(१) सहिद आत्मा

(सुवास खनाल)

म सहिद आत्मा
यदि म बोल्न सक्थेँ भने
चिनाइदिने थिएँ
मेरो तस्बिरअघि
अबिर र फूल चढाउन उभेका
मान्छेहरूमध्ये
को थियो
मेरो कञ्चटमा गोली दाग्ने ?

 

 

(२) यो कविताको अर्थ लाग्छ

(मिजास तेम्बे)

सुल्टोबाट पढ्नोस्
या
उल्टोबाट पढ्नोस्
माथिबाट
पढ्नोस्
वा
तलबाट
पढ्नोस्
जसरी पढ्नोस्—
यो कविताको अर्थ लाग्छ ।

 

 

(३) युवती र स्ट्रबेरी

(श्रीबाबु कार्की उदास)

सडकपेटीमा
स्ट्रबेरी बेचिरहेकी युवती
र बिक्रीमा राखेको स्ट्रबेरी
दुवै उस्तै
लाल लाल ।

ग्राहक बटुवा
एक पटक युवती
र एक पटक स्ट्रबेरी हेर्दै
खरिद गर्छन्
लाल लाल स्ट्रबेरी ।

तर युवतीलाई के थाहा
डालोको स्ट्रबेरीसँगै
आफ्नो यौवन पनि
बिक्री हुँदै छ !

 

(४) नदी किनारको मध्याह्न

(नीरा शर्मा)

पर्तिर फालेर पानीको गुन्यूँ
किनारामा नग्न पल्टिरहेछन् ढुङ्गाहरू
रमाइरहेछन् बतासको स्पर्शसँग
र लोभ्याइरहेछन् घामलाई !

म सम्झिरहेछु—
खोलेर जामा नदी किनारमा
धुँदाधुँदै पत्तै नपाई
सुटुक्क गएको बालापन
र पानीले छोडेर नाङ्गिँदा
लजाएका यी ढुङ्गाझैँ
म लजाएको पहिलो दिन !

अलमलमा छु म—
यसै छोडिदिऊँ यिनलाई
कि लेउकै एक टुक्राले भए पनि
छोपिदिऊँ यिनको लाज ?

(५) झरी

(उमेश लुइटेल)

छाना चुहाओस् चुटाइले
भित्ता गलाओस् बाछिटाले
चाहे रुझाओस् पानीले
या त कँपाओस् आद्र्रताले
मेनियाग्रस्त लाग्छ यो झरी !

म सर्वदा असुरक्षाको आहालमा छु
विभेदको भेलले बगाइएको छु
अप्राप्तिको झरना आँखामा बगाइरहेछु
र जिउनुको दौडमा
यति बिघ्न तरल बगिरहँदा
यो झरीको प्रभाव
मामुली लाग्छ अचेल !