नेपाली अख्यानमा मणिपुर फाट्टफुट्ट नआएको होइन । कहिले गोविन्दराज भट्टराईको आख्यानमा पृष्ठभूमि बनेर आयो त कहिले कृष्ण धराबासीका कथामा सुदूरको एक तिलस्मी भूगोलको रूपमा टुप्लुकियो । मैले आफैँ पनि फाट्टफुट्ट समेटेँ कथाहरूमा । तर, मणिपुरका भित्रियाहरूबाट, प्रत्यक्ष अनुभव र अनुभूतिको जगमा टेकेर, मूलधारको नेपाली आख्यानमा मणिपुर त्यसरी आउन सकेको थिएन, जसरी आसाम आएको छ । मणिपुरका युवा श्रष्टा राहुल राई “बोगिको”ले आफ्ना कथाहरूमा मणिपुरको सुखदुःख समेट्ने कोसिस लामै समयदेखि गर्दैआएका हुन्, तर भारतको पनि सुदूर उत्तरपूर्वको सीमान्त प्रान्तमा प्रकाशित ती आख्यानहरू नेपाली साहित्यको मूलप्रवाहमा मिसिन विविध कारणले सकेनन् । सिरोई सिर्जना मणिपुरको प्रकाशन, र मञ्जरी प्रकाशन, काठमाडौँको वितरणमा भर्खरै बजार प्रवेश गरेको राहुल राईको कथासङ्ग्रह “मितोप” भने अहिले नेपाली आख्यान पढ्न रुचाउनेहरूका लागि सजिलै उपलब्ध हुनेगरी बजारमा छ । यसले पुस्तकमात्रै सर्वसुलभ भएन, नेपाली आख्यानमा मिणपुर देखिने गरी खडा भएको छ । यसका लागि राहुल राई बोगिको बधाईका पात्र हुन् ।
कथासङ्ग्रह “मितोप” मा ९ वटा कथा समाविष्ट छन् । “बाहिरी मान्छे” अर्थ बोकेको शीर्षक “मितोप” ले कथाको मूल सारलाई सङ्केत गरेको छ । भारतको सुदूर पूर्वोत्तर सीमामा अवस्थित मणिपुर प्रान्तमा शताब्दिऔँदेखि बस्दैआएका, तर भावनात्मक रूपमा त्यहाँका स्थानीयहरूको नजरमा आजसम्म पनि रैथाने मानिन नसकेका नेपाली भाषी मणिपुरेलीहरूको कहरको कथा यस कथासङ्ग्रहले बोकिल्याएको छ ।
यी कथाको समूल अध्ययन र बोधका लागि केही पृष्ठभूमि बुझ्नु वाञ्छनीय छ । पहिलो, मणिपुरमा शताब्दिऔँ अघिदेखि नेपालीहरू बसिरहेका छन् । त्यहाँका खोलानाला, डाँडाकाँडा, थुम्का, फाँट र मैदानका नेपाली नाम यस कुराको प्रमाण हो । नेपालीहरूले मणिपुरको सुरक्षाका लागि ज्यान दिएको, र त्यसको विकासका लागि रगत र पसिना बगाएको कथा छ । मणिपुरका राजा बुद्धचन्द्रले नेपाली राजकुमारी ईश्वरी देवीलाई बिहे गरेर लाँदा उनका साथमा गएका नेपाली हुन् वा सुभाषचन्द्र बोसको आजाद हिंद फौजमा सामेल नेपाली हुन्, तिनलाई विधिपूर्वक मणिपुरमा बसाइएको इतिहास छ । कतिपय नेपाली अन्य सैन्य सम्झौतामार्फत् बसे भने, कतिपय आफ्ना विरादरी खोज्दै पनि गए । यसरी हेर्दा, एउटा मान्छेले एउटा मुलुकको आधिकारिक नागरिक हुनलाई बसोबासको जुन न्यूनतम समय बिताएको हुनेपर्ने सर्त भारतको विधिमा छ, त्योभन्दा कयौँ दशक पुरानो कथा मणिपुरेली भारतीय नेपालीको छ । तर “मितोप” को तर्क छ — मणिपुरका आदिवासीहरूले हृदयतः कहिल्यै पनि नेपाली भाषीहरूलाई स्वीकार गरेनन् ।
यिनै ऐतिहासिक सत्यहरूको जगमा उभिएको छ कथासङ्ग्रह “मितोप” । यसमा जातीय र सामुदायिक विषय त छँदैछन्, लेखकका निजी अनुभूति, सङ्घर्ष, प्रेम र विवाहका प्रसङ्गहरू र छरछिमेकका कुरा पनि राहुलले आफ्ना कथामा अटाएका छन् ।
यी कथाको रचनागर्भ बुझ्न राहुल राई बोगिकाको निजी जीवनमा पनि चिहाउनुपर्ने हुन्छ । मणिपुरको अति दुर्गम इलाका इराङमा जन्मिएका राहुलले क्षेत्रीय अवनति, परिवारको गरिबी र अन्य कारणले उच्च शिक्षा प्राप्त गर्न सकेनन् । जीवन धान्न उनले अर्काको गोठमा गोठालो बस्ने, गाडी कुदाउने, व्यापार गर्ने, र छापाखाना सञ्चालन गर्ने जस्ता अनेक काम गरे । यी कुरा “मितोप” को लामो भूमिकामा लेखक जय क्याक्टसले सविस्तार उल्लेख गरेका छन् । यी तमाम इलमका साथै राहुलले आफूलाई कला, साहित्य, गायन र भिडियो निर्माणमा सधैँ सक्रिय राखिरहे । त्यसैको परिणाम हो, उनले नेपाली वाङ्मयलाई एक जोडी परेवा (कथासङ्ग्रह), मेरा अनुभूतिहरू (कथासङ्ग्रह), एक मुठी कविता (कवितासङ्ग्रह), र कालो अक्षर (कवितासङ्ग्रह) जस्ता कृति दिएको छन् । यसै कडीमा जोडिन आइपुगेको हो कथासङ्गह “मितोप” ।
यसका कथाले माथि उल्लेखित राहुलका विभिन्न अनुभव र जीवन सङ्ग्रहलाई कुनै न कुनै पात्रमा उतारेको छ । कतिपय कथामा उनी आफैँ पात्रको रूपमा उपस्थित छन् । त्यसैले, यो सङ्ग्रहमा आत्मकथात्मक सन्दर्भहरू पनि बाक्लै भेटिन्छन् ।
नौवटा कथामा नौथरि कथ्य समाविष्ट छन् । कथा “दाग” अतिशय उदात्तताका कारण निर्दोषहरूले उठाउनुपर्ने जोखिमको आख्यानीकरण हो । गाढा मित्रतामा कहिलेकाहीँ आफूले नगरेको पापको जिम्मेवारी उठाउन मान्छे कसरी बाध्य हुन्छ, त्यो कुरा यस कथामा वर्णित देवकी र ममापत्रको कथाबाट पाठककले बुझ्न सक्छन् । कथा “अमेट छाप” सन्तान र अभिभावकको सम्बन्धको मृदु पाटोको उत्खनन् हो । आफू सानो छँदा आफूले गरेका हठहरू अभिभावकहरू बिर्सन्छन्, र उनका छोराछोरीले त्यस्तै हठ दोहोर्याउँदा निषेध गर्ने गर्छन् । तर यस सुन्दर कथाले, कथाकार आफू सानो छँदा, गरिबीका बाबजूद आमालाई फुटबल किन्न बाध्य पारेको प्रसङ्ग सम्झन्छन्, र आज उनकै छोराले मोबाइल किनिदिनू भनेर गरेको हठका अगाडि, आफ्नै विगतको जगमा, लाचार उभिएको आत्मस्वीकृति गर्छन् । यस कथाको मनोवैज्ञानिक सन्देश उत्कृष्ट र गहिरो छ, र सर्वथा नवीन छ ।
“याद” यस सङ्ग्रहको अर्को कथा हो, जसमा वर्षौंअघि छुटेका साथीलाई समयले कसरी अपरिचित बनाइदिन्छ, तर अचेल, फेसबुकले कसरी पुनः साथ ल्याइदिन्छ, त्यो दर्शाइएको छ । “लाञ्छना”, माथि विषयप्रवेशमा उल्लेखित रैथाने पीडाको कहानी हो । “विदेशी” हुनुको लाञ्छना जुन मणिपुरेली नेपालीलाई लगाइन्छ, त्यसको विरोधमा यस कथाका पात्र बोलेका छन् । “लक्ष्य” कथाले, एक आम मणिपुरेली नेपालीको लक्ष्यको बाटोमा विद्यमान अनेक कष्ट र व्यवधानहरूको कथा बोकेको छ । यसमा गौपालन र दुग्ध व्यवासयका दुःख, उग्रवादीहरूका अवाञ्छित अत्याचार, दोहोरो भीडन्तमा परी घाइते हुनुको कहर, र जन्मथलो छोडी पलायनको बाटो रोज्नुको विभीषिकालाई दर्शाइएको छ । तर पनि, मणिपुरवासीहरू आफ्नो लक्ष्यको बाटोबाट विचलित हुँदैनन् भन्ने कुरा यस कथाको मुख्य पात्र जयप्रकाश, र उसको छाेराले भारतको उच्चतम नागरिक सेवा “आर्ईएएस” परीक्षा पास गरेर जिल्ला अधिकारी बन्न सफल भएको कुरा कथाले दर्शाउँछ ।
“बटुवा” गलत संस्कार र सङ्गतका कारण मानिस कसरी बिग्रन्छ, त्यसै कथ्यमा बुनिएको कथा हो । छोराले खेलौनाका रूपमा पेस्तोल माग्दा, लुरुलुरु किनिदने तोम्बाले, उसको छोरो बिरेन गुन्डा हुँदै लागु पदार्थको दुव्र्यसनी बनेको कुरा स्वीकार्नु परेको छ । अर्कोतिर, सानैदेखि सिर्जनशीलता र सदाचारको संस्कारबाट हुर्किएको बिरेनको साथी तरुण आईएएस बनेको कुराले यस सत्यलाई सतहमा ल्याएको छ । “एकता” कथामा, मणिपुरमा नेपालीहरू एकअर्कालाई दुःख परेका बखत सहयोगका लागि खासै अगाडि आउँदैनन् भन्ने टिप्पणी गरिएको छ । उता, स्थानीय कुकीहरू भने, एकअर्कालाई मर्दापर्दा खूब सरसहयोग गर्छन् भन्ने भाव दर्शाइएको छ । साथसाथै, कुकीहरूमाझ पनि समाजको यस उतात्तताको दुरुपयोग गरेर, दुःखको प्रपञ्च रचेर फाइदा उठाउने कुपात्र छन् भन्ने सूचना पनि कथाले दिएको छ ।
पूर्णतः संवादमा आधारित कथा “थिए…” मा मुख्य पात्र “रैथाने बाजे” का मुखबाट मणिपुरको नेपालीहरूको आगमनको कथा, उनीहरूको गौरवपूर्ण इतिहास र सहादतको कथा, र समयसँगै खिया लाग्दै गरेको यथार्थलाई कारुणिक ढङ्गले देखाइएको छ । बाजेको ठहर छः “अब हाम्राहरू डेग लागेर बस्न सक्दैनन् । अलिकति साह्रो–गाह्रो पर्यो कि हिँडिहाल्छन् । यै पलायनवादी परम्परा मानिल्याएकोले हाम्रो बासभूमि स्थायी नभएको होला ।”
“कोसेली” यस सङ्ग्रहको अन्तिम कथा हो । एक निजी अनुभूतिमा आधारित कथामा कथाकारले आफ्नो असली नाम “सनीराम” को ठाउँमा “राहुल” भनेर नामाकरण गरिदिने बिनाको स्मरण गरेका छन् । आफूले पनि उनको नाम बिनाबाट फेरेर “शर्मिला” गरिदिएपछि दुवैका पहिचान स्थायी रूपमा फेरिएको जिकिर कथामा छ ।
राहुल राईका कथाका केही सुन्दर विशेषता छन् । उनको इमान्दारी सबैभन्दा ठूलो विषय हो । कथामा उनले आफू उभिएको जमिनबाट विषय टिपेका छन् । फलस्वरूप, कुनै प्रकारको वैचारिक विरोधाभास र दार्शनिक दुर्घटना उनका कथामा छैन । उनी नेपाली भाषा जसरी बोल्छन्, त्यसै गरी लेख्छन् । त्यो उनको भाषिक निजत्व हो । मणिपुरतिरको चलनचल्तीको लवजलाई लिपिमा उतार्ने क्रममा उनले शब्दलाई अनौठो बान्कीमा ढालेका छन् । कुकीलाई कोकी, कनाटलाई कर्नाट, खेलौनालाई खेलाउना, ठेक्कालाई ठिका, केराघारीलाई कोलघारी, रोबर्टलाई रोबट, फेन्सिडाइललाई फेन्सिडेल, ब्यान्डेजलाई ब्यान्डिस आदि उनले परिवेशबाट टिपेका, अरू नै शब्दका नयाँ हिज्जे हुन् ।
स्थानका मणिपुरी नाम, तथा सिन्जु, पुखम, कोल्पा, सङ्गम आदि जस्ता स्थानीय शब्द पनि उनको आख्यानमा नयाँ स्वाद छर्ने अवयवहरू हुन् ।
सङ्ग्रहमा केही समस्या पनि छन् । “लाञ्छना” र “थिए…” शीर्षकका कथामा केवल र केवल संवाद छ, केही पूर्वदीप्ति छ, र गुनासो छ । एउटा पूर्ण कथालाई चाहिने कथानक यिनमा छैन । कतिपय कथा मूल कथ्यबाट भट्किएर उपकथामा टुङ्गिएका छन् । “लक्ष्य” कथाको अधिकांश भाग, एक साधारण मणिपुरेली नेपालीको सङ्घर्ष र पीडामा केन्द्रित छ, तर कथाको अन्त्य भने तिलस्मी शैलीमा सफलता प्राप्त भएको पटाक्षेपमा पुगेर सकिएको छ । यसले, यस कथाको पात्र जयप्रकाशको जस्तो सङ्घर्ष, पीडा, थिचोमिचो र लुटपाट लक्ष्य प्राप्तिको लागि आवश्यक छन् भन्ने कुरालाई सामान्यीकृत गर्ने खतरा छ । “याद” कथाको पूरापूर तर्क भनेको फेसबुकले हराएका साथीको पुनः भेट गराउँछ भन्ने हल्का र सतही कुरा हो । “बटुवा” कथाले राम्रो संस्कार पाउने राम्रो हुन्छ, कुसंस्कारमा हुर्कने बिग्रिन्छ वा विफल हुन्छ भन्ने पुरानो नैतिक आद्यप्ररूपको आधुनिक पुनरकथन हो ।
कथाको प्राणमा नवीनता छैन । केवल आवरणमा कथाकारको उपस्थिति छ । “एकता” कथाको मूल कथ्य कुकी र नेपाली जातिको स्वभावको तुलनाजस्तो देखिन्छ, तर कथाको अन्त्यतिरको आख्यान भने कुकी पात्र रोबटको ठग प्रवृत्तितिर गएर सकिएको छ । यसले गर्दा एउटा गम्भीर मानवशास्त्रीय विषय, अन्त्यमा एउटा हास्य कथामा विसर्जित भएको छ ।
कभरको पछाडि लोगो हेर्दा प्रकाशन मञ्जरी प्रकाशन छ । राहुले कृतज्ञतामा “पुस्तक प्रकाशनका लागि मञ्जरी पब्लिकेशनलाई” विशेष धन्यवाद दिएका छन्, तर पुस्तकमा प्रकाशक सिरोई सिर्जना मणिपुर र वितरकचाहिँ मञ्जरी प्रकाशन भनिएको छ । यसरी हेर्दा, पुस्तकको पछाडि वितरकको होइन प्रकाशकको लोगो हुनेपर्ने । अथवा, दुवैको राखिएको भए पनि हुने । तर प्रकाशकको लोगो नहुनु, तर वितरकको मात्रै देखिनु आश्चर्यको विषय हो ।
भाषिक त्रुटि थुप्रै छन् । सारमा, कथाको सम्पादन पक्ष त्यति परिपक्व नभएको ठहर गम्भीर पाठकले सहजै गर्न सक्छन् ।
यी केही क्षेम्य र समान्य टिप्पणी हुन् । “मितोप” को प्रकाशनले मणिपुरको माटोले एउटा बलियो कथावाचक नेपाली वाङ्मयलाई दिएको छ भन्ने कुरा प्रमाणित गरेका छ । कथा साहित्यको स्थापित मूल्यविधानको कसीमा पनि उत्कृष्ट ठहर हुने “अमेट छाप” र “कोसेली” जस्ता कथाले राहुल राई बोगिकोको नाम जीवन्त राख्ने छन् । कथ्यका हिसाबले “थिए…” कथाका नायक रैथाने बाजे, हामी सबैको मस्तिष्कमा चीरकालसम्म एउटा ऐतिहासिक रुग्णताको प्रतीक बनेर बसी नै रहने छन् । अन्य कथाले, पाठकको रुचीअनुसार प्रभावित पार्ने छन् नै ।
राहुल राई ! बधाई !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।