१. पहिलो लघुकथा

(नमस्ते आधुनिक लघुकथा मञ्चमा पोस्ट गरिएको)

 

गणतान्त्रिक मुखिया

घनश्याम डल्लाकोटी

“ऊ एउटा क्रूर र निरंकुश राजा हो । एक्काइसौँ शताब्दीमा पनि जनताको मौलिक अधिकार खोस्ने, प्रजातन्त्रमाथि हमला गर्ने !” घरको पिँढीमा बसेर दयानन्द बर्बराइरहेका थिए ।

“हैन एक्लै के बरबराई’रा हो दयानन्द, दाइ ? आज तपाईंको मुड ठीक छैन जस्तो छ नि !” भक्तराजले सोध्यो ।

“हाम्रै निरंकुश राजाको तुजुक देखेर क्या भाइ, जो अगुवा उही बाटो हगुवा ! जनभावना नबुझ्ने ! माने मान नमाने नमान गर्ने ! कि त यो राजाले भन्नु पर्यो- मलाई जनता चाहिँदैन । नत्र जनताको भावना बुझोस्, जनहितमा काम गरोस् । मेरो गोरुको बाह्रै टक्का गरेर, देश चल्छ ?” दयानन्दले थपे ।

“त्यसो भा यो निरंकुश राजालाई किन मानिरहनु त ? बन्दुक पड्काउनु पर्छ, आगो बाल्नु पर्छ !” भक्तराजले सुझायो ।

“यस्तो तातो रिस गर्न पनि हुन्न, भक्तराज ? आफ्नै घरभित्र बन्दुक पड्काएर, राँको बालेर, के गर्नु ! आफ्नै घर जल्छ, विनाश आफ्नै घरभित्र हुन्छ । यो देश, राजा र उसका २-४ जनाको मात्र पेवा हो र ? शान्तिपूर्ण ढंगले सबै जनता सडकमा ओर्लनु पर्छ । आवाज उराल्नु पर्छ । जनताको एकत्रित आवाज, बन्दुक र आगोभन्दा सुरक्षित हुन्छ तर धेरै गुणा शक्तिशाली हुन्छ । आवाज उरालेर नै निरंकुश राजा र जनताको शत्रुलाई देशबाट निकाल्नुपर्छ ! अब सबै मिलेर निरंकुश राजा फाल्नुपर्छ । अब हाम्रो देशको मुखिया हामीले नै भोट हालेर प्रजातान्त्रिक ढंगले चुन्न पाउनु पर्छ,” दयानन्द दृढतापूर्वक बोले ।

“हो, यसमा म पनि सहमत छु । हाम्रो देशको मुखिया अब हामीबाट, हाम्रा लागि, हामीले नै चुन्न पाउनु पर्छ,” भक्तराज यति भन्दै बाटो लागे ।

“देशमा गणतन्त्र आएको एक दशक नाघिसकेको छ तर जनताले चुनेको गणतान्त्रिक मुखियाले निरंकुश राजालाई नै बिर्साइरहेछ ।”

###
(नमस्ते आधुनिक लघुकथा मञ्च फेसबुक समूहबाट नेपाली लघुकथाको विकास र विस्तारमा सक्रिय छ । लघुकथाको फेसबुक पेजहरूमा सदस्य संख्यालाई आधार मान्ने हो भने यो मञ्च दोस्रो स्थानमा देखिन्छ । यस मञ्चले फेसबुक समूहमा लघुकथाहरू पोस्ट गर्न लघुकथाकारहरूलाई ऊर्जा प्रदान गर्नुको अलावा लघुकथाकै माध्यमबाट मानव सेवाको अवधारणा बनाई समाज सेवा पनि गरेको देखिन्छ । साहित्यको श्रीवृद्धिको लागि “लघुकथा सुगन्ध” नामक सामूहिक लघुकथा संकलन पुस्तकको दुई भाग प्रकाशनमा पनि ल्याएको छ ।

घनश्याम डल्लाकोटी (चितवन) नमस्ते आधुनिक लघुकथा मञ्चको एक एडमिन हुनुहुन्छ । २०७५ सालको असार ९ गते उहाँले “गणतान्त्रिक मुखिया” कथा मञ्चमा पहिलो पोस्ट गर्नु भएको थियो । हाल यो समूहमा चार हजार लघुकथा पारखीहरू आबद्ध भएको देखिन्छ ।
प्रस्तुत लघुकथा “गणतान्त्रिक मुखिया” ले जनताले विकास र सुविधाको लागि राजा फ्याँकी गणतन्त्र ल्याए पनि नेताहरू आफैँ राजा बन्न थालेको तीतो यथार्थ प्रस्ट्याएको छ ।)

 

२. स्वर्णकालीन लघुकथा

 

आजको लक्ष्मण

श्याम गोपाल आशा

एकबिहानै दुई जना दाजुभाइ आफ्नो प्रहरी कार्यालयमा पुगे ।

एकले भन्यो, “लौ न, इन्स्पेक्टरसाब मेी श्रीमतीको खोजी गरिदिनु पर्यो । आज चार दिनदेखि उनी बेपत्ता भएकी छन् । उनी बस्ने सबै सम्भावित ठाउँहरूमा खोजीसकेँ, कहीँ कतै भेटिएन ।”

इन्स्पेक्टरले भन्यो, “आउनुस् तपाईंहरू यता आउनुस् । हिजै मात्र एउटा नारीको लास फेला परेको छ तर अनुहारबाट चिह्न गाह्रो छ । केही सरसामानहरू छन्, त्यसबाट सनाखत गर्नुहोस् । यो लाश कहीँ तपाईंहरूकै त होइन ?

दुवै दाजुभाइ इन्स्पेक्टरको पछिपछि लागे । एउटा लाशतिर पुगे र त्यहाँ भएका केही सरसामानहरू हेर्न थाले । दाजुले एउटा औँठी उठाउँदै भन्यो, “बाबू ! हेर त, यो औँठी तिम्रो भाउजूको हो जस्तो छ ।”

“होइन,” भाइले भन्यो ।

“ल, यो हेर त, यो पाउजु तिम्रो भाउजूको हो ?”

“होइन दाइ,” भाइले फेरि भन्यो ।

त्यसपछि दाइले लामो सास फेर्दै भन्यो, “ए, त्यसो भए यो लास तिम्रो भाउजूको होइन ।”

दाइले आफ्नो भनाइ पूरा गर्न नपाउँदै भाइले भन्यो, “दाइ, त्यो लाशनिर च्यात्तिएर फ्याँकिएको ब्रेसिएर चाहिं भाउजूको हो ।”

###
(२०३० को दशकलाई नेपाली लघुकथाको स्वर्णकाल मानिन्छ । यसै समयमा नेपाली लघुकथाको आयामले विविध मोड र बाटोहरू पहिल्याएको छ । यसै कालको एक लघुकथाकार हुनुहुन्छ श्याम गोपाल “आशा” । उनले लघुकथाकार ध्रुव मधिकर्मीसँग मिली २०३३ सालताका लघुकथाको संयुक्त संग्रह प्रकाशनमा ल्याएका थिए । चर्चाभन्दा बाहिरै रहन चाहने उनी चोटिला लघुकथाहरू लेखेर स्वयं पाठकहरूबाटै चर्चा बटुल्छन् । “श्याम गोपाल आशाका लघुकथाहरू” नामक कृति उनले २०७२ सालमा प्रकाशित गरेका थिए ।

प्रस्तुत लघुकथा “आजको लक्ष्मण” मा लघुकथाकारले विषयलाई सरल र सहज रुपमा उठाउँदै कथाको वीज वाक्यमा मज्जाले झड्का भर्नु भएको छ । कथाले शील तरिकाबाट अश्लील यौन देखाएको छ ।)

 

३. मलाई मन परेको लघुकथा

नमस्कार

नारायण पौडेल

सुब्बा हरिशंकर सेवा निवृत्त भएपछि मध्य पहाडको गाउँथलो छोडेर शहरमा बनिबनाउ घर किनेर बसे ।

जागिरमा हुँदा सेवाग्राहीको नमस्कार भेटेका उनी जागिर छोडेर बसाइँ सरेपछि भने आफैँ नमस्कार गर्ने अवस्थामा पुगे ।

अझ समाजसँग आफैँ घुस्रेर घुलमिल हुनुपर्ने बाध्यता थियो सुब्बा सापलाई ।

बिहानै उठेर घरको बरण्डामा चिया पिउँदै पत्रिका पढ्नु र समाचार सुन्नु सुब्बा सापको दैनिकी थियो ।

जब उनी बरण्डामा निस्कन्थे, ठीक उसैबेला उनको घर अगाडिको बाटोमा एउटा मान्छे हिँड्ने गर्थ्यो ।

उसले हातमा मोबाइल बोक्थ्यो र कानमा एयरफोन घुसारेको हुन्थ्यो ।

उसलाई देख्नासाथ सुब्बा सापले दिनहुँ नमस्कार गर्थे । बोलोस् भन्ने चाहन्थे । उसले नमस्कार फर्काउँथ्यो तर बोल्दै बोल्दैनथ्यो ।

महिनौँसम्म उस्तै उपक्रम चलिरह्यो । तैपनि सुब्बा साप र उसको बोलचाल भएन ।

“हैन मैले कस्तो मान्छेलाई दिनहुँ नमस्कार गरिरहेको छु हँ ?” सुब्बा सापले मनमनै आफैँलाई प्रश्न गरे र उसको बारेमा जान्ने निधो गरे ।

“हैन यी कस्ता मान्छे हुन् ?” कसैलाई सोधे ।

“ए त्यो ! त्यो त परार चुनाव हारेको नेता हो,” उसले भन्यो ।

भोलिपल्ट बिहान सुब्बा साप घरको गेटबाट बाहिर निस्कँदा ऊ आइपुग्यो ।

सुब्बा सापले बिहानै चर्को स्वरमा “सुब्बा साप नमस्कार !” भनेको सुनेँ । कहिल्यै हात नउठाउने मान्छेले आज कसरी नमस्कार गर्यो ? उनी रनभुल्लमा परे ।

बिहानै दुर्लभ नमस्कार भेटेका सुब्बा सापले त्यो दिन समाजमा आफ्नो सान र मान बढेको महसुस गरे ।

बेलुकी टिभी खोलेर हेरे । च्यानलहरुले ब्रेकिङ न्युज दिइरहेका थिए । सरकारले चुनाव घोषणा गरेको छ ।

##
(कथाकार नारायण पौडेल पर्वत जिल्लामा जन्मेर चितवन जिल्लालाई कार्यथलो बनाउने स्रष्टा हुनुहुन्छ । काव्य र आख्यान उहाँको रुचिको विषय हो । लेखनमा समसामयिक प्रसंग जोड्न पौडेल खप्पिस हुनुहुन्छ ।

प्रस्तुत “नमस्कार” लघुकथा हालै लेखिएको आलो कथा हो । यसमा नारायण पौडेलले समसामयिक राजनितिक तरंगलाई जनताको स्वादमा पस्कनु भएको छ ।)