१. क्रान्ति

(निमेष निखिल)

रिमालले भनेजस्तै
ऊ आयो
तर
जिउभरि उछ्रिने
भलायो भएर आयो !
छुनै नसकिने
काउसो भएर आयो !

 

२. छुवाछुत

(प्रथा)

जब,
भेडाहरू तिर्खाएर
जरुवाको पानी पिए,
मान्छेहरूले
पोटास हालेर पानी पिउन थाले !

जब,
कुकुरहरू बगालिएर
जरुवाको मूलमा तुक्र्याइदिए,
मान्छेहरूले
सुनपानी छिटेर पानी पिउन थाले !

जब,
मेरी आमा तिर्खाएर
जरुवाको पानी पिइन्,
मान्छेहरूले
सदा सदाका लागि
जरुवाको मूल नै बन्द गरिदिए !

 

३. सर्प आवाज

(मनोज न्यौपाने)

चरासँग विष छैन
र पनि किन गोली लाग्छ
तिनकै छातीमा ?

 

४. जालमा फूल

(सुनिता खनाल)

आमारुखको हाँगामा लाग्यो कोपिला
छोयो त्यो कोपिलालाई
राजधानीमा बग्ने विषाक्त हावाले
छोयो अँध्यारो गल्लीमा लुक्ने खुनी घामले
छोयो मानसिक रोगी आगोले
छोयो एलर्जिक गुण्डा धुलोले
छोयो दाह्रा छोपेको कुनै अजनबी ओठले

सप्पैले छोइसकेको कोपिला
कति बेला अचानक भयो फूल
कि माकुराले थाप्यो जाल ।

त्यसपछि जालमा पर्‍यो फूल !

 

५. अहम्

(प्रकाश रम्घाली)

अर्जाप्नै नपर्ने खुकुरी हुँ !

तिमीलाई रहरै लाग्छ भने
ओरालेर तिम्रो
सत्ताको आरनमा तातो सूर्य
पाइन लगाएर हेर्नू—
मेरो टाउको ।

शासक हो !
यो चाहिँ मेरो
अहम्को कविता हो !
कविहरूको मस्तिष्क
तिम्रो जस्तो भुत्ते हुँदैन !