म दुरूस्तै चाँदी हुँ
कुनै पक्षपातको घडा होइन
म जे देख्छु, त्यही देखाउँछु
जस्ताको त्यस्तै, प्रेम र घृणा पनि प्रस्ट देख्छु
म कतै निर्दयी छैन, केवल सत्यवादी
चारकुने तर सर्वज्ञानी
प्राय: म मेरा विपरीतका भित्ताहरूलाई अँगालिराख्छु
जो गुलाबी रङको बुट्टेदार छन्
धेरै पहिलेदेखि म उसलाई हेरिरहेछु
लाग्छ, मेरो मुटु नै त्यही भित्ता हो, त्यही रङ हो
तर अक्सर यो धिप्धिपाइरहन्छ
कहिल्यै अनुहारहरू त कहिल्यै अँध्यारो आउँछन्
हाम्रो बीचमा तगारो बनेर ।
अहिले – म एक तलाऊ भैसकेँ
एक महिला बेलाबेला म तिर झुकिरहन्छिन्
सायद आफ्नो जवानीको परीक्षा लिन
ती झूटा मैनबत्ती र जूनतिर उनी फर्किन्छिन्
तब म उनको पिठ्युँ देख्छु, त्यो पनि उस्तै देखाइदिन्छु
र त, मेरो सत्यतालाई आफ्ना आँसुले सम्मान गर्छिन्
हातहरू हल्लाउँदै बडो बेचैन हुन्छिन्
म उनका लागि हमेशा महत्त्व राख्दथेँ
उनी आउँथिन्, हेर्थिन् र जान्थिन्
हरेक उषामा उदासी छाउँदैछ उनको अनुहारमा
भर्खरको जवानी हुँदो हो, जब उनले पहिलो पटक
मतिर नजर जुधाएकी थिइन्
मभित्र डुबेर अहिले विचरी बूढी भइसकिन्
उनका अन्तिम दिनहरू पनि नजिकिँदै गर्दा
जब-जब उनको बुढेसकाल म भित्र हुबहु झल्किदिन्छ
उनी छट्पटाउँछिन् जसरी पानीबिना
माछा छट्पटाउँछ ।
अनुवादः निर्दोष एनपी
ध.उप.म.पा – १३, राजपुर, कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।