पहिलो रात
हाजिरनामा, (लागि)
श्री महामहिम वेन जियाबाओ
प्रधानमन्त्रीको कार्यालय
स्वतन्त्रतालाई माया गर्ने देशको राजधानी, बेइजिङ
सेवामा
‘सेतो बाघ’
एउटा संवेदनशील मान्छे
र एउटा सफल व्यवसायी
हल, विद्युतीय प्रविधि हस्तान्तरण व्यवसायमा विश्वमै प्रख्यात सहर
बैङ्लोर, फेज १ – (होसुर मुख्य सडकको छेउमा)
भारत ।
श्रीमान् प्र.म.ज्यू
अंग्रेजी न तपाईंको भाषा हो न मेरो तर धेरै कुराहरु छन्, जसलाई अंग्रेजीमा मात्रै सजिलोसँग भन्न सकिन्छ । अहिले दस मिनेटअगाडि रातको ११ः३२ बजे मेरा भू.भू. रोजगारदाताकी भूभू श्रीमती पिङ्कीजीले ‘अल इन्डिया रेडियो’को मुख्य समाचारमा तपाईंको बैंगलोर भ्रमणका बारेमा जानकारी दिएपछि मलाई अचानक यो सम्बोधन गर्ने आँट फुर्यो ।
वास्तवमा, हरेक पटक तपाईंजस्ता महान् व्यक्तिको भारत भ्रमणमा म यो कुरा भन्छु । यो कदापि होइन कि मेरो तपाईंजस्ता महान् मानिसहरुप्रति केही गुनासो छ । म आफ्नै पारामा आफूलाई तपाईंसरह नै ठान्छु तर जब म हाम्रा प्र.म. आफ्ना विशिष्ट सहयोगीहरुको फौज लिएर कालो कारमा जान्छन् र विमानस्थलमा तपाईंको स्वागतार्थ टिभी क्यामेराका अगाडि भिड लागेर तपाईंसँग हाम्रो भारतको नैतिकता र महानताको बदख्वाइँ गर्छन् अनि मलाई अंग्रेजीमै केही कुरा भन्न मन लाग्छ ।
तपाईं यही हप्ता हाम्रो देशमा पाउकष्ट गर्दै हुनुहुन्छ, महाशय, होइन र? महापुरुषको भ्रमणका बारेमा हाम्रो राज्यनियन्त्रित ‘अल इण्डिया रेडियो’ ज्यादै भरपर्दो सञ्चार माध्यम हो ।
यी सबै भए रमाइला गफ, श्रीमान्, मात्र हाँसो र ठट्टा । होइन र ?
हा.. हा.. हा..
त्यसैले तपाईं बैंगलोर साँच्चिकै आउने भए म तपाईंलाई सोझै यो प्रश्न गर्छु । मलाई तपाईंसँग साँच्चै महङ्खवपूर्ण कुरा गर्नु छ, यदि तपाईं साँच्चै यहाँ पाउकष्ट गर्ने हो भने । समाचार वाचिकाले भनिन्, ‘श्रीमान् जियावाओको भ्रमणको मुख्य उद्देश्य बैंगलोरको बारेमा यथार्थ जानकारी लिनु हो ।’
मेरो आङ सिरिङ्ग भयो किनकि यदि कसैले बैंगलोरका बारेमा जान्दछ भने त्यो म हो ।
अनि फेरि समाचार वाचिकाले तपाईंको यहाँ पाउकष्टपश्चात् भारतका उद्यमीहरुलाई भेट्ने र उनीहरुको सफलताको रहस्य उनीहरुकै मुखारविन्दबाट जान्ने इच्छा जाहेर गर्नुभएको छ रे भन्ने सुनेँ ।

बुकर पुरस्कार ग्रहण गर्दै लेखक अरविन्द अडिगा
समाचारवाचिकाले हल्का केही भनिन् । महाशय, साँच्चिकै तपाईं चिनियाँहरु हामी भारतीयहरुभन्दा धेरै कुरामा अघि हुनुहुन्छ, मात्र तपाईंहरुकहाँ उद्यमीको कमी छ । र, हाम्रो यो देशमा पिउने पानी, बिजुली, ढलनिकास, सार्वजनिक यातायात, सरसफाइको चेतना, अनुशासन, आत्मीयता र समयको पालना गर्ने परिपाटी छैन तापनि यहाँ उद्यमीहरु प्रशस्तै छन् । हजारौँ हजार छन् । विशेषगरी प्रविधिको क्षेत्रमा र यिनै उद्यमीहरुले, हामीहरुले नै यी सबै प्रविधि हस्तान्तरण कम्पनीहरु स्थापना गरेका छौँ, जसले साँच्चिकै अमेरिकाजस्तो देशलाई चलाइरहेको छ ।
सायद तपाईं पनि उद्यमीहरु कसरी बनाउन सकिँदोरहेछ भनेर बुझ्न नै यस शहरको भ्रमण गर्न लाग्नुभएको होला । यस कुराले म हर्षित छु तर मलाई के कुराले बढी छोयो भने अन्तर्राष्ट्रिय मर्यादाक्रमअनुरुप हाम्रा प्र.म. र वि.म.ले फूलमालाले तपाईंलाई विमानस्थलमा स्वागत गर्छन्, सानो श्रीखण्डले बनेको गान्धीको प्रतिभा अनि भारतको विगत, वर्तमान र भविष्य लेखिएको सानो पुस्तिका टक्र्याउँछन् ।
चर्को स्वरमा सबैले सुन्ने गरी मलाई यो त्यतिबेलै भन्नुपर्ने थियो श्रीमान् ।
त्यो पाँच मिनेटअगाडि रातिको ११:३७ बजे हो ।
म कसम खाने र गाली मात्रै गर्ने गर्दिनँ । म परिवर्तनकामी र कर्मयोगी व्यक्ति हुँ । यो त्यतिबेला तुरुन्तै निर्णय गरेर तपाईंका लागि लेखिएको चिठ्ठी हो ।
यो म तपाईंको प्राचीन र महान् देशको प्रशंसाबाटै शुरु गर्छु ।
मैले तपाईंको देशको इतिहास ‘एउटा अनौठो पूर्वका रमाइला कथाहरु’ भन्ने किताब, जसलाई मैले धेरै पहिले ज्ञानको खोजीमा भौँतारिएर हिँड्दा आइतबारे पुराना किताबको हाट लाग्ने पुरानो दिल्लीको एउटा पेटीमा फेला पारेर पढेको थिएँ । धेरैजसो त त्यो किताब हङकङको सुन र समुद्री लुटेराहरुका बारेमा थियो तर यसमा केही उपयोगी सूचना पनि थियो । यसमा लेखिएको थियो कि चिनियाँहरु खुलापन र वैचारिक स्वतन्त्रताका पुजारी हुन् । बेलायतीहरुले तपाईंहरुलाई दास बनाउन खोजे तर तपार्इंहरुले दिनुभएन । महामहिम, म यसको खुलेर प्रशंसा गर्छु ।
म पनि कुनै बेला नोकरै थिएँ, थाहा छ तपाईंलाई !
यो दुनियाँमा मात्र तीन वटा देशहरुमा कहिल्यै शासन गरेन । ती हुन्, चाइना, अफगानिस्तान र अबिसिनिया । मैले मान्ने यी तीन वटा देश मात्रै हुन् ।
चिनियाँहरुले स्वतन्त्रताप्रति देखाएको मायाले अबको विश्वको भविष्य खैरा र पहेँलाकै हातमा छ भन्ने विश्वासले एकैछिन अगाडिसम्मका, सेतै रङ गरेका मेरा जागिरदाता ठगी, मोबाइलको दुरुपयोग र लागू पदार्थले कसरी समाप्त भए भन्ने छर्लङ्ग देखेकाले, म तपाईंलाई एक आना नलिई बैंगलोरका बारेमा सत्यतथ्य बताउने जमर्को गर्छु ।
र, शुरु म मेरो जीवनीबाट गर्छु ।

प्रेम सिग्देल
तपाईं जब बैंगलोर आइपुग्नु हुन्छ र कुनै एउटा ट्राफिक बत्तीको छेउमा रोकिनु हुन्छ, अनि कुनै एउटा केटो थोत्रो प्लास्टिकले बेरिएको अमेरिकी व्यवसायसम्बन्धी किताब लिएर दगुर्दै आएर कारको झ्यालमा ढक्ढक्याउने छ र जुन किताबको शीर्षक हुनेछः
व्यवसाय सफलताको रहस्य
अथवा
सातै दिनमा सजिलै सफल उद्यमी बनौँ
ती थोत्रा अमेरिकी किताबमा पैसा खर्च नगर्नुस् ।
ती सबैले हिजोको मात्र कुरा गर्छन् । ती सबै मात्र विगतका बकवास हुन् ।
तर म देख्छु भोलिको ।
औपचारिक शिक्षाको कुरा गर्दा, त्यो मसँग नगण्य छ । ठेट कुरा गर्नुपर्दा मैले स्कुले शिक्षा कहिल्यै पूरा गरिनँ । के मतलब ! मैले धेरै किताब पढेको छैन तर महङ्खवपूर्ण जति सबै भ्याएको छु । यस दुनियाँको अहिलेसम्मकै चार प्रसिद्ध कवि रुमी, इकबाल, मिर्जा गालिबका रनाहरु म खरर भन्न सक्छु तर त्यो चौथो कविको नाम चाहिँ बिर्सें ।
म स्वाध्यायनबाटै उद्यमी भएको हुँ ।
मलाई विश्वास गर्नुस्, सबैभन्दा उत्तम म नै हुँ ।
जब तपाईंले म यो शहरमा कसरी आएँ र सायद कसैले नचिन्ने गरी यो ठाउँको सफल उद्यमी कसरी भएँ भन्ने कुरा सुनेपछि तपाईंले जान्नैपर्ने कुरा जति सबै तपाईंलाई थाहा हुनेछ कि यौटा उद्यमशीलता कसरी जन्मन्छ, हुर्कन्छ र यो जटिल, तर गौरवमय एक्काइसौँ शताब्दीमा कसरी विकसित हुन्छ ।
यो शताब्दी विशेष गरी सेता र पहेँलाहरुकै अधीनमा छ । त्यो हो तपाईं र म ।
महामहिम, मध्य रात अझ थोरै बाँकी छ । तपाईंसँग मनका कुरा खोल्न यो उपयुक्त समय हो ।
महामहिम, म रातभरि निदाउन्नँ । यो मेरो जम्मा १५० वर्गफुटको अफिसमा कोही छैन । मात्र म र मभन्दा माथि एउटा झालरबत्ती छ, जसको आफ्नै विशेषता पनि छ । यो यौटा चमकदार हिरैहिराको जस्तो देखिने सिसाका टुक्राहरु भएको १८७० तिरको सिनेमामा देखाउने चमकदार वस्तुजस्तो छ । यहाँ रातमा सामान्य जाडो चाहिँ छ तर झालरबत्तीको माथि पाँचैवटा पातहरुमा माकुराको जालोले ढाकिएको एउटा सानो पंखा चाहिँ मैले राखेको छु । हेर्नुहोला, जब यो चल्छ त्यही झालरबत्तीबाट आउने प्रकाशलाई काटेर घुमिरहन्छ अनि कोठाभरि दोहोरो साँझका बत्तीहरु झपकझुपुक गरिरहेजस्तो देखिन्छ ।
यो बैंगलोरमा सामान्य १५० वर्गफिटको कोठामा मेरो झालरबत्ती भएको कोठा मेरो मात्रै हो ।
कोठा भित्ताको खोपीजत्रो छ तर यसैमा म रातभरि जाग्राम बस्छु ।
उद्यमीको दुर्भाग्य, उसलाई चौबीसै घण्टा व्यवसायप्रति चनाखो हुनुपर्छ ।
अब म त्यो सानो पंखालाई घुमाउँछु ताकि यो लाइटको बत्ती कोठाभरि घुमोस् ।
श्रीमान्, मलाईजस्तै तपाईंको गाथमा आराम होस् ।
अब शुरु गरौँ ।
शुरु गर्नुभन्दा पहिला मेरा भूपू रोजगारदाताकू भूपू श्रीमतीको अंग्रेजी भाषाको थेगो मलाई याद आउँछः त्यो हो– ‘क्या रमाइलो जोक !’
०००
म अहिले हिन्दी फिल्म हेर्दिनँ, साँच्चिकै तर पहिल्यै जब म हेर्थें त्यतिबेला सबैभन्दा पहिला या त अंक ७८६ कालो पर्दामा देखिन्थ्यो, जुन मुसलमानहरुको लच्छिनको अंक हो, जसले उनीहरुको भगवान्लाई प्रतिबिम्बित गर्छ । नत्र सेतो सारी लगाएकी महिलाको हातबाट सुनका सिक्काहरु गोडाको छेउमै खस्दै गरेको तस्बिर देखिन्थ्यो, जसलाई हिन्दुहरु लक्ष्मी मान्छन् ।
कथा वाचनपूर्व भगवान्को प्रार्थना गर्ने हाम्रो देशको अति प्राचीन र श्रद्धेय परम्परा हो ।
महामहिम,
म पनि कुनै भगवान्को नितम्बमा चुम्बन गरेर नै कथा शुरु गर्नुपर्छ भनी ठान्छु ।
कुन भगवान्को नितम्ब ? भगवान् धेरै छन् ।
हेर्नुस् त मुसलमानका जम्मा एउटा भगवान् छन् । क्रिस्चियनहरुका तीन वटा छन् र हामी हिन्दुहरुका तीन करोड साठी लाख । मेरो अगाडि जम्माजम्मी रोज्नलाई तीन करोड साठी लाख चार वटा भगवान्हरु छन् ।
तपाईं कम्युनिस्टहरु मात्र होइन, केही सोच्न सक्ने व्यक्तिहरु अरु राजनीतिक पार्टीमा पनि छन्, जसले यी धेरैजसो भगवान्हरु छैनन् भनी ठान्छन् । केहीले त कुनै पनि भगवान् छैनन् भनी ठान्छन् । भगवान् मान्ने हामी मात्रै छौँ र हाम्रो चारैतिर अन्धकारको समुद्र छ । म कवि हैन, न त दार्शनिक नै, अनि मजस्तो मूढले सत्य कसरी थाहा पाउनु ? साँचो कुरा के हो भने हाम्रा राजनीतिज्ञले जस्तै यिनीहरु पनि नगण्य काम गर्छन् तर पनि पटक पटक निर्वाचित भएर स्वर्गको त्यो स्वर्णगद्दीमा एकाधिकार कायमै राख्छन् ।
तर महामहिम,
यसको मतलब म नास्तिक हुँ भन्ने होइन । तपाईंको त्यो सुन्दर पहेँलो खप्परभित्र यस्तो अधर्मी विचार कहिल्यै नछिरोस् । मेरो देश यस्तो हो, जहाँ दोहोरो खेलको ठूलो पुरस्कार छ– भारतीय उद्यमीहरु सिधा र बेइमानी, आस्थावान् र उपहासक, इमानदार र बेइमानी एकै पटक बन्न जान्नुपर्छ ।
त्यसैले,
म दुवै हात जोडेर, श्रद्धापूर्वक आँखा चिम्लेर मेरो अँध्यारो कथामा प्रकाशपुञ्ज छरिदिन भगवान्सँग प्रार्थना गर्छु ।
श्रीमान् जियाबाओ, अप्ठेरो नमान्नुहोला । अलिकति समय लाग्न सक्छ ।
यति धेरै देउताको नितम्ब चुम्बन गर्न कति समय लाग्न सक्छ अनुमान गर्न सक्नुहुन्छ ?
०००
त्यो सिध्याइयो ।
मेरा आँखाहरु खुले ।
रातको ११:५२ भयो । अब साँच्चै शुरु गर्ने बेला हो । चुरोटको बट्टामा ‘वैधानिक चेतावनी’ लेखेजस्तै कथा शुरु गर्नुपूर्व म तपाईंलाई सावधान गराउँछु ।
एक दिन म मेरो भूपू रोजगारदाता श्रीमान् अशोक र उनकी श्रीमती पिङ्कीलाई होन्डासिटी कारमा सयर गराउँदै थिएँ, अशोकजीले मेरो काँधमा हात राखेर ‘गाडी साइड लगा’ भन्नुभो । त्यसपछि अगाडि निहुरेर नम्र स्वरमा भन्नु भो, ‘बलराम म तिमीलाई केही कुरा सोध्छु, ठीक छ ?’ उहाँको आफ्टरसेभ हरर बास आयो ।
‘ठीक छ सर,’ मैले भनेँ ।
‘बलराम यो आकाशमा कति वटा ग्रह छन् ?’ अशोकजीले सोध्नुभयो ।
मैले मेरो बुद्धिले भ्याएसम्म बताएँ ।
‘भारतको पहिलो प्रधानमन्त्री को हो ?’ फेरि सोध्नुभो ।
अनि फेरि ‘हिन्दू र मुसलमानका बीच के फरक छ ?’ फेरि ‘हाम्रो महादेशको नाम के हो ?’ पछि ढल्केर पिङ्की मेडमलाई सोध्नुभयो, ‘तिमीले उसको उत्तर सुन्यौ ?’ ‘मजाक गरेको त हैन उसले ?’ उनले सोधिन् । मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो ।
जसरी प्रत्येक चोटि उनी बोल्दा हुने गर्थ्यो ।
‘होइन । ठीक उत्तर नै त्यो हो भनिठान्छ उसले,’ यो सुनेर उनले खित्का छाडिन् तर ऐनामा हेर्दा अशोकको अनुहार गम्भीर थियो ।
‘कुरा के हो भने सायद ऊ दुई तीन वर्षभन्दा बढी स्कुल गएको छैन । ऊ पढ्न लेख्न सक्छ तर के पढ्यो थाहा छैन । नपाकेको रोटीजस्तो । सुन न, उनले मतिर देखाउँदै भने, ‘यो देशमा यस्ता मूर्ख धेरै छन् । हाम्रो गौरवमय संसदीय प्रजातन्त्र यस्तैको विश्वासमा टिकेको छ । यो देशको दुर्भाग्य नै यही हो ।’ उनले लामो सास फेरे ।
‘ठीक छ । बलराम गाडी स्टार्ट गर,’ उनले भने ।
त्यो रात म झुलभित्र बसेर उनका शब्दहरु सोच्दै थिएँ । श्रीमान्, उनले भनेको साँचो हो– जुन पाराले भने मलाई मन परेन तर कुरा चाहिँ साँचो हो ।
‘काँचो रोटीको जीवनी,’ मेरो जीवनलाई यही नाम राख्दा उचित होला ।
यो देशमा म र मजस्ता हजारौँ मूर्खहरु मैजस्ता काँचो रोटी छन् किनकि हामीले स्कुल शिक्षा कहिल्यै पूरा गर्न पाएनौँ । हाम्रो खप्पर खोलेर पेन टर्च बालेर हेर्नुस् अनि देख्नुहुन्छ हजारौँ अनौठो विचारहरुको संग्रहालयः ‘स्कुले किताबबाट घोकिएका इतिहासका र गणितका वाक्यहरु (स्कुले शिक्षाबाट वञ्चित गरिएको बच्चालाई जति राम्रोसँग स्कुले जीवनको बारेमा सम्झना कसैलाई पनि हुँदैन ।) अफिसमा कसैलाई कुर्नुपर्दा पढेको पत्रिकाका राजनीतिक लेखका अंशहरु, चिया पसलेकोमा सामान पोका पार्न राखेका थोत्रा त्रिकोणमितिका किताबमा देखेका त्रिभुज र पिरामिडहरु, अल इण्डिया रेडियोको खबरका अंशहरु, निदाउनुभन्दा अघि भित्ताबाट छेपारो खसेजस्तै दिमागमा खस्ने तरङ्गहरु, यस्तै यस्तै अद्र्धविचारहरु जुन आधा सही छन् र म अनुमान गर्छु कि दिमागमा रहेका सबै अद्र्धविचारहरु एकआपसमा लड्छन् र अझ बढी अर्द्धविचारहरु जन्मन्छन् र तपाईंले यिनैसँग बाँच्नु पर्छ ।
मेरो जीवनकथा भनेकै अर्द्धमान्छेको उत्पादन कसरी हुन्छ भन्ने हो ।
तर महामहिम, ध्यान दिनुस् । बुद्धि भएका मानिसहरु १२ वर्ष स्कुल, तीन वर्ष विश्वविद्यालयपश्चात्, राम्रो लुगामा ठाँटिन्छन्, कुनै कम्पनीमा जागिरे हुन्छन् र जीवनभरि अरुको आज्ञा पालन गर्छन् ।
उद्यमीहरु आधा काँचो माटोबाटै बन्छन् ।
०००
मेरो बारेमा साँच्चिकै तपाईंलाई भन्नुपर्दा पुलिसले बनाएको मेरो हुलियाले मेरो सबै वास्तविकता– पुख्र्यौली, उचाइ, तौल, यौन विकृति आदि– बताउँदैन ।
थोरैले चिनेको बैंगलोरको सफल व्यक्ति मै हुँ भन्ने कुरा सोह्रै आना साँचो होइन, यो म स्वीकार्छु । तीन वर्षअघि जब म एउटा उद्यमीको हैसियतमा राष्ट्रिय महङ्खवको व्यक्ति भएँ, मेरो फोटो अंकित पोस्टर यो देशका सबै स्टेसन, सबै थाना, सबै हुलाकमा छ्यापछ्याप्ती भो । त्यतिबेला धेरै मान्छेले मेरो फोटो र नाम थाहा पाए । मसँग अहिले त्यो पुरानो कपी त छैन तर मैले सिंगापुरबाट अनलाइनमा किनेको म्याकिन्टोस ल्यापटपमा एउटा त्यै फोटो डाउनलोड गरिराखेको छु । साँच्चै यो सब सपनाजस्तो लाग्छ । एकैछिन पख्नुस् है त, म ल्यापटप खोलेर त्यो पोस्टर निकालेरै त्यसबाटै पढेर सुनाउँछु… ।
तर त्यो पुरानो पोस्टरका बारेमा एउटा कुरा भन्छु । यो मैले दिल्लीबाट बैंगलोर आउने क्रममा हैदारबादको एउटा स्टेसनमा भेट्टाएको हो । त्यतिबेला मसँग एउटा रातो गह्रुँगो ब्रिफकेसबाहेक केही थिएन । त्यो मुख्यप्रति त मेरो अफिसको टेबलको घर्रामा एक वर्षदेखि थियो । एक दिन त कोठा सफा गर्ने केटाले मेरा सबै सामानहरु खोतलखातल पार्दा झण्डै फेला पारेको । श्रीमान् जियाबाओ, म त्यति भावुक मान्छे होइन । उद्यमीहरु भावुक बन्नै सक्तैनन् । त्यसैले मैले त्यसलाई फ्यालिदिएँ तर त्यसअघि कसैले स्क्यानिङ गर्न सिकाइदियो । तपाईंलाई याद होला जसरी हाँस सजिलै तैरिन सिक्छ, भारतीयहरु नयाँ प्रविधिलाई सजिलै टिप्छन् । सिन जम्मा एकदुई घण्टा लाग्यो होला । श्रीमान् म काममा विश्वास गर्ने मान्छे हो, बोलीमा होइन । अहिले यो मेरो अगाडि कम्प्युटर स्क्रिनमा छ । म पढ्दैछुः
‘हराएको मानिसको खोजीमा सहयोगको अपेक्षा गरिन्छ ।’
सर्वसाधारणलाई यो सूचित गरिन्छ कि पोस्टरमा देखिने व्यक्ति रिक्साचालक विक्रम हलुवाईको छोरा बलराम हलुवाई उर्फ मुन्ना हो । निजलाई केही सोध्नुपर्ने भएकाले खोजिएको छ ।
उमेरः २५ देखि ३५ वर्ष
रङः कालो
अनुहारः अण्डाकार
उचाईः अन्दाजी ५ फुट ४ इञ्च
शरीरको बनावटः दुब्लो, सानो
श्रीमान् यो सबै ठ्याक्कै सही छैन । ‘कालो अनुहार’ सही हो, बाँकी सबै वाहियात । म पनि भर्खरै बजारमा आएको सेतो पार्ने क्रिम लगाएर पश्चिमाजस्तै गोरो बन्ने सोचमा छु तर पनि अझै दुविधामा छु । बैंगलोरको जीवन राम्रो छ– मीठो खाना, बियर, नाइट क्लब, त्योभन्दा के चाहियो ? ‘दुब्लो’, ‘सानो’ हा हा हा । मेरो शरीर अचेल अर्कै छ । अब त ‘मोटो’, ‘भुँडे’ भन्दा ठीक होला ।
समय धेरै छैन । त्यसैले अघि बढौँ । यो कुरा अहिले नै गर्दा ठीक होला ।
बलराम हलुवाई उर्फ मुन्ना… ।
मेरो स्कुलको पहिलो दिन हाम्रो मास्टरले सबैलाई लाइनमा उभ्याएर पालैपालो बोलाएर रजिस्टरमा नाम लेख्यो । जब मेरो नाम मैले भनेँ, मास्टर त वाल्ल पर्यो र भन्यो, ‘मुन्ना ? यो त खास नाम होइन ।’
कुरा ठीकै हो, मुन्नाको अर्थ ‘केटा’ हो ।
‘मसँग भएको नाम त त्यही सर,’ मैले भनेँ । कुरा ठीक हो । मेरो नाम कहिल्यै राखिएन ।
‘आमाले नाम राखिदिइनन् ?’ उनी कड्के ।
‘उहाँ धेरै बिरामी हुनुहुन्छ सर । ओछ्यान पर्नु भा छ । रगत बान्ता गर्नुहुन्छ । नाम राख्ने फुर्सदै छैन ।’
‘बाउ छैन तेरो ?’
‘उहाँ रिक्सा चलाउनुहुन्छ । मेरो नाम राख्ने फुर्सदै छैन ।’
‘तेरा आमा, काका, काकी छैनन् ?’
‘उहाँहरुको पनि समय छैन सर ।’
मास्टरले यसो उता फर्केर कक्षाकोठाको भुइँमा पिच्च पान थुके अनि ओठ चाटे ।
‘ए त्यसो भए तेरो नाम मैले राख्दिन पर्यो हैन त ?’
यसो कपाल कन्याएर भने, ‘हामी तँँलाई राम भन्छौँ ।’
‘ए पख् । यो कक्षामा कुनै राम त छैन नि ? अलमल नहोस् फेरि । ल तेरो नाम बलराम । बलराम को हो तँलाई थाहा छ नि, हैन ?’
‘छैन सर ।’
‘उनी कृष्ण भगवान्का प्रिय मान्छे हुन् । तँलाई मेरो नाम था छ ?’
‘छैन सर ।’
उनले हाँस्दै भने, ‘मेरो नाम कृष्ण हो ।’
त्यो दिन घर आएपछि सरले मलाई नयाँ नाम दिएको कुरा मैले बालाई सुनाएँ । बाले कुम हल्लाउनुभो र भन्नुभो, ‘सरले चाहनछन् भने हामी तँलाई त्यही भनौँला ।’
त्यसपछि म बलराम भएँ । धेरै पछि मैले तेस्रो नाम धारण गरेँ तर त्यसको चर्चा पछि गरौँला ।
अब सोच्नुस्, यो ठाउँ कस्तो होला जहाँ मान्छेहरु आफ्नो सन्तानको नाम राख्न बिर्सन्छन् ।
पोस्टरतिरै फर्कौं हैः
‘त्यो शंकास्पद मान्छे लक्ष्मणगढ भन्ने ठाउँबाट आएको हो… ।’
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

