खण्ड १
परिच्छेद १
‘ठीकै छ राजकुमार ! त्यसो भए जेनेभा र लुक्का राज्य अबदेखि बोनापार्टका पारिवारिक सम्पत्ति भए हगि ! तर तपार्यं यसले युद्ध निम्त्याउने छ भन्ने स्वीकार गर्नु हुन्न भने र यदि त्यस क्राइस्टको दुस्मन (म उसलाई क्राइस्टको दुस्मन नै मान्छु) का कुकृत्य र पाप कर्महरुको ढाकछोप गर्ने प्रयास गर्नुहुन्छ भने तपाईंसँग मेरो भन्नु केही छैन । तर आइन्दा तपाईं मेरो साथी पनि रहनु हुने छैन, न त तपाईं आफैँले भनेजस्तो मेरो विश्वासपात्र दास नै रहनु हुनेछ । तपाईंलाई मेरो कुरा कस्तो लाग्यो ? धत्तेरी, मैले तपाईंलाई तर्साउन थालो क्यारे, आउनुस्, यहाँ आएर बस्नुस् र मलाई सबै हालखबर सुनाउनुस् ।’
यो जुलाई सन् १८०५ को कुरो हो र माथिका यी शब्दहरु महारानी मार्था फेदोरोभ्नाकी अत्यन्त प्रिय पात्र रहेकी विख्यात् महिला अन्ना पाभ्लोभ्नाका हुन् । यति भनेर उसले राजकुमार भासिली कुरागिनलाई अभिवादन गरी, जो उसले आयोजना गरेको
स्वागत समारोहमा उपस्थित उच्च ओहदाका पहिलो व्यक्तित्व थिए । अन्ना पाभ्लोभ्नालाई केही दिनदेखि खोकी लागिरहेको थियो । उसकै शब्दमा भन्ने हो भने ऊ रुघाले ग्रस्त थिई, जुन रोगलाई सेन्ट पिटर्सबर्गका कुलीन वर्गले मात्र प्रयोग गर्ने एउटा नयाँ शब्द ‘ग्रीप’ भनिन्थ्यो ।
अपवादबाहेक विशुद्ध फ्रान्सेली भाषमा लेखिएका र एउटा कलेजी रङको बर्दी लगाएका सिपाहीले घरघरमा पुर्याएका उसका निमन्त्रणापत्रका शब्दहरु यस्ता थिएः
‘यदि यहाँलाई फुर्सत् छ काउन्ट र मजस्ती अशक्त विरामी अबलासँग आजको रात बिताउन कष्ट हुँदैन भने ७ बजेदेखि १० बजेभित्र यहाँलाई स्वागत गर्न पाउँदा मेरो खुसीको सीमा रहने छैन– आनेत्ती स्काअर ।’
‘हे भगवान् ! यो कस्तो विषाक्त आक्रमण हो ?’ यो निमन्त्रणाबाट अलिकति पनि आहत नभएको राजकुमारले प्रत्युत्तर दियो । घुँडासम्म आउने ब्रिचिस सुरुवाल, जुत्ता, छातिभरि तक्मा, चौडा र कोमल अनुहारमा शालीन मुस्कानका साथ कार्चोपी शाही पोशाकमा सजिएर ऊ स्वागतकक्षमा भर्खर प्रवेश गर्यो । ऊ हाम्रा पुर्खाहरुले बोल्ने विशुद्ध फ्रान्सेली भाषामा कुरा गर्छ, जुन भाषा राजदरबार र उच्च समाजमा जन्मेर हुर्केका अत्यन्त महङ्खवपूर्ण पुरुषहरुको जस्तो मधुर र आफ्नतै किसिमको स्वरअनुकूल सुहाएको छ । ऊ अन्ना पाभ्लोभ्नाका समीपमा गयो । उसले आफ्नो मुडुलो, सुगन्धित, चम्किलो र उज्यालो शिर प्रदर्शन गर्दै उसका हातलार्य चुम्बन गर्यो अनि शान्त र सन्तुष्ट मुद्रामा सोफामा गएर आसन ग्रहण गर्यो ।
‘प्रिय संगिनी ! सर्वप्रथम तपाईंलाई कस्तो छ भन्नुहोस् । तपाईंभित्रको मनलाई शान्त गराउनु होस् ।’
समध्वनि, समनम्रता र चेपारे सहानुभूतिको मानकमा उसले यसरी थप्यो, ‘जुन शब्दहरुबाट नजानिदो उपेक्षा र व्यंग्यको स्पष्ट बोध गर्न सकिन्थ्यो ।’
‘नैतिक रुपमा थाला परेको मान्छे पनि कहीँ सञ्चो हुनसक्छ ?’ मनभरि पीर बोकेर बसेको बेलामा कोही स्थिर भएर रहन सक्छ ?’ अन्ना पाभ्लोभ्नाले भनी, ‘जे होस्, आजको रात त यहीँ बस्नु होला भन्ने मैले आशा गरेकी छु ।’
आज बुधबार हो । अंग्रेजी राजदूतकहाँ एउटा ठूलै उत्सव छ, मैले त्यहाँ मुख देखाउनै पर्छ,’ राजकुमारले भन्यो, ‘मेरी छोरी मलाई लिएर त्यहाँ पुर्याउन यहीँ आउँदैछिन् ।’
‘मलाई आजको भोजको कार्यक्रम रद्द भए हुन्थ्यो जस्तो लागेको छ । यस्ता खालका भोजभतेर भान्छाका कामदेखि मलाई वाक्क लाग्छ ।’
‘तपाईंको यस्तो इच्छा उनीहरुलाई थाहा भएको भए त कार्यक्रम स्थगित पनि हुने थियो होला,’ राजकुमारले भन्यो । झोलामा पोको पारेर राखे पनि घडीको घण्टी बजेजस्तै आफ्नो स्वाभावले कायल, नचाहँदा नचाहँदै पनि उसका मुखबाट यी शब्दहरु फुत्की हाले ।
‘नजिस्किनुस् न । ठीकै छ, नोभोसिल्तसेभको चिठ्ठीबारे के निर्णय भयो ? तपार्यंलाई सबै कुरा थाहा छ !’
‘खै यस विषयमा कसले के भन्न सक्छ र ?’ राजकुमारले निस्पृह भाषामा उत्तर दियो ।
‘खे हुनु, उनीहरुले बोनापार्टले उसका जहाजहरु जलाइदिएको ठहर गरे । र, मलाई विश्वास छ– हामी पनि हाम्रै जहाज जलाउन तयार छौँ ।’
राजकुमार भासिली कुनै कलाकारले आफ्नो पाठ दोहोर्याइदोहोर्याई घोकेजस्तो मलिन भाषामा बोल्यो तर त्यसको ठीक विपरीत अन्ना पाभ्लोभ्ना भने चालीस पार गरिसकेकी भए तापनि फुर्तिली र आवेगशील थिई । उत्साह नै उसको जीवनको यथार्थ भएको थियो । कदाचित् कहिल्यै आलस्यको अनुभव भयो भने पनि चिन्ने जान्नेहरुलाई हतोत्साही नगराउन ऊ आफूलाई सधैँ प्रशन्न मुद्रामा प्रस्तुत गर्थी । उमेरका हिसाबले त्यति नसुहाए पनि उसको अनुहारमा झल्कने संयमित मुस्कान सदा कायम रहन्थ्यो । उसले यसलाई सच्याउने प्रयास गर्नु पनि कहिल्यै आवश्यक ठानिन । ‘समसामयिक राजनीतिक विषयमा गफ गर्दा अन्ना पाभ्लोभ्ना त्यत्तिकै उम्ली, ‘म तपाईंलाई सोध्छु, हामीले कसलाई विश्वास गर्ने भन्नोस् त ?’
‘ओहो, अस्ट्रियाको विषयमा मसँग कुरै नगर्नुस् । सायद मैले नबुझेकी पनि हुनसक्छु तर अस्ट्रियाको न युद्ध गर्ने मनसाय थियो न छ । उसले हामीलाई धोका दिँदैछ । रसिया एक्लैले भए पनि युरोपको रक्षा गर्नुपर्छ । हाम्रो दयाशील सम्राटले उसको उत्कट इच्छा र अभिलाषा अवश्य पूरा गर्नेछन्– मलाई यसमा विश्वास छ । हाम्रो प्यारो चमत्कारी राज्यले पृथ्वीमा सबैभन्दा पविज्ञ र महान् काम पूरा गर्नुपरेको छ । ‘उनी आफ्ना कर्मले गर्दा ईश्वरका प्रिय छन् । ईश्वरले उनका इच्छा पूरा गर्ने छन् ।’ र, क्रान्तिको रक्तबीजलाई समूल नष्ट गरिदिनेछन्, जो यसअघि कहिल्यै नभएको मानवरुपी राक्षस र हत्याराका रुपमा देखिएको छ । हामीहरु एक्लैले भए पनि रगतको बदला लिनै पर्छ । व्यापारिक स्वभाव भएको इंग्ल्यान्डले सम्राट अलेक्जेन्डरको उदात्त हृदयको आँकलन गर्दैन र गर्न पनि सक्तैन । उसले माल्टाबाट हट्न अस्वीकार गरेको छ । हाम्रो काम कार्बाहीमा उसले अझ पनि केही गोप्य आशय रहेको आशंका गरिरहेछ । नोभोसिल्तसेभले के जवाफ पायो त ? अहँ केही पाएन । अंग्रेजहरुले हाम्रा सम्राटको आत्मउत्सर्गको सीमा बुझेकै छैनन् र बुझ्न पनि चाहँदैनन्, जो आफ्ना लागि होइन मात्र मानव कल्याणका लागि मसर्पित छन् । अंग्रेजहरु कुनै विषय पनि प्रतिबद्ध छैनन् । आफैँले गरेका बाचा–कबोलहरु पनि उनीहरुले पूरा गर्ने छैनन् । प्रसियाले सधैँ उद्घोष गरेको छ कि बोनापार्ट दुर्जेय छ र सम्पूर्ण युरोप उसका सामु शक्तिशून्य छ । र, मलाई हार्डेनबर्ग वा हगवित्जले गरेको कुरामा एकरत्ति पनि विश्वास लाग्दैन । प्रसियाको यो तथाकथित निरपेक्षता र असंलग्नता एउटा चाल र छल मात्र हो । मलाई त केवल ईशवर र हाम्रो पुज्य अधिपति राजाको वीरतामा मात्र विश्वास छ । युरोपष्को रक्षा उनैले मात्र गर्नेछन् ।’
आफ्नै गति र शक्तिप्रति मुस्कुराउँदै उसले अकस्मात् विश्राम लिई ।
‘मलाई लाग्छ,’ मन्द मुस्कानका साथ राजकुमारले भन्यो, ‘हाम्रो प्रिय विन्जिन्जेराडका ठाउँमा यदि खटिनु भएको भए तपार्यंले मारमुंग्री गरेर भए पनि प्रसियाका राजाको सहमति लिई छोड्नु हुने थियो । तपाईं विघ्नैकी वाक्पटु हुनुहुन्छ । एक कप चिया ख्वाउनु हुन्छ कि ?’
‘एकै छिन,’ कुरा अघि बढाउँदै र शान्त हुँदै उसले थपी, ‘आज राति मैले दुई जना अत्यन्त रोचक पात्रहरुको अपेक्षा गरेकी छु । उनीहरु हुन्, ले विकोम्प्टे डे मोर्टमार्ट, जो प्रतिष्ठित फ्रान्सेली परिवारमध्येका एक सदस्य रोहानहरुमार्फत् मोन्टमोरेन्सीहरुसँग सम्बन्ध राख्छन् । उनी सक्कली आप्रवासीमध्ये एक हुन् । र, अर्का हुन्, स्वयम् सम्राटले समेत भेट दिएका, प्रगाढ चिन्तक अबे मोरियो । तपाईंले उनको नाम सुन्नुभएको थियो ?’
‘उनीहरुलाई भेटेर म अत्यन्त हर्षित हुनेछु,’ राजकुमारले भन्यो, ‘तर मलाई उनको आगमनको उद्देश्य अर्थात् यहाँ आउनुको आशय के हुनसक्छ भन्नुहोस् । डुवागर साम्राज्ञी ब्यारोन फुनकेलाई भियनाका लागि प्रथम सचिव नियुक्त गर्न चाहनुहुन्छ भन्ने कुरा के साँचो हो ? ब्यारोन फुन्के त हरेक दृष्टिले तल्लो दर्जाको मानिस हो ।’
राजकुमार भासिली यो पद आफ्नो छोराको लागि प्राप्त गर्न चाहन्थ्यो तर अर्को थरिले पनि डुबागर साम्राज्ञी मार्या फेदोरोभ्नालाई रिझाएर ब्यारोन फुन्केलाई दिलाउन प्रयास गर्दै थिए ।
अन्ना पाभ्लोभ्नाले दुवै आँखा बन्द गरी । सम्राज्ञीका इच्छाविरुद्ध यस विषयमा बोल्ने वा कुरा काट्ने अधिकार कसैको पनि छैन भन्ने उसको आशय थियो ।
‘ब्यारोन फुन्केलाई स्वयं सम्राज्ञीकी दिदीले नै सिफारिस गरेकी हुन्,’ अत्यन्त शुष्क र द्रवित ध्वनिमा उसले यति मात्र भनी ।
आफ्नी पूजनीय संरक्षिका सम्राज्ञीको नाम लिँदा अन्ना पाभ्लोभ्नाको मनमा हर्ष र विस्मात् दुवै भावको बोध हुन्थ्यो । फुन्के सम्राज्ञीको निकटको चाकरीदार थियो भन्नु पर्दा उसको मन फेरि एक पटक दुखेर आयो ।
राजकुमार पनि चुप लाग्यो तर राजखान्दानकी एक विदुषी र मानवीय व्यवहारकी चाणक्य मानिने पाभ्लोभ्नाले राजकुमारलाई फुन्केको नियुक्ति सम्बन्धमा सम्राज्ञीको आलोचना गरेबापत नसिहत र सँगसँगै सान्त्वना दिँदै भनीः
‘अब तपाईंको परिवारका विषयमा कुरा गर्नुस् । तपाईंलाई थाहा छ, तपाईंकी छोरी आइपुग्नेबित्तिकै सबै उनीतिर लहसिएका छन् ? उनीहरु भन्दैछन्, उनी बिछट्टै राम्री छिन् ।’
राजकुमारले यसबापत आभार र आदर दर्शाउन शिर निहुर्यायो ।
‘म धेरैजसो विचार गर्छु,’ ऊ राजकुमारको नजिक सर्दै सौहार्दपूर्ण मुस्कानका साथ बोल्न शुरु गरी, मानौँ उसले यो प्रमाणित गर्नु छ कि राजनीतिक र सामाजिक विषयका प्रसंगहरु समाप्त भइसके र अब अन्य विषयमा अन्तरंग वार्तालाप गर्ने बेला आएको छ ।
‘म अक्सर सोच्ने गर्छु, जीवनका सुखहरु कहिलेकाहीँ कति पक्षपातपूर्ण ढंगमा बाँडिएका हुन्छन् । भाग्यले तपाईंलाई यति सुन्दर दुई जना छोराछोरी किन जुरायो र मैले तपाईंको कान्छो छोरा अनातोलको कुरा गरेकी होइन, मलाई ऊ मन पर्दैन,’ प्रतिवाद सुन्न नचाहेको आशयमा आँखीभौँ नचाउँदै उसले थपी, ‘क्या राम्रा छोराछोरी ।’
ऊ आफ्नो सम्मोहक मुस्कानका साथ मुस्कुराई ।
‘ईश्वरको लीला,’ राजकुमारले भन्यो । ‘लाभातेरले त ममा वंशानुगत गुणहरु नै छैन भन्छ ।’
‘ठट्टा नगर्नुस्प, मेरो तपाईंसँग गम्भीर र महङ्खवपूर्ण कुरा गर्ने विचार छ । तपाईंलाई थाहा छ, म तपाईंको सानो छोरासँग असन्तुष्ट छु ? हामीबीचको कुरा हो, महारानीकोमा उसको चर्चा चलेको थियो । सबैले तपाईंप्रति दुःख प्रकट गरे ।’
राजकुमार केही बोलेन । तर अन्नाले सार्थक उत्तर पाउने अभिप्रायले उसलाई हेरी रही । राजकुमारले आँखा तर्यो ।
‘तपाईं मैले के गरुँ भन्ने चाहनुहुन्छ ?’ अन्त्यमा उसले भन्यो, ‘तपाईं यो बुझ्नुस् कि उनीहरुको शिक्षादीक्षाका लागि एउटा बाबुले गर्नसक्ने कर्तव्य थजति मैले सबै गरेँ । तर उनीहरु दुवै जना मूर्ख साबित भए । हिप्पोलाइत शान्त प्रकृतिको मूर्ख भयो भने अनातोल सक्रिय मूर्ख भयो । उनीहरु बीचको भिन्नता नै यही हो ।’ उसले यो कुरा सदाभन्दा भिन्न प्रकारले सहज र सजीव ढंगमा भन्यो । तर यसो भन्दा उसको अनुहारमा खस्रो र सुहाउँदो चाउरी परेको प्रस्ट रुपमा देखिन्थ्यो ।
‘तपाईंजस्ता बाबुको कोखमा यी छोराछोरीले किन जन्म लिए त ? तपाईं उनीहरुको जन्मदाता बाबु नभएको भए मैले तपाईंसँग यस्ता कुरा गरेर चित्त दुखाउने कुरै थिएन,’ उदास मुद्रामा अन्ना पाभ्लोभ्नाले भनी । ‘म तपाईंको एउटा स्वामीभक्त दास हुँ र मेरा छोराछोरी मेरो जीवनका अभिशाप हुन् भनेर तपाईंसँग मात्र खुलेर भन्न सक्छु । यो पीडा मैले सहन गर्नैपर्छ । यसरी नै मैले आफ्नो मन बुझाउने गरेकी छु, अर्को उपाय पनि छैन ।’
उसले आफ्नो नियमितको क्रूर खेललाई दोष दिनु सिवाय अरु केही बोलेन । अन्ना पाभ्लोभ्ना ध्यानमग्न भई ।
‘तपाईंको दुष्ट छोरो अनातोलको विवाह गरिदिने विषयमा कहिल्यै सोच्नु भएको छैन ?’ उसले सोधी । बूढी अनुचरीहरु जोडाजोडी मिलाउने काममा आसक्त हुन्छन् भन्छन् । हुन त मैले यस्तो काम आजसम्म गरेकी छैन तर मैले एउटी कन्यालाई चिनेकी छु, जो आफ्नो बाबुसँग असाध्यै क्रुद्ध छे । ऊ तपाईंकै नातापर्ने राजकुमारी मेरी बोल्कोन्सकाया हो ।’
राजकुमार भासिलीले उत्तर दिएन तर उसको स्मरणशक्ति तीक्ष्ण थियो । त्यसैले यस विषयमा आफूले पनि विचार गरिरहेको जानकारी दिन टाउको हल्लाएर संकेत गर्यो ।
‘तपाईंलाई थाहा छ,’ उसले मनको बह थाम्न सकेन र अन्त्यमा भन्यो, ‘मैले अनातोलको वार्षिक ४० हजार रुबल खर्चको भार बोक्नु परिरहेको छ । यस्तै चाला हो भने आगामी पाँच वर्षमा के अवस्था होला ? बाबु भएपछि यस्तो सहनुपर्ने रहेछ । के तपाईंले प्रस्ताव गरेकी राजकुमारी धनी छे ?’
‘उसको बाबु धेरै धनी छ तर कञ्जुस छ । ऊ गाउँमा बस्छ । ऊ सुप्रसिद्ध राजकुमार बोल्कोन्स्की हो, जो दिवंगत सम्राटका पालामा सैनिक सेवाबाट निवृत्त भएको हो र ‘प्रसियाका राजा’का उपनामबाट चिनिन्छ । ऊ अत्यन्त चलाख तर सन्काहा छ । विचरी केटी अत्यन्त दुःखी छ र उसको एउटा दाइ पनि छ । तपाईं पनि उसलाई चिन्नु हुन्छ होला । उसले हालै लिजा मेनिनसँग विवाह गरेको छ । ऊ कुतुजोभको सहयोगी हो र आज राति यहीँ हाम्रोमा आउँदैछ ।’
‘सुन्नुहोस् प्रिय आनेत्ती,’ अन्ना पाभ्लोभ्नाको हात पक्रेर तलतिर तान्दै राजकुमारले भन्यो, ‘यो व्यवहार जसरी भए पनि मिलाउनुहोस् । म आजीवन तपाईंको विश्वासपात्र सेवक रहनेछु । केटी धनी मानिसकी छोरी रहिछन् र मैले खोजेको पनि त्यही हो ।’
यति भन्दै उसले सहसा अन्ना पाभ्लोभ्नाको हात आफ्नो ओठमा पुर्याएर चुम्बन गर्यो र आराम कुर्सीमा बसेर अर्को दिशातिर हेर्दै अगाडि–पछाडि हल्लियो ।
‘ध्यान दिएर सुन्नुहोस्,’ अन्ना पाभ्लोभ्नाले भनी ।
‘म आजै बेलुकी बोल्कोन्स्कीकी श्रीमती लिजासँग कुरा चलाउँछु । मलाई लाग्छ, काम बन्छ नै होला । तपाईंको परिवारको तर्फबाट म लमीका रुपमा सेवाकाल प्रारम्भ गर्नेछु ।’
(प्रथम परिच्छेद सम्पन्न)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।