कल्पनाका रंगीन तस्बिरहरू कालो निकम्मा रातका ऐठन मेटाउन मद्दत नगर्दो हो त जीवन कति निरर्थक महसुस हुन्थ्यो होला? यही कल्पनामा झुलेर त जीवन गुजार्न सजिलो हुन्छ। कैले कैले सुत्ने कोठाको झ्यालबाट बाहिर निष्पट्ट कालो रातको अर्धचन्द्र हेर्दै म जीवनलाई गौर गर्छु। साँच्चै निष्पट कालो रात, कति शान्तसँग बितेको हुन्छ। कैले त बेलाबेलामा गनगनाइरहने झ्याउँकीरी पनि शान्त भइदिन्छ र रात अझै चकमन्न सुनसान हुन्छ। तर लाग्छ, बेकम्माका हुन्छन्, यी काला रातहरू। कालो रातको शान्त पनि कति निर्दयी हुन्छ। जे जति पाप र कर्तुत हुन्छ, सबै रातमै त हुन्छ ! नसाको मातमा पनि रात नै मात्तिन्छ अनि मात्तिएको रातसँगै मानिसहरू यसरी बराल्लिन्छन् कि उनीहरूलाई आफ्नो होस गुमेकोसम्म पनि पत्तो हुँदैन। म बाहिरको निष्पट्ट अन्धकारलाई धिक्कार्दै सोच्छु, यदि रातको आकासमा ताराहरू अनि चन्द्रमा नहुँदो हो त रात अझै कति निकम्मा कालो र भयंकर हुँदो हो? मानव मस्तिस्क पनि कल्पनाविहीन हुँदो हो त कालो रातझैँ निकम्मा र निस्तब्ध हुन्थ्यो होला। अनि सपना देख़्ने आँखा नहुँदो हो त, मानिस कति दुःखी हुन्थे होलान्? कल्पनाले सपना बुन्छ अनि सपनाले आशा जगाउँछ। चाहे जति नै कठिन किन नहोस्, जीवनको यात्रा, त्यही आशाले त जीवन यात्राको गन्तव्य तय गर्न सहज बनाउँछ।
कास! गन्तव्य भेट्ने आशामा बस्दाबस्दै जीवनको एउटा चरण नै समाप्त नहुने भए, कल्पनाका सिँढी चढेर बनाइएका सपनाका महलहरू पनि कति सहजै साक्षात् हुन्थे होलान् !

ममता मिश्र

बच्चैदेखि कल्पनाका साथीहरूसँग खेल्ने बानी थियो रे मेरो। अलि बुझ्ने भएपछि बुवा भन्नु हुन्थ्यो, ‘दिवासपना धेरै देख्नु हुन्न।’

आमा भन्नु हुन्थ्यो, ‘कल्पनामा डुबेर बस्ने मानिस निराशावादी र फ़िल्मी हुन्छन्। जीवन सिनेमा हो र जे कल्पना गर्यो त्यै हुनलाई ? कल्पनामा जस्तो जीवन सिनेमामा त हुन्छ तर वास्ताविक जीवन मानिसको कल्पना भन्दा धेरै बाहिरको हुन्छ। धेरै जे पायो त्यै किताब पढ़ने र सिनेमा हेर्ने आदत बस्यो भने मानिसको हाल बेहाल हुन्छ। स्कूलको किताबमा ध्यान दिनू।’

सबैको आफ्नै सोचाइ छ, आफ्नै तर्क। तर फेरि किन भन्छन्, जो मानिस सपना देख्दैन ऊ बाँच्न जान्दैन’ भनेर? जसले जे भने पनि कल्पना गर्न र सपना देख्नबाट कसैले कसैलाई वन्चित गर्न सक्दैन। त्यै सपना र कल्पना त हो, जहाँ मानिसको अतृप्त चहानाहरू पूरा हुन्छन्। मानिस आफ्नो असीम चाहनालाई पूरा गर्न के गर्दैन र? मैले त केवल कल्पना मात्र गरेकी हुँ अनि सपना मात्र देखेकी हुँ।

तर के गर्नु जीवनका बेग्ला बेग्लै चरणमा चहनाको टोकरी पनि बेग्ला बेग्लै सपनाहरुले भरिने।

सानोको सपना अर्कै थियो। झूम्राका पुतलीलाई राम्रा राम्रा लुगा लगाइदिने सपना। अनि अनगिन्ती रंगीचंगी खेलौनाको पहाडमुनि आफ्नो मनपर्ने पुतलीलाई अँगालेर निदाउने सपना। बालककालका यी सपानाहरू आफ्नै मनका रंगीन कल्पनामा साकार हुन्थे।

४, ५ कक्षामा पढ़ने हुन थालेपछि सपना बदलियो। राम्ररी पढेर टिचरको स्याबासी ल्याई बाबाआमालाई खुसी पार्ने सपाना। अनि ७,८ कक्षामा पुगेपछि धेरै पढेर बाबाआमाले भनेझैँ ठूलो मान्छे बन्ने सपना।

नभन्दै ७, ८ कक्षामा पढ़दा पढाइमा निकै अब्बल हुन थालेँ। लाग्न थाल्यो, सपना देख्नेको न सपना पूरा हुन्छ ! सपनै नदेखे के पूरा हुन्छ? हुन पनि पढ़ाइमा यति राम्रो गरिरहेकी थिएँ कि ममाथि बुवाले गर्व गर्न थाल्नु भएको थियो । छोरीलाई भविष्यमा केही बनाउँछु भन्ने बुवाको सपना थियो। केही बन्छु भन्ने आफ्नो। तर के बन्ने?

‘बुवा तपाईंलाई म के बनोस् जस्तो लाग्छ ठूलो भए पछि?’ म सोध्ने गर्थें।

बुवा निकै गहिराईमा पुगेझैँ गरी सोच्दै भन्नुहुन्थ्यो, ‘बन्न सके त डाक्टर राम्रो। हैन भने इन्जिनियर।’

सबै बाउआमाको किन एकै खाले सपना हुने? रमी पनि त्यै भन्थी, उसको बुवालाई पनि ऊ डाक्टर बनिदेओस् भन्ने छ रे !

‘नाइँ डाक्टर त नबन्ने। सधैँ चिरफार अनि सधैँ रोगी र रगत नै हेरेर बस्न मलाई मन पर्दैन। मलाई त त्यस्तो कामले डिप्रेसन हुन्छ।’

‘डाक्टरको जस्तो राम्रो पेसा कसको हुन्छ? अरुलाई जीवन दिने !’

‘सधैँ जीवन दिने मात्र कहाँ हुन्छ? जीवन लिने पनि त हुन्छन् नि। साँच्चै, डाक्टर चाहिँ हुनै मन छैन बुवा।’

‘भर्खर ८ कक्षामा पुग्यौ। के बन्ने भनेर सोच्नलाई अझै समय छ । अहिलेदेखि केको चिन्ता?’ बुवा भन्नु हुन्थ्यो, ‘अहिले पढ़ाइमा ध्यान दिनु। बाँकी, समय आएपछि बिचार गरौँला। राम्रो पढ़नेहरूलाई धेरै बाटोहरू खुल्छन्।’

आमा भन्नु हुन्छ, ‘रघुनाथको छोरा त ठूलो मान्छे भएछ। नेता भयो रे नेता।’

‘तर रघुनाथ काकाका छोरा त नपढेर गुण्डा भई हिँडेको भनेर पनि त कुरा गर्नु हुन्थ्यो तपाईं, कसरी नेता भए छ त?’

‘ह्या यो पनि!’ आमा चित्त नबुझेको संज्ञा दिदै भन्नुहुन्छ, ‘नेता हुन केल्लाई पढ़न पर्यो। चिच्याउन र जवाफ लाउन जाने भै’गो।’

‘त्यसो भए त तपाई पो नेता हुनु पर्ने रै’छ,’ मैले गिलगिल गर्दै हाँस्दै भनेकी थिएँ ।

आमा यस्तो रिसाउनु भयो कि हातमा भएको कुचो उठाई यसरी मतिर फाल्नु’भो, कुचो मैले त छलेँ तर मेरो सट्टा झन्डै बुवालाई लागेको !

बुवा भने आमाको रिस देखेर मरीमरी हाँस्दै भन्नु’भो, ‘क्या ठीक कुरो गरी छोरीले, वाह !’

मैले फेरि हाँस्दै आमालाई भनेँ, ‘ल ल नरिसाउनुस्। जिस्केको मात्र। बरु मै नेता बन्न पर्ला जस्तो छ। दुःख गरेर पढ़न पनि नपर्ने रै’छ। पढ़दै नपढी ठूलो मान्छे हुन पाउने भएपछि को दुःख गर्छ ? हुन पनि यसपालिको गणित त कस्तो गारो छ। जति दुःख गर्दा पनि नम्बरै आउँदैन। अंग्रेज़ी पनि बुझ्नै गारो।’

आमाको रिस धेरै बेर रहदैन। अघि त्यस्तरी रिसाएको अहिले भुलिसक्नु’भो। छोरी साँच्चै नेतै बन्ली भन्ने चिन्ता भएझैँ गरी उहाँले भन्नुभयाे,  ‘आइमाई भएर पनि कोही नेता हुन्छ? यति राम्रो पढ़ने मान्छेले त अलिकति मिहिनेत गर्यो भने सबै बुझिहाल्छन् नि ! राम्रो मान्छे बन्ने सपना पो देख्नु पर्छ? अब नेता हुने कुरा गर्छे।’

‘राम्रा त हिरो हिरोइन हुन्छन्। हिरोइन बनम् त?’ म फेरि जिस्किन्छु।

‘लु हेर। अब हिरोइन बन्ने कुरा पो गर्छे। यसलाई त,’ यति भन्दै आमाले दायाँ बायाँ हेर्दै जुत्ता के उठाऊनु भा’थ्यो, बुवाले कड्केर भन्नु’भो, ‘यो आइमाई पनि के केटकेटीसँग जोड का तोड गरी रा’की होला? चिया बनाएर ले’ए बरु। आज बिहान खा’को चियाको स्वादै आ’को हैन।’

मलाई थाहा थियो बुबाआमाको मेरो लागि देखेको सपना बदलिनेछैन भन्ने तर आफ्ना सपनाहरू त यसरी बद्लिइरहन्थे कि उमेरको झन्कारसँगै मनका तरंगहरुले सपनाका आवृत्ति नै बदलिरहेको थियो। त्यसैले कुनै सपनाले पनि एक छिन दिगो भएर साथ दिँदैनथे। मन त छेपारोको रङझैँ थियो, पल पल बद्लिइरहने। त्यैपनि ९ कक्षामा पढुञ्जेलसम्म त मनलाई लगाम लगाएर ठूलो मान्छे कसरी बन्ने भन्नेतिर निकै गौर गरेँ। त्यै अनुसार मिहिनेत पनि गरिरहेकी थिएँ ।

तर जैलेदेखि प्रीतलाई देख्न थालेँ त्यतिबेलादेखि जीवनका अरु सपनाहरू आफूबाट यसरी बिछोडिए कि केवल प्रीतको कल्पनाहरू मात्र मनको मीत हुन पुगे।

प्रीत उसको नाम थियो या थिएन, त्यो उही जानोस् तर मैले उसको नाम प्रीत राखिदिएँ। ऊ मेरो प्रीत नै थियो, पहिलो प्रीत।

प्रीतसँग दिल र दिमाख दुबै अल्झेपछि एकाएक पढाइको स्तर पनि यस्तरी घट्यो कि बुवाले मेरो लागि देख्नु भएका सारा सपनाहरू चकनाचुर हुन लाग्यो भन्ने त्रासले दिनदिनै मलाई प्रश्नवाचक आँख़ाले घुर्नु हुन्थ्यो। कोठामा बस्दा पढेकी छ कि छैन भनेर आमा बारम्बार ढोकाबाट चिहाएर हेर्नु हुन्थ्यो। किताबको पसारो माझमा म पढ़ेझैँ गरी आमाबुवाको आँखा छलेर, आफ्नै कल्पनाको दुनियाँमा रमिरहेकी हुन्थे। आँखाहरू किताबका पानामा हुन्थे तर मन मस्तिष्कले आफ्नै दुनियाँ बनाइरहेको हुन्थ्यो।

यस्तो कसरी हुन्छ? मानिसको मन अनायास कसरी बदलिन्छ? अनि चिन्दै नचिनेको कोही कसैको मनमा किन यस्तरी बस्छ? म आफैँ बुझ्न सक्दिनँ। जादु, टुना, मुना भनेको यै रैछ कि के हो? मन यस्तरी एकोहोरियो कि यसलाई दायाँबायाँ कतै लगाउनै सक्दिनँ। दिमागबाट उसलाई हटाउन गरेका सैयौँ कोसिसका बाबजुद पनि ऊ मेरो कल्पनाको परिधिबाहिर रहँदै रहँदैन।

कक्षा ९ को अर्धवार्षिक परीक्षाको नतीजा पनि आयो। सबै विषयमा नम्बर कम कम। घरमा बुवालाई नतिजा त देखाउनै पर्यो। रिपोर्ट हेर्नेबित्तिकै बुवाको चेहराको रङ यसरी झर्यो कि मैले त्यो अनुहारमा उहाँको मेरो लागि बनेका सपनाहरू पखालिदै गएको देखेँ।

‘के भा’छ तँलाई आजकल?’ बुवा चिन्तित भावमा सोध्नुहुन्छ। अनि आमा बुवाको तालमा ताल मिलाउँदै गन्गनाउनु हुन्छ, ‘भन्दै थिएँ त यो वर्षको पढ़ाइ गारो छ भनेर।‘

बुवाआमालाई दिएको ओठे जवाफले आफैँलाई कता कता नराम्रो त लाग्यो तर के गर्नु? मनभित्र अल्झिएको कसैको तस्बिरले यति बेचैनी गराउँछ भन्ने न मलाई थाहा थियो, न त उहाँहरूलाई नै थाह छ। म त अनजानमै यस्तो बेचैन भएछु कि पढ़ाइमा त दिमाख नै अड्न छोडेछ। कैले कैले लाग्थ्यो, सबैलाई यस्तै हुन्छ कि खै मलाई मात्र यस्तो हो?

म स्कूल जाने दोबाटोमा, उ स्कूल कै पोशाकमा सधैँ कसैलाई पर्खेझैँ गरी बस्दा, आफैँलाई पर्खेझैँ लाग्नु स्वाभाविक थियो कि थिएन त्यो मलाई थाहा भएन तर उसलाई दोबाटोमा देख्दा कल्पनाका डुंगाहरू मनमा आफैँ खिइन थाल्थे त त्यसमा मेरो के गल्ती?

ऊ कहिले एक्लै हुन्थ्यो त कहिले दुई चार जाना साथीहरूमाझ सिनेमाको हिरोझैँ गरी बसिरहेको हुन्थ्यो। उसले हेरे पनि नहेरे पनि उसलाई देख़्नेबित्तिकै मेरो मनमा फुर्रफुराउने पुतलीले मेरो मनको चैन जम्मै लुटिसकेको हुन्थ्यो। आँखाहरू उसलाई अघाउन्जेलसम्म हेर्ने चाहना राख्थे तर उसलाई नहेरेझैँ गर्न पर्ने बाध्यता थियो। एक पल्ट बोल्न आइदिए पनि हुन्थ्यो भने झैँ लाग्थ्यो तर आफू अघि सर्ने आँट भने थिएन। हरेक दिन ऊ त्यही दोबाटोमा त्यसैगरी बसिरहेको हुन्थ्यो अनि म जब उसको नजिक पुग्थेँ, आँख़ाको कुनाबाट देख्थेँ कि ऊ निहुरिएर तल भुईं हेर्दै टोलाइरहेको हुन्थ्यो। उसको स्कूल बस कतिखेर आउँथ्यो कुन्नी तर मेरो बस नआउन्जेल ऊ त्यहीँ हुन्थ्यो। मेरो स्कूल बस ऊ नजिकैबाट दौड़िदा म बसको झ्यालबाट उसलाई ओझेल नहुन्जेलसम्म हेरिरहन्थेँ।

ऊ राम्रो थियो, सेतो चटक्क इस्त्री गरेको सर्टमा गाढा नीलो टाई, उसलाई कति सुहा’को। सरक्क परेर मिलाई कोरेको कपाल जेल लगाएर सटक्क अडाउँदा ऊ साँच्चै बलिउडको सिनेमाको हिरो भन्दा कम देखिदैनथ्यो। हरेक दिन ऊ उस्तै देखिन्थ्यो, सफा अनि चिटिक्क। मानिसहरू नारीको रूपलाई त हजारौँ कुराहरूसँग तुलना गर्दै वर्णन गर्छन् तर किन पुरुषको रूपको वर्णन गर्ने शब्दहरू सजिलै भेटिदैनन्? उसको बयान म कसरी गरुँ?

महिनौँ बित्यो तर आँखाको प्यास र मनको चाह कहिल्यै घटेन। समय बदलियो तर ऊ त्यस्तै थियो, अनि मेरो उसप्रतिको भावना पनि उस्तै थियो। ऊ कहिल्यै बोल्न आएन। कैले कैले लाग्थ्यो कतै बुवाले भनेझैँ म आफ्नो कल्पनाको साथीसँग नै भुलिरहेकी त छैन? भ्रममा अनि कल्पनाको सागरमा यसै उत्रिएकी त छैन? मन कता कता दुख्थ्यो पनि। अनि झन् आफू उसको नजरमा अदृश्य पो छु कि भन्ने भावले मन खङ्ग्रङ्ग हुन्थ्यो। सायद आफ्ना चाहनाहरू दबाउनु पर्ने उसको पनि आफ्नै बाध्यता हुनसक्छ भन्ने सोच्दै म आफ्नो मनलाई बुझाउँथेँ।

कतै उसको नजरको परिधिभन्दा बाहिर त परिनँ भन्ने पीडा त छँदै थियो तर एकाएक ऊ दोबाटोमा देखिन पनि छोड्यो। मनभित्र उठेका तरंगहरू समुद्रमा आएको तुफानभन्दा पनि जोडले मस्तिस्कमा भुमरिए।

मेरा कल्पनाका हरेक तटमा, मेरा मनका मनोहर तलाउमा ऊ र मसँगै जीवनको कस्ती खियाइरहेका हुन्थ्यौँ तर ऊ गयो। अनायास ऊ कहाँ गयो? प्यासी आँखाहरू सधैँ उसलाई खोज्थे। हरेक बिहान रित्ता दोबाटोहरूले मनभित्र असह्य पीडा दिन थाले। त्यसैले मैले मेरा पीडाहरूसँगै उसलाई पनि आफ्नो डायरीका हरेक पानाहरूमा कैद गर्न थालेँ।

तर जुन दिन बुवाले मैले लेखेको डायरी फेला पारी त्यसका पानाहरू एकएक गर्दै धुजाधुजा पारी च्यातिदिनुभयो, त्यस दिनदेखि न त मैले बुवालाई आफू बेकसूर साबित गर्न सकेँ न त मैले उहाँलाई, उहाँको विश्वास नै फिर्ता दिलाउन सकेँ।

अलिकती समस्या थियो ममा। कागजहरूमा शब्दहरू रफ्तारसँग दौडन्थे। कलमले कागजमा भावना र कल्पना सबैलाई प्रवाहसहित बहाउँथ्यो तर बोल्दा शब्दहरू तालमेल मिलाई मुखबाट नझरी दिँदा आफूलाई बुझाउन सधैँ कठिन हुन्थ्यो। मैले बुवालाई बुझाउनै सकिनँ कि ऊ त मेरो कल्पना र डायरीमा मात्र सीमित थियो भनेर। ऊ न त प्रीत थियो, न अरु कोही। ऊ साँच्चै थियो या मेरो कल्पनाको मानिस? त्यो पनि मलाई थाहा छैन। त्यसैले मेरो जीवनमा न ऊ थियो या अरु कोही। म त सधैँ नितान्त एक्ली थिएँ, जस्तो म अहिले छु।

मेरो डायरी पढ़ेपछि रिसको आवेगमा बुवाले मलाई सात दिन थुनेर राख्नुभो। अब एक महिनाभित्र आफू भन्दा १२ वर्ष जेठो केटासँग बिहे गरिदिने धम्की दिँदै घरबाट बाहिर जान नदिने प्रतिज्ञा गरी हप्तौँ बोल्नु भएन। लाखौँ बिन्ती बिसाएर माफी मागी बुवाको रिस त घटाउन सफल भएँ तर आफ्नो मन भने साँच्चिकै उसँगको प्रेममा फँसिसकेझैँ दोषी महसूस गर्न थाल्छ। त्यसपछिका दिनहरू सबै अर्थहीन र मूल्यहीन भई बित्न थाले।
केही हप्तापछि स्कूलसम्म जाने अनुमति पाएँ। दोबाटोमा आँखाहरू उसैलाई खोज्थेँ तर ऊ थिएन। महिनौँ यसैगरी गुज्रियो। मन अनि मस्तिष्क सबै शून्य रह्यो।

बिस्तारै बिस्तारै उसलाई आँख़ाले नखोज्ने आदत त लाग्यो तर जीवन यति निरस र निरास हुन थाल्यो कि मैले आफूलाई नै कतै हराइसकेझैँ महसुस गर्न थालेँ। यो अञ्जान नैरास्यताबाट निक्लिने मलाई इच्छै जागेन।

वास्तविकतामा ऊ पलायन भए पनि मेरो कल्पनाबाट ऊ हट्दैन भन्ने कुरामा म विस्वस्त थिएँ किनकि ऊसँग बित्ने कल्पनाका ती क्षणहरू मात्र मेरो जीवनको अद्भूत समयझैँ लाग्थ्यो। जीवनको कुनै मोडमा त ऊसँग पक्कै भेट होला भन्ने आशाले म उसका तस्बिरलाई मस्तिस्कबाट धमिलिन दिन्नथेँ।

यो त एउटा किशोर अवस्थाको उपज थियो, शारीरिक र मानसिक परिवर्तनको परिणाम। जब बुझ्ने हुँदै गएँ, जीवनको वास्तविकतामा कल्पना र सपनाको भूमिका त्यति व्यावहारिक हुँदैन रै’छ भन्ने बुझे पनि मेरो मन अझै एकान्तमा उसको कल्पनामा रमाइदिन्छ।

तर समय सँगसँगै मनभित्र उठ्ने ती कल्पनाका छालहरू भने परिपक्व हुँदै गएका छन्। अचेल उसको काल्पनिक साथले जीवनको वास्तविक डुंगा खियाउन सहज भएको महसुस हुन्छ। ऊसँग हुने काल्पनिक सम्वादमा जीवनबोध हुन्छ अनि एउटा नौलो खुसी फेला पर्छ।

म सोच्छु, साँच्चै समय कति परिवर्तनशील छ। समयले सबै नयाँ सिर्जनाहरू पुरानो बनाउँछ। बदल्छ। खियाउँछ। धस्साउँछ। जीर्ण जीर्ण बनाउँछ। तर मानिसले आफ्नो मनभित्र यदि कुनै वस्तु, तस्बिर या सम्झनालाई सम्हालेको छ भने त्यो कहिले बद्लिँदैन । ‘म’ र म भित्रको ‘ऊ’ भावनात्मक रुपमा बदलिए पनि कल्पनामा उसको तस्बिर त्यही किशोर अवस्थाको कलिलो, कोमल, ताजा र सुन्दर छ। त्यहाँ अझै हाम्रो मीठो बालापन छ।
समयको दौरानसँगै कति नयाँ यादहरू जुटे, कति यादहरू छुटे। डायरीका पानामा उसलाई आफूले कब्जा गर्न नपाए पनि मेरो दिलको पाना भने उसैले कब्जा गर्न कैले छोडेन। ऊ मेरो कल्पनाको मानिस, मेरो सपनाको सहयात्री। जहिलेदेखि ऊ मेरो मन मस्तिस्कमा बस्यो, त्यतिबेलादेखि मेरो कल्पना शक्ति मेरो जीवनको शक्ति बन्न पुगेको छ। मेरो निराशाका पलहरूमा ऊ सधैँ मेरो कल्पनामाझ आशा बनी बाँचिदिन्छ। मेरो जीवनसँगको गुनासोमा उसले रंग भरिदिन्छ। अनि मलाई लाग्छ, हुन पनि मानिसको कल्पना गर्न सक्ने शक्तिले नै मानिस अरु प्राणीहरूभन्दा भिन्न छ। दुनियाँमा जे जति आविष्कार भए, विकाश भए सबै मानिसको कल्पनाकै उपज न हो! मानिसको कल्पनाले नै मानिसलाई चन्द्रमा मा पुर्यायो। ती अनुपम आविष्कारहरू मानिसकै कल्पनाका उपज त हुन्। अनि कैले लाग्छ, कास! मेरा कल्पनाहरू पनि ती माहन् व्यक्तित्वहरुको जस्तै उपलब्धिमूलक हुँदो हो त जीवन कति सार्थक महसुस हुन्थ्यो होला? आफू भने भूलभुलैयामा अल्झिएझैँ कता रंगमङ्गिएँ कता !

अनि फेरि सोच्छु, हुन त सक्षम, सार्थक र सफलता त मानिसले आफूलाई तौलने माध्यम मात्र हो। मानिसको वास्तविक सफलता त मानसिक सुखमा प्राप्ति हुन्छ। यदि मानसिक शान्ति र सुख छैन भने ती सफलताको के मान्य? झलक्क अस्ति भर्खर आत्महत्या गर्ने बलिउड़को सिनेमाको उत्कृष्ट कलाकारको कहानी दिमागमा सल्बलाउँछ। त्यति सफल, सम्पन्न र सम्पूर्ण मानिस जसको जीवनको ईर्ष्या नगर्ने यो दुनियाँमा को हुँदो हो? तर त्यस्ता व्यक्तित्व पनि अन्तरआत्माको द्वन्द्वको जुध्न नसकी, मानसिक तनावमा ग्रस्त भै आफ्नो जीवन त्याग्छन्। मैले त केवल मनका तनावहरूलाई सम्हाल्न कल्पनामा खुसी खोजेँ अनि खुसीभित्र उसलाई रोजेँ, बस्।

अस्ट्रेलिया