रिँदै
त्यो ढुङ्गा तलतलसम्म खस्छ
र, तिम्रो देश यानि यो मरुभूमिसम्म आइपुग्छ ।
म त्यही ढुङ्गा हुँ फरहान ।
यस प्रसङ्गमा ‘मरुभूमि’ शब्दले केवल लाखौँ नेपालीहरूको विवशताको फाइदा उठाउने अरबको मरुभूूमि मात्र बुझाउदैन । त्यसभन्दा पर आफ्नो देश छोडेर विदेशिएपछि संसारको कुनै पनि स्थान मरुभूमितुल्य लाग्ने प्रवासी अनुभूतिलाई बिम्बीकरण गर्छ ।
यसभन्दा अगाडि बढेर कविताले यो दुःखी पात्र/वक्ता/कथावाचक प्रवासी नेपाली नै हो भन्न निम्न हरफहरू प्रस्तुत गरेको छः
तिमीलाई थाहा नै छ—
यस नीलो ग्रहका अग्लाअग्ला हिउँघरहरू
मेरा क्रीडास्थल थिए ।
तीर चढाएका वाणजस्ता उन्नत टाकुराहरू
मैले संसार नियाल्ने उचाइ थिए ।
भूपी शेरचनको “मेरो देश” र देवकोटाको “के नेपाल सानो छ ?” भन्ने प्रसिद्ध रचनाकै तहमा पुगेर नेपाल र नेपालीको शाहस र गरिमालाई प्रस्तुत गर्छन् यी हरफले । निलो ग्रह (पृथ्वी)का अग्लाअग्ला हिउँघरहरूमा क्रिडा गर्नसक्ने सामथ्र्य बोकेका नेपालीहरूसँग संसारलाई नियाल्ने उच्च विचार (बुद्धकाजस्ता) पनि थिए कुनै बेला । त्यो भौतिक सामथ्र्य र संसारका लागि पथप्रदर्शक विचार दिनसक्ने नेपाल अहिले आफ्ना सामथ्र्यवान जवान नागरिकहरूलाई पहाडबाट ढुङ्गा लडाएजस्तो झादैँझार्दै अर्काको देशनिर्माण गर्न निर्यात गरेर आफू खण्डहरमा परिणत हुन बाध्य छ । किन ? यसको जवाफ यस देशको राजनीति र त्यसको स्वार्थी व्यवस्थापनतिर जोडिएर आउँछः
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
पहाड फोर्यो पण्डित प्रजातन्त्रले ।
थर्थरायो पहाड बमका विस्फोटनहरूमा ।
सडक त बन्यो
तर, म चोइटिएँ, परिवारबाट अलग्गिएँ र झरेँ तलतल
र, हजार बल्ड्याङ खाँदै आइपुगेँ यहाँसम्म ।
यो नेपालको आधुनिक इतिहासको यथार्थलाई बिम्बात्मक अभिव्यक्ति हुँदै प्रतीकात्मक अर्थमा ढाली प्रस्तुत गरिएको खण्ड हो यस कविताको । यसमा नेपालीहरूको सात दशक लामो प्रजातन्त्र र स्वतन्त्रता प्राप्ति तथा तिनको व्यस्थापनका निम्ति गरिएका सङ्घर्ष र ती सङ्घर्षका दुष्परिणामहरूको प्रस्तुति छ । सुन्दा चखिला लाग्ने ‘प्रजातन्त्र’ र ‘स्वतन्त्रता’जस्ता क्लिसेहरू दुष्टका हातमा परेपछि कसरी समाजविनाशक बम बन्छन् भन्ने प्रमाण खोज्न नेपाल छोडेर कतै गइरहनुु पर्दैन । राजनीतिक प्रयोगशाला हुुन अभिशप्त नेपाल वृक्षमा प्रजातन्त्रको नाममा झुप्रादेखि दरबारसम्म र खाली खुुट्टादेखि करोडौँको गाडीसम्मको यात्रा तय गर्नुलाई नै सफलता मान्ने झुसिलकीराहरूको बिगबिगी छ ।
नेपालको विश्वमा रहेको शान्तिको भूमि, बुद्धको भूमि भनेर चिनिने पहाडजस्तै अग्लो प्रतिष्ठामा बम पड्काएर भस्मासुर शासकहरूले आफैँमात्र हिँड्न मिल्ने तर आम नागरिकहरूचाहिँ दुई छाक खान र एक धरो लाउनका लागि देशै छोडेर हिड्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरे, गराए । त्यसैले त शासकहरूको मोजमस्तीका टाकुरा दिनानुदिन अग्लिदै जाँदा नागरिकहरूचाहिँ पहाडबाट खसेको ढुङ्गाजस्तै चोइटिएर संसारभरि छरिन बाध्य भए । नेपाली समाजले हजार बल्ढ्याङ खाँदा पनि कतै नछोइने यी प्रजातन्त्रका नाममा लुटतन्त्र चलाउने नायक मानिएका खलनायकहरूको कुकृत्यप्रतिको कविको तीव्र रोष काव्यिक भाषामा अभिव्यक्त भएको हो यी हरफमा ।
त्यसरी विदेशिन बाध्य नेपालीहरूको दुःखको वर्णन शब्दातीत छ । कविले त्यस स्थितिलाई एउटै बिम्बमा सशक्त ढङ्गले प्रस्तुत गरेका छन्ः
यहाँ आएपछि
पसिनाको मसीले
बालुवामा लेखेको मेरो कथा त
तिमीलाई थाहा नै छ फरहान ।
यस अभिव्यक्तिमा पनि गम्भीर व्यङ्ग्यार्थ लुकेको छ । नेपालीहरूले प्रवासनमा खेप्नुपरेको प्रताडना फरहान (एक विदेशी) लाई थाहा छ, तर नेपालका शासकहरूलाई त केवल उनीहरूले पठाउने विप्रेषणको हिसाबको मात्र जानकारी छ । त्यसको थप पुष्टि गर्छन् कवि यो पात्र विदेशिएपछि नेपालमा उसको परिवारमा घटेका घटना र आइपरेका विपत्तिहरूको फेहरिस्त काव्यिक भाषामा प्रस्तुत गरेरः
म यहाँ आएँ र देशमा छोरा जन्मियो ।
म यहाँ आएँ र देशमा युद्ध सुरु भयो ।
म यहाँ आएँ र मेरा बाआमा युद्धमा मारिए ।
मेरी बहिनी बलात्कृत भई र बौलाई ।
भाइ बेपत्ता भयो ।
छोरा जन्मिएको खबर त राम्रो छ, तर आफ्नो श्रीमान विदेशमा रहेका बेला छोरा जन्माउनुपर्दा उसकी श्रीमतीेले बेहोर्नुु परेको पीडा कविले नलेख्दा पनि पाठकले महशुस गर्न सक्छन् यो कविता पढिरहँदा । यहाँ छोरो जन्मिएको घटनासँग देशमा भएको युद्धलाई समानान्तर राखिएको छ । यसको बहुत गम्भीर अर्थ छ । यस प्रवासी वक्ताका लागि छोरा जन्मिनुु उसको कुल, वंश र भविष्यको निर्माणको जग थप मजबुत हुनुथियो । त्यसैगरी देशमा युद्ध शुरु गर्ने कम्युनिस्ट नामधारी वर्तमानका करोडपति क्लबका कपुतहरूका लागि यो युद्ध (आतङ्क) जनताको सर्वनाश गरेर आफू शासक र करोडपति बन्ने योजनाको प्रारम्भ पनि थियो । अहिलेसम्म आइपुग्दा यिनीहरूको कर्तुतको पर्दाफास भइसकेको छ । कविताले यही विनाशकारी यथार्थलाई यहाँनेर प्रस्तुत गरेर कसरी काव्यिक रचनाले जम्मा दुई हरफमा नै पुरा इतिहास प्रस्तुत गर्नसक्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ । कवितामा दुुइटा हरफको सम्मिलनले कति गहिरो र वृहत् अर्थ निर्माण गर्नसक्छ भन्ने उदाहरण पनि हो यी दुई हरफको सहउपस्थितिः
म यहाँ आएँ र देशमा छोरा जन्मियो ।
म यहाँ आएँ र देशमा युद्ध सुरु भयो ।
त्यसपछिका हरफमा उल्लेखित वक्ताको परिवारको विनाश केवल एक नेपाली परिवारको विनाशको वर्णन मात्र होइन । यो त सिङ्गो नेपाली समाजको विनाशको वर्णन हो । युद्धले नेपालीहरूले सम्मान गर्नलायक अभिभावक कोही नभएको पुष्टि गर्यो । बाआमा युद्धमा मारिएको बिम्बले प्रतीकको तहमा त्यही अर्थ संप्रेषण गर्छ । बहिनी बलात्कृत भएर बौलाउनु नेपाली समाजको कोमलता, दयाभाव र आपसी सद्भावमाथि गरिएको बलात् आक्रमण र त्यसले समाजको आत्मालाई थङ्थिलो बनाएको यथार्थको प्रतीकात्मक प्रस्तुति हो । उता भाइहरू बेपत्ता छन्ः कोही देशकै जङ्गलमा त कोही प्रवासनको मरुभूमिमा । अब देशमा रह्यो चाहिँ के ? त्यसैले कवितामा शुरुकै तीन हरफ (म्याट्रिक्स) दोहोरिएका छन् यहाँनेर आइपुगेपछिः
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा ।
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ फरहान ।
प्रवासी न हो वक्ता उसलाई आफूले वर्षौँ पसिना बगाएको मरुभूमि र त्यहाँ बनाएका साथीभाइको पनि माया छ, प्रेम छ उनीहरूसँग पनि । आफ्नो झोलामा फिर्ती टिकट राखेर ऊ त्यहाँको मित्रलाई भन्छः
फरहान, अब हाम्रो भेट होला नहोला
बालुवाका ढिस्का र यी भेडाका बथानहरूलाई साक्षी राखेर
आऊ आज अन्तिमपटक बात मारौं ।
ऊसँगको बातमा वक्ता आफूले देश फर्केर गर्ने कामको विवरण प्रस्तुत गर्छ । एउटा प्रवासीले देश फर्कँदा भेट्ने दृश्यको यसपछि वर्णन गरिएको छ । यसले वक्ता एक आर्थिक आप्रवासीय चलायमान प्रवासी (केही समयका लागि धन आर्जन गर्ने सिलसिलामा विदेशिएको व्यक्ति) भएको देखाउँछ । ऊ डायस्पोराको सदस्य होइन । डायस्पोराको सदस्यले त नयाँ भूमिमै आफ्ना जरा फैलाएर भविष्यको चाँजो मिलाउने प्रण गर्छ; गृहदेशलाई मुटुमा सजाएर आश्रयभूमिमा नै श्रम र सीपको प्रयोग गर्ने प्रतिवद्धता जाहेर गर्दछ । तर यो वक्ता घरदेश फर्किने र त्यहाँ गर्ने कामको फेहरिस्त पो देखाउँछ । ऊ आफूबाहेक परिवारका बाँकी रहेका अरु सबै सदस्यहरू नेपालमा नै भएकाले ऊ एक चलायमान प्रवासी हो । त्यसैले ऊ भन्छः
भोलि त म उड्नेछु देश
र, पुग्नेछु ।
भत्किएको पहाडको हाँगामा अल्झिएकी
पत्नीलाई भेट्न ।
(जसलाई बिहेलगत्तै छोडेर आएको थिएँ यो मरुभूमिमा)
यो यस वक्ताको त योजनासम्म हो, तर धेरै प्रवासी नेपालीहरूको त फगत् सपना । त्यो ‘भोलि’ उनीहरूले कहिल्यै भेट्दैनन् । तर यस्ता दशकौँ पछि नै भए पनि देश फर्किने मौका पाउने भाग्यमानी र कहिल्यै फर्कन नसक्ने गरी मरुभूमिमा अड्किएका सबै प्रवासीहरूका श्रीमतीहरूको भौतिक, मानसिक र भावनात्मक पीडालाई कविले कति चोटिलो बिम्बलाई प्रतीकात्मक प्रयोग गरेर प्रस्तुत गरेका छन्ः “भत्किएको पहाडको हाँगामा अल्झिएकी पत्नी” । देशको प्रतिष्ठा, इज्जत, विकास, भविष्य लगायत आफ्नै सौभाग्यको टाकुरा समेत खण्डित हुँदा पनि यही भूमि छोडेर कतै जान नपाउने गरी जीवनको बन्दी बनेका लाखौँ नेपाली नारीहरूको चित्र हो यो । चालीस कटेपछि रमाउँला भन्न बाध्य यस समयका नेपालीहरूको टुक्रिएको सपनाको पनि चित्र यही हो । जीवन आफैँ चिसिन लागेपछि भेटभएका पतिपत्नीको तातो साथको के अर्थ ! तथापि वर्षौँ विछोडिएर रहेकाहरूको मनको चिसो त भेट भएपछि पक्कै तातोमा परिणत हुनेछ । रुन्चेहाँसो जस्तो जिन्दगीको लीला ! करोडपति क्लबका कपुतहरूको आनन्दउद्योगमा पिल्सिएका नेपालीको नियति ! कवितामा अगाडि उल्लेख छः
भोलि त उड्नेछु देश
र, पहिलोपटक अँगालो मार्नेछु ।
बाउको मुख नदेखी जवान भइसकेको छोरालाई ।
भन्न त सजिलो छ कविलाई पनि । तर यी बाबुछोराको भावनात्मक पीडाको हिसाब गर्न कसले सक्ला र ! अनि कति होला यी दुईको मिलनको खुसीको योगफल ? प्रवासनको पीडामा नपरेको परिवारका सदस्यहरूले सायद यसको कल्पनासम्म गर्न सक्दैनन् । असाध्यै थोरै भाग्यमानी परिवारबाहेक अब नेपालमा यस्तो स्थिति कल्पना होइन नियति भएको छ ।
कवि प्रवासमा नै रहनु र देशमा रहनुुको एउटा फरकचाहिँ यहाँ देखिएको छः यस कवितामा राष्ट्रनिर्माणका लागि प्रवासीहरूले पुर्याउनसक्ने योगदानको पनि बिम्बात्मक प्रस्तुति दिइएको छ । यी कवि देशभित्र नै रहने भएकाले पनि यस्तो जोड भएको हुनसक्छः
बेसी फाँटमा उदासीको सुसेली हाल्नेछु
पिँपिरी बजाउनेछु, टाकुरामा बसेर ।
बनाउनेछु चौतारो—
दिवंगत बाआमा, बौलाही बहिनी र बेपत्ता भाइको नाममा
त्यसमा चढाउनेछु देउरालीको पाती ।
यौवनमा देशमा बसेर यसको उन्नतिमा सरिक नभएपछि वा हुन नपाएपछि फर्केर आउँदा हाल्ने त उदासीको सुसेली नै त हो । बूढेसकालमा टाकुरामा बसेर बजाएको पिपिरी कत्तिको आनन्ददायी होला र खै ! केवल बाल्यकालको सम्झना गर्ने मेसो बाहेक के पो होला र ? यतिबेला बनाएको चौतारो पनि केवल दुःख सम्झिने अखडा मात्र हुने भएको छ, कामले सम्मान गर्न नसके पनि भावनामा सम्मान गर्ने एक बहाना । फेरि पनि जीवनको चित्र सुन्दर आएन ।
कति पाठकलाई लाग्दो हो कति निराशावादी कविता । नेपालमै बसेर कपुतहरूका हनुमान भएर समाजको दोहन गर्दै बहुत् प्रगतिशील भएको धक्कु लगाउने लठ्ठकहरूलाई त केवल जनता ढाँट्ने कोरा नारा मात्र कविता लाग्छन् । काम नगर्न गरिने बहानाबाजीका भाषण नै महान् राजनीतिक विचार लाग्छन् तिनलाई । नेपाली समाजको दीर्घकालीन नियतिको यति मिठो काव्यिक प्रस्तुतिमा उनीहरूको ठगिखाने अग्रगामी विचार भेटिने छैन । केवल निराशाको पुलिन्दा देख्नेछन् तिनले । तर कविताको अर्थ एक प्रतिशत मात्र थाहा पाएको पाठक पनि त्यस्तो ठान्दैन पक्कै यो सिर्जना पढिरहँदा । हाम्रो प्रवासनको दुःख र इतिहासलाई यति गहिरो गरी काव्यिक प्रस्तुति दिने नेपाली भाषाको अर्को गद्यकविता कमसेकम मैलेचाहिँ पढ्न पाएको छैन आजसम्म ।
प्रजातन्त्रले नेपालीहरूलाई मलेसिया र खाडीतिर धपायो । अब गणतन्त्रले युरोप, अमेरिका र अष्ट्रेलियातिर नेपालीहरूको तस्करी गर्न थालेको छ । नेपाली प्रवासनको इतिहास केवल अर्को चरणमा प्रवेश गर्न सघाएको छ करोडपति क्लबको वर्तमान समीकरणले । कवितामा यस यथार्थलाई यसरी प्रस्तुत गरिएको छः
सुनेको छु
आफ्नो घरदेखि दरबार पुग्ने सडक बनाउन
फेरि पहाड फोर्दैछ रे काजी गणतन्त्रले ।
यो पण्डित (गफाडी/ठग/फटाहा) प्रजान्त्रको छोरो गणतन्त्र त झन् काजी (सामन्ती/मिचाहा/दलाहा) पो निस्कदैछ । त्यसैले कविको जोड छः
पक्का छ, यसपालि पनि पहाड झर्नेछ ।
लाहुरको गुरुत्वले तान्ने ढुङ्गा न हुन् मेरो देशका युवाहरू,
अब बूढेसकाल लाग्न आँटेकाले वक्ता भन्छः “म त कसैगरी अल्झनेछु, पहाडको हत्केलामा” । उसको त अरु कुनै उपाय छैन अब यस उमेरमा भताभुुङ्ग भएको घर (देश) सम्हाल्न सकेजति सम्हालेर बस्नु बाहेक । तर उसलाई डर मात्र होइन पक्का थाहा छ कि उसको छोरा पुुस्ताचाहिँ यस देशमा बस्ने छैन । बाहिरिएपछि फर्कने पनि छैनः
तर डर छ मलाई—
खस्नेछ मेरो छोरा त्यो अग्लो पहाडबाट
र, पुग्नेछ सबैभन्दा टाढा
मिस मेलिनाको चिसो देशमा ।
नेपाली भाषामा ‘खस्नु’ शब्दको ‘झर्नु’ बाहेक अर्को अर्थ पनि छः ‘मर्नु’ । जसरी पहाडको टाकुराबाट झरेको ढुङ्गा कसैगरी त्यो टाकुराका लागि कहिल्यै कामयाबी हुँदैन, त्यसरी नै देश छाडेर कहिल्यै नफर्किने गरी प्रवासिएका र डायस्पोराको निर्माणमा सहायक भएरै बसेका नेपालीहरू पनि नेपालबाट टाढिएका मात्र नभएर यस देशका लागि ‘खसे’ बराबर भएका हुन्छन् भन्ने कविताको भाव साहै्र पीडादायी तर अधिकांश नेपाली डायस्पोरिक प्रवासीको हकमा केही हदमा यथार्थपरक समेत छ । वक्ताले आफूलाई चाहिँ पहाडबाट ‘झरेको’ मात्र ठान्दछ । तर छोरालाई चाहिँ त्यो अग्लो पहाडबाट ‘खस्नेछ’ भन्छ । यसले डायस्पोरिक प्रवासी र चलायमान प्रवासीहरूको देशप्रतिको सम्बन्धको नजिक र टाढापनको भिन्नतालाई समेत स्पष्ट पारेको छ । डायस्पोरामा खसेपछि गृहदेशको लागि त खासै केही बाँकी रहदैन । बेलाबेलामा आउनेजाने गरिरहने र आफ्नो कमाइको सम्पूर्ण अंश नेपालमा नै लगानी गर्ने चलायमान प्रवासीहरू आफू मरेर भएपनि देशको अर्थतन्त्र बचाउने सपुत हुन् भन्ने आशय छ यस कविताको ।
नेपालीहरूको प्रवासनको निरन्तरता कायम रहने घोषणासहित यो कविता टुङ्गिन्छ यी हरफहरूमाः
मलाई थाहा छ, तिमीलाई मैले सुनाए झैं
सुनाउनेछ एक दिन मेरो छोराले मेलिनालाई
आफ्नो कथा—
‘डियर मेलिना
सबैभन्दा अग्लो पहाडबाट झरेको ढुङ्गा
सबैभन्दा टाढा पुग्छ
म त्यही ढुङ्गा हुँ ।’
तर उसको छोराले पनि आफूलाई खसेको नै चाहिँ ठान्नेछैन, केवल बाबुले जस्तै झरेको मात्र ठान्नेछ । डायस्पोरामा स्थायी बसोबास गर्ने नेपालीहरूले आफूलाई केवल चोइटिएको ठानेजस्तै । दृष्टिहरूको यो खेल पनि यस कविताको अर्को गहन पक्ष हो । समग्रमा प्रवासबाट हेर्दा देखिने देशको चित्र हो यो कविताको मूल विषय ।
यसरी भूपीनको यस कविता पढिसकेपछि उनलाई टाढाबाट हेर्दा पाइएका केही कविगुणका पनि सम्झना हुुनगयो । उनी एक असल कविको जस्तो लगातार आफ्नो क्षमता अनुसार सिर्जना कर्ममा लागिरहन्छन् । जानेजस्तो र सकेजस्तो गर्दैजाँदा र कुनै दिन राम्रो गर्न सकिएला नि त भनेर आफ्नो कर्ममा विश्वास गरिरहन्छन् । “एक असल कवि पर्खन्छ” भन्ने गुण उनमा नपाइए पनि राम्रो बिम्ब, भाव र शैलीमा कविता आउनेबेलासम्म तिनकै खेलमा लागिरहने उनको बानीले पनि राम्रै परिणाम दिनेरहेछ । पार्टीका नारा, नेताका भाषण र चिया पसलका गफलाई नै कच्याककुचुक पारेर फेसबुकमा राखेपछि महान् कवि भएँ भनी मख्ख पर्ने जमातबाट यो आशा गर्न सकिँदैन ।
भूपीनलाई हेर्दा देखिने अर्को कविगुण पनि छ अचेलका ‘कवि हुँ’ भन्नेहरूले कवि नै हुने हो भने सिक्नै पर्नेः बेलाबेलामा दुई चार हरफ कोरकार पार्दापार्दै जम्मा भएका र फेसबुकमा दुुई चार लाइक पाएका गनगनहरूलाई जम्मा पारेर ६०–७० पृष्ठको किताबको आकारको एक निम्नकोटीको जिनिसको खोलमा ‘कवितासङ्ग्रह’को बिल्ला टाँसेर प्रकाशन गर्दै आफन्तलाई बाँढेर अब त म यो समयको खतर्नाक कवि नै पो भइगएँ भन्ने ठान्ने मुुढताले सम्बोधन नपाएपछि ‘यो देशमा साहित्यको मूल्य नै छैन, बरु अब अरबतिर पो गइन्छ’ भन्दै गनगन गर्नेहरूको जुलुसभन्दा भिन्न देखिन्छ कवि नै हुने सम्भावना बोकेको मनुवा । अर्को कुरा, आफ्ना रचनाको प्रशंसा र आलोचनालाई समभावले स्वीकार्दै सकेसम्म कलात्मक परिष्कारमा लागिरहन्छ कवि हुने सम्भावना भएको मान्छे । दैनिक अखबारका सम्पादक र रिपोर्टरहरूलाई कविताका आदर्श सर्जक, समालोचक र सम्पादक मान्ने भुलबाट पनि बँच्छ साँच्चैको कविताको सर्जक । यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त कवि बन्न खोज्ने मानिसको जीवनशैली र सोचको आयाम नै फरक हुने रहेछ । जसले जे भने पनि प्रत्येक लेखन लेखकको व्यक्तित्वको प्रकाशन नै हो । नानीहरूको जस्तो प्राकृतिक चञ्चलतालाई जोगाएर नवीन कुरामा सधैँ जिज्ञासु हुने र जीवनका प्रत्येक क्षणलाई सेलिब्रेसन गर्ने तर साथमा गम्भीर बौद्धिक चिन्तन पनि हुर्काइ राख्नसक्ने बहुआयामिक क्षमता सहितको जीवन बाँच्दा मात्र त्यस्तो व्यक्ति जीवनभर कवि भएर रहनसक्ने रहेछ । नत्र त दुई चार दिनको खहरे आवेशमा कवि भैटोपल्ने र जीवनभरि कुनै समयको भयङ्कर कवि थिएँ भनेर वरिपरिका अदना थर्काउँदै जीवन बिताउन बाध्य पो हुनुपर्ने रहेछ ।
यो कविता पढिसकेपछि र यस अघिको लेखनको इतिहासलाई नियाल्दा भूपीनमा कविमा हुनैपर्ने यस्ता केही गुणहरू विद्यमान रहेको छनक पाइन्छ । यी गुणलाई जोगाउँदै थप कविगुणका विकास गरेर अगाडि बढेमा उनीबाट अरु पनि कविता नै भन्न मिल्ने रचनाहरू आउलान् कि भन्ने आशा गर्न सकिने देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।