बिहानै कोठामा पसेर
मिठो निद्रा बिगार्ने
उज्यालोलाई खारेज गर्छु
चिरबिर चिरबिर चिरबिराएर
मिठो तन्द्रा बिथोल्ने
चराको चिरबिरलाई खारेज गर्छु ।
शत्रु देशको गुप्तचर जस्तो
जता गए पनि
पछ्याइरहने छायालाई खारेज गर्छु
र, निर्णय गर्दा
कहिलेकाँही रोक्न आउने
माटोको मायालाई पनि खारेज गर्छु ।
म नियम खारेज गर्छु
र, नियम मान्ने परम्परालाई खारेज गर्छु
हो म खारेज गर्छु
जे जेले रोक्न खोज्छन मेरो बाटो
ती सबै अवरोधहरुलाई खारेज गर्छु
म प्रश्नलाई खारेज गर्छु
तर्क र विधिलाई खारेज गर्छु
र, सबै भन्दा बढी म
सपनाहरुमै नरमाएर
सुन्दर विपना खोज्ने चेतनालाई खारेज गर्छु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला