साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

आशिक–करिब

Chovar Blues Mobile Size

एकपल्ट टिफललिसको शहरमा एकजना धनी तुर्क बस्थे । भगवान्ले उनलाई धेरै धन–दौलत दिएका थिए तर धन-दौलतभन्दा पनि अझ प्यारो चिज उनकी एउटै छोरी थिइन्– मसगल मेगरी । आसमानको चाँदजस्तै मेगरी अति सुन्दर थिइन्, रातको हावामा हल्लने पातजस्तै चित्तहरिणी थिइन् । असंख्य ताराको चमकमा उनी जगमग–जगमग जगमगाउँथिन् । उनको गाढा कालो केश चमचम चम्कन्थ्यो, मुहारको रोशनीमा उनको नजर पनि धमिलो हुन्थ्यो । सम्पूर्ण टिफलिस शहरमा मुगल मेगरी अत्यन्त सुन्दर रमणी थिइन् ।

टिफलिसमा एकजना आशिक–करिब भन्ने गरिब मानिस बस्थे । भगवानले उनलाई विशाल हृदय र गाउन सक्ने शक्ति दिएका थिए । उसको स्वरमा एउटा मोहनी थियो, एउटा जादु थियो । उनी बिहे–बटुलो, उत्सव–पर्वमा जान्थे र गितारमा गीत गाएर मानिसहरुलाई झुमझुम पार्थे । यस्तै एउटा बिहे–बटुलोमा उनले मुगल मेगरीलाई देखे अनि मन्त्रमुग्ध भए । मुगल मेगरी पनि उनको गीत सुनेर मोहित भइन् तर आशिक–करिबजस्तो गरिब मानिसले उनलाई आफ्नी पत्नी बनाउने आशा गर्नु व्यर्थ थियो । त्यसैले उनी शीतकालको आकाशझैँ उदास हुन्थे ।

एक दिन उनी एउटा बगैँचाको कोमल घाँसमाथि पल्टेका थिए । मुगल मेगरी आफ्ना सहेलीहरुसँग त्यही बाटो जाँदै थिइन् । एउटी सहेलीले त्यस प्रसिद्ध गायकलाई घाँसमा पल्टिरहेको देखिन् । उनी रोकिइन् र उनको छेउमा गएर गीत गाइन्, ‘तपाईं यहाँ पल्टिनु भएको ? उनी त यही बाटो जाँदैछिन् ।’

आशिक–करिब ब्युँझे तर ती सहेली चराजस्तै उडिहालिन् । सहेलीले गाएको मुगल–मृगरीले सुनिन् अनि उनी रिसाइन्।

‘म कोसित गीत गाएको हुँ, तिमीलाई थाहा छ ? ऊ त तिम्रै आशिक–करिब हो !’

‘कहाँ छ ऊ ? मलाई त्यहाँ लैजाऊ न !’ मुगल–मेगरीले चिच्याएर भनिन् अनि उनीहरु त्यतैतिर गए ।

आशिक–करिबको दुःखी अनुहार देखेर तिनले सोधिन्, ‘तपाईं किन दुःखी हुनुभएको ?’

आशिक–करिबले भने, ‘म किन दुःखी नहुनु ? मैले तिमीलाई चाहेको थिएँ तर म गरिब छु र तिमीलाई बिहे गर्न सक्तिनँ ।’

‘किन र ?’ मुगल मेगरीले भनिन्, ‘जानुहोस्, मेरो बाबासँग मेरो हात माग्नुहोस् । बाबाले हाम्रो बिहे गदिने छन् । त्यसपछि हामीलाई प्रशस्त सुन–चाँदी दिनेछन् र हामीलाई जीवनभर खान पुग्नेछ ।’

‘ठिकै हो,’ आशिक-करिबले भने, ‘तिम्रा बाबाले तिमीलाई सबैथोक दिनेछन् तर पछि तिमीले मेरो आफ्नो केही छैन भनेर मलाई गाली गरौली । होइन, होइन, मुगल मेगरी ! मैले कसम खाएको छु, म सात वर्षसम्म संसारको यात्रामा जानेछु । कि त म अत्यन्त धनी भएर आउनेछु कि त उतै कङ्गाल भएर मर्नेछु । यदि तिमीले मलाई पर्खने वचन दिन्छ्यौ भने म अवश्य आउनेछु र तिमीलाई बिहे गर्नेछु ।’

उनले सात वर्षसम्म पर्खन्छु भनेर वचन दिइन् तर फेरि भनिन्, सात वर्षमा उनी आएनन् भने उनले खुर्शिद बेगसँग बिहे गर्नेछिन् ।

आशिक–करिब आफ्नी आमाकहाँ गए र यात्राको सफलताको लागि आशीष मागे । त्यसपछि सानी बहिनीसँग बिदा मागेर एउटा झोला बोकी उनी यात्रामा हिँडे्पछि एउटा घोडसवार उनकै नजिक आयो । आशिक–करीबले हेरे– ऊ त खुर्शिद बेग पो रहेछ !

‘तपाईंको यात्रा सफल होस्,’ खुर्शिद बेगले भन्यो, ‘तपाईं जहाँ गए पनि म तपाईंको साथी हुनेछु ।’

आशिक–करिबलाई यस्तो साथी मन परेको थिएन तर के गर्ने ? केही उपाय थिएन । धेरै समयसम्म उनीहरु सँगसँगै हिँडे । त्यसपछि उनीहरु एउटा नदीको छेउमा आइपुगे । नदीमा पुल थिएन ।

‘तपाईं पहिला पौडी खेलेर पार गर्नोस्, त्यसपछि म आउनेछु,’ खुर्शिद बेगले भन्यो ।

आशिक–करिबले लुगा फेरेर पौडी खेले अनि पारि पुगे । उनले फर्केर हेरे तर कस्तो अचम्भ ! खुर्शिद बेग त उनको लुगा लिएर टिफलिसतिर हिँडिसकेको थियो । त्यहाँ धुलोको बादल उडिरहेको थियो ।

टिफलिस पुगेर खुर्शिद बेगले आशिक–करिबकी आमालाई छोराको लुगा दिदैँ भन्यो, ‘तपाईंको छोरा एउटा गहिरो नदीमा डुब्यो । यो उसको लुगा हो ।’

विचरी आमा शोकले व्याकुल भइन् अनि त्यही लुगामा डाँको छोडेर ढलिन् । त्यसपछि उनले छोराको लुगा मुगल मेगरीकहाँ लिएर गइन् र भनिन, ‘मेरो छोरो नदीमा डुब्यो । खुर्शिद बेग यो लुगा लिएर आएको थियो । अब तिमी स्वतन्त्र भयौ ।’

मुगल मेगरी मज्जाले हाँसिन्, ‘यस्तो कुरामा विश्वास नगर्नोस् । यो सबै खुर्शिद बेगको चलख्याइँ हो । सात वर्ष नबितेसम्म म बिहे गर्नेछैन । सात वर्षसम्म मेरो कोही पनि पति हुनेछैन ।’

त्यसपछि उनले भित्ताबाट गितार निकालिन् र आशिक–करिबको प्यारो गीत गाउन थालिन् ।

यसैबिच हाम्रा यात्री आशिक–करिब लुगा र जुत्ताबिना नै हिँडेर एउटा गाउँमा पुगे । त्यहाँका दयालु मानिसहरुले उनलाई खाना र लुगा–फाटा दिए । धन्यवादस्वरूप आशिक–करिबले उनीहरुलाई सुन्दर–सुन्दर गीतहरु सुनाए । यसरी उनी गाउँ–गाउँ, शहर–शहर डुल्दै हिँडे । उनको नाम सबैतिर फैलियो उनका गीतहरु सबैतिर गुञ्जिए । आशिक-करिब सधैँजस्तो चिया दोकानमा गएर गिटार माग्थे अनि गीत गाउँथे । त्यस समयमा खलाफ भन्ने शहरमा एकजना पाशा बस्थे, जो संगीतका भक्त थिए । धेरै गायकहरु उनीकहाँ आए तर कसैले पनि उनलाई खुशी पार्न सकेनन् । शहरका कुना–काप्चामा गायकहरु खोज्दा–खोज्दा उनका नोकरहरु हैरान भएका थिए । यसरी खोज्दै हिँड्दा उनीहरुले चियादोकानबाट मीठो स्वर आइरहेको सुने । उनीहरू त्यही दोकानतिर गए ।

‘आऊ, हामीसित हाम्रा पाशाकहाँ,’ उनीहरुले भने, ‘नत्र तिमीले दण्ड पाउनेछौ ।’

‘म एउटा स्वतन्त्र मानिस हुँ । टिफलिस शहरको एउटा घुमन्ते !’ आशिक-करिबले जवाफ दिए, ‘जब मलाई जान मन लाग्छ अनि मात्र जान्छु । जब मलाई गाउने इच्छा हुन्छ, तब म गाउँछु । तिम्रो पाशा मेरो मालिक होइन ।’

तर तिनीहरुले उनलाई समाते अनि पाशाको सामु ल्याए ।

‘गीत गाऊ,’ पाशाले हुकुम दिए अनि उनले गीत गाए । उनको गीत मुगल-मेगरीको थियो । यो गीत सुनेर पाशा यति खुशी भए कि तिनलाई उनलाई त्यही दरबारमा बस्ने आज्ञा दिए । उनीमाथि सुन–चाँदी, हीरा–मोती बर्साए अनि उनलाई चम्किलो पोशाक पहिराए । आशिक-करिब आनन्दसित बसे । पासाको उपहारले उनी धनी भए ।

शायद उनले मुगल मेगरीलाई बिर्सिसकेका थिए । जे भए पनि सात वर्ष पूरा हुन लागेको थियो तर उनले त्यहाँबाट जाने केही तयारी गरेका थिएनन् ।

सुन्दरी मुगल मेगरी निराश थिइन् । त्यसबेला एउटा व्यापारी सामान बेच्न बाहिर जान लागेको थियो । मुगल मेगरीले उसलाई बोलाइन् र एउटा सुनको थाल दिइन् र भनिन्, ‘यो थाल लैजाऊ र जुन शहरमा तिमी जान्छौ यो थाल देखाऊ । जसले यो थाल मेरो हो भन्छ उसैलाई यो दिनू।’

व्यापारी गयो । जुन-जुन शहरमा ऊ जान्थ्यो, उसले त्यो थाल देखाउँथ्यो तर कसैले पनि मेरो हो भनेन । आफ्ना सबै सामानहरु बेचिसकेर ऊ खलाफमा आयो । एक दिन आशिक–करिबले एउटा व्यापारीले सुनको थालको धनी खोज्दै हिँड्को कुरा सुने । उनी त्यो व्यापारी कहाँ दगुरेर गए । हेर्छन् त, उनकै सुनको थाल !

‘यो मेरो थाल हो,’ उनले भने ।

व्यापारीले भन्यो, ‘हो, निश्चय पनि यो तिम्रो थाल हो । आशिक–करिब, म तिमीलाई चिन्छु । तिमी झट्ट टिफलिस जाऊ । मुगल मेगरीले भनिपठाएकी छन्, सात वर्ष बित्न लागेको छ । ठीक समयमा तिमी पुगेनौ भने उनले अर्कै मानिससँग बिहे गर्नेछिन् ।’

निराश भएर आशिक-करिबले हातले आफ्नो शिर समाते । अब तीन दिन मात्र बाँकी थियो । तैपनि आफ्ना सम्पूर्ण सामान झोलामा हालेर घोडामा चढेर उनी हिँडे । तिनले घोडा बडो वेगले दगुराए । अन्तमा त्यो पशु लखतरान भएर भुइँमा ढल्यो अनि इर्जिगानको पहाडमा त्यसले प्राण त्याग गर्यो । अब उनले के गर्ने ? इर्जिगानदेखि टिफलिस झण्डै एक महिनाको बाटो थियो । अब उनको हातमा दुई दिन मात्र बाँकी थियो ।

‘हे भगवान !’ उनी कराए, ‘तपाईंले मेरो सहायता गर्नुभएन भने संसारमा मेरो केही रहने छैन ।’

अनि हतास भएर उनी एउटा अग्लो पहाडको टुप्पाबाट हामफाल्न लागेका थिए । हठात्, उनले तलतिर सेतो घोडामा सवार एक जनालाई देखे अनि उसको चर्को स्वर सुने, ‘ए, युवक! तिमीले के गर्न आँटेको ?’

‘म मर्न चाहन्छु !’ आशिक-करिबले भने ।

‘तिमी मर्न चाहन्छौ भने तल आऊ, म तिमीलाई मार्छु !’ आशिक–करिब बडो मुश्किलले पहाडदेखि तलतिर झरे ।

‘मेरो पछि आऊ !’ घोडासवारले चर्को स्वरमा भने ।

‘म कसरी तपाईंको पछि आउनु ? तपाईंको घोडा बतासजस्तो दगुर्छ अनि मेरो काँधमा झोला पनि छ ।’

‘ठिकै हो । तिम्रो झोला घोडामाथि राख अनि तिमी मेरोपछि आऊ ।’

तर आशिक-करिब जति नै चाँडो दगुरे पनि पछि नै पर्थे । यो देखी घोडसवारले भने, ‘ठीक छ । तिमी मेरो पछाडि घोडामा बस । मलाई साँचो भन, तिमी कहाँ जान चाहन्छौ ?’

‘आज म इर्जिरमसम्म पुग्न पाए पनि हुन्थ्यो,’ आशिक–करिबले भने ।

‘आँखा बन्द गर,’ घोडासवारले भने । आशिक–करिबले आँखा बन्द गरे ।

‘अब आँखा खोल,’ आशिक-करिबले आँखा खोलेर हेरे । उनको अगाडि इर्जिरमको सेता पर्खालहरु र महलहरु चम्किरहेका थिए ।

‘मलाई क्षमा गर्नोस् महासय,’ आशिकले भने, ‘म कार्ससम्म जान चाहान्छु ।’

‘मलाई शंका लागेको थियो,’ घोडासवारले भने, ‘तिमीले मसँग साँचो बोल्नु पर्छ । लौ अब आँखा बन्द गर । लौ अब आँखा खोल ।’

कार्स आइपुगेको थियो । आशिक-करिबलाई विश्वासै लागेन । उनले घुडाँ टेकेर भने, ‘मलाई क्षमा गर्नोस् । मैले झूटो बोलेँ । म त टिफलिस जान चाहन्छु ।’

‘अँ, तिमीलाई विश्वास गर्नु हुँदैन रहेछ तर ठीक छ । म तिमीलाई क्षमा गर्छु । लौ आँखा बन्द गर । अब आँखा खोल,’ एकछिन पछि तिनले भने ।

आशिक–करिब खुशीले चिच्च्याए । उनकै अघि टिफलिसको फाटक थियो ।

तिनले घोडासवारलाई सहस्र धन्यवाद दिए अनि आफ्नो झोला टिपेर जान लाग्दा तिनले भने, ‘महाशय, तपाईंले ममाथि ठूलो गुन लाउनुभयो तर म एउटा कुरा बिन्ती गर्छु । त्यो के हो भने म इर्जीगानदेखि टिफलिस एकै दिनमा आइपुगेँ तर कसैले पनि यो कुरा विश्वास गर्नेछैन । मैले कसरी प्रमाण दिनु ?’

घोडासवारले मुसुमुसु हाँस्दै भने, ‘तिमी निहुरेर घोडाको टापबाट एक डल्ला माटो टिपेर लैजाऊ । कसैले तिम्रो कुरा विश्वास गरेन भने उसलाई सात वर्षदेखि अन्धी भएकी आइमाई तिम्रोसामू ल्याउन भन्नू अनि यो माटो उसको आँखामा लगाइदिनु । उसले देख्न सक्नेछे ।’

आशिक-करिबले घोडाको टापबाट माटोको डललो टिपेका मात्र थिए, त्यहीबेला घोडा र घोडसवार अन्तर्ध्यान भए । त्यतिबेला तिनको आत्माले चाल पायो, तिनको हितकारी महान् सन्त रहेछन् ।

निकै रात बितेपछि आशिक-करिब आफ्नो घरमा पुगे । काम्दै गरेको हातले तिनले ढोका ढक्ढकाए अनि कराए, ‘आमा ! आमा ! ढोका खोल न ! म भगवानको पाहुना हुँ । म भोक र जाडोले मर्न लागेको छु । म प्रार्थना गर्छु ।

‘तिम्रो घुमन्ते छोरालाई भित्र आउन देऊ । ’

‘यहाँ हुँदैन । रातिका घुमन्तेहरुको निम्ति धनी मानिसका घरहरु छन् ।

‘होइन आमा, मलाई भित्र आउन देऊ ।’

‘पर बिहे–घर छ । त्यहीँ गएर रात बिताऊ,’ आमाले भनिन् ।

त्यसपछि बहिनीले आमालाई भनी, ‘म उठेर ढोका खोलिदिन्छु ।’

‘तँ बाठी न हो,’ आमाले भनिन्, ‘पाहुनामा तँलाई किन चासो ? म सात वर्षदेखि आफ्नो छोराको निम्ति रुदाँ–रुदाँ अन्धी भएकी छु । तँलाई भने खुशी छ, होइन ?’

तर आमाको गाली उसले टेरिन र उठेर ढोका खोलिदिई । आशिक–करिब भित्र पसे । सबैलाई अभिवादन जनाए अनि उत्तेजनासाथ कोठाको वरिपरि हेर्न थाले । भित्तामा धुलैधुलो लागेको उनको गिटार झुण्डिएको थियो ।

उनले भने, ‘आमा, भित्तामा झुण्डिएको त्यो के हो ?

‘तिमी निकै खोजिनीति गर्ने पाहुना रहेछौ । आज बस । भोलि बिहानै यहाँबाट हिँडिहाल्नू ।’

मैले अघि नै भने त तिमी मेरी आमा हौ, ऊ मेरी बहिनी हो,’ तिनले भने, ‘म बिन्ती गर्छु त्यो भित्तामा झुण्डिएको के हो , भन न ?

‘त्यो गिटार हो, गिटार,’ बूढी आमाले रिसाएर भनिन् ।

‘आमा, म बजाऊँ ?’

‘हुँदैन, हुँदैन !’ आमा कराइन्, त्यो मेरो दुःखी छोराको हो । सात वर्षदेखि त्यो त्यसरी नै झुण्डिरहेको छ । कसैले छोएको छैन ।’

तर बहिनी उठी, गिटार निकाली अनि आशिकलाई दिई । त्यसपछि उनले आकाशतिर हेरेर प्रार्थना गरे, ‘हे भगवान् ! मेरो इच्छा पूरा होस् ।’

त्यसपछि तिनले गिटार बजाए । तारहरुको सुरिलो स्वर, झंकृत भयो अनि उनले गीत गाउन थाले, ‘म एउटा गरिब घुमन्ते हुँ । मेरा शब्दहरु पनि गरिब छन् अनि आमा ! के यस घुमन्तेलाई चिनिनौ ?’

आमा धुरुधुरु रोइन् अनि उनलाई सोधिन्, ‘तिम्रो नाम के हो ?

‘मलाई रसीद भन्छन्,’ उनले बताए ।

‘रसिद,’ उनले भनिन्, ‘तिम्रो गीतले मेरो हृदयलाई छियाछिया पार्यो । आज राति मेरो केश सेतै भएर फुलेको सपना देखेँ । सात वर्षदेखि रुँदा–रुँदा आँसुले मेरा आँखा अन्धा भएका छन् । मेरो छोराको स्वर भएको रसिद, भन त मेरो छोरा कहिले आउँछ ?’

उनले बताए, उनी नै हुन उनका छोरा तर तिनले विश्वास गरिनन् । केहीबेरपछि उनले भने, ‘आमा, यो गिटार लिए। जान्छु । यहीँ कतै बिहे हुँदैछ भनेको सुनेको छु – मेरी बहिनीले बाटो देखाइदिन्छे । म त्यहाँ गिटार बजाउँछु र गीत गाउँछु अनि त्यहाँबाट जे पाउँछु, म यहीँ ल्याउँछु ।’

‘हुँदैन नानी,’ बूढी आमाले भनिन्, ‘यो मेरो छोराको हो । ऊ गएदेखि यो गिटारले घर छोडेको छैन ।’ तर आशिक–करिबले कसम खाए, ‘आमा, यसको एउटा तार पनि चुँडियो भने म मेरो सम्पूर्ण सम्पत्ति तिमीलाई दिनेछु ।’

त्यसपछि बहिनीले उनलाई बिहेघरमा लगी, जहाँ मस्तसँग पाहुनाहरु मोज गरिरहेका थिए ।

मुगल मेगरी यही घरमा बस्थिन् । त्यही रात उनी खुर्शिद बेगकी दुलही बन्न लागेकी थिइन् । खुर्शिद बेग आफ्ना साथीहरुसँग मस्तसँग मोज गरिरहेको थियो । एउटा पर्दापछि मुगल मेगरी सहेलीहरुसित उदास अनुहार लिएर बसेकी थिइन् । उनको एउटा हातमा विषको प्याला थियो औ अर्को हातमा छुरी । त्यही रात उनले खुर्शिद बेगकी दुलही हुनुभन्दा बरु आत्महत्या गरेर मर्छु भनी कसम खाएकी थिइन् । त्यहीबेला कोही आगन्तुक भित्र पसेर यो कुरा भनेको सुनिन्, ‘महाशयहरु हो, तपाईंहरुलाई नमस्कार छ । म एउटा घुमन्ते हुँ र यहाँ बिहेको भोजमा म गीत गाउन आएको हुँ । मलाई अनुमति दिनुहोस् ।’

‘ठिक छ । ठीक छ,’ खुर्शिद बेगले भन्यो, ‘यहाँ गायक र नर्तकीहरुलाई स्वागत छ किनभने यो बिहेको समारोह हो । यसैले ए घुमन्ते, हामीलाई गीत गाएर सुनाऊ । तिमीलाई एक मुठी सुन दिउँला ।’

त्यसपछि आशिक–करीबले गिटार बजाएर गाउन थाले, ‘खलाफको शहरमा मैले मेजिरियाको मदिरा पिएँ तर अल्लाहले मलाई पखेटा दिए औ म यहाँ तीन दिनमा उडेर आएँ ।’

यो सुनी खुर्शिद बेगको भाइले छुरी निकालेर भन्यो, ‘तँ ढाँट्दैछस् । खलाफदेखि टिफलिस कसरी तीन दिनमा आइपुगिन्छ ?’

‘मलाई किन मार्न चाहनुहुन्छ ?’ आशिक-करिबले भने, ‘संसारभरिका गाइनेहरु एक ठाउँमा भेला हुने यो त चलन नै चलेको छ ।’

‘उसलाई गाउन देऊ,’ खुर्शिद बेगले भन्यो । आशिक-करिबले फेरि गाउन थाले, ‘मैले बिहानको प्रार्थना इर्जीगानमा पाठ गरेँ, दिउँसोको प्रार्थना कार्समा र रातको प्रार्थना टिफलिसमा । अल्लाहले एउटा सेतो घोडा पठाइदिए, त्यो नर्तकीको चालमा हिँडन थाल्यो, पहाडदेखि खोँचमा उफ्रियो अनि खोचदेखि पहाडमा । अल्लाहले आशिकलाई पखेटा दिए अनि ऊ अहिले मुगल–मेगरीको बिहेमा उडेर आइपुग्यो ।’

यतिबेला मुगल मेगरीले उनको स्वर चिनिन् अनि हातको प्याला र छुरी फ्याँकेर उठिन् । कैँचीले पर्दा च्यातेर चियाइन् । उनको प्रिय आशिक–करिब त्यहाँ उभिरहेको देखिन् । खुशीले चिच्च्याउँदै उफ्रँदै आएर उनले आशिक–करिबलाई च्याप्प समातिन् । अहिले उनका आँखाबाट आँसु बररर झरे तर ती खुशीका आँसु थिए । खुर्शिद बेगको भाइले उनीहरुलाई छुरी हान्नै आँटेको थियो, त्यतिबेला खुर्शिद बेगले भन्यो, ‘शान्त हौ । मानिसको भाग्यमा जे लेखिएको हुन्छ, त्यो मेटिँदैन ।’

खुर्शिद बेगले फेरि भन्यो, ‘अहिले मैले चिनेँ तिमी आशिक–करिब रहेछौ । तर हामीलाई भन, तिमी कसरी यति टाढा बाटो यति छिटो आइपुग्यौ ?’

आशिक–करिबले भने, ‘यदि मैले साँचो बोलेको होइन रहेछ भने तपाईं मेरो गला रेट्न सक्नुहुन्छ । तर तपाईंहरुलाई प्रमाण दिन्छु, मेरो अघिल्तिर सात वर्षदेखि अन्धी भएकी आइमाईलाई ल्याउनुहोस्, म उसलाई उसको दृष्टि फर्काइदिनेछु ।’

आशिक-करिबकी बहिनीले यो कुरा सुनी र दौडँदै गएर आमालाई भनी, ‘आमा, ऊ त साँच्चै मेरै दाजु रहेछ, तिम्रो छोरो आशिक करिब ।’

अनि उसले आमालाई हातले डोर्याएर त्यो बिहे घरमा लगी । त्यसपछि आशिक-करिबले गोजीबाट माटो निकालेर पानीमा भिजाएर आमाको आँखामा लगाइदिए अनि भने, ‘हे महानुभावहरु, यो उनै महान् सन्त जर्जको चमत्कार हो।’

अहिले आमाले दृष्टि पाइन् अनि आफ्नो छोरालाई चिनिन् । तिनको हर्षको सीमा रहेन ।

त्यसपछि खुर्शिद बेगले ती सुन्दरी मुगल–मेगरीलाई आशिक–करिबका हातमा सुम्पिदियो ।

हर्षित हुँदै आशिक–करिबले खुर्शिद बेगलाई भने, ‘सुन्नुहोस्, खुर्शिद बेग ! म तपाईंलाई सान्त्वना दिन्छु । मेरी बहिनी पनि कम सुन्दरी छैन । म अहिले असाध्य धनी भएको छु । अब मेरी बहिनीसित प्रशस्त धन–दौलत हुनेछ । यसैले उसलाई बिहे गर्नुहोस् अनि खुशी हुनुहोस्, जसरी म मुगल मेगरीसित खुशी हुनेछु ।’

अनुवादः राजनारायण प्रधान

(रूसी कथाकार माइकल लर्मोन्टोभले धेरै सुन्दर कथाहरु लेखेका छन् ।)

प्रतिक्रिया
Loading...