(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाे, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीकाे स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविताको सन्दर्भमा आफ्ना केही मान्यताहरू

कवितालाई निश्चित परिभाषाभित्र बाँधेर म यसको स्वतन्त्रतालाई हनन् गर्ने पक्षमा छैन । कवितालाई म जहिले पनि निर्बन्ध देख्न यस कारण रूचाउँछु कि मलाई लाग्छ- स्वभावैले कविता बग्दो खोला हो- जम्दो पोखरी होइन ।

मेरो कविताको विषय, उद्देश्य र आग्रह पनि मान्छे हो । यस अर्थमा मान्छेसँग जोडिएर आउने प्रेम, घृणा, आक्रोश र वेदनाजस्तै सामाजिक, आर्थिक वा राजनैतिक पक्षहरू पनि स्वाभाविक रूपमा त्यत्तिखेर मेरा लागि ग्राह्य हुन्छन्- जतिखेर म कविता लेखिरहेकै हुन्छु ।

कवितामा सकेसम्म भाषाको सरल प्रयोगलाई म रूचाउँछु र त्यसै रूपमा कला पक्षलाई जोगाउन पनि सचेत रहने गर्छु । कारण, लेखन व्यक्तिगत कार्य भए तापनि सार्वजनिकता साहित्यको गुण हो भन्ने म ठान्दछु ।

मौलिकता, लेखनको सन्दर्भमा अपरिहार्य विषय हो । एउटै समय र एउटै विश्वको बासिन्दा हुनुको कारण विषयवस्तुमा समानता भेटिन पनि सक्दछ । यस अर्थमा, प्रस्तुतिको ढंगमा मौलिकता खोजिनु पर्दछ । यसलाई अझ कसरी पनि भन्न सकिन्छ भने- भात वा तरकारी सबैको घरमा पाक्छ तापनि स्वादमा विभिन्नता भेटिन्छ । स्वादको त्यो भिन्नता जसले अरूबाट आफूलाई छुट्याउँछ, त्यही निजी टेक्निक (शिल्प वा प्रविधि) नै लेखनको सन्दर्भमा मौलिकता हो । म यही टेक्निकलाई महत्त्व दिने गर्दछु ।

राजेन्द्र पराजुली

सम्पादक

कविता/सोच

बादलको तस्बिर

दिनेश अधिकारी

होइन भन्नै सक्तिनँ
अवीरको फागु खेल्दै
सडकमा उत्रिएर मैले पनि
अरूले जस्तै
विजयोत्सव मनाएको हुँ
जिन्दाबाद गाएको हुँ
एउटा सफा तस्बिर थियो आँखा अघिल्तिर- त्यत्तिखेर
रंग भएर तस्बिरमा मेरो रहर ब्युँभिएको थियो
रेखाहरूमा मेरो गन्तव्य प्रस्टिएको थियो
त्यहाँ धुलो थिएन
त्यहाँ हिलो थिएन
त्यहाँ चोरबाटो र दुलो पनि थिएन
घर थियो
घरजस्तै सफा र पवित्र देखिन्थ्यो
मैले देखेको तस्बिरमा
सुख्खाग्रस्त तन
र उच्चाडलाग्दो मन थिएन
ज्योतिले बत्तिलाई बिर्सने पन थिएन
अविश्वासी कुरा थिएन
अन्धविश्वासी पूजा थिएन
मैले देखेको तस्बिरमा
हिमाल थियो
र, हिमालसँग चहक थियो
गुराँश थियो
र, गुराँशभरि महक थियो
देश थियो
तर अहिलेजस्तो
पालैपालो एकपछि अर्काले
निर्ममतापूर्वक चुटेको अवस्थामा बेहोश थिएन
निर्लज्जतापूर्वक प्रयोग गरिएको कोपराको रूपमा दुर्गन्धित थिएन
हिउँद थियो
तर पातको जिन्दगी थिएन
आँखा थिए
तर आँशुको नियति थिएन
खै ! के भयो ?
सपना जति पनि टिक्न सकेन मेरो विश्वास
बाटोले हिँड्ने ठाउँ थिएन
आस्थाले आस्थाको स्थान लिएन

आफैँलाई विश्वास गर्न नसकेपछि
अहिले-यतिखेर
म, तपाईंसँग सोध्न आइपुगेको छु महाशय !
कहीँ हामीले देखेको तस्बिर
बादलको त थिएन ?